भावनात्मकरुपले करूणा, दया, प्रेम तथा सेवाजस्ता सकारात्मक मानवीय भावले मानिसलाई माहामानवतिर लैजान्छन् भने ईश्र्या, द्वेष, छलछाम, कपट, बेइमानी आदि भावहरुले मानिसलाई मनुष्यताबाट दानवतातर्फ धकेल्ने गर्दछन् । यो घोडा पनि नदाउँदा अराजक नै हुन्छ । नकारात्मकतातिर बढी नै आकर्षित हुन्छ । तर, जब आत्मसचेतताको लगाम कसेर अनुशासित बनाएर दाउन थालिन्छ, विस्तारै यो नियन्त्रित हुन थाल्छ ।

धीर भण्डारी

एउटा गाउँले किसानले जङ्गलमा घाँसदाउरा लिन जाँदा चर्दै गरेको घोडा देख्यो । जङ्गलमा खाएहुर्केको घोडा हुनसम्मको सुन्दर थियो । किसानलाई लोभ लाग्यो, घोडा समातेर घरमा लिएर आयो, पाल्यो । छरितो शरीर, ऊर्जावान् हिँडाइ अनि बिछट्टै राम्रो जिउडाल । घोडा देख्नासाथ सबै चकित पर्थे ।

गाउँले किसानको घरमा घोडा ! सुन्दा नै अचम्म लाग्यो गाउँलेहरुलाई । एक कान, दुइ कान गर्दै गाउँभरि हल्ला फैलियो । गाउँलेहरु घोडा हेर्न झुम्मिए । कसैले घोडा सुन्दर रहेछ भनेर प्रशंसा गरे, कसैले किसानको भाग्य चम्कियो भनेर डाहा गरे, कसैले केही नभनी अचम्म मानेर हेरे । थरिथरिका कुरा भए गाउँलेका बीचमा ।

एक जना अनुभवी बुज्रुकले सल्लाह दिए – “घोडा निकै राम्रो छ, यसमा त शङ्कै छैन, तर यसको सुन्दरता हेरेर मात्रै केही फाइदा छैन । फाइदा नहुने पशु पालेर काम पनि छैन । त्यसैले अब घोडा दाऊ र चढ्नलायक बनाऊ । त्यसो भयो भने यो घोडामा चढेर तिमी देशदेशावर घुम्न सक्छौ । कैयौँ दिन लगाएर हिँडेर पुग्नुपर्ने ठाउँ केही छिनमा पुग्न सक्छौ । सरसामान बोकाएर व्यापार–व्यवसाय पनि गर्न सक्छौ । तिमी भाग्यमानी छौ तर छिटो गर है । बुढो भएपछि घोडा काम लाग्दैन, समयमै दाएर काम लेऊ ।” ती बुज्रुकले दिएको सल्लाह किसानलाई पनि ठिकै लाग्यो । घोडा दाइसकेपछि हुने फाइदाका अनेक कल्पना पनि गर्न भ्यायो ।

“अनावश्यक कुरामा लगाम कस्ने र आवश्यक कुरामा लगाम छोड्ने कला नजानी हाम्रो जीवन कुनै गन्तव्यमा पुग्न सक्तैन, कुनै उचाइ चढ्न सक्तैन । “किसानको मन हौसियो । आफ्नो भाग्य चम्काउने अनेक सपना देख्यो । अनेक योजना पनि मनको लड्डुसँगै खायो । घोडा नदाइकन ती सबै सपना पूरा हुन सक्ने थिएनन् । त्यसैले, उसले घोडा दाउने विचार ग¥यो ।

घोडा कसरी दाउने ? उसलाई कुनै पूर्वअनुभव थिएन, घोडा दाउँदाको । किसानले विचार ग¥यो, अब म आफैँले घोडा दाउने कला सिक्नुपर्छ र यसलाई सवारीलायक बनाउनुपर्छ । उसले घोडा दाउने ठाउँमा जाने र त्यसको कला सिक्ने विचारले जानकारहरुसँग त्यस्ता ठाउँका बारेमा सोधपुछ ग¥यो । खोज्दै जाँदा एक जना अनुभवी मानिसकहाँ पुग्यो र भन्यो– “तपाईँ घोडा दाउन अनुभवी हुनुहुन्छ अरे भनेर आएको, मेरो घरमा एउटा राम्रो घोडा छ । तर, दाउनुपर्छ, नत्र काम लाग्दैन, छिटो दाऊ भनेर सबै भन्दैछन् । मलाई घोडा दाउन सिकाइ दिनुप¥यो ।”

किसानको कुरा सुनेर मक्ख पर्दै घोडा प्रशिक्षकले भन्यो– “उमेरमा त मैले निकै घोडा दाएको हुँ तर अहिले बूढो भएँ, सक्तिनँ । घोडा पनि छैनन्, दाउने सामान र शक्ति पनि छैन । तर पनि यति टाढादेखि मलाई खोज्दै आएछौ, घोडा दाउने कला सिकेर जाऊ । यसबारे म तिमीलाई केही बताइ दिन सक्छु ।” उनले घोडा दाउने कलाबारे बताउँदै गए । किसानले उनका कुरा खुब ध्यान दिएर सुन्यो । अन्त्यमा ती अनुभवीले भने– “यति जानेपछि त आफैँ घोडा दाउन सकौला नि !” अनुभवीका धेरै कुरा सुनिसकेकाले सबै कुरा जानेजस्तो लाग्यो किसानलाई । उसले हौसिँदै भन्यो– “यति जानेपछि त नसक्ने कुरै छैन ।”
किसानको घरदेखि निकै टाढा थियो ती प्रशिक्षक बस्ने ठाउँ । किसानलाई प्रशिक्षकको घरबाट आफ्नो घरसम्म आइपुग्न निकै समय लाग्यो । बाटामा हिँड्दा थकाइ लाग्यो, भोक र तिर्खा लाग्यो । कैयौँ मानिस भेटिए, कुराकानी भयो ।

