धर्ममा न जातिपातिको विभेद रहन्छ, न त स्त्रीपुरुषको नै । प्रेम, भाइचारा, सहअस्तित्व, मैत्री र आपसी सम्मान धर्मको वृक्षमा लाग्ने फूलहरू हुन् । आज विश्व नै तनाव, चिन्ता, कलह, अशान्ति र गृहयुद्धको चपेटामा छ र अध्यात्मका गहिरो सत्यहरूमा यसको समाधान खोजिँदै छ । भगवान् बुद्ध, राजर्षि जनक, गुरु गोरखनाथ र सयकडौँ ऋषिमनीषीको यो भूमिले समस्त विश्वलाई नै अध्यात्मको देन दिन सक्ने हैसियत राख्छ । यहाँका व्यक्तिहरूमा, संस्कृतिमा र पूरा वातावरणमा विश्वलाई नयाँ चेतना प्रदान गर्न सक्ने क्षमता छ । खाँचो छ मात्र यिनको पहिचान र प्रचारप्रसारको ।
मनुष्य इतिहासमा अलग अलग व्यक्तिले आआफ्नै क्षमता र बुद्धिअनुसार धर्म र ईश्वरलाई हेरेको पाइन्छ । पृथ्वीमा रहेको हरेक व्यक्ति, चाहे ऊ आस्तिक होस् या नास्तिक, शिक्षित होस् या अशिक्षित, धनी होस् या गरिब, धर्मको बारेमा आफ्नो धारणा बनाउँछ र त्यही निजी दृष्टिबाट अरुलाई पनि नियाल्ने गर्छ ।
सम्भवतः संसारमा सबैभन्दा बढी पढिने, लेखिने र तर्क गरिने विषयमा धर्म पनि पर्छ । धर्म मानिसको जीवनको मूल चासो र खोजको विषय हो । प्रत्येक व्यक्तिले सकेसम्म छिटो यसबारे आफ्नो धारणा बनाउने प्रयास गर्छ । यति सर्वाङ्गीण विषय हुँदाहुँदै पनि धर्मको मामलामा हाम्रा अधिकांश धारणा, समझ र विचार भने अझै पनि पुरातन नै छन् ।
धेरै पढेलेखेका र आफ्नो विचार बनाउन सक्ने मान्छेले पनि धर्मलाई रुढीवादी वा अन्धश्रद्धासँग दाँजेको देख्दा आश्चर्य र चिन्ता दुवै लाग्छ । बडेमानका विद्वान्हरूले पनि धर्म र ईश्वरका विषयमा ससाना केटाकेटीलेझैँ या त मान्यता वा विश्वासको भरमा जस्तो कुरा पनि सर्लक्कै मानिदिने, या त कुनै पागलको लहडको उपजझैँ सम्झेर मरिहत्ते गरी विरोध गर्ने गरेको देखियो ।
एकथरीले धर्मको नाममा जेलाई पनि प्रतिप्रश्न नै नगरी मानिदिने र केहीले भने यसको सत्तोसराप गर्नु नै आफ्नो धर्म र पेसा ठान्ने संस्कार मौलाउँदै गएको छ । यी दुवैखाले सोचहरू सत्यबाट भने नितान्त टाढा छन् । यी सबैलाई चिरेर धर्मजस्तो सर्वाधिक महत्त्वपूर्ण विषयमा यथार्थ चिन्तन र वैज्ञानिक विश्लेषणको आवश्यकता छ ।
धर्मको सबैभन्दा ठूलो क्षतिचाहिँ तथाकथित आस्तिकहरूले नै पु¥याएको देखिन्छ, जसले ईश्वरलाई व्यक्ति, सृष्टिकर्ता र धेरै परको केवल पूजा गरिने विषयका रूपमा लिए । ईश्वरलाई सृष्टिकर्ताको रूपमा लिने व्यक्तिले सृष्टि भइसकेपछि त्यो ईश्वरको कामै सकियो भन्ठानेर त्यसलाई सात आकाश पर कसैले नदेखेको नपुगेको ठाउँमा एउटा कबाडी खानामा थन्क्याएको पाइयो ।
अब त्यो ईश्वरको पूजा र स्तुति वा भनौँ, चाकडी, चाप्लुसी गर्नुबाहेक अरु विकल्प नरहने नै भयो । व्यक्तिका रूपमा ईश्वरलाई हेर्नेले भने धर्मलाई ससाना मनगढन्ते सम्प्रदायमा बाँडेर व्यक्तिक्तिका बिचमा फुट र कहिल्यै नमेटिने वैमनस्यको बीउ रोपिदिए ।
यिनीहरूकै कारण धर्ममा शक्तिपूजा मौलायो र नर्कको डर एवम् स्वर्गको लोभ देखाई शोषणको महामारी फैलाइयो । पृथ्वीका लगभग एक तिहाई व्यक्तिहरूलाई धर्मप्रति वितृष्णा जगाउन र धर्मजस्तो जीवनको परम विकासको सम्भावनाबाट वञ्चित गर्न यी तथाकथित आस्तिकहरू जिम्मेवार छन् भन्नु अत्युक्ति नहोला ।
