—डा.गोविन्दशरण उपाध्याय

हामीले आफ्ना बालबालिकालाई ‘आर्थिकरुपले सक्षम’ बनाउनेतर्फ प्रेरित गरिरहेका छौँ । हाम्रा बालबालिकाहरू हामीले चाहेझैँ ‘पैसा ओकल्ने’ मसिन बनेर आउने छन् तर बुढेसकालमा सहारा बन्ने कुनै सम्भावना छैन । पाश्चात्य शैक्षिक मसिनले उत्पादन गरेका यी नयाँ मसिनहरू आफ्नै प्रोग्रामिङका लागि उपयुक्त हुन्छन् न कि अर्काका लागि । मसिनको उत्पादन मसिन नै हुन्छ, मानिस हुदैन ।

‘भवानीप्रसाद प्रसाद ७२ वर्षअघि एउटा परम्परागत क्षेत्री परिवारमा जन्मेका हुन् । उनी आफ्ना बाबुकी तेस्री श्रीमतीका पाँचौँ सन्तान हुन् । त्यसबखत उनको घरमा हजुरबा, हजुरआमा, बा, तीनवटै आमा र तिनका १५ सन्तानका लागि एकै ठाउँमा भात पाक्थ्यो । सानोले ठूलोको आज्ञा मान्नुपथ्र्यो । दसैँतिहारजस्ता चाडपर्वहरू सामूहिकरुपमा रमाइलोसँग मनाइन्थ्यो । सासुससुरा, जेठाजु र आफूभन्दा ठूलो उमेरका वा घरका पाकाहरूले मान्नेजनसँग आइमाई मानिसले सीधा बोल्नुहुदैन भन्ने प्रचलन थियो । त्यसबेला लजालुपनलाई महिलाको गहना ठानिन्थ्यो । सबैलाई आमाबुबा, गुरु र आफूभन्दा ठुलाको आज्ञाकारी बन्नुपर्ने थियो भने आपूmले आर्जन गरेको कुनैपनि वस्तुलाई सामूहिक प्रयोगमा जोड दिइन्थ्यो ।

गाउँघरमा शिक्षादीक्षाको खासै प्रबन्ध थिएन । हुनेखानेले घरमै बाहुन राखेर अक्षर चिनाउँथे अनि रुद्रीचण्डी इत्यादि पढाइन्थ्यो । सक्नेहरू आफ्ना छोराछोरीलाई सहर वा भारत पठाउने गर्थे भने नसक्नेहरू खेतीबालीमा व्यस्त हुन्थे । भवानीप्रसादले भने आफ्ना दाजुहरूको सहयोगका कारण भारतको बनारसबाट उच्चशिक्षा हासिल गर्न सके भाग्यले साथ दियो भन्नुपर्ने अवस्था थियो । नेपाल फर्केपछि उनले सरकारी जागिर पाए । १४ वर्षको कलिलो उमेरमै ८ वर्षकी केटीसँग विवाह भएको पनि ४८ वर्ष बितिसकेका छन् । यसबीचमा उनका पाँच सन्तान जन्मे । उनले आफ्ना सबै सन्तानलाई अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढाए । आफ्नो बुढेसकालका लागि सम्पत्ति नबचाई सबैलाई उच्चस्तरीय शिक्षा दिलाए । छोराछोरीको विवाह गरे । आफ्ना छोराहरूका लागि शिक्षित बुहारी पाएकोमा उनी दङ्ग थिए ।

