वास्तवमा जीवनको उद्देश्य भनेको ईश्वर प्राप्ति हो । यस तहमा मानिस ब्रह्माण्डसँग एकाकार हुन्छ । उसको आफ्नो अहम् ईश्वरमा समर्पित हुन्छ । ईश्वरसँगको एकाकार सातौँ तहको आवश्यकता हो । मान्छे आफ्ना सम्पूर्ण आवश्यकताहरूको पूर्तिपछि ईश्वरप्राप्तिको इच्छा राख्छ । यो इच्छा नै उसको उकृष्ट इच्छा हो ।
मनोविज्ञान र आध्यात्मिक क्षेत्रमा मानव मस्तिष्कको मनोवैज्ञानिक आवश्यकता र ईश्वरीय व्यवस्थापनलाई साह्रै राम्रोसँग बुझ्ने कोसिस भएको देखिन्छ । यस सन्दर्भमा ईश्वरलाई असिमित ज्ञान र भण्डारका रुपमा लिइएको छ । जीवनमा असीमित आनन्द र सौन्र्दय प्राप्त गर्न यही ईश्वरीय ज्ञानको भण्डारसँग सम्बन्ध राख्नुपर्छ । अर्को शब्दमा भन्दा ईश्वरीय शक्ति तपाईँ हामीहरूको मनोवैज्ञानीक आवश्यकता पूर्ति गर्न सधैँ तयार छ । मानव मस्तिष्कका सात क्षेत्रहरूले ईश्वरीय सत्तालाई औँल्याएका छन् । हरेक तहको आवश्यकताको पूर्तिले ईश्वरको सत्ताको यथार्थलाई प्रमाणित गरेको देखिन्छ ।
१. प्रथम तह (Fight or Flight Response)
यो तहमा मान्छेको प्राथमिक आवश्यकता भयबाट मुक्ति या सङ्घर्ष गर्नु हो । मान्छेलाई सबैभन्दा पहिला सुरक्षाको जरुरी पर्छ । आफ्नो जीवनरक्षा हेतु उसले कि त खतराबाट भाग्नुपर्छ या जुध्नुपर्छ । यही आवश्यकतालाई पूर्ण गर्न उसले परिवार, समुदाय, सामाजिक सम्बन्ध र भौतिक सुविधाहरूको व्यवस्थापन गर्न सुरु गर्दछ । यो आवश्यकता मान्छेको सबैभन्दा आधारभूत आवश्यकता हो ।
२. दोस्रो तह (Reactive Response)
प्रथम तहको आवश्यकतापूर्तिपछि पनि मानिस सन्तुष्ट हुन सक्दैन् । त्यसपछिको उसको मनोवैज्ञानिक आवश्यकता भनेको सफलता, पद, प्रतिष्ठा, प्रभाव र अन्य चाहनाहरूको पूर्ति गर्नु हो । यी आवश्यकताहरूको पूर्तिका लागि हामी प्रयासरत रहन्छौँ । अघिका मानिसहरूको जीवन यही आवश्यकतापुर्तिमै समाप्त हुन्छ ।
३. तेस्रो तह (Restful awareness Response)
दोस्रो चरणको आवश्यकता परिपूर्ति हुने बित्तिकै मानिस तेस्रो चरणमा प्रवेश गर्न चाहन्छ । जब मान्छे दोस्रो चरणको आवश्यकताको पूर्तिबाट सन्तुष्टि प्राप्त गर्दैन, उसले पहिलो पटक अन्तर्यात्राको सुरुआत गर्नुपर्छ । दोस्रो तहसम्मको आवश्यकता संसारबाट प्राप्त हुन्छ, तर अब तेस्रो तहको आवश्यकता उसले आफूभित्र खोज्नुपर्छ । तेस्रो तहका आवश्यकताहरू शान्ति, आत्मस्वीकृति, आन्तरिक मौनता हुन् ।
४. चौथो तह (Intuitive Response )
