रहस्यको ठूलो पोकोजस्तो लाग्ने ब्रम्हाण्डको आयतन अहिले पनि बढिरहेको छ । ब्रम्हाण्ड कत्रो छ र यसभन्दा पर के छ, यसको पत्तो कसैलाई छैन । विख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले यसबारे ठट्यौलो पारामा भनेका थिए,‘संसारमा दुई कुरा अनन्त छन्, ब्रम्हाण्डको बिस्तार र मान्छेको मूर्खता । तर अघिल्लो बारे म यसै भन्न सक्दिनँ ।’
घनश्याम खड्का
अचेल छिटोछिटो बदली भइरहेको छ । आकाश धुम्म छ, चिसो बढेको छ, उत्तिखेरै बादल हट्छ, घाम लाग्छ । ‘अहो, आज त कस्तो जाडो’ अलिक बेर लगातार बादल लागिरहँदा बाटोमा यसो भनेर फतफताउनेहरू निकै भेटिन्छन् । गर्मीमा धेरैबेर घाम लागिरहे फेरि उनीहरू नै भन्छन्,‘छि, कति दिक्क लाग्दो दिन ।’
अलिक समयपछि मौसम झनै फेरिने छ । संसारमा नित्य त केही पनि छैन । जाडो हराउने छ, खोलाहरू बढ्ने छन््, बादल हट्ने छ, फूलहरू फुल्ने छन्, वसन्त लाग्ने छ । एवम् रीतले दिनहरू फेरिइ नै रहनेछन् ।
पृथ्वीमा कुन महिना कस्तो मौसम आउँछ त्यो एउटा तालिकाजस्तो भइसक्यो । अचेल यी कुरा निकै सामान्य र प्रारम्भिक जस्ता लागे पनि मानव सभ्यताको सुरुआती समयतिर यो एउटा अचम्मको परिवर्तन मानिन्थ्यो । दिउँसो कसरी घाम लाग्छ, राती कसरी तारा उदाउँछन् र दिउँसो ती कता हराउँछन् ? यस्ता प्रश्नको उत्तर नपाएर मानिसहरू उदेक मान्थे । उत्तरकै खोजीमा विज्ञान जन्मेको हो । विज्ञानका अनेक शाखा प्रशाखा जन्मेका हुन् ।
यो ब्रह्माण्ड कसरी अस्तित्वमा आयो ? पृथ्वीमा जीवनको सुरुआत कसरी भयो ? जीवन अरु ग्रहमा पनि छ कि पृथ्वीमा मात्रै ? जन्मनुअघि मानिस कहाँ थियो ? मरेपछि कहाँ जान्छ ? जीवन जन्म र मृत्युबिचको समय मात्रै हो कि यो अनन्त छ ? उत्तर अझै मिलेको छैन । विज्ञानले ब्रह्माण्डको उत्पत्ति एउटा ठूलो विष्फोटका साथ भएको कल्पना गरेको छ । वैज्ञानिकहरू यसलाई ‘बिग ब्याङ’ सिद्धान्त भन्छन्, जसअनुसार प्रारम्भमा पदार्थ असाध्यै सघन एउटा तातो डल्लो थियो । त्यो अचानक विष्फोट भयो र टुक्राटुक्रा बनेर छरियो । तिनै टुक्राबाट अनेक तारा र ग्रहहरू बने ।
हाम्रा सौर्य मण्डलका ग्रह, पृथ्वी र यहाँबाट आकाशमा देखिने सबै आकाशीय पिण्ड एउटा तारापुञ्जमा समेटिएका छन्, जसलाई आकाश गङ्गा भनिन्छ । हालसम्मको अनुसन्धानले के पत्ता लागेको छ भने आकाश गङ्गाभित्र सूर्यभन्दा पनि हजारौँ गुना ठूला आकाशीय पिण्ड थुप्रो छन्, जसको प्रकाश पृथ्वीसम्म आइपुग्न करोडौँ प्रकाश वर्ष लाग्ने छ । ब्रम्हाण्डका रहस्य समेटेर पश्चिमा वैज्ञानिक स्टेफन हकिङले सन् १९८८ मा पुस्तक लेखेका थिए, ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ जो विश्वका ३३ भाषामा अनुवाद भएको छ र करोडभन्दा बढी बिक्री भएको छ । त्यसमा उनले ब्रह्माण्डमा आकाशगङ्गाजस्ता करोडौँ तारापुञ्जहरू भएको उल्लेख गरेका छन् जसको तस्बिर मात्रै खिच्दा पनि पृथ्वीमा राख्ने ठाउँ हुने छैन ।
