एकैछिन विचार गरौँ त, के भइसकेको दुःखद घटनालाई सम्झेर हामीले त्यसलाई सुखद बनाउन सक्छौँ ? यदि सक्दैनौँ भने हामीले बनाएका कथाले के काम गर्छन् त ? घटनालाई स्वीकार गरेर अघि बढ्नुभन्दा के विकल्प हुन्छ, हामीसँग ?

एउटा गाउँमा भुकम्पपछिको तनाव कसरी कम गर्ने भन्ने बारेमा एक मनोपरामर्श कार्यक्रम चलाउँदै थिएँ, बिचैमा एकजना सहभागीले आफ्नो जिज्ञासा राखे । उनले गरेको प्रश्नले मेरो मनमस्तिष्कलाई हल्लाइदियो । त्यो प्रश्न मेरो मानसपटलबाट अझै हराएको छैन । घरिघरि त्यसले झस्काइरहन्छ मलाई ।

यति भनेपछि तपाईँलाई जिज्ञासा भयो होला के थियो त ती सहभागीको प्रश्न ? किन त्यसरी झक्झक्याइरह्यो यति समय बितिसक्ता पनि ? प्रश्न निकै असामान्य हुनुपर्छ । तर, यथार्थ त्यस्तो होइन । प्रश्न अति नै सामान्य र अबोध किसिमको थियो । सोध्ने मानिस पनि कुनै बौद्धिक मानिस थिएनन् । उनी थिए साधारण किसान । निकैबेर मेरो कुरा सुनेपछि उनको मनमा उठेको जिज्ञासा थियो त्यो ।

उनले मलाई सोधेका थिए– “भुकम्प गयो । घर ढल्यो । आफन्त मरे । सम्पत्ति सकियो । घटना त सकियो तर मन भने अझै हल्लिाराको छ । घर हल्लिनुभन्दा मनि मन हल्लिनु चाहिँ सारो रछ । कसरी मन बुझाउने त्यो चैँ बताइ दिनुपरो ।”

यति थाहा पाएपछि तपाईँलाई फेरि जिज्ञासा लाग्न सक्छ– तनाव र यो प्रश्नको के सम्बन्ध ? आउनुहोस् यसबारे अलि विस्तारमा चर्चा गरौँ ।

दैनिक जीवनमा अनेक घटनाहरू

हाम्रो दैनिक जीवनमा अनेक घटनाहरू घट्छन् । कुनै घटना हामीले सोचेअनुरूप, चाहेअनुरूपका घट्छन् कुनै नसोचेका नचाहेका घटना घट्छन् । आफूले चाहेको जस्तो घटना घटित हुँदा हामी खुसी हुन्छौँ, नचाहेको घटना भयो भने दुःखी हुन्छौँ, हामीलाई तनाव हुन्छ । घटना बाहिर घट्छ तर त्यसको असर देखिन्छ, हाम्रो मनमा । मन बिथोलिएपछि हाम्रो अनुहार, काम गराइ, बोलीवचन सबैमा परिवर्तन आउँछ । मानिसहरू भन्न थाल्छन्– यो मानिस त यस्तो थिएन, आजभोलि के भएको छ कुन्नि, साह्रै रिसाउँछ, कुनै टेन्सन होला बिचरालाई । नत्र यस्तो होइन यो मान्छे ।

सबै घटनाले सबैलाई समान असर पार्दैन । घटनाप्रतिको भावनात्मक तादात्म्य जति गहिरो हुन्छ, त्यतिकै गहिरो हुन्छ, त्यसको असर पनि त्यतिकै असरदार हुन्छ । त्यो घटना सकारात्मक हुँदा हामी खुसी हुन्छौँ, नकारात्मक हुँदा दुःखी वा तनावग्रस्त ।

