कलाम सबै मानिसलाई आफ्नो साथीको रूपमा लिने गर्दथे । चाहे सेक्रेटरी होस् वा चालक वा सहयोगी वा कुनै अनाम व्यक्ति । ठुलो मानिस हुनुको अवाञ्छित दम्भ उनमा थिएन । उनका निम्ति पृथ्वी एउटा समथर भुगोल थियो, जहाँ ठुलो र सानोको कुनै भेद थिएन । आफूले भेट्ने हरेक मानिसप्रति उनको करुणा थियो ।
जिन्दगीको अन्तिम ट्वीट
२७ जुलाई २०१५ । इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, सिलोङको एउटा खचाखच सभाकक्षमा अब्दुल कलाम प्रवचन दिँदै थिए । प्रवचन दिँदादिँदै उनी अचानक ढल्न पुगे र उनलाई नजिकैको बेथानी अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूको कठिन प्रयासले पनि उनलाई जीवित राख्न सकेन र दुनियाँले एउटा महान् व्यक्ति गुमायो । ८३ वर्षको उमेरमा अब्दुल कलामको निधन पङ्क्तिकार तथा धेरैका निम्ति ‘असामयिक’ थियो । त्यसैदिन बिहान कलामले ट्वीट गरेका रहेछन् — ‘सिलोङ जाँदै । सुन्दर र बस्नलायक पृथ्वीबारे प्रवचन दिनका निमित्त ।’ त्यो नै उनको जिन्दगीको अन्तिम ट्वीट बन्न पुग्यो ।
करिब ८० वर्ष अघिको कुरा हो । रामेश्वरम् प्राथमिक विद्यालयमा अब्दुल कलाम पाँच कक्षामा अध्ययनरत थिए । उनको पहिरन आफ्नो धर्मअनुरूप इस्लामिक थियो । बालसखा रामानन्द शास्त्रीका साथमा उनी पहिलो बेन्चमा बसिरहेका थिए । एकजना हिन्दु बालक मुस्लिमको छोरोसँग मिलेर बसिरहेको दृश्य शिक्षकलाई पचेनछ । ती शिक्षकले कलामलाई अन्तिम बेन्चमा गएर बस्न आदेश दिएछन् । कलाम अन्तिम बेन्चमा गएर त बसेछन् तर शिक्षकको हर्कतले भने उनलाई औधी दुखी बनाएछ ।
विद्यालयको घटनाले खासमा रामानन्द पनि अत्यन्त आक्रोशित थिए । घर पुगेर दुवैले आ—आफ्ना बाबुआमालाई सो घटना सुनाएछन् । रामानन्द शास्त्रीका बाबु लक्ष्मण शास्त्री रामेश्वरम्का एक प्रतिष्ठित मानिसमा गनिन्थे । बालबालिकाको हृदयमा धार्मिक विभेदको जरो सानैदेखि गाडिने यस्ता हर्कतहरू कसैले पनि गर्नुहुदैँन भन्ने धारणा राख्दथे । विद्यालय गएर उनले ती शिक्षकलाई राम्ररी सम्झाएछन् ।
अन्ततः ती शिक्षकले माफी मागेछन् र यस्तो घटना कहिल्यै पनि नदोहो¥याउने प्रतिज्ञा गरेछन् । स्मरण रहोस्, लक्ष्मण शास्त्री हिन्दु पण्डित थिए र कलामका बाबु जैनुलाअबदीनका एक असल मित्र पनि । बाल्यकालको यो तीतो तर अविस्मरणीय घटनालाई आफ्नो आत्मकथा विङ्स अफ फायरमा कलामले विशेषरूपमा उल्लेख गरेका छन् ।
कलामको जन्म
कलामको जन्म सन् १९३१ मा रामेश्वरम्मा भएको थियो । उनी जन्मेको गाउँ सन् १९३० को त्यो दशकमा पनि निकै सहिष्णु र सुसंस्कृत देखिन्छ — आत्मकथा विङ्स अफ फायरमा वर्णन गरिएअनुरूप । जातीय, धार्मिक वा सामाजिक विभेद र असहिष्णुताका एकाध घटनाहरू बाहेक त्यस्तो केही भेटिँदैन — रामेश्वरम्मा । उनको गाउँ शिवमन्दिरका निम्ति सबैभन्दा प्रख्यात थियो । उक्त मन्दिरमा टाढाटाढाबाट पनि हिन्दुहरू पुजाका निम्ति आउने गर्दथे । मुस्लिमको सङ्ख्या बढ्ता भएतापनि एकाध हिन्दुहरूको पनि छिटपुट बसोबास थियो — उनको जन्मस्थलमा ।
