फाइदा र नोक्सानी हेर्ने कुरा त व्यापारिक वृत्ति मात्रै हो । तर वस्तुतः भन्ने हो भने आध्यात्मिकताले जीवन्तता प्रदान गर्छ । जीवनको अनुभूति दिन्छ ।अध्यात्मले जिउन सिकाउँछ । यो जीवन जिउने खास कला हो । श्वासप्रश्वासमा रम्न सिकाउँछ । जीवनका जस्तासुकै उतार चढाव, सुखदुःखलाई पनि बुझ्न सिकाउँछ । यस संसारमा दुःख भोग्नेहरू र देख्नेहरू धेरै छन् तर बुझ्नेहरू भने अत्यन्तै थोरै छन्, यही बुझाइमै जीवनको रस छ, जीवनयात्रा छ र अध्यात्मको अनुभूति छ ।
१. गुरुदेव प्रणाम !
प्रणाम !
२. आरामै हुनुहुन्छ ?
आरामै छु । वस्तुतः आराम मनको आवस्था हो । मन स्वस्थ र सन्तुलित रह्यो भने जहिले पनि आरामै हुन्छ ।
३.आजभोलि के गर्दै हुनुहुन्छ ? के कस्ता काममा कसरी व्यस्त हुनुहुन्छ ?
आजभोलि पनि त्यही गर्दै छु जुन विगत करिब तिन दशकदेखि लगातार गर्दै आएको छु । अर्थात् काठमाडौँ प्रवेश गरेदेखि नै स्वाध्याय, साधना, सत्सङ्ग र सेवाका माध्यमबाट आफूलाई जगाउने र समाजलाई जगाउने यथासम्भव प्रयास गरिरहेको छु । ‘‘आत्मनो हिताय जगत् हिताय च” भन्ने उद्घोषका साथ आत्मकल्याण र जगत् कल्याणको साधना गरिरहेको छु । जहाँसम्म काम र व्यस्तताको कुरा छ, म काम होइन, कर्म गर्ने प्रयास गरिरहेको छु । कर्मयोगको मार्गमा निरन्तर हिँड्ने प्रयास गरिरहेको छु । रह्यो व्यस्तताको कुरा, व्यस्त पनि छु, मस्त पनि छु । नत्र त लक्ष्मणजी ! अस्तव्यस्त भइन्छ र गर्दागर्दै अस्त पनि भइन्छ ।
४.तपाइको बाल्यकाल बारे केही बताइदिनुस् न ।
बाल्यकाल सबैका लागि प्यारो हुन्छ र अविस्मरणीय हुन्छ । जति दुःखकष्टयुक्त भए तापनि बाल्यकालको स्मृति सदैव मधुर एवम् संवेदनशील नै हुन्छ ।
मलाई लाग्छ, मेरो बाल्यकालका दुई वटा भाग छन् । पहिलो भाग, सात वर्षभित्रको मेरो अवस्था, जसलाई शिशु अवस्था भन्दा पनि हुन्छ । सायद त्यो क्षण अत्यन्तै मधुर थियो, प्रेरणादायी थियो । जीवनका सबै खाले सङ्घर्ष र तनावहरूबाट मुक्त थियो । खाने, खेल्ने, आमाबुबा र परिवारजनसँग रमाइलो गर्ने, सायद त्यही मात्रै जिन्दगी थियो।
तत्पश्चात् बाल्यावस्थाको दोस्रो भाग भने अलिकति कष्टकर बन्न पुग्यो । अचानक दिल्लीको मोतीनाथ संस्कृत महाविद्यालयमा पढ्न पुगियो । गुरुकुलको जीवन अध्ययन, अध्यापन र अनुशासनको हिसाबले स्तरीय र प्रेरणादायी रहे तापनि भौतिक सुविधाका हिसाबले भने अत्यन्तै कष्टदायी नै रह्यो । भात खान नपाइने । रोटी र झोल तरकारीमा मात्रै निर्वाह गर्नुपर्ने, जाडो र गर्मीदेखि बच्नका लागि पनि अत्यन्तै सङ्घर्ष गर्नुपर्ने । तर जे होस्, भौतिक/शारीरिक कष्टका ती कुरा सम्झनु भन्दा पनि म के भन्न चाहन्छु भने गुरुकुल जीवन मेरो जीवनको दरिलो जग बनेको छ । गुरुसेवा मेरो जीवनको आधार बनेको छ । आमाबुवाको आशीर्वाद मेरो जीवनको अखण्ड प्रेरणा स्रोत बनेको छ । बचपनमा पाएका दुःखहरू मेरो जीवनका दरिला खम्बा बनेका छन् । सबैभन्दा ठुलो कुरा त मैले संस्कृत पढ्ने मौका पाएँ, फलस्वरूप मेरो जीवन नै संस्कृतमय बनेको छ ।
५.तपाइको पारिवारिक कारण, आफ्नै बाल्यकालदेखिको स्वभाव वा अन्य कुन कारणले अध्यात्मको क्षेत्रमा प्रवेश गर्नुभयो ?
