तामसी आफू दैनिक गुजाराबाहेक अरु केही गर्दैन र अरुले भनेको पनि मान्दैन । ज्यादा तामसी गुण भएको व्यक्ति पायो भने धेरै खाने र सुत्ने भएकोले मस्तिष्क बोधो हुन्छ । उसको थाहा पाउने क्षमता कमजोर हुँदै जान्छ । बोधशक्ति गुमाउँछ । काम गर्ने आँट, जोसजाँगर हुँदैन । मनोबल कमजोर हुँदै जान्छ । सिर्जनशीलता र सक्रियता नष्ट हुन्छ । आफ्नो स्वेच्छाले स्व–उत्प्रेरित भएर पढ्नु वा काम गर्नुभन्दा पनि अरुका लागि गरिदिएको जस्तो बाध्यकारी ठानेर कर्म गर्दछ ।
तीन गुणको नाम
यो ब्रह्माण्डमा केही कुरा स्थिर छ त केही कुरा गतिशील छ । ब्रह्माण्डमा रहेको स्थिर र गतिशील तत्त्वलाई सन्तुलनमा ल्याउने कुरा पनि छ । यो कुरा अनन्तकोटी विशाल ब्रह्णाण्डदेखि धर्तीको एक–एक कणमा अनि मनुष्यमा पनि यी तत्त्वहरू विद्यमान छन् । यीनलाई तीनवटा गुणको नामले चिनिन्छ । ती हुन् : सत्त्व, रज र तम गुण । यी तीनै गुणले सारा संसारलाई कसरी जकडेका छन् ? भनेर माथिबाट हेर्न सक्ने क्षमता वा दृष्टि नै तत्त्वज्ञान हो ।
जान्नेहरूले भन्छन्ः तत्त्वज्ञान भएपछि सारा जीवन र जगत्को संरचनालाई बुझ्न सकिन्छ । भौतिक विज्ञानमा यसलाई न्युट्रोन, प्रोटोन र ईलेक्ट्रोनको नामले चिनिन्छ । न्यूट्रोनले सन्तुलनको, प्रोटोनले स्थिरताको र ईलेक्ट्रोनले गतिशीलताको काम गर्दछन् । जस्तै कि साधारण भाषामा बुझ्न सजिलोका लागि सवारी गुडाउन एक्सिलेटरले गति, ब्रेकले स्थिरता र क्लजले सन्तुलनको काम गर्दछ । त्यसैगरी मनुष्यको स्वभाव, गुण र कर्म तम प्रधान, रज प्रधान र सत्त्व प्रधान हुन्छ । मनुष्य कुन गुणको प्रधानतामा रहेर आफ्ना विचार, बोली र व्यवहार गर्दछ, त्यसका आधारमा तमो गुणलाई अधम, रजगुणलाई मध्यम र सत्त्व गुणलाई उत्तम मानिन्छ ।
यस पृथ्वीमा रहेका अधिकांश मानिस तमोगुण युक्त छन् । पूर्वजन्मको संस्कार, यस जन्मको संस्कार, खराब आहारविहार र विचारको कारणले तमोगुणयुक्त मानिसले भरिएको छ, यो संसार । तमोगुण सबैभन्दा तल्लो तहको चेतना हो । मानिस त सबै मानिस नै हुन् तर कोही स्पष्ट विचार, मधुरवाणी र असल व्यवहार भएका हुन्छ भने त कोही अस्पष्ट विचार, कटुवाणी र खराब व्यवहार भएका किन हुन्छन् ? शरीरमा कुन गुण बोकेर हिँडेको छ, त्यसमा भरपर्छ ।
नकारात्मक कुरा, चञ्चल मन, कलुषित भावना, बोधो चेतना र अल्छी र आलस्य युक्त भारी शरीर मानिसमा जड तामस तत्त्व हावी हुनुका लक्षण हुन् । जड तामसले शरीर र भौतिक कुरालाई नै सबैभन्दा बढी महत्त्व दिन्छ । उसका लागि खानु, पिउनु र सुत्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यस्ता कुरा उसलाई अरुले पुर्याइदिनुपर्छ । नत्र भने अरुलाई दोष लगाउन थाल्दछ । हामीकहाँ बाबुआमाले केही गरेनन् वा सरकारले केही गरेन भन्ने मानिसहरू यस्तै तामसी गुणले भरिएका मानिसहरू हुन् । एउटै परिस्थितिमा तमोगुणी गुनासो गरेर बस्छ भने रजोगुणी व्यक्ति आफैँ अग्रसर भएर परिस्थिति सम्हाल्छ । रजो गुणी व्यक्ति सक्रिय हुन्छ । नाम र दाम कमाउनु पर्छ भन्ने मान्यता राख्दछ । धनसम्पत्ति थुपार्नु, सामग्री संग्रह गर्नु, मनोरञ्जन गर्नु अनि मोजमस्ती गर्नु जीवनको मूल ध्येय हुन्छ । राजसी खान्की र आवरणमा रुचि हुन्छ ।
