— अमृता बजगाईँ, मानवसेवा आश्रम
अधिकांश मानिसहरू जागिरे जीवनबाट आक्कल—झुक्कल मिल्ने बिदा तथा फुर्सदमा नयाँनयाँ ठाउँ घुम्ने, परिवार र आफन्तजनसँग स्नेहमिलन गर्ने र रमाउने गर्छन्, तर भोला चौलागाई हरेक सार्वजनिक बिदा र शनिवारका दिन मानवसेवा आश्रममा बिताउनुहुन्छ ।
रोग र भोकले सडकपेटीमा आईपुगेर मानवसेवा आश्रमको छहारी पाएका मानवहरूसँग बिदा बिताउने उहाँको दैनिकी नै भइसकेको छ ।
ती अन्जान अनुहारभित्रका कथालाई मनन गरी उनीहरूको विषयमा खोज्नु र बुझ्नु उहाँको रोजाइको कार्य बनेको छ । उहाँले हालसम्म शारीरिक, मानसिक तथा विभिन्न कारणले आफ्ना परिवारबाट छुटिएका तर पुनः परिवारसम्म फर्किएर पुग्न नसकेका ३ सय ५० भन्दा बढी मानवहरूलाई परिवारसम्म पु¥याएर सफल पारिवारिक पुनर्मिलन गराइसक्नुभएको छ ।
वर्षदिनमा एक पटक आउने चाडपर्व, दसैँ र तिहारको रमझम हरेक घरघरमा छाउँदा उहाँ भने आश्रममा आश्रित मानवहरूलाई साथमा लिएर कहिले पूर्व त कहिले पश्चिम पुगिरहुनुभयो । उहाँले यसपालीको दशैँको बिदामा १३ र तिहारको बिदामा ७ जना गरी दशँैतिहारको बिदामा मात्र पनि २० जनाको पारिवारिक पुनर्मिलन गनुभएको थियो ।
बढ्दो शहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले एउटै घरभित्र तथा एउटै गाँउमा बसोवास गर्ने मानिसहरूको अवस्थालाई समेत बेवास्ता गर्ने यस्तो विषम परिस्थितिमा चौलागाईँले आफ्नो भूगोलभन्दा बाहिर गएर भारतमा मात्र ३ सय भन्दा बढी मानिसहरूको पारिवारिक पुनर्मिलन गराउनुभएको छ । कति बाधा आए होलान्, अन्जान ठाँउमा अन्जान व्यक्तिको परिवार खोज्ने क्रममा तर उहाँले कहिल्यै हरेस मान्नुभएन । उहाँ ती अन्जान व्यक्तिहरूलाई परिवारसम्म पु¥याउने सेवामा निरन्तर लागि पर्नुभयो । पारिवारिक पुनर्मिलन गराउँदा उनीहरूको मुहारमा आएको खुसीले सधैं सोही सेवामा खटिरहन प्रोत्साहन मिलेको उहाँ बताउनुहुन्छ ।
पारिवारिक पुनर्मिलनले कतिपय नाबालक बच्चाले आमा पाएका छन् । कतिपयले युवाअवस्थामा गुमाएको छोरा र बुढेसकालको सहारा पाएका छन् भने कतिले त भगवान्रूपी जन्मदिने आमाबुबा पाएका छन् ।
पारिवारिक पुनर्मिलन सेवामा मानवसेवा आश्रमको स्थापनाकालदेखि नै अहोरात्र खटिरहनुभएका उहाँका पारिवारिक पुनर्मिलन गराउँदाका अनुभवहरू विशिष्ट छन् । पुनर्मिलनको क्रममा परिवारले वर्षौँदेखि हराएर घर फर्किने आशा मारिसकेका सदस्य पुनः घरमा पुग्दा परिवारसहित पूरै गाउँमा हर्षोल्लास छाएको देखि परिवारले जिउँदो छ भन्ने जानकारी नपाउँदा काज—किरियासमेत गरिसकेको अवस्थालाई समेत उहाँले नजिकबाट महसुस गर्नुभएको छ । पारिवारिक पुनर्मिलन गराउने कामबाट स्वर्गीय आनन्द प्राप्त हुने बताउँदै सरकारी जागिरको अवकाशपछि मानवसेवा आश्रमको पारिवारिक पुनर्मिलन सेवामा नै फुलटाइमर भएर लाग्ने उहाँ बताउनुहुन्छ ।
वर्षदिनमा एक पटक आउने चाडपर्व, दसैँ र तिहारको रमझम हरेक घरघरमा छाउँदा उहाँ भने आश्रममा आश्रित मानवहरूलाई साथमा लिएर कहिले पूर्व त कहिले पश्चिम पुगिरहुनुभयो । उहाँले यसपालीको दशैँको बिदामा १३ र तिहारको बिदामा ७ जना गरी दशँैतिहारको बिदामा मात्र पनि २० जनाको पारिवारिक पुनर्मिलन गनुभएको थियो ।
स्वास्थ्यकर्मीको पेसामा रहनुभएका उहाँले विगत ३१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा देशका विभिन्न स्थानमा सेवा प्रवाह गर्दै आउनुभएको छ । हाल उहाँ हेटौँडा उप—महानगरपालिका स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।