वास्तवमा अध्यात्मको क्षेत्रमा मेरो प्रवेश कसरी भयो र कहिलेदेखि भयो भनेर ठ्याक्कै भन्न पनि गाह्रै हुन्छ । अझै प्रवेश पनि भएको छैन कि ? मात्र एउटा यात्रा पो चलिरहेको छ कि ? जुन अखण्ड छ, अनन्त छ र असीमित छ । तथापि लक्ष्मणजी ! तपाईको प्रश्नको बुँदागत उत्तर दिनुपर्दा पारिवारक कारण, गुरुकुल जीवन र सामाजिक सेवा नै मेरो अध्यात्मयात्राको मूल आधार हो भन्न उचित लाग्छ । बचपनमा बुबाबाट ज्ञानयोग र आमाबाट भक्तियोगको शिक्षा संस्कारका रूपमा वा बीजका रूपमा जुन प्राप्त भयो, त्यो जीवनको अनुपम जग नै बन्न पुग्यो । दिल्लीमा ८ वर्ष कष्टकर साधनासहित पढेको संस्कृत विद्या अद्वितीय प्रेरणा नै बन्न पुग्यो । ‘‘सुखार्थिनः कुतो विद्या ? विद्यार्थिनः कुतो सुखम् ?” भनेभैmँ तपस्या गरेर नै संस्कृत पढियो । आज फर्केर सम्झिँदा गौरव लाग्छ , ‘‘अहा ! मैले संस्कृत पढेको छु । अमृत विद्या पढेको छु । विश्व वाङ्मयकै मूल संस्कृत माताको आशीर्वाद प्राप्त गरेको छु” । यसैगरी, २०४१ सालमा काठमाडौँ प्रवेश गर्नासाथ अनायास प्राप्त भएको ‘‘मातृभूमि सेवक सङ्घ”सितको मेरो गहिरो सान्निध्य जीवनको मेरो अर्को अध्याय बन्न पुग्यो ।
६.आध्यात्मिक हुनुका फाइदाहरू केके हुँदा रहेछन् ?
हेर्नुस्, फाइदा र नोक्सानी हेर्ने कुरा त व्यापारिक वृत्ति मात्रै हो । तर वस्तुतः भन्ने हो भने आध्यात्मिकताले जीवन्तता प्रदान गर्छ । जीवनको अनुभूति दिन्छ । श्वासप्रश्वासमा रम्न सिकाउँछ । जीवनका जस्तासुकै उतार चढाव, सुखदुःखलाई पनि बुझ्न सिकाउँछ । यस संसारमा दुःख भोग्नेहरू र देख्नेहरू धेरै छन् तर बुझ्नेहरू भने अत्यन्तै थोरै छन्, यही बुझाइमै जीवनको रस छ, जीवनयात्रा छ र अध्यात्मको अनुभूति छ । आस्तिकले भन्छ– ‘‘यो मान, त्यो मान” आदि । नास्तिकले भन्दछ – ‘‘यो पनि नमान, त्यो पनि नमान” आदि तर आध्यात्मिकले भन्छ– ‘‘यो जान”। सायद यही ‘‘जान्नु” नै अध्यात्म हो । त्यसैले, त हाम्रा ऋषिहरूले भने – ‘आत्मानं विद्घि । सत्यं ज्ञानमनन्तम् ब्रह्म । विद्ययाऽमृतमश्नुते । ज्ञानं किमेकं शिवमद्वितीयम् ।’
७ हिन्दु विद्यापीठ–नेपाल स्थापनाको पृष्ठभूमि चाँहि के हो नि ?