कलामका बाबु जैनुलाअबदीन र पण्डित लक्ष्मण शास्त्री अत्यन्त निकट मित्रहरू थिए । उनीहरू घण्टौँसम्म आध्यात्मिक विषयमा वार्तालापहरू गर्ने गर्दथे । कलाम दुई बुजु्रकहरूका कुरा चाख दिएर सुन्ने गर्दथे । जैनुलाअबदीनले धेरै पढेका थिएनन् । तैपनि, उनी ज्ञानी र आध्यात्मिक स्वभावका मानिस थिए । आफूले धेरै पढेलेखेको नभए पनि जुन संस्कारमा जैनुलाअबदीनले अब्दुल कलामलाई हुर्काए, सायद त्यसले नै कलामको स्वर्णिम भविष्य निर्माण गरिसकेको थियो ।
मन्दिर, मस्जिद आदि धार्मिक स्थलहरूको समीपमा पुग्दा अपार आनन्द आउने कुराको वर्णन कलामले आफ्नो आत्मकथामा गरेका छन् । आफूले मस्जिदमा पढ्ने गरेको नमाज र कुनै हिन्दु ब्राह्मणले मन्दिरमा गर्ने गरेको मन्त्रोच्चारण अन्ततः एकैठाउँमा पुग्दो हो भन्ने उनलाई बाल्यकालदेखि नै लाग्दथ्यो । उनले यो अटुट विश्वास हाम्रा निम्ति पनि सदैव प्रेरक बन्न सक्छ ।
कलामलाई भाजपा समर्थित एन.डी.ए घटक दलहरूको सङ्गठनले राष्ट्रपति चुनावको बखत उमेदवार बनाएको थियो, जसलाई अधिकांश वाम दलहरूले पनि समर्थन गरेका थिए । यसरी, १८ जुलाई सन् २००२ का दिन ९० प्रतिशत बहुमतका साथ उनी भारतका एघारौँ राष्ट्रपति बन्न पुगेका थिए । उनी कुनै राजनैतिक राष्ट्रपति थिएनन् । उनलाई विज्ञान—प्रविधिको क्षेत्रमा गरेको योगदानका निम्ति राष्ट्रपतिको पदमा निर्वाचित गरिएको थियो । भारतमा यसरी राष्ट्रपतिको रूपमा चुनिने सौभाग्य आजका दिनसम्म उनलाई मात्र प्राप्त भएको छ ।
डा.जाकिर हुसैन र फकरुद्धिन अली अहम्मदपश्चात् उनी भारतका एकमात्र मुस्लिम राष्ट्रपति हुन् । तैपनि, उनलाई भारतका मिसाइल म्यान भनेर बढ्ता चिनिने गरिन्छ । विदेशी शिक्षा आर्जन नगरीकन र कुनै विदेशी संस्थाको सहयोगविना नै एक जना मानिसले देशमै उपलब्ध सो्रतसाधनहरू प्रयोग गरेर चामत्कारिक परिवर्तनहरू गर्न सक्दछ भन्ने कुराका राम्रा उदाहरण हुन् — कलाम । आज भारत आणविक र मिसाइल प्रविधिमा जसरी विश्वकै एक शक्तिशाली राष्ट्रको रूपमा अगाडि आएको छ, त्यसको सबैभन्दा ठुलो श्रेय अब्दुल कलामलाई नै जान्छ ।
कलामका निम्ति धर्म केवल एक माध्यम थियो । हिन्दु वा ईस्लाम जुन धर्म मानेपनि आखिर परमेश्वर एकै हुन् भन्ने विश्वास गर्दथे्, उनी । जन्मका आधारमा उनी ईस्लाम थिए । उनको आत्मकथा विङ्स अफ फायरको सुरुआत अथर्ववेदको एक श्लोकबाट भएको छ । आफ्नो आत्मकथामा उनले अङ्ग्रेजी कविताहरू र संस्कृतका श्लोकहरूको बारम्बार प्रयोग गरेका छन् । आफ्नो नेतृत्वमा बनाएका मिसाइलहरूको नाम पनि उनले अग्नि, पृथ्वी, आकाश, त्रिशूल र नाग राखेका छन्, जसले वैदिक संस्कृतिसँग प्रत्यक्ष नाता र सम्बन्ध राख्दछ । असल कुरा सिक्नका निम्ति धर्म कदापि बाधक बन्नुहुँदैन । उनको अध्ययन, मनन र चिन्तनको मार्गमा पनि धर्म वा सम्प्रदाय बाधक भएको देखिँदैन ।