जब मान्छे तेस्रो तहका आवश्यकताहरूलाई पूरा गर्न खोज्छ, उसले असीम आनन्दको अनुभव गर्न थाल्छ । त्यसपछि यस आनन्दका लागि उसभित्र प्रेम, अन्तर्दृष्टि सहिष्णुता र क्षमाका भावहरू पालाउन थाल्दछन् । अब उसको आवश्यकताको प्राथमिकतामा माथि उल्लिखित गुणहरूको प्राप्ति पर्दछन् । उसले यसका लागि विभिन्न आध्यात्मिक गतिविधिमा अभिरुचि राख्न थाल्दछ ।
५. पाँचौँ तह (Creative Response)
यस तहको मनोवैज्ञानिक पक्ष भनेका प्रेरणा, विज्ञान र कलामा रचानात्मकता र असीमित अनुसन्धानहरूका सम्भावनाहरू हुन् । यस तहमा मानिस अत्यन्त रचानात्मक हुन्छ । उसले समाजका लागि केही योगदान गर्न सक्ने क्षमता राख्दछ । प्रसिद्ध वैज्ञानिक, कलाकार, दार्शनिकहरू यही मस्तिष्कको तहबाट यो संसारलाई केही योगदान गर्न सफल भएका छन् । यो ईश्वरको पाँचौँ व्यवस्थापन हो । ईश्वर हामीहरूमा निहित सम्पूर्ण क्षमताको प्रयोग देख्न चाहन्छन् ।
६. छैटौँ तह (Visionary Response)
हामीहरूको मस्तिष्क रचानात्मक शक्तिबाट मात्र सन्तुष्ट हुन सक्दैन् । तसर्थ, मानिस पनि आफूभित्र मनोवैज्ञानिक यात्राको छैटौँ तहमा आइपुग्दा केही उत्कृष्ट भावहरूको महसुस गर्छ । यसलाई सम्पूर्ण सृष्टिप्रति कृतज्ञता, करुणा आदि अनुभव हुन थाल्छ । ऊ ईश्वरको सम्पूर्ण सांसारिक व्यवस्थापनप्रति सन्तुष्ट हुन्छ ।
७. सातौँ तह (Sacred Response)
ईश्वर एकदमै दयालु हुनुहुन्छ । सातौँ तहमा आइपुग्दा ईश्वरमा मानिसलाई आफूजस्तो बनाउन चाहनुहुन्छ । वास्तवमा जीवनको उद्देश्य भनेको ईश्वर प्राप्ति हो । यस तहमा मानिस ब्रह्माण्डसँग एकाकार हुन्छ । उसको आफ्नो अहम् ईश्वरमा समर्पित हुन्छ । ईश्वरसँगको एकाकार सातौँ तहको आवश्यकता हो । मान्छे आफ्ना सम्पूर्ण आवश्यकताहरूको पूर्तिपछि ईश्वरप्राप्तिको इच्छा राख्छ । यो इच्छा नै उसको उकृष्ट इच्छा हो । यो इच्छाबाट नै मान्छे जीवनको असीम आनन्दको प्राप्ति गर्दछ ।
(स्रोत : How to Know God (Deepk Chhopra) )
दिलराज पाठक जीवनदर्शन, अध्यात्म, धर्म र उत्प्रेरणाजस्ता विषयमा कलम चलाउन मन पराउनुहुन्छ । लामो समय विद्यालय शिक्षण तथा व्यवस्थापनको अनुभव सँगाल्नुभएका पाठक विशिष्ट अध्यात्म साधक हुनुहुन्छ भने जीवननिर्माण र उत्प्रेरणामुखी लेखनमा रुचि राख्नुहुन्छ । धर्म र अध्यात्मले कोरा दर्शन भन्दा बढी मनुष्यको दैनन्दिन जीवनलाई रूपान्तरण गर्नुपर्ने मान्यता राख्नुहुन्छ ।