डा.नेत्र आचार्य
हिलिङ तब मात्र सम्भव हुन्छ, जब हामीलाई ‘होल’ अर्थात् पूर्णत्वको स्मृति हुन्छ । जब हामीले आफूलाई दान आदि पारमिता मार्फत् पवित्र बनाउँछौँ, जब हामीमा ध्यानको अभ्यासबाट पूर्णताको स्मृति हुन्छ, तब हाम्रा सारा रोगहरु निर्मूल हुँदै जान्छन् । हामी स्वस्थ हुन थाल्छौँ । ‘स्व’ अर्थात् आफैँमा स्थित हुन थाल्छौँ ।
ध्यानको अभ्यासले शान्ति प्राप्त हुन्छ र शरीरमा ऊर्जा सञ्चय हुन्छ । हामीले कल्पना गर्ने चमत्कारहरु अहिल्यै सम्भव छन् यदि हामी आफ्नो ऊर्जा सपनाहरु पूरा गर्नमा लगाउँछौ र काल्पनिक सन्त्रासहरुमा रुमलिएर समाप्त गर्दैनौं भने । बुद्ध दर्शनका दान, शील, क्षमा, वीर्य (उत्साह), ध्यान र प्रज्ञा पारमिता जीवनमा चमत्कार ल्याउन सक्षम छन् । एक ध्यान साधिका कसरी दुई पारमितालाई जीवनमा उतारेर चमत्कार देख्न सफल भइन् भन्ने प्रसंगबाट यो आलेख सुरु गरौं ।
स्विट्जरल्याण्डकी भेरोनिक गोसोएलर फेसन उद्योगमा काम गरेर बस्थिन् । शिक्षादीक्षा र स्वास्थ्य समस्यामा सरकारले जीवन बीमा गरिदिएको हुनाले सबै स्वीस नागरिकजस्तै उनको जीवन पनि आनन्दले चलिरहेको थियो । यो आनन्द त्यतिखेर क्षीण भयो जब उनी असाध्य रोगबाट ग्रसित भइन् । भेरोनिक केवल ३२ वर्षकी थिइन् । उनको रोग एक प्रकारको क्यान्सर रहेछ । सम्भव भएसम्मका उपचार गराइन्, सिफारिस भएजति औषधि खाइन् । तर रोग झन् संक्रमित हुन थाल्यो । औषधि खान छोडिन् । रोग बढ्दै गइरहेको थियो । सारा जीवन अँध्यारो लाग्न थालेको थियो । संयोगले उनी जुरिकको कुनै बौद्ध गुम्बामा पुगिन्, जहाँ मानिसहरु मौन बसेर सामूहिक ध्यानको अभ्यास गरिरहेका थिए । त्यहीँ उनले ‘प्राकृतिक चिकित्सा ः रोग उपचारको वैकल्पिक बाटो’ नामको एउटा समूहका मानिस फेला पारिन् । उद्योगको काम छोडिदिइन् र फलफूलको सर्वत बेच्ने पसलमा सानोतिनो पेशा गर्दै तिब्बती बौद्ध उपचार पद्धति अपनाउन थालिन् ।
केही वर्ष रोगको अवस्था यथावतै रह्यो । एक पटक भेरोनिक नेपालको हिमाली भेक जुम्बेसीका त्रुल्सिङ झ्याटुल रिन्पोछेको गुम्बा भ्रमण गर्न जुरिकको एक बौद्ध समूहमा सामेल भइन् । जुम्बेसीमा भेरोनिकले दलाइ लामाका मुख्य गुरुमध्ये एक रहेका ती रिन्पोछेसँगै दश दिने ध्यान शिविरमा सहभागी हुने र आशीर्वाद लिने मौका पाइन् । भेरोनिक हरेक वर्ष त्यो गुम्बामा गएर रिन्पोछेसँग ध्यान बस्न थालिन् र उनको रोग पहिलो वर्षदेखि नै बिसेक हुन थाल्यो । ध्यान बसेर रोगमा आएको सुधार देख्दा डाक्टरहरु तीन छक परिरहेका थिए ।
