यो संसारमा दुई खाले मानिस हुन्छन् : पहिलो, आफूले इतिहास रच्ने र दोस्रो, अरूले रचेको इतिहासको लेखाजोखा राख्ने । यी दुईमध्ये कुनचाहिँ बाटो रोज्ने हो, त्यो भने आफ्नै हातमा हुन्छ ।

सम्पन्नता र विपन्नताका  कारण 

एउटा समाजको सम्पन्नताको पछाडि गहिरा कारण लुकेका हुन्छन् र विपन्नताको पछाडि पनि । अकारण यहाँ केही हुँदैन, हुन सक्दैन । एउटा सम्पन्न समाजले केही महत्त्वपूर्ण कुराहरू सिकेको हुन्छ र त्यसका नागरिकको जीवनशैली एवम् सोच फरक प्रकारको रहन्छ । त्यही सोच र जीवनशैलीले त्यो समाजले निरन्तर सम्पन्नता सिर्जना गर्छ र बहुआयामिक विकासतिर लम्किन्छ ।

सारमा भन्नुपर्दा सम्पन्न समाजले लामो प्रयास गरेर सम्पन्नता नै सिकेको हुन्छ र विपन्न समाजले पनि संस्कारकै रूपमा विपन्नता सिकेको हुन्छ ।

त्यसकारणले आफ्नो असफलता र विपन्नताका लागि अरू कसैलाई दोष दिनुभन्दा आफ्नै सोच, संस्कार र कर्म नियालेर हेर्ने हो भने कारण त्यहीँ फेला पार्न सकिन्छ ।अन्ततोगत्वा, सम्पन्नता तथा विपन्नता एवम् विकास या विनाश छुट्याउने मूल तत्त्व हाम्रो कर्म या काम नै हो । हामी कामलाई कस्तो दृष्टिले हेर्छौँ ? कुन उमेरमा हामी काम गर्न सुरु गर्छौँ र कुन उमेरसम्म काम गर्छौँ ? दिनको कति घण्टा काम गर्छौँ हामी ?

कर्मठताको पूजा गर्छौं कि आलस्यको ? महत्त्वाकाङ्क्षी व्यक्तिलाई सम्मानको आँखाले हेरिन्छ कि अपमानको ? हामी आफ्ना छोराछोरीलाई सुख, सुविधा र सुरक्षा मात्र दिन्छौँ कि चुनौती पनि ? यस्ता सुन्दा चानचुन लाग्ने तर आधारभूत प्रश्नहरूमा लुकेको हुन्छ, हाम्रो सम्पन्नता या विपन्नताको कारण ।

साधारणतया हामीलाई के लाग्छ भने बिनालोभ मान्छेले काम गर्न सक्दैन । त्यसकारणले धन र लोभलाई हामीले पर्यायवाची मान्यौँ । कुनै धनी व्यक्ति देख्नासाथ पक्कै पनि ऊ लोभी हुनुपर्छ र कन्जुस्याईँ गरीगरी पैसा बचाएर आज धनी भएको हुनुपर्छ भन्ने हामीलाई लाग्छ ।

अझ हाम्रो समाजमा त भ्रष्टाचार, कालोबजारी, करछली र शोषण नगरीकन कोही पनि व्यक्ति धनी हुन सक्दैन भन्ने गहिरो मान्यता छ । केही समयअघि उद्योगपति विनोद चौधरीको नाम विश्वका अर्बपतिहरूको सूचीमा परेको समाचार मैले सार्वजनिक सञ्जालमार्फत सेयर गरेको थिएँ ।

त्यसै दिन मलाई दर्जनौँ प्रतिक्रिया आए । तीमध्ये अधिकांशको आशय यस्तो थियो: हाम्रो मुलुकमा निकै ठूलो अनैतिक र आपराधिक काम नगरी कोही धनी हुन सक्दैन । त्यसकारणले यस्तो समाचारलाई सेयर गरेर मैले अनैतिकता र आर्थिक अपराधलाई बढावा दिइरहेको छु ।

केही मित्रहरूले त तपाईँजस्तो आध्यात्मिक गुरुले धन, सम्पत्ति र महत्त्वाकाङ्क्षालाई यत्रो मूल्याङ्कन दिनुहुन्छ भनेर प्रश्नसमेत गर्नुभयो ।

प्रत्येक व्यक्तिभित्र सम्पन्नता  सिर्जना गर्ने ऊर्जा

प्रश्न विनोद चौधरीले धन नैतिक या अनैतिक कस्तो तरिकाले आर्जन गरे भन्ने होइन । असली प्रश्न त धन र सम्पन्नताप्रति हाम्रो दृष्टिकोण कस्तो छ भन्ने नै हो । प्रत्येक व्यक्तिभित्र सम्पन्नता र ऐश्वर्य सिर्जना गर्ने ऊर्जा एवम् सम्भावना लुकेको हुन्छ ।