मूलतः मातृभूमि सेवक सङ्घको आह्वानमा स्व.डा.बिहारीलाल श्रेष्ठको नेतृत्वमा नेपालका वरिष्ठ शिक्षासेवी, समाजसेवी (स्व.बद्रीविक्रम थापा, स्व.दीर्घराज कोइराला, स्व.ईश्वरराज अर्याल, डा. स्वामी प्रपन्नाचार्य, श्रीमती अङ्गुरबाबा जोशी, प्रा. शिवगोपाल रिसाल) हरूको सक्रिय सहयोगमा हिन्दू विद्यापीठको स्थापना भएको हो । हाल बालकुमारी, दाङ र थलीमा ३ वटा विद्यापीठ सञ्चालित छन् । ‘‘अङ्ग्रेजी पढाउने अङ्ग्रेज नबनाउने’’ भन्ने सोचका साथ सञ्चालित यी विद्यापीठहरूले ख्बगिभ दबकभम भमगअबतष्यल, ऋगतिगचभ दबकभम भमगअबतष्यल र क्उष्चष्तगबष्तिथ दबकभम भमगअबतष्यल को अभ्यास गरिरहेका छन् । सम्पूर्ण अत्याधुनिक विषयहरूसहित संस्कृत, योग, ध्यान, भजन, कीर्तन, पूर्वीय दर्शन आदि वैज्ञानिक एवम् व्यावहारिकरूपमा सिकाउने प्रयास गरिरहेका छन् ।
विद्यापीठको प्रेरणाद्वारा नै दाङमा ‘‘बाल शान्ति गृह” सञ्चालित छ भने काठमाण्डौमा ‘‘शान्ति सेवा आश्रम” र ‘‘युवा शान्ति समाज” आदि पनि सञ्चालित छन् ।
८. देश विदेशका अनेक ठाउँमा समय समयमा भ्रमण गरेर मानवीय मूल्य र अध्यात्म दर्शनको प्रचार प्रसार गर्दा कस्तो महसुस गर्नुहुन्छ ? अनुभव केकस्ता सँगाल्नु भएको छ ?
विगत करीब १५– २० वर्षदेखि निरन्तर देशविदेशको भम्रण गर्दै मानवता, आध्यात्मिकता र राष्ट्रियताका सन्देशलाई विश्वभरि नै फैलाउने प्रयास गरिरहेको छु । हाम्रा पूर्वीय मनस्वीहरूले विश्वलाई जुन सन्देश दिएका थिए, त्यसैलाई विश्वमा फेरि नयाँ तरिकाले प्रसारित गर्ने प्रयास गरिरहेको छु । मैले आफ्ना ऋषिहरू, महापुरुषहरू र अग्रहरूको अनुसरण गरेको मात्रै हो । आज पश्चिमी मुलुक भौतिकरूपमा सुसम्पन्न छ । तर आध्यात्मिक रूपमा विपन्न छ । बौद्घिकता बढेको छ तर हार्दिकता घटेको छ । सुविधासम्पन्न घरहरू छन् तर परिवार टुक्रिएको छ । यन्त्र प्रबल भएको छ तर मन्त्र ज्यादै कमजोर भएको छ ।
त्यसैले, पश्चिमेली जीवन झन्, अस्तव्यस्त , असुरक्षित, असन्तुलित र अशान्त भएको छ । आज पश्चिमलाई ‘‘आर्ट अफ लिभिङ”का साथै ‘‘आर्ट अफ लाइफ”को पनि ज्ञान चाहिएको छ । शिक्षाका साथै श्रद्धा पनि चाहिएको छ । जीविकाका साथै जीवनदर्शन पनि चाहिएको छ । त्यसैले, पश्चिमका मानिसहरू पूर्वीय दर्शनप्रति अभिभूत बन्दै गएका छन् र श्रद्धावान् बन्दै गएका छन् ।