उनको क्यान्सर काउन्ट निकै घटिसकेको थियो । शरीरमा फेरि ऊर्जा सञ्चार हुन थालेको थियो । अरु धेरै कुरा परिवर्तन भइरहेका थिए । उनी दैनिक ध्यानको अभ्यास गर्न थालिन्, उनी शाकाहारी भइन् र तनाव हुने जागिर छोडिसकेकी थिइन् । जीवन रुपान्तरण भइरहेको थियो । बाटोमा हिँड्दासमेत उनी प्रेम र करुणाले द्रविभूत हुन्थिन् । उनले अरुलाई के मद्दत गर्न सक्छु भनेर सोच्न थालिन् । सन् १९८८ मा पछिल्लो पटक ध्यान शिविरमा आएका बेला रिन्पोछेले उनलाई दलाई लामाको धर्मशाला नजिकै बस्ने गरिब तिब्बती परिवारका केटाकेटीहरु भेटाइदिए । भेरोनिकले छ वर्षकी माया लाग्दो अनुहार भएकी खान्दूलाई रोजिन् । त्यही बेलादेखि भेरोनिकले खान्दूको शिक्षादीक्षाको सम्पूर्ण खर्च व्यहोर्न थालिन् । त्यसबाहेक हरेक वर्षजस्तो खान्दूलाई स्विट्जरल्याण्डबाट राम्रा राम्रा लुगा पनि पठाइदिने गर्न थालिन् ।
पढाइमा निकै कमजोर विद्यार्थी खान्दू अहिले उत्कृष्ट भारतीय विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्दै स्नातक तह उत्तीर्ण गरिसकेकी छिन् र भेरोनिकले शिक्षादीक्षामा दिएको निरन्तर सहयोगको लागि अत्यन्त आभारी छिन् । यता भेरोनिक पूर्णतः क्यान्सरमुक्त भइसकेकी छिन् । डाक्टरहरु यस्तो कसरी सम्भव भयो बुझ्न सकिरहेका छैनन् । भेरोनिकले रोग उन्मुक्तिको श्रेय आफूले अपनाएको ध्यानमय जीवनशैली, प्रतिस्पर्धात्मक समाजको आक्रामक हस्तक्षेपबाट आफूलाई मुक्त पार्न सक्नु, प्रेम र सम्बोधिको आलोक आफ्नो जीवनमा उतार्न सक्नुलाई दिन्छिन् । कसैले उनका कुरा सुन्न चाहन्छ भने उनी भन्छिन्, ‘असहज हुनु नै रोग हो । सहज हुनुहोस्, सबैलाई प्रेमका आँखाले हेर्नुहोस् ।’ कुनै दिन रोगको भयानक पञ्जामा परेकी उनी अहिले प्रेमको स्वर्गमा आफूलाई पाउँछिन् ।
बौद्ध दर्शनमा दानशीलताको अत्यन्त महत्त्व छ । अरुको उपकारका लागि आफ्नो कुनै वस्तु त्याग गर्नु दान हो । कुनै वस्तुबाट आफ्नो स्वत्व वा अधिकार हटाएर अरुको अधिकार स्थापित गर्नु दान हो । स्वतस्फूर्त भावले कसैलाई केही दिनु उदारताको अभ्यास गर्नु हो । यो अभ्यास अन्ततः षट् पारमितामध्येको दान पारमितासम्म पुग्छ । विनासर्त र आसक्तिरहित भएर दिन सक्नु र तत्क्षण ‘मैले कसैलाई केही दिएँ’ भन्ने विचार समेत मनबाट हटाइदिनु दान पारमिता हो । यस्तो अभ्यासले हामीमा आध्यात्मिक चेतना जागृत गर्न सक्छ, किनभने दानको अभ्यासले निकै छिटो अहम्को भावना तिरोहित हुन्छ र मन हलुका हुन्छ । हलुका मन ध्यानको अभ्यासका निम्ति आधारशीला हो ।