आफ्नो जागिर छँदासम्म सबै ठिकै थियो । सेवानिवृत्त भएको पहिलो वर्षनै माहिलो छोरो नातिनातिनासँग छुट्टियो भने दोस्रो र तेस्रो वर्ष क्रमशः जेठो र कान्छो छुट्टिए । अहिले भवानीप्रसाद र तिनकी श्रीमती गङ्गा एक्लै बस्छन् । तल्लो फ्लेटको केही भाडा आउँछ, त्यसैबाट घरखर्च चल्छ । निवृत्तिभरणको सबै रकम छोराछोरीमा खर्च गरे पहिले तर, अनुरोध गर्दा पनि आजसम्म उनले कुनै सहयोग पाएका छैनन् । बिसन्चो हुँदा आफ्नो पुरानो सामूहिक परिवारको याद आउँछ । हरहमेसा एक्लोपनले सताइरहन्छ । आफ्नै नातिनातिना र छोराबुहारीको बेवास्ताले खिन्न तुल्याउँछ । कहिलेकाहीँ त धेरै पढाएर गल्ती गरिएछजस्तो लाग्छ । तैपनि नातीनातिना र छोराबुहारी सबै एउटै छानामुनि मिलेर बसेको र आपूmले छोराबुहारी एवम् नातिनातिनाबाट सम्मान पाएको अनुभव गर्ने धोको भने मरेको छैन ।

उता, छोराबुहारीलाई पनि आफ्ना बुढा आमाबुबालाई एक्लै छोडेको मन परेको छैन । एक्लै बस्नु उनको बाध्यता हो । सामूहिक परिवारमा बालबालिकाको चाहेजस्तो स्याहारसुसार र शिक्षादीक्षाको समुचित व्यवस्था गर्न सकिएन । घरखर्चमा हरेकले समानुपातिक रुपले खर्च गर्नुपर्ने हुन्छ, तर सबैको एउटै किसिमको आय छैन । यसले गर्दा बारम्बार दाजुभाइ र बुहारीहरूबीच मनोमालिन्य हुने र कहिलेकाहीँ झैझगडा नै हुने देखियो । एकआपसमा फलानाले आपूmले कमाएको लुकाइरहेको छ भन्ने शङ्का बढ्ने वातावरण भयो । योबाहेक, पतिपत्नीबीचका व्यक्तिगत पलहरूमा पनि व्यवधान हुने, हरहमेसा समूहका सदस्यको डर भइरहनेजस्ता कारणहरूले पनि एकल परिवारलाई रोज्नुपरेको हो ।

केही अर्थमा, बुबाआमाले पनि हाम्रो कुरा बुझेजस्तो लागेन । एक्काईसौँ शताब्दीमा पनि बुहारीहरूले लाज मानून्, फलानो लुगा लगाऊन् र व्यक्तिगत जीवनलाईभन्दा सामूहिक जीवनलाई महत्त्व दिऊन् भन्ने उहाँका पुरातनपन्थी विचारसँग सहमत हुन सकिन्न । उहाँहरूले व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिन सिक्नुपर्छ । अफिसका सिलसिलामा पनि महिलाहरू एक्लै बाहिर जानुहुँदैन भन्ने अवधारणालाई उहाँले परिवर्तन गर्नै पर्छ । उहाँप्रति हाम्रो अगाध मायाँ छ, तर हाम्रो आफ्नोपन हाम्रालागि त्योभन्दा महत्त्वपूर्ण छ । सकेसम्म हामीले उहाँलाई सहयोग गर्छौँ, तर अहिले उहाँका लागि घरको भाडाले पुगिरहेको हुनुपर्छ ।