सबैभन्दा असल मित्र
उनको सबैभन्दा असल मित्र पुस्तक नै थियो । उनी जहाँजहाँ जान्थे, दुईचारवटा पुस्तक सधेैँ लिएर हिँड्थे । कलामको निधनपछि भारतीय दैनिक, द हिन्दुमा उनकै सहयोगी तथा सल्लाहकार सिर्जन पाल सिंहले ओबिचुअरी लेखेका छन् — ‘अन्तिम दिनसम्म पनि उनको झोलामा टन्न पुस्तकहरू थिए । यात्राका बखत पनि उनी अध्ययनमै व्यस्त थिए ।’
घरको आर्थिक अवस्था नाजुक भएका कारण कलामले सानैदेखि काम गर्दथे । उनी ९ —१० वर्षको छँदाखेरी नै अखबार वितरणको कार्य गर्दथे । एक बालक, जो बाल्यकालमा पत्रिका बेचेर आफ्नो परिवारलाई मद्धत गर्दथ्यो र पछि भारतजस्तो ठुलो देशको राष्ट्रपति बन्न पुग्यो, त्यो एउटा रोचक किस्सा हो ।
कलाम दैनिक १८ घण्टा काम गर्दथे । तैपनि उनलाई कामको कुनै बोझ लाग्दैनथ्यो । जिन्दगीभर उनी त्यही काममा डटिरहे, जसमा उनलाई सर्वाधिक रुचि थियो । भौतिकशास्त्रमा बी.एस.सी गरेका कलामलाई पछि भौतिकशास्त्र आफ्नो क्षेत्र होइन भन्ने लागेछ । त्यसपछि , उनले एरोस्पेस इन्जिनियरिङमा डिग्री हासिल गरे — मद्रास इन्सटिच्युट अफ टेक्नोलोजीबाट ।
आजकलका धेरै युवाहरू बाबुआमा वा समाजको दबाब वा भविष्यमा धेरै धनआर्जन गर्ने लोभमा आफ्नो रुचिबेगरको विषय अध्ययन गर्ने गरेको पाइएको छ । यसले अन्ततः जिन्दगीमा निराशा बाहेक केही फेला पर्दैन । जुन काम गर्दा मानिसलाई बोझ महसुस हुन्छ, जतिसुकै धनआर्जन भएपनि त्यसले मानिसलाई कदापि सुखी राख्न सक्दैन । आफूलाई जुन क्षेत्र सर्वाधिक प्रिय लाग्दछ, त्यही क्षेत्रमा नै आफ्नो करियर बनाउनुपर्दछ भन्ने सन्देश पनि उनको जीवनबाट पाउन सकिन्छ, एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले भनेजस्तै — बरु भोकै बाँच, मुर्ख भएर बाँच तर जिन्दगीमा आफूलाई मन लागेको कार्य गर ।
भूउपग्रह तथा अन्तरिक्ष अन्वेषणको क्षेत्रमा पनि उनको ठुलो देन छ । भारतको पहिलो भूउपग्रह एस.एल.वी तीनको निर्माण उनकै पहलमा भएको थियो । एस.एल.बी तीनको प्रक्षेपणपछि भारत अन्तरिक्षमा भूउपग्रह छाड्ने सातौँ राष्ट्र बन्न पुगेको थियो । सन् १९८१ मा रोहिणी नामक भूउपग्रहको निर्माण पनि उनकै नेतृत्वमा भएको हो ।
घरको आर्थिक अवस्था नाजुक भएका कारण कलामले सानैदेखि काम गर्दथे । उनी ९ —१० वर्षको छँदाखेरी नै अखबार वितरणको कार्य गर्दथे । एक बालक, जो बाल्यकालमा पत्रिका बेचेर आफ्नो परिवारलाई मद्धत गर्दथ्यो र पछि भारतजस्तो ठुलो देशको राष्ट्रपति बन्न पुग्यो, त्यो एउटा रोचक किस्सा हो ।