घरमा आइपुग्दा ती अनुभवी घोडा प्रशिक्षकले भनेका केही कुरा किसानले भुले । अन्तिममा ती प्रशिक्षकले भनेका कुरा भने उनको सम्झनामा घुमिरहेको थियो– “सुरुमा घोडा अलि फट्फटाउँछ, तर लगाम कसेर आफू अडिन चाहिँ नछोड्नु है । घोडा थाकेपछि आफैँ ठेगानमा आउँछ । लगाम छोड्यौ भने घोडा अनियन्त्रित हुन्छ, तिमी पनि लड्छौ र दुर्घटनामा पर्न सक्छौ ।”

किसान यो कुरा सम्झँदासम्झँदै रनभुल्लमा पर्यो । तुरुन्त गएर सोध्न र शङ्का मेटाउन सक्ने अवस्था पनि थिएन । प्रशिक्षक निकै टाढा थिए । लगाम के हो ? कसरी बनाउने ? त्यसलाई कसरी कस्ने ? त्यसबारे सुनेको भए पनि न उसले त्यो सबै कुरा देखेको थियो, न प्रयोग गर्न पाएको थियो । अर्काले भनेको सुनेको मात्रै थियो । लगाम कस्ने कला जानेको थिएन । तर पनि उसले हिम्मत ग¥यो घोडा दाउन ।

घोडा दाउने उद्देश्यले किसान घोडामाथि चढ्यो र दौडाउन थाल्यो । जङ्गली घोडा, कहिल्यै मानिस सवार नभएको, एक्कासी आफ्नो जिउमा मानिस चढेपछि घोडा बेपत्तासँग दौडिन थाल्यो । किसानलाई न लगाम लगाउने तरिका थाहा थियो, न काँटी र लगाम नै ऊसँग थियो । केहीबेर त जसोतसो अडियो तर जब घोडा चारै खुट्टा छाडेर जथाभावी दौडिन थाल्यो, किसान घोडाबाट खस्यो र भुइँमा बजारिएर घाइते भयो । निकै दिनसम्म थला प¥यो । बल्लबल्ल उपचार गरेर तङ्ग्रियो । त्यसपछि कहिल्यै उसले घोडा दाउने विचार मनमा ल्याउन सकेन । एउटै घटनाले उसको सातो लिइदियो । टन्टै साफ गर्ने विचारले उसले घोडा बेच्यो ।

त्यसको केही दिनपछि उसका गाउँले साथीहरु आए । घरमा घोडा देखेनन् । सोधे– “घोडा खोइ त ?”
“मैले घोडा बेचिदिएँ । जङ्गली घोडा, दाउनै सकिनँ । लडेर बिरामी पनि परेँ । छँदाखाँदाको शरीर कुँजो भयो । यस्तो घोडा नभए पनि अहिलेसम्म जीवन चलेकै छ । को गरोस् बित्थाको दुःख ।”

किसानको कुरा सुनेर उसको छिमेकीले थकथक मान्दै भन्यो– “मलाई दिएको भए त तिमीलाई पनि कहिलेकाहीँ काम लाग्थ्यो । किन यति चाँडै हरेस खाएर बेचेको ? साह्रै हतारो गरेछौ तिमीले ।”

छिमेकीलाई घोडा साह्रै मन परेकाले ऊ घोडा खोज्न घरबाट निस्क्योे र घोडा खरिदकर्ताकहाँ पुग्यो । उसले किनेभन्दा केही बढी पैसा दियो र घोडा किनेर ल्यायो । ऊ घोडाको पारखी थियो । राम्ररी घोडा दायो । सवारीलायक बनायो । ससानो व्यापार गथ्र्यो । ढुवानीको साह्रै समस्या थियो । घोडामा सामान ल्याएर व्यापार फैलाउन थाल्यो । हेर्दाहेर्दै ऊ धनी भयो, किसान बुढो जस्ताको तस्तै रह्यो ।

 चाहेजस्तो गरी घोडा दौडाउन, चाहेको सफलता प्राप्त गर्न त्यसको बागडोर आफ्नै हातमा हुनुपर्छ । अनावश्यक कुरामा लगाम कस्ने र आवश्यक कुरामा लगाम छोड्ने कला नजानी हाम्रो जीवन कुनै गन्तव्यमा पुग्न सक्तैन, कुनै उचाइ चढ्न सक्तैन ।
……………

कथा सन्देशमूलक छ र प्रतीकात्मक पनि । तपाईँले सुनिरहेकै कथा हुनुपर्छ यो । तपाईँ जीवनको घोडा कुदाउन चाहनुहुन्छ, त्यसको प्रयोग गरेर आपूmलाई धनी, सम्मानित, प्रसिद्ध केके बनाउन पनि चाहनुहुन्छ, घोडामाथि चढ्नु पनि भयो, तर घोडा कुदाउन र नियन्त्रण गर्न प्रयोग गरिने लगाम तपाईँको हातमा भएन र घोडा दाउने कला जान्नुभएन भने तपाईँ घोडा कुदाउन सक्नुहोला ? कथम्कदाचित् घोडा कुदाउन सक्नु नै भयो भने पनि के तपाईँले चाहेको गन्तव्यमा पुग्न सक्नु होला ? अहँ, सम्भव छैन । बिनालगाम न घोडालाई गन्तव्यतिर डो¥याउन सम्भव छ, न चाहेअनुसार हिँडाउन । लगाम नकसेको घोडाबाट अपेक्षित परिणाम हासिल गर्नु भनेको स्वर्गको फल आँखातरि मर् भनेजस्तै हो । स्वर्गको फल न खान सकिन्छ, न टिप्न सकिन्छ, हेर्न मात्रै काम लाग्छ ।