कसैलाई सन्तान आफूले भनेजस्तो नभएर तनाव छ, कसैलाई मायाप्रीति टुटेर तनाव छ, कसैलाई पैसा कमाउने धुनमा लाग्दा परिवार टाढा भएर तनाव छ, कसैलाई पुस्तापुस्ताबीचको सोचाइ र व्यवहार नमिलेकाले तनाव छ, कसैलाई कमाइ घट्तै जाँदा हुने अभावबोधले तनाव छ । कारण थरिथरि छन्, तर परिणाम भने एउटै छ– तनाव ।

चाहे विकसित समाजमा होस् वा अविकसित सबैतिरका ठूलो सङ्ख्याका मानिसमा एक न एक तनावले घर गरिरहेकै छ । उन्नत र विकसित भनिएको समाजमा त मानिसका आन्तरिक समस्या झन्झन् बढेका छन् । पारिवारिक विघटन, सामाजिकताको अभाव, एक्लोपन आदि पनि बढेका छन् । धन कमाउने, प्रसिद्ध बन्ने, ख्याति र प्रसिद्धि कमाउने आकाङ्क्षा पनि बढेको छ अवसरका कारणले ।

हालैको अध्ययनले देखाएको छ, अमेरिकामा बस्ने करिब ६० प्रतिशत मानिसहरूलाई कुनै न कुनै किसिमको तनाव र डिप्रेसनको समस्या छ । युरोपमा यो सङ्ख्या ४५ प्रतिशतको हाराहारीमा छ, एसियाका देशहरूमा ३५–४० प्रतिशत छ । तनाव बढ्दै जाँदा आउने निराशा र छटपटीका कारण आत्महत्या गर्नेको सङ्ख्या र अपराध कर्म पनि विकसित भनिएकै समाजमा बढी छ । आखिर किन यस्तो डरलाग्दो अवस्था आएको छ त ? यसलाई कसरी घटाउन सकिन्छ ? विश्वव्यापी रूपमा महामारीको रूप लिँदै गएको यही तनाव, यसका कारण र व्यवस्थापनको कलाबारे यस आलेखमा छोटकरीमा चर्चा गरिनेछ । चर्चा सुरु गरौँ एउटा कथाबाट ।

घोडा पाल्ने बुढा

चीनको एउटा गाउँमा एक जना बुढा किसान बस्थे । उनले एउटा घोडा पालेका थिए । घोडा निकै सुन्दर र फुर्तिलो थियो । उनलाई कतै जानु प¥यो भने त्यही घोडा चढेर जान्थे । गाउँलेहरू उनको घोडा देखेर मनमनै भन्थे– ‘यी बुढाको घोडा निकै राम्रो छ ।’

बुढाको घोडाको प्रशंसा एक कान दुई कान गर्दै दरबारसम्म पुग्यो । राजा घोडाका सौखिन थिए । उनले बुढाको घोडा किन्न आफ्ना दूतहरू पठाए । दूतहरूले सामान्यभन्दा निकै चर्को मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । राजाका मानिसहरू घोडा किन्न आएका छन् रे भन्ने सुनेर गाउँलेहरू पनि बुढाकहाँ भेला भए । राजाका मानिसले निकै बढी मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । तर, बुढाले घोडा बेचेनन् । राजाका मानिसहरू रित्तोहात दरबार फर्के ।

‘यति धेरै मूल्य पाएको बेला घोडा बेच्नुपथ्र्यो, नबेचेर तिमीले राम्रो काम गरेनौ ।’ गाउँलेहरूले बुढालाई भने– ‘भोलि घोडा म¥यो वा हरायो भने यत्रो पैसा त्यसै गुम्ने भयो ।
‘राम्रो वा नराम्रो के भयो थाहा छैन, तर तथ्य (घटना) यही हो मैले घोडा बेचिनँ’ —बुढाले भने ।

त्यसको केही दिनपछि घोडा हरायो । घोडा हराएकोमा सहानुभूति व्यक्त गर्न गाउँलेहरू फेरि बुढाकहाँ भेला भए । राजाले घोडा किन्न पठाएको कुरा दोहो¥याउँदै उनीहरूले भने– ‘घोडा नबेचेर ठूलो गल्ती भयो । हेर, घोडा हरायो, ज्यादै नराम्रो भयो ।’