जसले आफ्नो यो सम्भावनालाई पहिचान गरेर प्रकट गर्न सक्यो, उसले असल बाटोबाट पनि धन आर्जन गर्न सक्छ भन्ने हामीलाई सम्भवतः थाहा छैन ।
त्यसकारणले विनोद चौधरी या अरूले धन कसरी आर्जन गरे भन्नुभन्दा मभित्र धन आर्जन गर्ने क्षमता र साहस छ कि छैन भन्ने हो ।

साहस छ भने आफू पनि आर्जन गर्ने बाटोमा लागे हुन्छ, यदि छैन भने अरूको राम्रोनराम्रो कोट्याउनमा मात्र आफ्नो प्रतिभा सीमित गर्न बाध्य हुनुको विकल्प नरहला ।

भनिन्छ, यो संसारमा दुई खाले मानिस हुन्छन् : पहिलो, आफूले इतिहास रच्ने र दोस्रो, अरूले रचेको इतिहासको लेखाजोखा राख्ने । यी दुईमध्ये कुनचाहिँ बाटो रोज्ने हो, त्यो भने आफ्नै हातमा हुन्छ ।

धनप्रति समाजको यस्तो नकारात्मक रबैया रहँदा जो व्यक्ति केही मात्रामा भए पनि धन आर्जन गर्न सफल हुन्छ, उसको मनमा एउटा अपराधबोध निरन्तर रहिरहन्छ । उसले आफ्नो सम्पन्नता प्रकट गर्न सक्दैन ।

यस्तो व्यक्तिले आफ्नो क्षमतालाई पूर्णरूपमा विकसित गरोस् पनि कसरी ? त्यस्तै धनी व्यक्तिले गरेको परिश्रम, उसको बुद्धिमत्ता र उसको अनुभव पनि अरूको आँखामा पापकर्मजस्तो लाग्ने हुँदा धन आर्जन गर्नतिर व्यक्तिहरू उत्सुक हुन छोड्छन् ।

कन्फ्युसियसको  भनाइ

कन्फ्युसियसको एउटा सान्दर्भिक भनाइ छ : असल शासन भएको देशमा गरिबी लज्जाको विषय हुन्छ र खराब शासन भएको देशमा सम्पन्नता लज्जाको विषय हुन पुग्छ ।

सत्य के हो भने गरिबीलाई महिमामण्डित गरिने समाजमा व्यक्ति जतिसुकै अनैतिक या चरित्रहीन भए पनि उसको विपन्नताले यी समस्या छोपेर राखेको हुन्छ । विस्तारै धनी हुनु पाप हो र गरिब रहनु नै पुण्य हो भन्ने सोचले व्यक्तिहरूको अवचेतन मनमा किलो गाड्छ र समाज सदा गरिब रहन अभिशप्त हुन्छ ।

जुन समाजमा कर्मलाई भन्दा आलस्य, विश्राम या मनोरञ्जनलाई बढी महत्त्व दिइन्छ, त्यो समाज दिशासूचक यन्त्र बिग्रिएको एउटा हवाईजहाज जस्तै अन्त्यहीन दुश्चक्रमा घुमिरहन बाध्य हुन्छ । हामी जबसम्म आफ्नो कर्म या कामलाई पहिलो प्राथमिकतामा राख्दैनौँ, तबसम्म आफूभित्र लुकेको क्षमता चिन्ने अवसर नै हुँदैन । आफ्ना लागि आफैँले व्यक्त गरेका सङ्कल्प र निर्माण गरेका लक्ष्यहरूबाट सिर्जित कर्मले नै आफ्नो महानता अनावरण गर्ने जमर्को प्रत्येकले गर्नुपर्दछ ।

जुन समाजमा कर्मलाई भन्दा आलस्य, विश्राम या मनोरञ्जनलाई बढी महत्त्व दिइन्छ, त्यो समाज दिशासूचक यन्त्र बिग्रिएको एउटा हवाईजहाज जस्तै अन्त्यहीन दुश्चक्रमा घुमिरहन बाध्य हुन्छ ।

मनुष्यको योनिलाई ‘कर्मयोनि’ भनिन्छ । यहाँ भोजन, बास र कपडाजस्ता जीवनका साधारण आवश्यकता  कर्मको माध्यमबाट पूर्ति गर्नुपर्छ ।