हाम्रो जीवन पनि त्यस्तै हो । चाहेजस्तो गरी घोडा दौडाउन, चाहेको सफलता प्राप्त गर्न त्यसको बागडोर आफ्नै हातमा हुनुपर्छ । अनावश्यक कुरामा लगाम कस्ने र आवश्यक कुरामा लगाम छोड्ने कला नजानी हाम्रो जीवन कुनै गन्तव्यमा पुग्न सक्तैन, कुनै उचाइ चढ्न सक्तैन ।

मानव जीवनका तीनवटा घोडा छन्– शरीर, मन र बुद्धि । यी घोडाले नै हामीलाई चलायमान बनाउँछन् । यिनलाई तन्दुरुस्त बनाउन उचित भोजन, स्याहारसुसार आवश्यक छ । तर, त्यति गरेर मात्रै तिनले हामीलाई समृद्ध बनाउँदैनन् । यी जथाभावी दौडिन थाले भने हामी लडेर घाइते हुन्छौँ, दुर्घटित हुन्छौँ । यिनलाई लगाम लगाएर दाउन सकियो भने हामी यसका मालिक बन्न सक्छा,ैँ सकेनौँ भने यिनका दास बन्छौँ, गन्तव्यमा पुग्न सक्तैनौँ ।
ठिकठिक गन्तव्यतिर लम्कन, आफूसँग भएका घोडा सन्तुलन मिलाएर डो¥याउन र चाहेको ठाउँमा पुग्न लगाम कस्नै पर्छ । लगाम हो हामीभित्रको विवेकको डोरी । आउनुहोस्, यसबारे केही चर्चा गरौँ यस लेखमा ।
……………….
माथि भनियो हाम्रा तीन मुख्य घोडा छन् जीवनका– शरीर, मन र बुद्धि । ती घोडाको लगाम जति राम्ररी कसिन्छ, जति राम्ररी गन्तव्यतिर डो¥याइन्छ, त्यति नै उचाइमा पुग्न सक्छ जीवन । कसैले जीवनको सगरमाथाको उचाइ चुमेको, कोही भने आधारशिविरसम्म पनि नपुगेको देखिन्छ । कसरी हुन्छ यस्तो भनेर गहिराइमा पुगेर हेरियो भने यही सूत्रले काम गरिरहेको पाइन्छ । जसले राम्ररी घोडा दौडाउन सक्यो त्यो छिटो गन्तव्यमा पुग्न सक्छ, जसले लगाम लगाएर घोडा कुदाउन सक्तैन, घोडा गन्तव्यतिर नकुदेर जथाभावी दौडिन्छ, हैरानी मात्र पाउँछ, गन्तव्य टाढै रहन्छ ।

१. कसरी भड्किन्छन् हाम्रा घोडाहरु ?

हाम्रो प्रथम र सबैभन्दा महत्त्वपूर्ण घोडा हो, शरीर । शरीर हाम्रा इन्द्रियबाट सञ्चालित हुन्छ । आँखाले देख्न खोज्छ, हाम्रो आँखा सधैँ राम्रा वस्तु र दृश्यतिर तानिन्छ । जिब्रोले खान खोज्छ, मीठामीठा भोजनतिर आकर्षित हुन्छ । कानले सुन्न खोज्छ, आफूलाई प्रिय लाग्ने कुरा सुन्न चाहन्छ । छालाले तातोचिसो थाहा पाउँछ, स्पर्शबाट आनन्दित हुन खोज्छ । आरामदायक आवास, पहिरन र ठाउँ र आवरण र स्पर्श खोज्छ । नाक छ, जसले सुगन्ध मन पराउँछ, दुर्गन्ध मन पराउँदैन।

शरीरबाहेक मन छ, हाम्रो अर्को शक्तिशाली घोडा । बाहिरी तहमा मन काम, क्रोध, लोभ, मोह, ईष्र्या, दोष, अहङ्कार, वासना र आकाङ्क्षाले भरिएको छ, भित्र छ दया, प्रेम, करुणा र मैत्रीको भावनात्मक स्थायी धरातल ।

बुद्धि छ अर्को सबैभन्दा शक्तिशाली घोडा । के ठीक, के बेठीक, के सही, के गलत । त्यसमा खुब रमाइलो मान्छ, हाम्रो बुद्धि । तर्क, गणित, फाइदा, बेफाइदाको खुब हरहिसाब गर्न चाहन्छ ।

यी सबैभन्दा पर छ, हाम्रो विवेक । यो लगाम हो, घोडाको । यसको प्रयोगबाट शक्तिशाली घोडालाई जता चाह्यो, त्यता डो¥याउन सकिन्छ । शक्तिशाली घोडालाई सानो त्यान्द्रोको बलमा सवार व्यक्तिले गन्तव्यतिर सोझ्याएझैँ, विवेकको डोरी लगाएर हाम्रा सबै घोडाहरु जता चाह्यो त्यतै डो¥याउन सकिन्छ ।