यता, नातिनातिनाका लागि ‘बूढाबूढी’हरु पुरानो समयको कथा सुनाउने अचम्मका पात्र हुन् । उनीहरूसँग भेट्दा सहयोग गर्नुपर्छ पर्छजस्तो लाग्छ, तर हरेहमेसा ‘यसो गर, त्यसो नगर’ भनेको मन पर्दैन । यो हाम्रो आफ्नो लाइफ हो । यसलाई कसरी चलाउनुपर्छ भनेर निर्णय गर्ने अधिकार हामी आफैँलाई बाहेक अरु कसैलाई छैन । म आफ्नो शरीरको मालिक हँु । कस्तो लुगा लगाउने, कहाँ जाने, कहाँ नजाने, के खाने, के नखाने, कोसँग हिँड्ने, कोसँग नहिँड्ने र के हेर्ने, के नहेर्ने जस्ता कुरामा उहाँहरूको हस्तक्षेप पटक्कै मन पर्दैन । ‘सबैले गरिरहेको र भनिरहेको कुरा गर्दा’ यी बाबुआमालाई पनि केको खसखस ? विज्ञान र इन्टरनेटको युगमा सबै कुरालाई व्यावहारिकरुपले हेरिनुपर्छ । इमानदारिताजस्ता नैतिकगुणहरु स्लोगनमा नभई व्यवहारमा झल्किनुपर्छ ।’’

……………………………………………………….
यो एउटा पुरानो परम्परामा हुर्के तापनि आधुनिक जीवन प्रणालीमार्फत स्थापित भएका वास्तविक परिवारको कथा हो । यो कथाले अहिलेको धेरैजसो नेपाली परिवारको तीनपुस्ते वैचारिकताको प्रतिनिधित्व गर्छ । हाम्रा बा, हामीहरू र हाम्रा छोराछोरीको नैतिक सोचको धरातलीय विविधतालाई स्पष्ट पारेको छ भने अर्कोतिर तिनमा रहेको नैतिक–विमूढतालाई (ःयचब िम्ष्ििझmब) पनि उजागर भएको छ । अहिलेको नेपाली समाजमा कस्तो आचरण नैतिक हुन्छ र हुँदैन भन्ने विषयमा घनघोर द्वन्द्व छ । पुरानो पुस्ता परम्परागत धर्ममा आधारित नैतिकताको पक्षमा उभिएको देखिन्छ भने दोस्रो पुस्ता आधुनिक र परम्परागत नैतिक मान्यताका मध्यस्थता गरिरहेको छ । तेस्रो युवा पुस्ताले भने ‘कुरा बुझेको तर परिवर्तनका पक्षमा’ रहेको देखाउँछ्र । आचरणशास्त्रमा आजको जस्तो जटिलता कहिल्यै थिएन । पुरानो पुस्ता पुरानै विचारमा जिउन चाहन्छ भने तेस्रो पुस्ता सम्पूर्ण परिवर्तनका पक्षमा उभिएको छ ।

समाजमा विज्ञानको वर्चश्वसँगै परम्परागत नैतिक मान्यताहरूमा परिवर्तन देखिएका छन् । यस परिवर्तनलाई विभिन्न समुदायमा विकसित भइरहेको ‘मानव अधिकार’को चाहनाले पनि सघाएको छ । अनि, परम्परागत पितृप्रधान सामाजिक संरचनाभित्र विकसित भएर चलिरहेका कतिपय मान्यताहरुलाई राज्यले कानुनका माध्यमबाट कमजोर तुल्याएका छन् । उदाहरणका लागि ‘शारीरिक स्वामित्व’को न्यायिक अधिकार उपयोग गर्ने अमेरिकी महिलाहरुलाई बच्चा जन्माउन कसैले बाध्य बनाउन सक्दैन । समलिङ्गीहरुले विवाह गर्न पाउने न्यायिक व्यवस्थाले विवाह र त्यससँग जोडिएका परम्परागत नैतिक चिन्तनलाई चुनौती दिएको छ भने वच्चा जन्माउन ‘विवाहित’ नै हुनुपर्ने अनावश्यकताले सामाजलाई नैतिकताको नयाँ परिभाषा खोज्न अभिप्रेरित गरिरहेको कुरा नकार्न सकिन्न । यस्तै, नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि यो कुरा अझै चोटिलो बनेको छ । परम्परागत सामाजिक मान्यता विपरीत हाम्रो युवापुस्ता ‘नैतिकता’को नवीनतम परिभाषासँग रमाउन चाहिरहेको कुरा हालैको अनुसन्धानले देखाएको छ ।