यतिधेरै र यति विशाल आकाशीय पिण्डहरू एउटा सानो पदार्थको डल्लो विष्फोट भएर बने होलान् ? पत्याउनै गाह्रो पर्छ । ब्रम्हाण्डको उत्पत्ति बिग ब्याङ सिद्धान्त अनुसारै भयो रे लौ, विष्फोट हुनुअघिको त्यो सघन पिण्ड चाहिँ कसरी जन्म्यो ? के कति कारणले विष्फोट भयो ? जवाफ दिन नसकेर वैज्ञानिकहरू रन्थनिएका छन् ।
प्रायः धर्मले यो संसारको सृष्टि ईश्वरको अनुकम्पाले भयो भन्ने ठान्छन् । त्यसो हो भने ईश्वर चाहिँ कसरी र कहिले जन्मे ? ईश्वर आउनुअघि यो संसार कस्तो थियो ? यसको उत्तर पनि कसैसँग छैन ।
रहस्यको ठूलो पोकोजस्तो लाग्ने ब्रम्हाण्डको आयतन अहिले पनि बढिरहेको छ । ब्रम्हाण्ड कत्रो छ र यसभन्दा पर के छ, यसको पत्तो कसैलाई छैन । विख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले यसबारे ठट्यौलो पारामा भनेका थिए,‘संसारमा दुई कुरा अनन्त छन्, ब्रम्हाण्डको बिस्तार र मान्छेको मूर्खता । तर अघिल्लो बारे म यसै भन्न सक्दिनँ ।’
कुनै समय पृथ्वीले सूर्यलाई घुम्छ भन्ने तथ्य पत्ता लगाउँदा इसाइ धर्म विरोधी कुरो गरेको आरोपमा ग्यालिलियो ग्यालिलीलाई जेल हालिएको यो पृथ्वीमा ब्रम्हाण्डको रहस्य खोज्ने क्रम रोकिएको भने छैन । सन् १९५७ मा रसियाले चन्द्रमाको सतहमा ओरालेको स्पुतनिक यानबाट सुरु भएको अन्तरिक्षको खोजले पाँच दशक पार गर्दा नगर्दै अनेक आविष्कार गरिसकेको छ ।
यही खोजकै एउटा शृङ्खलामा हालै युरोपेली अन्तरिक्ष सङ्घ (इसा) ले एउटा नयाँ तारापुञ्ज फेला पारेको छ जो हालसम्मकै विशाल ठानिएको छ । इसाले यसलाई खगोल विज्ञानमा महत्त्वपूर्ण खोजबिन भनेको छ । यसको नामकरण उसले गरिसकेको छैन तर चिन्नका लागि एउटा लामो क्याटलग क्रमाङ्कमा अभिलेख चाहिँ गरेको छ ।
इसाको अन्तरीक्ष निरीक्षण केन्द्रस्थित एक्स एमएम न्युटन यानले दिएको सूचना अनुसार यो तारापुञ्ज अहिलेसम्म पत्ता लागेका सबै तारापुञ्जभन्दा निकै पर छ । गङ्गाभन्दा हजारौँ गुना ठूलो मानिएको यो तारापुञ्ज दश करोड डिग्री तातो भएको अनुमान वैज्ञानिकहरूले गरेका छन् । यसले पुरै ब्रह्माण्डको एक प्रतिशत ठाउँ ओगटेको यानले केही महत्त्वपूर्ण तस्बिर पनि खिचेको छ, जसबाट के पत्ता लागेको छ भने उक्त तारापुञ्जको निकै परसम्म पनि अरु अकाशीय पिण्डहरू छैनन् । यो तारापुञ्ज अलिक अनौठो खालको भएको र यसबाट ब्रह्माण्डको उत्तपति कसरी भयो भन्ने जान्न केही रहस्यमय तथ्य फेला पर्न सक्ने समेत इसाको आशा छ । के अब हजारौँ वर्षदेखि मान्छेले खोजिरहेको उत्तर मिल्ला ?
घनश्याम खड्का सुपरिचित पत्रकार तथा लेखक हुनुहुन्छ । कान्तिपुर दैनिकमा लामो समयदेखि वरिष्ठ पत्रकारका रूपमा सक्रिय खड्का अध्यात्म चिन्तन, साधना तथा सत्यको खोजमा विशेष रूचि राख्नुहुन्छ । निर्वाण उहाँको चर्चित औपन्यासिक कृति हो । जीवनदर्शन र रहस्यदर्शी लेखकका रूपमा उहाँको विशेष पहिचान छ ।