हाम्रो विवेक यो शरीर, मन, बुद्धि सबैलाई हेरेर हाँसिरहन्छ । जब यी तिनै कुरा अनियन्त्रित हुन्छन्, ऊ आफ्नो लगामको शक्तिका बलमा तिनलाई कस्ने कोसिस गर्दछ । जब त्यो कस्ने शक्ति विवेकले आर्जन गर्दछ, अनि मात्र हाम्रो शरीर, मन र बुद्धिले गन्तव्यतिर पाइला बढाउँछन् । यी घोडाहरु हरदम चलायमान छन् । घरिघरि भट्किन खोज्छन्, तर त्यो लगामरुपी विवेक शक्तिशाली छ भने ती घोडा न साधिइ धरै छैन । त्यसका लागि आवश्यक छ, कुशल सञ्चालक, जसको हातमा त्यो लगाम होओस् । अकुशल सञ्चालकको हातमा त लगाम भए पनि फेरि घोडामा चढ्दा दुर्घटना नै हात लाग्छ, गन्तव्य हात लाग्दैन । जसरी किसानले घोडा दाउन सकेन, लड्यो, घाइते भयो र घोडा नै बेचिदियो । अर्को व्यापारी जसले फेरि घोडा फर्काएर ल्यायो, दायो र धनी भयो । घोडा त व्यापारी र किसानको एउटै हो । तर, घोडालाई दाउन लगाम कस्ने जुन क्षमता व्यापारीले हासिल ग¥यो, त्यसले नै उसलाई सफल बनायो, किसान जस्ताको तस्तै भयो ।

हामी घोडा दाउने कला सिकेर फाइदा लिन मिहिनेत गर्नुभन्दा घोडा बेचेर ढुक्क हुन चाहन्छौँ वा सुनेको र देखेको भरमा काम लिन खोज्दछौँ । घोडा दाउने कुरा प्रयोग नगरी जानिने कुरा होइन । सुन्न त किसानले पनि सुनेका थिए, घोडा कसरी दाउन सकिन्छ भनेर, तर प्रयोग गर्ने कुशलता सिक्न जति मिहिनेत गर्नुपथ्र्यो त्यसभन्दा अगाडि नै हरेस खाए । घोडा दाउने मिहिनेत र धैर्य दुवै नभएकाले घोडाबाट पाउन सकिने फाइदा लिन सकेनन् । त्यही घोडा दाएर आफ्नो जीवन बदल्यो छिमेकीले ।

२. शक्तिशाली घोडा र तिनको उपयोग

हामीभित्रका शक्तिशाली घोडाहरुबारे माथि चर्चा गरिसकियो । तिनलाई कसरी दाउने ? विवेकको लगाम कसरी कस्ने ? कसरी सुरक्षितसाथ उपयोग गर्ने ? यस विषयमा विस्तारमा बुझ्नका लागि मानिससँग भएका शक्ति र तिनको स्वभावका विषयमा बुझ्नु आवश्यक हुन्छ ।

३. शारीरिक शक्ति

हाम्रो जीवन सञ्चालनको सबैभन्दा शक्तिशाली घोडा हो– शरीर । आहार, निद्रा, भयबाट सुरक्षा र मैथुन अथात् यौनचाहनाको पूर्ति यसका भोजन हुन्, तन्दुरुस्त रहनका लागि । यी भोजनको ठीकठीक मात्र मिल्दा हाम्रो शरीर तन्दुरुस्त हुन्छ । तर, तिनको मात्रा ठम्याएर प्रयोग गर्न सकिएन र अनावश्यक चाहनामा बहकियो भने हामी किसानजस्तै दुर्घटनामा पर्छौँ । शरीररुपी घोडालाई ठीकसँग प्रयोग गर्न सक्तैनौँ ।

सर्वप्रथम कुरा आउँछ आहाराको । उत्पादनशील शरीरका लागि शक्ति, प्रोटिन, मिनरल्स, भिटामिन, चिल्लोको उचित संयोजन भएको भोजन आवश्यक पर्दछ । भोजनको गुणस्तर जस्तो हुन्छ, हाम्रो शरीरको गुणस्तर पनि त्यस्तै हुन्छ ।

जस्तोसुकै र जतिसुकै भोजनमा लहसिने, स्वादको पछि दगुर्ने, शरीरधर्मको ख्याल गरेर स्वाद र मिठासमा लगाम लगाउन नसक्ने मानिसको स्वास्थ्य धरापमा पर्छ ।

खानेकुरा हो, सबैले खाइरहेकै छन् भनेर नशालु लागुपदार्थ जस्ता हानिकारक पदार्थ खाने कि नखाने ? शरीरलाई चाहिनेभन्दा बढी भोजन दिँदा के असर पर्छ ? भोजनको गुणस्तर मिलेन भने के हुन्छ ? यस्ता कुरामा विवेकको जरुरी हुन्छ । यो हानिकारक छ भन्ने जानेर त्यसबाट बच्ने मानिस उम्कन्छ र सफलतातिर लाग्छ, अरुको लहैलहैमा लागेर बहकिने मानिस कुलत र नशामा फँस्छ अनि जीवन नै बर्बाद पार्छ । आफू मात्र होइन, परिवार, इष्टमित्र, नातागोता सबैलाई लाजमर्दो बनाउँछ । शरीररुपी घोडाको खाने चाहनालाई विवेकको लगामले नकस्दा अनेक हैरानी आउँछ, जीवन सखाप हुन्छ ।

शरीररुपी घोडा दाउनका लागि सबैभन्दा बढी विवेकको लगाम आवश्यक हुन्छ, खानपान र यौनजन्य क्रियाकलापमा । यी दुवै कुरामा जसको विवेकले लगाम लगाउन सक्छ, त्यो शरीररुपी घोडाले हामीलाई सजिलोसँग गन्तव्ययात्रामा सघाउँछ । स्वतः दाइन्छ शरीररुपी घोडा । यसलाई विवेकको लगामले डो¥याउन नसक्ता ठूलाठूला दुर्घटना भएका छन्, संसारमा ।