त्यस्तै कर्मद्वारा नै हामी आफ्नो प्रतिभा एवम् सिर्जनशीलतालाई पनि व्यक्त गर्न सक्छौँ । काम या कर्म नगर्ने हो भने व्यक्तिका सारा गतिविधि समाप्त हुन जान्छन् । हामीले कर्मद्वारा केही बनाउँछौँ भने कर्मले पनि हामीलाई बनाउँछ ।

एउटा मूर्तिकारले आफ्नो मिहिनेतले मूर्ति बनाउँछ भने त्यही मूर्तिले व्यक्तिलाई मूर्तिकार पनि बनाउँछ । एउटी महिला शिशुलाई जन्म दिएर आमा बन्छिन् भने त्यो शिशुले पनि आमालाई जन्म दिन्छ ।

कर्मको असीमित ऊर्जा 

त्यसकारण, कर्म, परिश्रम, उपलब्धि, सम्पन्नता, सफलताजस्ता सकारात्मक आयामहरूप्रति हाम्रो सही दृष्टिकोण हुन जरुरी छ । प्रत्येक व्यक्तिभित्र कर्मको असीमित ऊर्जा लुकेको हुन्छ । त्यही ऊर्जाले हामीलाई निरन्तर कर्म गर्न भित्रैबाट धक्का दिइरहेको हुन्छ ।

कर्मको असली प्रेरणा हामीभित्रको कर्मको ऊर्जा नै हो । जीवनका प्रारम्भिक दिनहरूमा लोभलालचबाट प्रेरित भएर कर्म गर्नु स्वाभाविक भए पनि निष्ठावान् र परिश्रमी व्यक्ति छिटो व्यक्तिगत स्वार्थबाट माथि उठेर सबैको हित हुने कर्म गर्न सिक्छ ।

म केही गर्न सक्ने रहेँछु, मैले पनि गरे हुँदोरहेछ र म पनि महत्त्वपूर्ण रहेँछु भन्ने सोच व्यक्तिले कर्मको माध्यमबाटै विकास गर्दछ । मनुष्यले आफूभित्र लुकेको महानतालाई पनि कर्मको माध्यमबाटै अनुभूत गर्न र अभिव्यक्त गर्न सक्छ ।

आफूभित्र असीमित सम्भावना रहेकोप्रति शङ्का गर्ने मनोरोगलाई मनोविज्ञानमा ‘जोनाह सिन्ड्रोम’ भनिन्छ । मैले बाँच्न खोजेको जीवनको लागि मेरो योग्यता पुगेको छैन र त्यसको काबिल म छैन होला भन्ने शङ्का हामीलाई लागिरहन्छ ।

त्यस्तै, सफल र महान् व्यक्ति हुनेबित्तिकै पुरानो जीवन सकिन्छ र अरूका आँखामा अहङ्कारी र अपाच्य भइन्छ भन्ने अदृश्य डर प्रत्येक व्यक्तिमा हुन्छ । यसरी हामी आफ्नै सोचले आफूलाई सानो बनाउँछौँ र दिनदिनै मनको नयाँ कारागृह बनाएर आफैँलाई कैद गरिरहेका हुन्छौँ ।

मनको नयाँ कारागृह

आफ्ना हालसम्मका असफलता र नकारात्मक अनुभवहरूका आधारमा हामी आफूभित्रको महानताको सम्भावना इन्कार गर्दै जान्छौँ । अन्तोगत्वा, मभित्र कुनै गुण नै छैन र म आफूले सोचेअनुरूपको पु¥याउन सक्ने मान्छे होइन भन्ठानेर एउटा ‘मानसिक पुड्कोपन’ का साथ हामी जीवन व्यतित गर्न बाध्य हुन्छौँ ।

आफ्ना लागि आफैँले व्यक्त गरेका सङ्कल्प र निर्माण गरेका लक्ष्यहरूबाट सिर्जित कर्मले नै आफ्नो महानता अनावरण गर्ने जमर्को प्रत्येकले गर्नुपर्दछ । कर्मप्रति सही दृष्टिकोणको विकास गरी कर्मकै माध्यमबाट आफूभित्र लुकेको महानता चिन्ने र अभिव्यक्त गर्ने बाटोमा लाग्ने हो कि ?

आफूभित्र असीमित सम्भावना रहेकोप्रति शङ्का गर्ने मनोरोगलाई मनोविज्ञानमा ‘जोनाह सिन्ड्रोम’ भनिन्छ । मैले बाँच्न खोजेको जीवनको लागि मेरो योग्यता पुगेको छैन र त्यसको काबिल म छैन होला भन्ने शङ्का हामीलाई लागिरहन्छ ।