शाकाहारी कलाम
कलाम शाकाहारी थिए । उनी रातमा धेरै समयसम्म जागा बस्दैनथे । बिहान पनि सबेरै उठ्दथे । सबेरै गीतापाठ गर्दथे र उनको जीवनशैली एक योगीको जस्तो थियो । उनी जीवनभर अविवाहित रहे । वा भनौँ, कर्मयोगमा यति तल्लीन भए कि उनलाई विवाह बन्धनमा बाँधिने फुर्सद नै भएन । केही पत्रकारहरूले उनको जीवनशैलीमाथि आलोचनात्मक टिप्पणी पनि गरेका छन् । एकजनाले भनेका छन् , उनी एक महान् व्यक्ति थिए । उनी जन्मले ईस्लाम थिए । तर, उनको जीवनशैली चाहिँ हिन्दु सन्तको जस्तो थियो । त्यसैले, उनी सबैका राष्ट्रपति थिए । मुस्लिम राष्ट्रपति भनिनु उनीमाथि अन्याय हुनेछ ।
कलाम स्वयं चाहिँ एकपटक एकपटक यसो भनेका थिए—
“For great men, religion is a way of making friends; small people make religion a fighting tool.” अर्थात महान् व्यक्तिका लागि धर्म साथीहरू बनाउने एउटा बाटो हो, साना मानिसले मात्रै धर्मलाई युद्धको हतियार बनाउने गर्दछन् ।
हिन्दु र मुस्लिम वा कुनै अन्य धर्महरूको आधारमा मानिसहरूको विभाजन वा द्वन्द्व कलामका निम्ति कुनै पनि हालतमा स्वीकार्य थिएन । कलामको वैदिक सनातन संस्कृतिप्रति गहन झुकाव भएको देखिन्छ । गीता र कुरानको बरोबर अध्ययन गर्ने कलामलाई दुवै धर्मका सन्त पनि मान्न सकिन्छ । आफ्नो ज्ञान र सिपलाई उनले कहिल्यै आफूमा सीमित राखेनन् । प्रवचनको माध्यमबाट युवाहरूमाझ आफ्नो ज्ञान र अनुभव बाँडे र उनीहरूलाई पनि सन्मार्गतर्फ प्रेरित गरे । भारत र सारा विश्वका निम्ति उनको सबैभन्दा ठुलो योगदान सायद यही नै हो ।
यसै कारणले हुनुपर्छ, कलाम संसारभरिका युवाहरूमाझ सर्वाधिक चर्चित छन् । धेरैले उनलाई आफ्नो रोलमोडल पनि मान्ने गर्दछन् । प्रत्यक्षरूपमा उनीसँग साइनोसम्बन्ध नभएपनि उनी परोक्ष अभिभावकजस्ता थिए । उनले धेरैलाई प्राविधिक र नैतिक दुवैरूपले बाटो देखाएका छन् । उनको ध्येय शक्तिशाली र समृद्ध भारतको निर्माण गर्नु थियो । तर, उनको क्षेत्र खाली भारत मात्र होइन, सम्पूर्ण विश्वकै युवाहरूलाई कर्मयोगी बन्न उनले पे्ररित गरेका थिए ।
उनका सल्लाहकार तथा सहयोगी सिर्जन पाल सिंहका अनुसार, कलाम सबै मानिसलाई आफ्नो साथीको रूपमा लिने गर्दथे । चाहे सेक्रेटरी होस् वा चालक वा सहयोगी वा कुनै अनाम व्यक्ति । ठुलो मानिस हुनुको अवाञ्छित दम्भ उनमा थिएन । उनका निम्ति पृथ्वी एउटा समथर भुगोल थियो, जहाँ ठुलो र सानोको कुनै भेद थिएन । आफूले भेट्ने हरेक मानिसप्रति उनको करुणा थियो । सिर्जनले लेखेका छन् — सानोतिनो रुघाखोकी लाग्दा पनि कलाम खोजी गर्दथे र हरेक दिन सोध्ने गर्दथे, कस्तो छ तिम्रो स्वास्थ्य ?