तामस मूर्ख, रजस चनाखो
पहिले नै भरिएको जड बुद्धि र संकुचित सोचका कारणले जड तामसलाई रजस जस्तो सक्रिय र शान्त सात्त्विक बनाउन अलि कठिन हुन्छ । जड तामस अली मूर्ख हुन्छ, रजस चनाखो हुन्छ भने सात्त्विक गुणवाला मानिस शान्त हुन्छ । जबसम्म तामसी प्रकृतिको मानिसले स्वयम्ले चाहँदैन, उसलाई सक्रिय र जागरुक बनाउन कठिन हुन जान्छ । बाहिर ठुल्ठुला काम गर्न सक्ने मानिसले आफ्नै घरका अल्छे छोराछोरी र पत्नीलाई सक्रिय र जागृत गराउन सक्दैनन् । यस्ता तामसी व्यक्तिलाई जीवनमा कुनै आघात पुग्नुपर्छ, धोका खानुपर्छ, कुनै रोग लाग्नुपर्छ अनि मात्र ती सक्रिय बन्न खोज्छन्, जागरुक बन्न खोज्छन् । घोर तामसी अति नकारात्मकता, नैराश्यतातर्फ गयो भने छिट्टै तनावग्रस्त हुन्छ । तनाव, चिन्ता र विषाद हुँदै पागल हुन र आत्महत्या गर्नेसम्म जान सक्छ ।
तामसी आफू दैनिक गुजाराबाहेक अरु केही गर्दैन र अरुले भनेको पनि मान्दैन । ज्यादा तामसी गुण भएको व्यक्ति पायो भने धेरै खाने र सुत्ने भएकोले मस्तिष्क बोधो हुन्छ । उसको थाहा पाउने क्षमता कमजोर हुँदै जान्छ । बोधशक्ति गुमाउँछ । काम गर्ने आँट, जोसजाँगर हुँदैन । मनोबल कमजोर हुँदै जान्छ । सिर्जनशीलता र सक्रियता नष्ट हुन्छ । आफ्नो स्वेच्छाले स्व–उत्प्रेरित भएर पढ्नु वा काम गर्नुभन्दा पनि अरुका लागि गरिदिएको जस्तो बाध्यकारी ठानेर कर्म गर्दछ ।
शरीरका ऊर्जाका केन्द्रहरू मध्ये नाभीभन्दा मुनिका मूलाधार, जो शरीरसँग सम्बन्ध राख्दछ, स्वाधिष्ठान चक्र, जो सुखको केन्द्र हो, यसमै केन्द्रित हुन्छ । शरीरको सुन्दरता र मनभोग सुखलाई ध्यान दिन्छ । जसले उसलाई यी कुरा पुर्याइदिन्छ वा उपलब्ध गराउँछ, उसैको वाहवाही गर्दछ । तामसीलाई लाग्दछ– अरुले नखाएर जीवन बर्बाद गरिरहेका छन् । जस्तै कि पढ्नेलाइ लाग्छ, अरुले नपढेर जीवन बर्बाद गरिरहेका छन् । घुम्नेलाई लाग्छ, नघुम्ने मानिसको जीवन व्यर्थ खेर गयो । पैसा कमाउनेलाई लाग्छ कि पैसा कमाउन नसकेर मानिसको जीवन खेर गयो ।
परिवारमा पति–पत्नी, छोराछोरीबीच मन नमिल्ने कारण पनि गुणले गर्दा हो । परिवारका सदस्य कोही फूर्तिला त कोही अल्छी हुन्छन् । गुण थाहा नपाएर हामी तुलना गर्छौँ, तर तामसी गुणलाई कसरी राजसी र सात्त्विक बनाउने भनेर प्रयत्न भने गर्दैनौँ ।
जस्तो गुण, उस्तै गुरु
आजकल घरपरिवारमा बेमेल, वैमनश्यता र छोडपत्र हुने कारण परिवारका सदस्यको गुणलाई स्वीकार गर्न नसकेको वा परिवर्तन गर्न नसकेको कारणले गर्दा हो । जस्तो गुणले भरिएको मान्छे छ, उसले उस्तै गुरु बनाउँछ वा आदर्शपात्र छनोट गर्छ । कोही भोगी छ, जो उपभोगमा ज्यादा रुचि राख्छ भने उसले अरुलाई पनि भोगमा उत्प्रेरित गर्दछ । यदि कोही मानिस कोही अर्को मानिसप्रति आसक्त छ, हिरिक्क गर्छ, म तिमीविना बाँच्न सक्दिनँ भन्छ भने त्यो मान्छेले जसप्रति त्यस्तो भाव व्यक्त गर्दछ भने बुझ्नुपर्छ, उसले त्यस व्यक्तिबाट लाभ प्राप्त गरेको हुन्छ, सुख पाएको वा भविष्यमा प्राप्त हुने आशले गरेको हुन्छ । लाभ प्राप्त होस् या नहोस्, सबैलाई बराबर व्यवहार गर्दछ भने मात्र हृदयमा प्रेम र करुणा जागृत भएको थाहा हुन्छ ।