केही वर्षअगाडिको मात्र कुरा हो, अन्तर्राष्ट्रिय मुद्राकोषका अध्यक्ष भइसकेका एक जना फ्रान्सेली अर्थशास्त्रीले आफ्नो शरीरुपी घोडालाई लगाम लगाउन नसकेर होटलकी एउटी कामदारसँग यौनदुव्र्यवहार गरे । फ्रान्सको राष्ट्रपति बन्ने अवसर मुखैमा आइसकेको अवस्थामा उनको त्यो अवसर नै गुम्यो । अन्तर्राष्ट्रिय बेइज्जती, अदालती मुद्दा केके को सामाना गर्दागर्दा हैरान भए । पद, पैसा र प्रतिष्ठा नै सखाप पा¥यो त्यसले ।

अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनले मोनिका लिवेन्स्कीसँग गरेको यौन दुव्र्यवहार अन्तर्राष्ट्रिय रुपमै चर्चित रह्यो । त्यो कहानी हाम्रो मनमा अझै ताजै छ । क्षणिक यौन आवेगउपर लगाम कस्न नसक्ता उनले कत्रो बेइज्जती भोग्नुप¥यो, त्यो इतिहासकै एक अँध्यारो पक्ष हो, अमेरिकीहरुका लागि ।

मन हृदयसँग सम्बन्धित छ । हृदयबाट उत्पन्न हुन्छन्, हाम्रा भावनाहरु । भावनात्मकरुपले करूणा, दया, प्रेम तथा सेवाजस्ता सकारात्मक मानवीय भावले मानिसलाई माहामानवतिर लैजान्छन् भने ईश्र्या, द्वेष, छलछाम, कपट, बेइमानी आदि भावहरुले मानिसलाई मनुष्यताबाट दानवतातर्फ धकेल्ने गर्दछन् ।

शरीरलाई सही ढङ्गले दाउनका लागि आवश्यक लगाम हो— ध्यान । ध्यानले मन, शरीर र चेतनालाई एकाकार गरेर शारीरिक अनुशासन, मानसिक शान्ति र आनन्द प्रदान गर्दछ । मानसिक चञ्चलता, छटपटी र अस्थिरतालाई यदि समयमै नियन्त्रण गर्न सकियो भने हाम्रो मन र शरीर दुवै स्वस्थ, शान्त र स्थिर हुन्छन् । यसका लागि ध्यान जत्तिको वैज्ञानिक र स्थायी उपाय अहिलेसम्म पत्ता लागेको छैन । ध्यानले मानिसभित्र चलिरहने अनावश्यक विचार र भावनालाई लक्ष्यकेन्द्रित गर्न, सोचाइ, कार्य र लक्ष्यबीच एकात्मक तालमेल बनाइराख्न र एकाग्रतापूर्वक कुनै काममा लागिरहन आन्तरिक प्रेरणा र सचेतता दिन्छ ।

अनुशासितरुपमा गरेको ध्यानले शरीर र मन दुवैलाई स्थिर, शान्त र सन्तुलित बनाउन र क्रमशः आफूभित्र सचेतना जागृत गर्न मद्दत गर्दछ । जतिजति हामी आन्तरिकरुपमा सचेत हुन्छौँ, त्यतित्यति शारीरिक र मानसिकरुपमा सन्तुलित र स्वस्थ रहन सक्दछौँ । विनाध्यान न आनन्द लिन सकिन्छ, न शान्ति प्राप्त हुन्छ, न त आत्मसचेतता नै विकास हुन सक्दछ ।

४. बौद्धिक शक्ति

हाम्रो अर्को महत्त्वपूर्ण घोडा हो– बुद्धि । बुद्धि मस्तिष्कसँग सम्बन्धित छ । अध्ययन, चिन्तनमनन, भ्रमण, अवलोकन, छलफल र विचारविमर्श यसका भोजन हुन्, तन्दुरुस्त राख्नका लागि । यो घोडा अति नै चुलबुले छ । यसलाई राम्ररी दाउन सकियो भने बल्ल भनेजस्तो काम लिन सकिन्छ, नत्र कुन ठाउँमा लगेर पछार्छ थाहै हुँदैन । यो घोडा जति सन्तुलित, प्रशिक्षित, ऊर्जावान्, सकारात्मक र शान्त हुन्छ, मानिस त्यति नै बढी सिर्जनशील, आनन्दित र उत्पादनशील हुन्छ । मनमा चलिरहने विचारलाई आत्मनिरीक्षणको लगाम लगाएर नियमन गर्नसक्ने क्षमता हासिल नभई बौद्धिक शक्तिले ठीक काम गर्न सक्तैन । आत्मअनुशासन र आत्मनिरीक्षणको लगाम नभएको बौद्धिक घोडा अराजकताको भासमा गएर डुब्छ । तर्कको खाडीमा खसेर बर्बाद हुन्छ ।

५. विचार र मनको नियन्त्रण

सामान्यतः मानिसहरुमा तीन किसिमको चित्तवृत्ति वा मानसिकता हुन्छ – चञ्चल, एकात्मक र निरपेक्ष वा मुक्त । सामान्य मानिसको मन चञ्चल नै हुन्छ । तर, मनको चञ्चलतालाई नियमन गर्ने विधिहरुको प्रयोगद्वारा मनमाथि लगाम लगाउन सकिन्छ । अनेकौँ अनावश्यक विचारले घेरिइरहने र विचारको भिडभाडमा हराउने मानिसको मानसिक र बौद्धिक क्षमता प्रभावकारी हुन सक्दैन ।