प्रशस्त जल, जडीबुटी, जङ्गल उब्जाउ जमिन, उच्च ऐतिहासिक गरिमा, विशिष्ट आध्यात्मिकता र परिश्रमी जीवन भएको हाम्रो देशमा कमी के छ र ? आज देशलाई बचाउने र उठाउने सोच, सङ्कल्प र श्रद्धा चाहिएको छ । देश बनाउनुपर्दैन, बचाइदिए मात्र पनि पुग्छ । हाम्रा पुर्खाले हामीलाई प्रशस्तै दिएका छन्, त्यसको रक्षा र सदुपयोग गरिदिए पनि प्रशस्तै पुग्छ । आदर्श शिक्षा, निष्पक्ष मिडिया, जिम्मेवार सरकार र सचेत नागरिक हुने हो भने नेपाल पुनः विश्वगुरु बन्न सक्छ भन्ने मेरो दृढ विश्वास छ ।
९. हामीलाई अर्थात् नेपालीलाई विदेशीले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
विदेशीहरूले हामीलाई हेर्ने टृष्टिकोणलाई मेरो विचारमा २–३ भागमा बाँड्न सकिन्छ होला । कोही सोच्छन् – नेपाल जातिपाति, छुआछुत, कुरीति, कुप्रथा आदिमा फँसेको एक अत्यन्तै अव्यवस्थित र असभ्य देश हो । जहाँ बलिप्रथा छ, नारीहिंसा छ र अनेकौँ प्रकारका विसङ्गति र उत्पीडन छन् । तर, कोही सोच्छन् –नेपाल जस्तो देश संसारमा कतै पनि छैन । नेपालीहरूको जीवनदर्शन, परिवार व्यवस्था, सरल र विश्वासिलो स्वभाव, सन्तोषी वृत्ति, परिश्रमी जीवनशैली र उच्च आध्यात्मिक चरित्र आदिलाई हेर्दा बुझ्दा विदेशीहरू आश्चर्यचकित र द्रवीभूत हुन्छन् । यस डिजिटल समयमा पनि नेपालीहरूले योग, ध्यान, भजन–कीर्तन, प्रार्थना, पूजा, साधनासहित नाचगान, चाडबाड, व्रत, पर्व, उत्सवहरू निरन्तर निश्चिन्त भई मनाएको हेर्दा विदेशीहरू जिब्रो टोक्छन् । नेपाल र नेपालीप्रति नतमस्तक हुन्छन् ।
१०. अहिलेको हाम्रो देशको सांस्कृतिक एवम् धार्मिक अवस्था कस्तो पाउनुभएको छ ?
सकारात्मक टृष्टिले हेर्दा पहिलेको तुलनामा धर्म, दर्शन, संस्कृतिप्रति सरकारले जतिसुकै बेवास्ता गर्दा पनि जनस्तरमा भने धर्मरक्षा र संस्कृति रक्षाप्रति झन् चासो बढेको देखिन्छ । व्यक्तिगत जीवनको विकासमा लागिपरेका व्यक्तिहरूमा पनि नैतिकताविना, आध्यामिकताविना र जीवनदर्शनविना कसरी अघि बढ्न सकिन्छ र ! भन्ने सोच पलाएको देखिन्छ । ‘जीवनको मूल सन्तुष्टि र आनन्द त अध्यात्ममा पो रहेछ’ भनेर झन् बढी उत्सुकता र श्रद्धा बढेको देखिन्छ ।
तर, विश्लेषणात्मक टृष्टिले हेर्दा सामाजिक जीवन र राष्ट्रिय जीवन दिनानुदिन कमजोर बन्दै छ । नेताहरू भस्मासुरजस्तै बन्दै छन् । अधिकांश नेताहरूमा कंसवृत्ति र रावणवृत्ति बढ्दै गएको छ । मिडियाले अस्वस्थ सामाचार मात्रै बाँडेका छन्, कतै सन्देश छैन र कुनै सकारात्मक सोच छैन । शिक्षा पनि भिसावादी, व्यक्तिवादी र स्वार्थवादी मात्रै बनेको छ । राष्ट्रियतावादी, अध्यात्मवादी र जीवनवादी शिक्षा खोइ त ? ख्बगिभ द्यबकभम भ्मगअतबष्यल, ऋगतिगचब िद्यबकभम भमगअबतष्यल बलम कउष्चष्तगबष्तिथ दबकभम भमगअबतष्यल