कलामको जिन्दगीलाई सफलता नै सफलताको इमारत भने मान्न सकिँदैन । कलामलाई जिन्दगीमा एकपटक एयरफोर्स विमानको पाइलट बन्ने ठुलो रहर थियो । मद्रास इन्टिच्युट अफ टेक्नोलोजीबाट पढाइ सकेर उनले रक्षा मन्त्रालयअन्र्गतको डी.एन्ड.टी नामक एक विभागमा अन्तर्वाताका निम्ति आवेदन दिएका थिए । कुल २५ जनामध्ये उनको नाम ९ औँ स्थानमा निस्कियो । तर, सो विभागलाई आवश्यकता भने मात्र ८ जनाको थियो । यसरी, उनको पाइलट बन्ने सपना कदापि पुरा हुन सकेन ।
आफ्नो जिन्दगीको ठुलो लक्ष्य पुरा नभएपछि उनी भौँतारिदैँ ऋषिकेश पुगेछन् । स्वामी शिवानन्दको सङ्गतले उनलाई जिन्दगीमा थप ऊर्जा मिलेछ । पछि उनले पुनः सोही विभागमा काम गर्न थालेछन् — सिनियर वैज्ञानिक असिस्टेन्टको रूपमा । यसरी, उनले पाइलट बन्ने सपनालाई सदाका निम्ति तिलाञ्जली दिएछन् र उनको जिन्दगीले अर्कै गति लिएछ ।
आधुनिक भारतीय रकेटका पिता
भारतमा कलामलाई आधुनिक भारतीय रकेटका पिता पनि मान्ने गरिन्छ । रकेटको आविष्कार पश्चिमाहरूले १९औँ शताब्दीमा गरेको मान्ने गरिन्छ । तैपनि, कलामको तर्कलाई मान्ने हो भने १८ औँ शताब्दीमा मुगल सम्राट टिपु सुल्तानले रकेटहरू बनाइसकेका थिए । ब्रिटिस सरकारले भारतमाथि हमला गर्दाको बखत सयौँ रकेटहरू चोरेर बेलायत लगिएको थियो र ती रकेटहरूको आधुनिकीकरण गरिएको थियो । लन्डनको रोटु्न्डा म्युजियममा अझै पनि रकेट अफ टिपु भनेर चोरिएका रकेटहरूको संरक्षण गरिएको छ । टिपु सुल्तानको निधनपछि करिब करिब दुई सय वर्षसम्म भारतीय मिसाइलशास्त्र मौन नै रह्यो । २०औँ शताब्दीको उत्तरार्धमा चाहिँ कलाम आधुनिक टिपु सुल्तान बनेर उदाए ।
संसारमा जेजति भूउपग्रहहरू बनेका छन्, ती सबैको आधार भनेको जोहानेस केपलरको सिद्धान्त हो । उनको सिद्धान्तमा तीन नियमहरू उल्लेख गरिएको छ । केप्लरको तेसा्रे नियमलाई सबैभन्दा महत्त्वपूर्ण नियम पनि मान्ने गरिन्छ । सो नियमले भूउपग्रहको गतिको जानकारी दिन्छ । पहिलो र दोस्रो नियमको प्रतिपादन गरेर पनि तेस्रो नियम पत्ता लगाउन केपलरलाई १७ वर्ष लागेथ्यो ।
पत्रिका वितरण गरेर आफ्नो दैनिक खर्च जुटाउने अबुल पाकिर जैनलाअवुदीन अब्दुल कलामलाई डा.ए.पी.जे अब्दुल कलाम बन्न कति वर्ष लाग्यो होला ? पङ्क्तिकार यसको हिसाब जान्दैन । यो चाहिँ भन्न सक्छ— कलामको जिन्दगी एउटा महान् सपनाको कथा हो । एउटा यस्तो सपना, जसले आधुनिक भारतको रङ फेरिदियो ।