गाउँलेहरूको कुरा सुनिसकेपछि बुढाले भने– ‘राम्रो वा नराम्रो के भयो थाहा छैन, सत्य यति हो कि घोडा हरायो ।’

हराएको घोडा केही दिनपछि घर फर्कियो । साथमा अरु ८।९ वटा घोडा पनि लिएर आयो । घरको भन्दा राम्राराम्रा घोडाहरू तबेलामा देखेर छोरोचाहिँ दङ्ग प¥यो । बुढाकहाँ आएका जङ्गली घोडा हेर्न गाउँलेहरू बुढाकहाँ जम्मा भए । बुढालाई हौस्याउँदै भने– ‘तिमीले घोडा नबेचेर राम्रै काम गरेछौ, यतिका एक से एक राम्रा घोडाहरू आए, अब बेच्यौ भने झन् धेरै पैसा पाउने भयौ, बधाइ छ, तिमीलाई ।’ गाउँलेहरू हौसिए । बुढाले फेरि गाउँलेहरूलाई भने– “राम्रो वा नराम्रो के हो थाहा छैन, तर कुरा यत्ति हो, मेरो घोडाले जङ्गलबाट केही साथीहरू लिएर आएको छ र ती घोडाहरू मेरो घरमा छन् ।’

घरमा आएका एकसेएक राम्रा घोडा देखेर दङ्ग थियो, ऊ पनि । सवारीलायक बनाउने विचारले घोडा दाउन सुरm ग¥यो । जङ्गली घोडाहरू भएकाले दाउन निकै कठिन थियो । ऊसँग त्यस्ता घोडा दाएको अनुभवको कमी थियो । घोडा दाउने क्रममा बुढाको छोरो लड्यो र खुट्टो भाँचियो ।

छोराको खुट्टो भाँचिएको सुनेर गाउँलेहरू फेरि बुढाकहाँ जम्मा भए र सहानुभूति दर्शाउँदै भने– “हेर बुढा, घोडा बेचेको भए न यी घोडाहरू घरमा आउने थिए, न छोराले दाउनुपथ्र्यो, न उसको खुट्टो नै भाँचिन्थ्यो । तिमीले घोडा नबेचेकाले यो सब भएको हो, तिम्रै कारणले बिचरा छोराको खुट्टो भाँचियो, साह्रै नराम्रो भयो ।’
बुढाले फेरि भने – “राम्रो नराम्रो के भयो, थाहा छैन । तथ्य यत्ति हो, छोराको खुट्टो भाँचियो ।’

केही समयपछि देशमा अनिवार्य सैन्यसेवा सुरु भयो । हरेक घरका युवाहरू पल्टनमा भर्ना भएर देशका निम्ति युद्ध लड्नुपर्ने भयो । सबैका छोराहरू सिपाहीमा भर्ना हुन गए । अशक्त, अपाङ्गहरू, बुढाबुढीहरू मात्र गाउँमा बाँकी भए । बुढाबुढीहरू बिरामी परे भने घरमा पानी दिने समेत कोही रहेनन् । गाउँलेहरू मलिन अनुहार लगाउँदै फेरि बुढाकहाँ आए । उनीहरूले भने– “तिम्रो छोराको खुट्टो भाँचिएर ज्यादै राम्रो भयो । ऊ त केही दिनमा ठीक हुन्छ, घरमा बस्छ, तिमीहरूलाई हेरचाह गर्न सक्छ तर हाम्रा छोराहरू त सबै लडाइँ गर्न जानुपर्ने भयो, मर्ने बाँच्ने थाहा छैन । हामी टुहुराजस्ता भयौँ, तिमी बडो भाग्यमानी रहेछौ ।’ गाउँलेहरूले बुढाकँहा आफ्नो मनको बह पोखे ।