उपरोक्त मान्यताहरुको स्रोत आधुनिक भौतिक प्रगतिसँग जोडिएको छ । खासगरी मानव समाजको प्राकृतिक रहनसहन र जीवनशैलीमा व्यापक दखल पु¥याउन र परिवर्तनको महत्त्वाकाङ्क्षा तीव्र बनाउन सफल भएको ‘विज्ञानको’ चमत्कारका कारण नैतिक सोचमा परिवर्तन अनिवार्य नै थियो, तर सूचना मिडियाले यस सोचलाई यतिबिघ्न विश्वव्यापी बनाउला भन्ने अनुमान थोरैले मात्र गरेको हुनुपर्छ । मिडियाकै कारण पाश्चात्य चिन्तनको ‘नैतिक’ मोडेलतिर नेपाली युवाहरु आकर्षित भइरहेका छन्, जसले गर्दा नेपाली समाजको नैतिकतामा द्वन्द्व भित्रिएको छ । नेपाली युवाहरुबीच प्रेम विवाहको बढ्दो प्रचलन, विवाहपूर्व यौन सम्बन्ध, एकल परिवार, गर्भपतनको कानुनी व्यवस्था, असहमतिको यौनसम्बन्धलाई ‘बलात्कार’को न्यायिक मान्यता, बढ्दो सम्बन्ध–विच्छेद र महिलाहरूको सम्पत्तिमा कानुनी अधिकारजस्ता तथ्यहरु यस परिवर्तनका बलिया उदाहरण हुन् । यहाँ म एउटा कुरामा जोड दिन चाहन्छु ः उपरोक्त परिवर्तनको जन्मदाता परम्परागत नेपाली समाज नभई पश्चिमी समाज हो ।

ल्याटिन अमेरिकी देशहरूमा एउटा उखान प्रचलित छ – ‘गोरो छालाका लागि ‘दिसा’ पुछ्ने सभ्य हुन्छन्, न कि धुने’ । यो उखानले तथाकथित विकसित देशका नागरिक र सरकारमा निहित सोचको पूर्वाग्रहलाई छर्लङ्ङ पार्छ । मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, सामाजिक र पारिवारिक सम्बन्ध, सामाजिकीकरण र नैतिक मूल्यहरूका सवालमा पनि पाश्चात्यहरू पूर्वाग्रही छन् । एक जना पाश्चात्यका लागि ‘दिसा धुने’ समाज सभ्य हुनै सक्दैन । कमोडमा बसेर दिसा गर्नु र पुछ्नु नै तिनका लागि सभ्य वन्ने सर्त हुन्छ । अहिलेको नेपाली समाजले यही द्वन्द्व बोकिरहेको छ । उदाहरणका लागि परम्परागत नेपाली समाजले सामूहिक परिवार प्रणालीमा जोड दिन्छ भने पाश्चात्यले एकल परिवारमा । पाश्चात्यहरू विवाहपूर्व यौनलाई स्वाभाविक ठान्छन् भने नेपालीहरूले विवाहपछिको । पाश्चात्यहरूका लागि विवाह एउटा कागजी ‘सम्झौता’ हो भने नेपालीका लागि आत्मिक सम्बन्ध । पाश्चात्यहरूका लागि पारिवारिक दायित्व गौण हुन्छ भने नेपालीहरूका लागि प्रमुख । नेपालीहरू अन्तःसम्बन्धलाई महत्त्व दिन्छन् भने उनीहरूका लागि सम्बन्धको अर्थ व्यक्तिगत लाभ प्राप्त गर्नु हो ।
विज्ञानको विकास र त्यसका आधारमा उपयोगितावादी सामाजिक संरचनामा हुर्केका पाश्चात्यहरूका लागि ‘नैतिकता’को आफ्नै ‘मोडेल’ बाहेक अर्को स्वीकार्य छैन । उनीहरू आपूmले पहुँच बनाउन सफल भएका हरेक समाजलाई ‘आफ्नै’ मोडेलको नैतिकता थोपर्न उद्यत देखिन्छन् । त्यसका लागि उनीहरू सरकारीतन्त्र, धार्मिक शिक्षा, सामाजिक सङ्घसंस्था र आफ्नो भौतिक उन्नतिको वर्चश्व प्रयोग गर्छन् । उदाहरणका लागि अहिले नेपालमा कार्यरत पाश्चात्य सामाजिक संस्थाहरूले नेपाली बालबालिकालाई विद्यालयस्तरमै यौनशिक्षा दिनुपर्छ भनेर वकालत गरिरहेका छन्, तर १९६० देखि अमेरिकी विद्यालयहरूमा यौनशिक्षा दिँदादिँदै पनि किन ३७५ बालिकाहरू १८ वर्ष पहिल्यै गर्भवती हुन्छन् ? भन्ने बारेमा बोल्दैनन् । विवाहित होस् अथवा अविवाहित, १८ वर्र्षपूर्वको गर्भले स्वास्थ्यमा नकारात्मक असर पार्छ नै । असलमा, पाश्चात्यहरूले यो समस्यासँग भाग्न ‘गर्भपतन’ अधिकार जोडेका हुन् । अहिले उनीहरू नेपाली समाजका लागि आफ्नै पूर्वाग्रहको वकालत गर्दै छन् । समस्या अधिकारको होइन, पूर्वाग्रही चिन्तनले भित्र्याउने कुरुप सामाजिक संरचनाको हो । परिणाम स्पस्ट छ ः नेपाली समाज दिनानुदिन पाश्चात्य जीवन पद्यतिमा भासिँदै छ । नयाँ पुस्ता र पुरानो पुस्ताबीच दूरी अचाक्ली बढ्दो छ ।