माइ जर्नी नामक संस्मरणात्मक पुस्तकमा कलामले आफूलाई प्रिय लाग्ने पुस्तकहरूको सूची तयार पारेका छन् । लियो टल्सटाय, थोमस हार्डी र सर वाल्टर स्कट उनका प्रिय लेखकहरू रहेछन् । वेद, कुरान र भगवद् गीता उनका प्रिय ग्रन्थहरू रहेछन् । यसका अलावा नोबेल लरेट अलेक्सी क्यारेलको पुस्तक म्यान एन्ड द अननोन पनि उनका प्रिय पुस्तकहरूको सूचीमा अटाएको छ ।
भगवद् गीताको दैनिक अध्ययन
भगवद् गीताको दैनिक अध्ययनले उनलाई निर्धक्क भएर आफ्ना कार्यहरू गर्न र जीवनमा आइपर्ने चुनौतीहरू डटेर सामना गर्ने साहस प्राप्त भएको कुरा आफ्ना संस्मरणहरूमा उल्लेख गरेका छन् । भारतको पहिलो स्वनिर्मित मिसाइलको निर्माणको क्रममा कुरानका पङ्क्तिहरूले प्रेरित गरेको कुरा पनि उनले उल्लेख गरेका छन् । टी.एस.एलियट, लुईस क्यारोल र विलीयम बट्लर यिट्सका कविताका पनि ठुला फ्यान थिए — कलाम ।
कलाम स्वयम् पनि यदाकदा कविता लेख्दथे । आफ्नो जिन्दगीमा पुस्तकले पारेको प्रभावमाथि उनले लेखेका छन् —
Good books were for me angels
Touched my heart gently at the time
Hence I ask young friends to have
Books as friends
यस संसारका धेरै मानिसहरूमा प्राविधिक दक्षता हुन्छ, तर उनीहरू मानव व्यवस्थापन तथा नेतृत्वमा कमजोर हुन्छन् । अझ इन्जिनियरिङ वा यस्तै प्राविधिक काम गर्नेहरूलाई त झन् हृदयशून्य, कठोर तथा असामाजिक हुने गरेको आरोप पनि लाग्ने गरेको छ । प्राचीन दर्शन र साहित्यको राम्रो पकड भएका मानिसहरू पनि भेटिन्छन्, तर धेरैलाई आधुनिक विज्ञानका आधारभूत कुराहरूको पत्तो हुँदैन । कलाम यी सबै मानिसहरूको जमातभन्दा पर थिए । उनको ज्ञान र सीपको विस्तार आधुनिक विज्ञान, अध्यात्म, दर्शन, साहित्य, मानव व्यवस्थापन तथा अर्थशास्त्रसम्म थियो । ज्ञानको यति विराट् विस्तार भएका कलामजस्ता मानिसको जन्म एक युगमा सायद एकपटक मात्र हुने गर्दछ ।
उनको भौतिक शरीर हामीमाझ छैन । उनका महान् भनाइहरू सामाजिक सञ्जालहरूमा सर्वाधिक सेयर गरिनेछन् । ती भनाइहरू शाश्वत् वाणी बनेर सदैव गुञ्जिरहनेछन्, हाम्रो मनमस्तिष्कमा पनि । उनको सङ्घर्ष, सरल जीवनशैली, करुणाले भरिएको हृदय तथा महानताका किस्साहरूले सदैव हामीलाई सत्कर्मतर्फ प्रेरित गर्नेछन् ।
उनको ज्ञान र सीपको विस्तार आधुनिक विज्ञान, अध्यात्म, दर्शन, साहित्य, मानव व्यवस्थापन तथा अर्थशास्त्रसम्म थियो । ज्ञानको यति विराट् विस्तार भएका कलामजस्ता मानिसको जन्म एक युगमा सायद एकपटक मात्र हुने गर्दछ ।
शिव भुसाल साहित्य, दर्शन, कला र जीवनप्रेरक विषयमा कलम चलाउने लेखक हुनुहुन्छ । अङ्ग्रेजी र नेपाली भाषामा उत्तिकै क्षमताका साथ कलम चलाउने भुसाल पूर्वीय अध्यात्म दर्शन र पश्चिमी जीवनदर्शनका सूक्ष्म अध्येता उहाँ हाल अमेरिकामा अध्ययनरत हुनुहुन्छ ।