बुढाले यसपटक गाउँलेहरूलाई सम्झाउँदै भने– “हेर, जीवनमा यस्ता अनेक घटनाहरू आउँछन्, जान्छन् । तिमीहरू हरेक घटनालाई राम्रो नराम्रोमा विभाजन गर्छौ, म केवल एउटा घटना देख्छु र त्यसको निरीक्षण गर्छु । म तिमीहरूको जस्तो राम्रो नराम्रोमा छुट्याउँदिनँ । घटनाको परिणाम नहेरी छुट्याउँदा पछि धोका पनि हुन सक्छ । तत्कालका लागि कुनै घटना राम्रो वा नराम्रो लाग्न सक्छ, तर त्यसको अन्तिम परिणाम कस्तो हुन्छ, त्यो हामी जान्दैनौँ । तत्काल अनुमान मात्र लाउन सक्छौँ । त्यसैले, म घनटालाई मूल्याङ्कन गर्नुभन्दा त्यसमा लुकेको सत्य र शिक्षा खोज्छु ।

हरेक घटनाले कुनै न कुनै शिक्षा दिएर जान्छ, म त्यसलाई ग्रहण गर्छु । तर, तिमीहरू त्यसलाई मूल्याङ्कन गर्दै सधैँ राम्रो र नराम्रो भनिरहन्छौ । त्यसैले, तिमीहरू हरेक घटनामा कि त दुःखी हुन्छौ, कि त सुखी । म घटनाबाट शिक्षा लिन्छु । यो घोडा र छोराका घटनालाई पनि मैले त्यसैगरी लिएको छु, बाँकी कुरा तिमीहरू नै जान ।’

बुढा मानिसले देखेका घटना र गाउँलेले देखेका घटना

यस कथाका बुढा मानिसले देखेका घटना र गाउँलेले देखेका घटना समान छन् । तर, उनीहरूका प्रतिक्रिया भने नितान्त भिन्न छन् । गाउँलेहरू घटनासँगै कि खुसी भए कि दुःखी भए । बुढा भने समभावमा रहे । घटनालाई स्वीकार गरिरहे, निरीक्षण गरिरहे र शिक्षा लिइरहे । सबै घटनालाई साक्षी बनेर तटस्थ रूपमा हेरिरहे । घटनामा बहकिएनन् । राम्रानराम्रा, शुभअशुभ भनेर मूल्याङ्कन पनि गरेनन् । आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहे । हुनुपर्ने काम भई नै रह्यो । बुढाले घटनालाई भावनात्मक उत्तेजनाका आधारमा लिएका भए गाउँलेहरू जस्तै घटनैपिच्छे एक न एक मूल्याङ्कन गर्न सक्थे । आफूलाई सोहीअनुसार सुखी वा दुःखी बनाउन सक्थे । तर, उनले त्यसो गरेनन् । घटनालाई शिक्षाका रूपमा लिँदै जीवनयात्रामा अघि बढिरहेकाले उनी न तनावमा आए, न हौसिए । गाउँलेहरू घटनैपिच्छे या त तनावमा फँसे, या त हौसिए खुसी भएर ।

हाम्रो तनावको कारण

हाम्रो जीवनमा पनि यस्ता घटनाहरू भइरहन्छन् । कहिले सुखद घटना हुन्छन् त कहिले दुःखद । घटनाले आफैँ तनाव लिएर आएको हुँदैन । त्यसलाई हेर्ने हाम्रो जुन दृष्टिकोण छ, त्यसले नै हामीलाई सुखद वा दुःखद उत्तेजनामा पु¥याउँछ । त्यतिबेला हामी चाहेको र पाएकोमा भिन्नता देखेर या त आत्तिन्छौँ, या त मात्तिन्छौँ । हामीले व्यक्त गर्ने त्यही प्रतिक्रिया नै हाम्रो तनावको कारण बन्छ, हामी तनावमा फँस्छौँ ।