खोइ त ? सामाजिक जीवन पनि दुर्गन्धित बन्दै गएको देखिन्छ । भ्रष्टाचार बढेको छ, दुराचार बढेको छ । हिंसा, अपराध बढेका छन् । जीवनमूल्यहरू माथि ठाडो आक्रमण भइरहेको छ । यो कस्तो विडम्बना हो ? बुद्ध र शिवको देशमा नै बुद्धत्व र शिवत्व खतरामा परेको छ । दुनियाँलाई सन्देश दिने र उपदेश दिने हाम्रो देश नै विपन्न भएको छ ।
११. देशको सांस्कृतिक गौरवको विस्तार र संरक्षणमा कहाँकहाँबाट केकस्ता पहल हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
हेर्नुस् लक्ष्मण जी, यो हामी सबैको साझा दायित्व हो । राज्यको, राज्यका सबै निकायको र प्रत्येक ‘आम आदमी’ वा ‘आम नेपाली’को दायित्व हो । नैतिक टृष्टिले भन्नुपर्दा सबैभन्दा पहिले मैले स्वयम्लाई नै सोध्नुपर्छ, मैले देशका लागि के गरेँ त ? यदि सबैले यसरी नै आफ्नो कर्तव्यबोध गर्ने हो भने असम्भव के छ र ? प्रशस्त जल, जडीबुटी, जङ्गल उब्जाउ जमिन, उच्च ऐतिहासिक गरिमा, विशिष्ट आध्यात्मिकता र परिश्रमी जीवन भएको हाम्रो देशमा कमी के छ र ? आज देशलाई बचाउने र उठाउने सोच, सङ्कल्प र श्रद्धा चाहिएको छ । देश बनाउनुपर्दैन, बचाइदिए मात्र पनि पुग्छ । हाम्रा पुर्खाले हामीलाई प्रशस्तै दिएका छन्, त्यसको रक्षा र सदुपयोग गरिदिए पनि प्रशस्तै पुग्छ । आदर्श शिक्षा, निष्पक्ष मिडिया, जिम्मेवार सरकार र सचेत नागरिक हुने हो भने नेपाल पुनः विश्वगुरु बन्न सक्छ भन्ने मेरो दृढ विश्वास छ ।
१२. अन्तमा, जीवन दर्शनका आम पाठककलाई के भन्न चाहनुहुन्छ ?
हेर्नुस्, राष्ट्रिय स्तरमा भन्नुपर्दा चाहिँ राज्यको धर्म, संस्कृतिप्रतिको उपेक्षा बन्द होस् । भ्रष्टाचारी अहङ्कारी नेताहरूको उद्दण्डता बन्द होस् । सरकारी निकायहरूको अकर्मण्यता बन्द होस् । सामाजिक स्तरमा भन्नुपर्दा चाहिँ बालविवाह, बहुविवाह, अनमेल विवाह लगायत सबै खाले कुरीति, कुप्रथा समाप्त होऊन् । साथै, जातिपाति, छुवाछुत लगायत सबै खाले हिंसा, अपराध निर्मूल होऊन् । व्यक्तिगत स्तरमा भन्नुपर्दा चाहिँ जीवन प्रेममय बनोस्, श्रद्धामय बनोस्, सकारात्मक बनोस् । जस्तोसुकै सङ्कटमा पनि सम्मतिको द्वार बन्द नहोस् । शत्रुहरूलाई पनि क्षमा दिन सक्ने साहस होस् । जति व्यस्त हुँदा पनि “स्वाध्याय, साधना, सत्सङ्ग, सदाचार र सेवा” को मार्गमा जीवनयात्रा चलिरहोस् । लक्ष्मणजी ! यही शुभकामना छ तपाईँलाई र जीवन दर्शनका आदरणीय प्रिय पाठकहरूलाई पनि । धन्यवाद् !
१३. तपाईँप्रति पनि आभारी छौँ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।