शिखरतिरको यात्रा
धर्म जीवनको शिखरतिरको यात्रा हो, प्रत्येक व्यक्तिभित्र अन्तर्निहित सम्भावनाको खोजी हो । मनुष्यभित्र केही बन्ने बीउ छ, जसले उपयुक्त वातावरण, खनजोत र पोषण खोजेको हुन्छ ।
मान्छे जतिसुकै माथिल्लो ओहोदामा पुगे पनि या सर्वाधिक धनाढ्य भए पनि या संसारका सबै सुखसयल, मोजमस्ती प्राप्त गरे पनि भित्रको अशान्ति, तनाव र बेचैनीबाट छुटकारा भने पाउन सक्दैन । बाहिरबाट जति सम्पन्न हुँदै गयो, उति नै यो आन्तरिक खालीपन मुखर भएर आउँछ । एउटा गरिबलाई धनी बनेमा खुसी हुन्छु कि भन्ने आशा हुन्छ तर धनी व्यक्तिको जीवनमा भने त्यो आशा पनि हराइसकेको हुन्छ । यसभित्रको खिन्नतालाई संसारका कुनै पनि वस्तुले भर्न सक्दैनन् । चीजबीज या पदार्थले मात्र मान्छेलाई भर्न सक्ने हो भने मान्छे पदार्थभन्दा पनि तुच्छ हुने थियो । सौभाग्यले यो सम्भव छैन।
आन्तरिक तनाव या अशान्तिलाई चिरस्थायी रूपमा भर्ने विज्ञान केवल धर्मसँग छ । वा भनौँ, धर्म जीवनको परमतृप्तिको एकमात्र मार्ग हो । जसरी प्यास लाग्नेले बाहिर पानीको खोजी गर्नुपर्छ, ठिक त्यसैगरी जीवनमा सन्तुष्टि, तृप्ति, आनन्द र परितोषका लागि व्यक्तिले आफूभित्र धर्मको खोजी गर्नुपर्छ । बुद्ध, कृष्ण, राम, इसा या मोहम्मदजस्ता मनुष्यताका शिखरलाई निकालिदिने हो भने यो पृथ्वीमा आँखा उठाएर माथि हेर्नलायक आदर्श नै शेष रहन्न ।
हामीले आजसम्म बुझेको धर्ममा रुढीवादीको बाहुल्य छ र स्वर्ग, नर्क, पाप, पुण्य आदि मिथ्या प्रचारको माध्यमबाट केही व्यक्तिले त्यसै धर्मलाई बहाना बनाई सोझासाझा जनताको शोषण गरिरहेका होलान् । तर, असली धर्म न लोभमा आधारित हुन्छ, न डरमा नै आधारित हुन्छ ।
क्रूर राजनीति, हिंसा, अपराध र वासनाका अन्तर्सङ्घर्षबाहेक मनुष्यले अरु केही भेट्टाउन सक्दैन । फ्रेड्रिक नित्सेजस्ता चेतनशील मान्छेले भगवान्लाई मृत घोषित गरेर पनि हेरे । तर, त्यसपश्चात् जीवनमा बाँच्ने कारण नै बच्दो रहेन छ । स्मरणीय छ, जीवनको उत्तरार्धमा नित्से विक्षिप्त जस्ता पनि बने । धेरै व्यक्तिलाई ईश्वरले स्वतन्त्रताको हरण गर्छ भन्ने पनि लाग्यो, किनभने शासकको रूपमा ईश्वरले खटन गर्ने हो भने व्यक्तिको स्वतन्त्रता पूर्णरूपले नष्ट हुन जान्छ ।
धर्म जीवनमा एउटा गुणवत्ताको खोजी हो, उच्चतम मूल्य र अवस्थाको लागि एक साहसिक उडान हो । धर्म अन्धश्रद्धाको उपज होइन । असली धर्ममा तर्क, विचार, प्रश्न र विज्ञानको पूर्ण अस्तित्व हुन्छ । वास्तवमा धर्म जीवनलाई पूरा केलाउनुको र जीवनलाई विना कुनै वाद, मान्यता र पूर्वाग्रह जिउनुको निष्पत्ति हो ।
प्रश्न र विज्ञानको पूर्ण अस्तित्व
राजनीति, व्यापार र विज्ञानले अधिकतम रूपमा जीवनमा समृद्धि, सहजता र सुविधा ल्याउँछन् र व्यक्तिलाई बाहिरबाट स्वतन्त्र पनि बनाउँछन्, तर यो स्वतन्त्रता र समृद्धि केवल आधा यात्रा मात्र हो । स्वतन्त्रता अवश्य चाहिन्छ, तर यो नै अन्तिम उपलब्धि भने होइन । बाहिरी समृद्धि पनि साधन हो, साध्य होइन । जीवनमा स्वतन्त्रता र समृद्धि हासिल गरेपछि पनि मनुष्यको आँखाले अरू केही खोजिरहन्छ, त्यही हो धर्म ।