घटनालाई स्वीकारौँ र सत्यबोध गरौँ

घटनाहरूले पार्ने मानसिक तथा उत्तेजनात्मक प्रभावहरू व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैलाई अत्यन्तै दुःखद लागेको घटना अर्कोका लागि कुनै असरै नपार्ने हुन्छ । कुनै घटनामा कोही मानिस छाती पिटीपिटी रोइरहेको हुन्छ, कसैलाई त्यसको अर्थ नै हुँदैन । कोही खुसीले मात्तिएर रमाइलो गरिरहेको बेला अर्को व्यक्तिलाई चाहिँ त्यही घटना अर्थ न बर्थको लाग्दछ ।

अब प्रश्न आउँछ, आखिर सबै घटनाहरू घटना मात्र हुन् भने यसो किन हुन्छ त ? किनभने घटनालाई मूल्याङ्कन गर्ने हामी सबैको दृष्टिकोण र अनुभव भिन्नाभिन्नै छ । त्यही भिन्नताको कारण एउटै घटनाले पनि व्यक्तिपिच्छे फरकफरक प्रभाव पार्दछ । आफ्नो धारणा, पूर्व अनुभव, संस्कार र त्यस घटनाबाट आफूले गरेको अपेक्षालाई जोडेर व्यक्तिले घटनालाई मूल्याङ्कन गर्दछ र एउटा कथा बनाउँछ । त्यही कथाले हाम्रो मनभित्र सुखद र दुःखद उत्तेजना पैदा गरिदिन्छ, भावनामा डुबाइदिन्छ र हामी सुखी वा दुःखी हुन्छौँ । घटना सानो घट्छ, तथ्य अति नै सीमित हुन्छ, तर हामी त्यसमा भावनाका कथा जोड्छौँ र लामो सिनेमा नै बनाउँछौँ । त्यो सिनेमालाई हामी बारम्बार सम्झिरहन्छौँ, हेरिरहन्छौँ । घटनालाई घटनाकै रूपमा स्वीकार गर्ने बानी परेको भए त्यसबाट सत्य ग्रहण गर्न सकिन्थ्यो र शिक्षा प्राप्त हुन्थ्यो । आगामी दिनमा त्यस्ता घटनाबाट कसरी बच्ने वा उपयोग गर्ने भन्ने सिक्न सकिन्थ्यो ।

तनाव व्यवस्थापनका सेमिनारहरू चलाउँदा कैयौँ सहभागीहरूले मलाई भन्ने गरेका छन्, सुखदुःखको भावनामा नआउने मानिस त ढुङ्गोजस्तो भइहाल्यो नि, मानिस त भावनाप्रधान प्राणी हो । त्यस्तो कहाँ हुन्छ र ! तपाईँलाई पनि त्यस्तो लाग्न सक्छ । तर, एकैछिन विचार गरौँ त, के भइसकेको दुःखद घटनालाई सम्झेर हामीले त्यसलाई सुखद बनाउन सक्छौँ ? यदि सक्दैनौँ भने हामीले बनाएका कथाले के काम गर्छन् त ? घटनालाई स्वीकार गरेर अघि बढ्नुभन्दा के विकल्प हुन्छ, हामीसँग ?

हाम्रो जीवनमा पनि यस्ता घटनाहरू भइरहन्छन् । कहिले सुखद घटना हुन्छन् त कहिले दुःखद । घटनाले आफैँ तनाव लिएर आएको हुँदैन । त्यसलाई हेर्ने हाम्रो जुन दृष्टिकोण छ, त्यसले नै हामीलाई सुखद वा दुःखद उत्तेजनामा पु¥याउँछ । त्यतिबेला हामी चाहेको र पाएकोमा भिन्नता देखेर या त आत्तिन्छौँ, या त मात्तिन्छौँ । हामीले व्यक्त गर्ने त्यही प्रतिक्रिया नै हाम्रो तनावको कारण बन्छ, हामी तनावमा फँस्छौँ ।