दान दिनु एक उत्कृष्ट मानवीय गुण हो । दानशीलताको पराकाष्ठा हो, दान पारमिता । बौद्धदर्शनमा त्यागको भावना पैदा गर्न दानलाई प्राथमिकतामा राखिएको छ । बौद्ध साहित्यमा दानको पराकाष्ठाको उदाहरण प्रचूर पाइन्छन् । जातक कथामा उल्लेख भएअनुसार सिद्धार्थ गौतमले कुनै अघिल्लो जन्ममा दान पारमिताको अभ्यास गर्दागर्दैै आप्mनो शरीर नै एक सुत्केरी र भोकी बघिनीलाई सुम्पेको पढ्न पाइन्छ । हामै्र काभ्रे जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल नमोबुद्धमा बुद्धले आप्mनो शरीर सुम्पेको भनिएको बघिनीको गुफा हेर्न आज पनि सयौं तीर्थालु र श्रद्धालु पुग्छन् ।
यसप्रकार, बुद्धले दानको महिमामा नयाँ आयाम थपे । दानशीलतालाई बुद्धले नयाँ दर्शन दिए । बौद्ध परम्परामा दानको महत्व मरेपछि स्वर्ग प्राप्तिको लागि होइन, यही जीवनमा शान्ति र सौहार्दता अनुभूति गर्न हो, बुद्धत्वको आलोक प्राप्त गर्न हो । हामीमा आफ्नो अधिकारका वस्तुप्रति अनासक्ति र दानशीलताका प्रत्यक्ष प्रभावहरु अहिले नै अनुभूति हुन थाल्छन् । बौद्ध दर्शनको अर्को वैशिष्ट्य के हो भने यसका सबै पक्षहरु एक आपसमा अन्योन्याश्रित छन् । षट् पारमिताका सबै पक्षले एक अर्कालाई बल पु¥याउँछन् । जस्तो दानले ध्यानलाई सघन बनाउँछ, ध्यानले दानशीलता बढाउँछ । जब त्यागको भावना बढ्छ, तब मन हलुका हुन्छ र ध्यान लाग्न सहज हुन थाल्छ । ध्यानको अभ्यास गहिरिँदै जाँदा आफ्नो र अर्काको भन्ने भावना न्यून हुँदै जान्छ र दानप्रतिको लगाब बढ्छ ।
ध्यानको अर्को महत्त्वपूर्ण गुण यसको उपचारात्मक पक्ष हो । उपचारलाई अंग्रेजीमा हिलिङ भनिन्छ । हिलिङ तब मात्र सम्भव हुन्छ, जब हामी ‘होली’ अर्थात् पवित्र हुन्छौँ। हिलिङ तब मात्र सम्भव हुन्छ, जब हामीलाई ‘होल’ अर्थात् पूर्णत्वको स्मृति हुन्छ । जब हामीले आफूलाई दान आदि पारमिता मार्फत् पवित्र बनाउँछौँ, जब हामीमा ध्यानको अभ्यासबाट पूर्णताको स्मृति हुन्छ, तब हाम्रा सारा रोगहरु निर्मूल हुँदै जान्छन् । हामी स्वस्थ हुन थाल्छौँ । ‘स्व’ अर्थात् आफैँमा स्थित हुन थाल्छौँ । पूर्वीय दर्शनको यो महत्त्वपूर्ण पक्षबाट लाभान्वित भई मनमा करुणा जागेकी र दानशीलता अपनाएर जीवनलाई धन्य बनाएकी स्विट्जरल्यान्डकी भेरोनिकलाई उज्यालो भविष्यको शुभकामना ! उनको जीवन कथाले बुद्धको जन्मभूमिका बासिन्दा हामी सबैलाई आफ्नो वास्तविक आध्यात्मिक धरोहरलाई आत्मसात् गर्ने तथा ध्यानको अभ्यास मार्फत शारीरिक, मानसिक र आत्मिक समृद्धि प्राप्त गर्ने प्रेरणा मिल्न सक्छ । अरुबाट के फाइदा लिन सकिन्छ भनेर सोच्नुमात्र जीवनको पूर्णता होइन । हामीले अरुबाट लिएर चलाउने त मात्रा गुजारा हो । वास्तविक जिन्दगी हामी तब मात्र जिउँछौँ, जब हामी अरुलाई दिन थाल्छौँ । अस्तु ।
लेखकः
(डा.नेत्र आचार्य)
netra.acharya@gmail.com
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।