धर्म जीवनमा एउटा गुणवत्ताको खोजी हो, उच्चतम मूल्य र अवस्थाको लागि एक साहसिक उडान हो । धर्म अन्धश्रद्धाको उपज होइन । असली धर्ममा तर्क, विचार, प्रश्न र विज्ञानको पूर्ण अस्तित्व हुन्छ । वास्तवमा धर्म जीवनलाई पूरा केलाउनुको र जीवनलाई विना कुनै वाद, मान्यता र पूर्वाग्रह जिउनुको निष्पत्ति हो ।
धर्म प्रत्येक व्यक्तिको जीवनमा अनुभवजन्य यथार्थ हो, अस्तित्वगत सत्य हो । धर्म अमूक नाम गरेको व्यक्ति होइन, अपितु आफ्नो आवृत व्यक्तित्वको प्रेमी होइन प्रेमको, ईश्वर होईन ईश्वरीयताका र देवी—देवता होइन, आन्तरिक दिव्यताको खोजी हो । आधुनिक विज्ञान भन्छ : समस्त ब्रह्माण्डको मूलमा एक ऊर्जा छ, या हरेक कणको समुच्चा ब्रह्माण्डसँग अन्तर्सम्बन्ध छ ।
अमेरिकामा उड्दै गरेको एउटा पुतलीको प्रभाव वा लहरले हिमालको हिउँलाई पनि असर गर्छ र स्विडेनमा एउटी गृहिणीले काटिरहेको प्याजको सूक्ष्मतम असर यी शब्दहरूमा पनि पर्न जान्छ । यसैलाई विज्ञानले पुतली प्रभाव अर्थात बटरफ्लाइ इफेक्ट भन्छ । त्यो एक ऊर्जा, जुन सर्वव्यापक र सर्वज्ञाता छ, त्यसैको खोजीको नाम हो, धर्म । धर्ममा ईश्वरको अस्तित्व अनिवार्य छैन ।
बौद्ध, जैन, झेन इत्यादि अनिश्वरवादी धर्महरूको उल्लेख यहाँ गरिराख्नु परोइन होला । हो, हामीले आजसम्म बुझेको धर्ममा रुढिवादीको बाहुल्य छ र स्वर्ग, नर्क, पाप, पुण्य आदि मिथ्या प्रचारको माध्यमबाट केही व्यक्तिले त्यसै धर्मलाई बहाना बनाई सोझा—साझा जनताको शोषण गरिरहेका होलान्, तर असली धर्म न लोभमा, न त डरमा नै आधारित हुन्छ । यसले गर्दा धर्म एक जीवन्त अनुभूति हुन पुग्छ र भय एवम् लोभको राजनीतिबाट सहसा मुक्त रहने हुनाले शोषणको गुन्जायस लेस मात्र पनि रहँदैन ।
धर्ममा न जातिपातिको विभेद रहन्छ, न त स्त्रीपुरुषको नै । प्रेम, भाइचारा, सहअस्तित्व, मैत्री र आपसी सम्मान धर्मको वृक्षमा लाग्ने फूलहरू हुन् । आज विश्व नै तनाव, चिन्ता, कलह, अशान्ति र गृहयुद्धको चपेटामा छ र अध्यात्मका गहिरो सत्यहरूमा यसको समाधान खोजिँदै छ ।
भगवान् बुद्ध, राजर्षि जनक, गुरु गोरखनाथ र सयकडौँ ऋषिमनीषीको यो भूमिले समस्त विश्वलाई नै अध्यात्मको देन दिन सक्ने हैसियत राख्छ । यहाँका व्यक्तिहरूमा, संस्कृतिमा र पूरा वातावरणमा विश्वलाई नयाँ चेतना प्रदान गर्न सक्ने क्षमता छ । खाँचो छ मात्र यिनको पहिचान र प्रचारप्रसारको ।
श्रद्धेय भानु शर्मा जीवन विज्ञानका संस्थापक हुनुहुन्छ भने आध्यात्मिक जीवनदर्शन र साधनालाई सरल, सहज र प्रभावकारी विधिका माध्यमले जनजनमा हस्तान्तरण गर्ने विशिष्ट आध्यात्मिक गुरु मानिनुहुन्छ । सर्वधर्म समन्वयको उदात्त चिन्तनलाई आत्मसात् गर्दै पूर्वीय जीवनशैली र सनातन वाङ्मयलाई आधार बनाई आफ्ना विचार प्रकट गर्नुहुने श्रद्धेय भानु शर्मा आफ्ना लेखनीमार्फत मनुष्य मात्रको कल्याण, आफ्ना पितापुर्खा, ऋषिमनीषीको सम्मान र यस हिमवत्खण्डको गौरव गान गर्न मन पराउनुहुन्छ ।