कुनै काममा लाग्नासाथ परिणाम खोजिहाल्ने, कुनै काममा पनि स्थिरतापूर्वक लाग्न नसक्ने, घरिघरि सोचाइमा तीव्र चञ्चलता आइरहने, एकै सोचाइमा स्थिर रहन नसक्ने, एकै ठाउँमा बसिरहन पनि नसक्ने, एउटा कुरा सुन्दासुन्दै अर्कै कुरा सोचिरहने यस्तो चञ्चल चित्त भएका मानिसको स्वभाव हुन्छ । धेरै समयसम्म कोही मानिस मानसिक चञ्चलताको सिकार भइरह्यो भने मानसिक छटपटी, रूग्णता र डिप्रेसनजस्ता मानसिक रोगहरु उत्पन्न हुन सक्दछन् । त्यसैले, यस्ता मानिसहरुले जीवनमा सिर्जनात्मक, प्रतिभावान्, प्रभावशाली काम गरेर सफलता हासिल गर्न पनि निकै कठिन हुन्छ ।

दोस्रो प्रकृतिका मानिसहरु हुन्छन्– एकात्मक मानसिकता वा एकात्मक चित्तवृत्ति भएका । यस्ता मानिसहरु एकात्मक रुपमा कुनै काममा एकोहोरो रुपमा लागिरहने, आफूले देखेको र चाहेको कुरा गरिहाल्ने, अलि हठी, हेर्दा अलिअलि एकोहोरो जस्ता लाग्दछन् । आफ्नो एउटा कुनै सोच, चिन्तन र उद्देश्यबाट परिचालित भइरहन्छन् । आफ्नो लक्ष्य प्राप्तिप्रति अत्यन्तै सकारात्मक रुपमा लागिरहन्छन् । अरूहरुका कुराहरुमा त्यति ध्यान दिँदैनन् । मानसिक सोचाइलाई आफ्नो महान् लक्ष्यमा लगातार केन्द्रित गर्न र त्यसमा नै लागिरहन सक्ने हुनाले उनीहरुमा धैर्य, अनुशासन, लगनशीलता, उच्च मनोबल र लक्ष्य केन्द्रितता हुन्छ । यस्ता मानिसहरु नै जीवनमा सफल हुन्छन् । संसारमा सफल भनिएका साहित्यकार, कलाकार, खेलाडी, दार्शनिक, व्यवसायी, उद्योगपतिहरुको अध्ययनबाट उनीहरुमा यही एकात्मक मानसिकता भएको पत्ता लागेको छ । महान् लक्ष्य बनाउने त्यसप्रति आफूलाई समर्पित गर्ने र लगातार त्यसप्रति लागिरहनाले मानसिकतालाई एकात्मक बनाउन सकिन्छ ।

तेस्रो चित्तवृत्ति वा मानसिक प्रकृति हो– मुक्त वा निरपेक्ष चित्तवृति । यो मानसिक अवस्था भएका व्यक्तिहरु जीवनको कुनै अर्थपूर्ण मूल्य खोजिरहेका, संसारका साधारण चालचलन, विधि व्यवहारको गहिराई बोध गरिसकेका र कुनै पनि घटना, वस्तु वा परिस्थितिप्रति समभावको दृष्टिमा स्थिर रहन्छन् । सुख, दुख, असल, खराब सबैप्रति निरपेक्ष भावले त्यसलाई स्वीकार गर्नु र सुखमा नमातिने र दुःखमा नआतिने उनीहरुको स्वभाव हुन्छ ।

सामान्यतः चञ्चल चित्तवृत्ति भएका मानिसहरु त्यही जङ्गली घोडा जस्तै हुन् । तिनबाट न उत्पादनशील कार्य हुन सक्दछन्, त्यसलाई स्थिरता दिन सकिन्छ । त्यसैले, सफल र उत्पादनशील जीवन बिताउनका लागि एकात्मक चित्त आवश्यक छ । एकात्मक चित्त बनाउनका लागि आत्मचिन्तन र ध्यान आवश्यक हुन्छ । ध्यानले सगिजतामा वृद्धि हुन्छ । सजगता बनाइरहनाले मानिसको विचारमा लगाम लगाउन सक्ने क्षमता प्राप्त हुन्छ अनि मात्र मानसिक शान्ति र स्थिरता प्राप्त हुन्छ । उद्देश्यको स्पष्टता, मानसिक एकाग्रता र भावनात्मकरुपमा अति संवेदनशील भएको अवस्थामा मानिसको मस्तिष्कको दायाँ भाग सक्रिय हुन्छ र मानिसभित्रको असीम सिर्जनात्मक क्षमता विकसित हुन थाल्दछ ।

६. आत्मचिन्तन

बौद्धिक विकासको लागि आवश्यक अर्को पक्ष हो– अध्ययन, चिन्तन र मनन । सामान्य मानिसहरु अध्ययन डिग्री आर्जनका लागि हो भन्ने बुझ्दछन् । औपचारिक कक्षाको पढाइ पूरा भएपछि पुस्तकहरु र उपयोगी ग्रन्थहरुको अध्ययन गर्दै गर्दैनन् । नयाँनयाँ कुरा सिक्ने, सिकाउने अवसरमा सहभागी पनि हुन चाहँदैनन् । त्यसले मानिसलाई बौद्धिक रुपमा रूग्ण बनाइदिन्छ, सिर्जनशीलता मारिदिन्छ र असुरक्षा र हीनता बढाउँछ ।