तामसी व्यक्ति कम्फोर्ट जोनमा रमाउँछ । सुख–सुविधा उसको प्राथमिकतामा पर्दछ । काम गर्नु भनेको दुःख हो भन्ने धारणाले ग्रस्त हुन्छ । तामसीले अनेक शारीरिक तथा मानसिक भारी बोकेर हिँड्छ । कुण्ठाग्रस्त हुन्छ । शरीरमा जोशजाँगर हुँदैन । तामसीको मस्तिष्कले नकारात्मक ऊर्जा छिट्टै समातिहाल्छ । भूतप्रेत, पिशाच, बोक्सी, डायनी वा पितृ, ग्रहदशा यस्ता अनेकन अन्धविश्वास र नकारात्मकताले छोइहाल्छ, किनभने यसप्रकारका जड चेतना तल्लो तहमा हुन्छन् । विश्वका अधिकांश मानिस यस्तै प्रकारका जडतामसको जञ्जीरले जकेडिएका छन् ।
जडतामस कति खाने भन्ने होस पाउँदैन । ऊ आफू पनि शान्तिपूर्वक बस्न सक्दैन र अरुलाई पनि बस्न दिँदैन । तासमी गरिष्ठ भोजन मन पराउँछ। खाएको कारणले बिरामी भएको हूँ भन्ने कुरा थाहा पाउँदैन । भारीपना ज्यादा भएकोले अरुको ध्यान खिच्ने मानसिक विकारग्रस्त अर्थात् एटेन्सन सिकर हुन्छ ।
सर्वोत्कृष्ट विधि
जडतामसले आफूतिर तान्न खोज्छ । बिरामी भइरहने, बहाना बनाएर सहानुभूति लिन खोज्ने अनि अरुलाई आफूतर्फ कसरी खिच्ने प्रपञ्चमा लागिरहन्छ । भूतप्रेत, पिशाचका कुरा गरिरहने, चाहिने नचाहिने सपना देख्ने, ज्योतिषी झारफुकमा धेरै विश्वास गर्ने, केही न केही उट्पट्याङ गर्न खोज्ने, मन अशान्त बनाइरहने प्रवृत्ति हुन्छ । मोहासक्तिको कारणले व्यवहारलाई बोझिलो बनाउँछ । लोभ र डर केन्द्रित भएर कर्म गर्दछ, न कि हित वा कल्याणको लागि ।
तामस सबैभन्दा भारी, स्थिर र तल्लो तहको ऊर्जा हो । शारीरिक सक्रियता गराउने, मन शान्त गराउने र चेतना जागृत गराउने विधिहरूद्वारा जड तामसलाई मासेर सक्रिय रजस र शान्त सत्त्वगुण युक्त मनुष्य बन्न सकिन्छ । योग नै सबै समस्याहरूको समाधान गर्ने सर्वोत्कृष्ट विधि हो । योगबलले तामसलाई टेकेर रजस र सात्त्विक गुणलाई बढाउन सकिन्छ । मनुष्य योनिमा मात्र यो कुरा सम्भव छ । विश्वमा किन यति धेरै मान्छे जन्मिएका होलान ? किन दुःखी छन् भन्ने प्रसङ्गमा एकजना सन्त भन्नुहुन्छः परमात्माले जीवात्मालाई मुक्ति पाओस् भनेर मनुष्य बनाइदिएको हो, तर झन् मायारूपी जडतामसको गहिरो दलदलमा फँसिरहेको छ, मानव चोला ।
विन्दा भट्टराई वरिष्ठ योग अभ्यासी एवम् साधक हुनुहुन्छ । यसअतिरिक्त अध्यात्म, जीवनदर्शन र जीवनशैलीका विषयमा निरन्तर कलम चलाइरहनु उहाँको विशेषता हो । पेसाले उहाँ नेपाल सरकारका उपसचिव हुनुहुन्छ । जीवन-विज्ञानका प्रशिक्षक उहाँ अध्यात्म र जीवनदर्शन विषयमा सशक्त कलम चलाउने नेपालका अत्यन्त थोरै नारी हस्ताक्षरमध्ये एक हुनुहुन्छ ।