हाम्रो पुस्ताको नैतिक समस्या भनेको आफ्ना बालबालिकालाई ‘पाश्चात्य छाडा यौनवाद’बाट जोगाउँदै शिक्षाका माध्यमबाट परिवारप्रति उत्तरदायी (बुढेसकालमा आमाबुबालाई हेरबिचार गर्ने) प्रतिस्पर्धा, कमाउनु नागरिक बनाउनु हो । युवापुस्ताहरूको सोचाइमा अर्थार्जन, व्यक्तिगत सुखप्रति स्वतन्त्रता रहेको देखिन्छ । तेस्रो पुस्ताको नैतिक मानसिकतालाई प्रतिनिधित्व गर्ने पाश्चात्य मोडलमा आधारित नेपालको वर्तमान शिक्षाप्रणालीले दोस्रो पुस्ताको आधा मात्र नैतिक सोचलाई सम्बोधन गर्छ । अर्को शब्दमा, हामीले आफ्ना बालबालिकालाई ‘आर्थिकरुपले सक्षम’ बनाउनेतर्फ प्रेरित गरिरहेका छौँ । हाम्रा बालबालिकाहरू हामीले चाहेझैँ ‘पैसा ओकल्ने’ मसिन बनेर आउने छन् तर बुढेसकालमा सहारा बन्ने कुनै सम्भावना छैन । पाश्चात्य शैक्षिक मसिनले उत्पादन गरेका यी नयाँ मसिनहरू आफ्नै प्रोग्रामिङका लागि उपयुक्त हुन्छन् न कि अर्काका लागि । मसिनको उत्पादन मसिन नै हुन्छ, मानिस हुदैन । ‘मातृदेवो भव ः, पितृदेवो भव’ को आदर्श खोज्नेले पाश्चात्य जीवनको मोह त्यागे हुन्छ ।

लेखकः

(डा.गोविन्दशरण उपाध्याय)

दर्शनशास्त्र तथा मनोविज्ञान  विभाग, त्रिचन्द्र बहुमखी क्याम्पस