मानसिकरुपमा नयाँनयाँ ऊर्जा प्राप्त गर्नका लागि नयाँ ठाउँको भ्रमण, नयाँ मानिसँग भेटघाट, नयाँनयाँ शिक्षण प्रशिक्षण अवसरमा सहभागिता, सत्सङ्ग, नयाँनयाँ कामहरुमा संलग्नता, भावनात्मक रुपमा उच्च बनाउने विभिन्न पुस्तकहरु र जरनलहरुको अध्ययन आवश्यक हुन्छ । सामान्य पत्रपत्रिकाहरु, रेडियो र टि.भि. हेरेर लिने सूचना जानकारीका लागि केही कामलाग्दा भए पनि तिनले मानसिक ऊर्जा र बौद्धिक खुराक दिन सक्दैनन् । अध्ययन, चिन्तन र प्रशिक्षण मानसिक र बौद्धिक क्षमता विकासका लागि अति नै आवश्यक हुन्छन् । यस्तो बानीले संसारमा भइरहेका नयाँनयाँ कुराहरु जान्ने जिज्ञासा पैदा हुन्छ र मस्तिष्कलाई तरोताजा बनाई बढी सिर्जनात्मक र ऊर्जावान् बनाइरहन मद्दत गर्दछ, जसले व्यक्तिको बौद्धिक उत्पादनशीलतामा वृद्धि गर्दछ ।

७. मानसिक शक्ति

जीवन विकासको लागि अर्को महत्त्वपूर्ण घोडा हो– मन । मन हृदयसँग सम्बन्धित छ । हृदयबाट उत्पन्न हुन्छन्, हाम्रा भावनाहरु । भावनात्मकरुपले करूणा, दया, प्रेम तथा सेवाजस्ता सकारात्मक मानवीय भावले मानिसलाई माहामानवतिर लैजान्छन् भने ईश्र्या, द्वेष, छलछाम, कपट, बेइमानी आदि भावहरुले मानिसलाई मनुष्यताबाट दानवतातर्फ धकेल्ने गर्दछन् । यो घोडा पनि नदाउँदा अराजक नै हुन्छ । नकारात्मकतातिर बढी नै आकर्षित हुन्छ । तर, जब आत्मसचेतताको लगाम कसेर अनुशासित बनाएर दाउन थालिन्छ, विस्तारै यो नियन्त्रित हुन थाल्छ । जतिजति हामी आफूभित्रका नकारात्मक पक्षमा लगाम कस्न समर्थ हुन्छौँ र दया, प्रेम, करूणा र मैत्रीको भाव विकसित गर्न सक्षम हुन्छौँ, त्यतित्यति सामाजिकरुपमा लोकप्रिय, भावनात्मक रुपमा विनम्र, कार्यगतरुपमा सहयोगी र समन्वयकारी, आन्तरिकरुपमा सचेत र चेतनागतरुपमा उन्नत हुन सक्छौँ । यो घोडाले हामीलाई गन्तव्यतिर बढाउँछ ।

निरन्तररुपमा आफूभित्र केकस्ता भावहरु आइरहेका छन् र गइरहेका छन् भन्ने सूक्ष्म सचेतता नै महत्त्वपूर्ण लगाम हो, यो अराजक घोडाहलाई तह लगाउने । चाहे शरीरको यौन आवेग होओस् वा खानपानको अनावश्यक आकर्षण वा धन वा मानको नचाहिँदो दौडधूप र तानातान, यो लगामको प्रयोग गरेर अनावश्यक तानातानबाट आफूलाई नियन्त्रित बाटोमा लगाउन सकिन्छ । आत्मसचेतताको लगामले हाम्रो, शरीर, मन र बुद्धि तीनवटै घोडा राम्ररी दाउन सकिन्छ ।

८. विवेकको विकास

हाम्रो जीवनको सर्वाधिक महत्त्वपूर्ण र मालिक बनाउने शक्ति होे– मानिसभित्रको विवेक । मानिस आफ्ना विचार, भाव र भावनाप्रति जति सचेत, सजग र चेतनशील हुन्छ, उसको चरित्रमा त्यति नै निखार आउँछ । विवेकको विकासविनाको उपलब्धिले अहङ्कारमा बृद्धि गर्छ । अहङ्कारी मानिस विवेकभन्दा बढी तर्कको पछि लाग्छ । हिटलर साह्रै राम्रो उदाहरण हो, संसारका अहङ्कारीहरुका लागि । अहङ्कारको प्रदर्शन जहाँसुकै र जस्तोसुकै परिवेशमा पनि घातक हुन्छ । आत्मस्वाभिमान, आत्मगौरव अहङ्कार होइन । यो न्यायको आवाज हो । तर, अहङ्कार अर्कालाई आफ्नो तर्क र बलको पछि लगाउने दुराकाङ्क्षा हो ।

हिटलरले छोटो समयमा आर्जन गरेको शक्ति, विकास गरेको राष्ट्रिय भावना सबैका लागि उदाहरणीय हुँदाहुँदै पनि उसका अनावश्यक दुराकाङ्क्षा र अहङ्कारले अन्ततः उसैलाई आत्महत्या गर्न बाध्य पा¥यो । नकारात्मक बनाइदियो, उसको समग्र उपलब्धिलाई । राष्ट्रिय भावनासँगसँगै उसका आन्तरिक विवेकको उदय हुन सकेको भए आज पनि संसारले उसलाई एउटा नमुना राष्ट्रवादी व्यक्ति भनेर प्रसंशा गर्न करै लाग्थ्यो । यहुदीहरुप्रतिको तीव्र घृणा र नचाहिँदो उन्मादप्रति लगामको डोरी कसेर आवेगको घोडा दाउन नसकेकाले हिटलर संसारकै घृणा र आलोचनाको पात्र भयो । यहुदीहरुको नरसंहार मच्चाएको कारणले जर्मन जनताको स्वाभिमान र आत्मसम्मानमा नै यसले ठूलो असर पु¥यायो । जसको असर अहिलेसम्म पनि जर्मनीले भोगिरहेकै छ ।

९. जिज्ञासाः विवेक जागृतिको आधार

मानिसको जीवन के हो ? हामी किन जन्मेका हौँ ? जन्मेर गर्ने कार्य के हो ? परिवार, नातासम्बन्ध, धनसम्पत्ति, पद, प्रतिष्ठा आदि के हुन् ? तिनको जीवनमा उपयोग गर्ने र प्राप्त गर्ने तरिका के हो ? आदिजस्ता आफ्नो जीवन, आफू र समग्र मानव जीवन र जगत्लाई बुझ्ने जिज्ञासा नआएसम्म मानवीय विवेकले उचाइ लिन सक्दैन । ती जिज्ञासाहरुको समाधान खोज्न प्रवृत्त नभएसम्म जतिसुकै बौद्धिक खुराकयुक्त भएपनि चेतनागत रुपमा त हामी शरीरिक आवश्यकताभन्दा माथि उक्लिन र मनुष्यत्वको विकास गर्न सक्दैनौँ ।

१०. बहुआयामिक सन्तुलनको परिणम हो, विवेक

समग्रमा शारीर, मन र बुद्धिरुपी घोडालाई आत्मसचेतता र आत्मनिरीक्षणको लगामले कसेर उद्देश्यपूर्ण जीवनतिर दौडाउँदा नै मानिसभित्र विवेकको विकास हुन्छ । यिनको सही र सकारात्मक पक्षको अनुशरणविना न त जीवनलाई उन्नत बनाउन सकिन्छ, न त लामो समयसम्म जीवनका विभिन्न आयामहरुलाई उत्पादनशील र उपयोगी बनाएर अर्थपूर्ण जीवन बाँच्न सकिन्छ । हामी जस्तो किसिमको खुराक, स्याहारसम्भार र सुरक्षा हाम्रा घोडाहरुलाई दिन्छौँ, त्यही अनुसार हाम्रो जीवन पनि शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिकरुपमा प्रभावकारी, उन्नत, विकसित र ऊर्जावान् हुन्छ ।

स्वस्थ शरीरको लागि आवश्यक भोजन, आराम, व्यायामको ख्याल नगर्ने, खानपानको अनुशासन कायम नराख्ने अनि शरीर कमजोर र रोगी भयो भनेर पश्चाताप गर्ने व्यक्तिले कहिल्यै ऊर्जावान् र स्वस्थ शरीरको मजा लिन सक्दैन । बौद्धिक र मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने सकारात्मक र फरक कुराहरुको अध्ययन, चिन्तन, मनन, प्रशिक्षण, भ्रमणजस्ता मानसिक र बौद्धिक विकासका खुराक नदिने अनि आफ्नो त दिमागै बोधो, सिर्जनात्मक नै हुन सकिएन आदि भनेर लाचारी देखाउने व्यक्तिले कहिल्यै आफूलाई सिर्जनशील, बौद्धिक र मानसिकरुपमा सबल बनाउन सक्दैन । भावनात्मकरुपले नकारात्मकताबाट घेरिने अनि अर्काको सकारात्मक, प्रेमपूर्ण भावना, करूणा र मैत्रीका कारण भएको उन्नति देखेर आफू पनि त्यस्तै हुन्छु भन्ने चाहना मात्र राखेर कोही मानिस परिवार, समाज र राष्ट्रमा लोकप्रिय र सामाजिकरुपमा स्थापित हुन सक्दैन ।

आफूलाई कहिल्यै अन्तरनिरीक्षण नगर्ने, सत्सङ्ग, योग, ध्यान, समाधिजस्ता आन्तरिक जीवन व्यवस्थापन र रुपान्तरणका अनुशासनवद्ध साधनामा सहभागी नहुने, तर काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष र अहङ्काररहित हुन्छु भन्ने कोही पनि मानिस त्यस अवस्थामा पुग्न सक्दैन ।

बुद्धत्वको कामना राखेर शास्त्रका श्लोकहरु रटान दिएर व्याख्या गर्दैमा कोही पनि मानिस चेतनागत रुपमा बुद्धपुरूष बनेर मुक्त र आनन्दित हुन सक्दैन । यसका लागि माथि भनिएका सकारात्मक जीवन यात्राका विधिहरु अनुशासित रुपमा अनुशरण गर्ने दिशातिर लाग्नै पर्दछ । यदि यी विधिहरुलाई आफ्नो जीवनमा गहिरोसँग अनुशासितरुपमा, धैर्यपूर्वक लागू गर्न सकियो भने हरेक मानिस उत्पादनशील, प्रभावकारी, महामानव, बुद्धपुरूष, सफल व्यक्ति जे चाहेको हो त्यो बन्न सक्दछ । जीवनलाई आफूले चाहेजस्तो उत्पादनशील, ऊर्जावान्, प्रभावकारी र आनन्दित बनाउन सकिन्छ । विवेकको लगाम र शरीर, मन र बुद्धिको प्रभावकारी प्रयोग नै अर्थपूर्ण जीवनतिरको यात्रा हो ।

आफूलाई कहिल्यै अन्तरनिरीक्षण नगर्ने, सत्सङ्ग, योग, ध्यान, समाधिजस्ता आन्तरिक जीवन व्यवस्थापन र रुपान्तरणका अनुशासनवद्ध साधनामा सहभागी नहुने, तर काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष र अहङ्काररहित हुन्छु भन्ने कोही पनि मानिस त्यस अवस्थामा पुग्न सक्दैन ।