‘जीवन एक उत्सव हो । यति सुन्दर जीवन पाएर पनि तिमी किन दुःखी हुन्छौ ? तिम्रो जीवन त तिमी हाँस्नका लागि हो, रमाउन र नाच्नका लागि हो । तर, तिमी रोइरहेका छौ, किन ? हाँस, दिल खोलेर हाँस ।  नाच, उमङ्गका पङ्ख खोलेर नाच । गुनासा र असन्तुष्टिलाई मनबाट हटाइदेऊ र पूर्णानन्दको अनुभव गर ।’—भगवान् श्रीकृष्णले यही सिकाउनु भएको छ ।

आज भाद्र कृष्णपक्षको अष्टमी तिथि, श्रीकृष्णजयन्तिको दिन । आजकै तिथिमा भगवान् श्रीकृष्णको अवतरण भएको पौराणिक कथन रहेको छ । वैदिक सनातन वाङ्मयका उत्कर्ष पात्र, सम्पूर्ण सनातनसेवीका आराध्यदेव एवम् सर्वाधिक पूजनीय र चिन्तनीय चरित्र भगवान् श्रीकृष्ण आखिर को हुनुहुन्छ र उहाँको जीवनचरित्रबाट पाइने मूल सन्देशहरू केके हुन् ? आउनुस्, आज यसै सन्दर्भमा चिन्तन गरौँ र जन्माष्टमी मनाऔँ ।

‘कर्षति रमयति भक्तान्, कर्षति अरीन्, कृषति वर्णान् इति वा’ अर्थात् भक्तहरूलाई जसले आकर्षण गर्दछ, शत्रुहरूलाई दबाउँछ र अन्य रङहरूलाई समेत जसले आफूतिर खिच्दछ, उसलाई ‘कृष्ण’ भनेर टीकादत्त बरालको तत्सम नेपाली व्युत्पत्ति शब्दकोशमा उल्लेख गरिएको छ । अत्यन्त सङ्क्षेपमा बुझ्नुपर्दा जसले आकर्षित गर्दछ, आफूतिर खिच्दछ, हरण गर्दछ वा तान्दछ, ऊ नै कृष्ण हो । सायद यही भएर होला, भगवान् श्रीकृष्णप्रति सबै आकर्षित छन्, खिचिएका वा तानिएका छन् । चाहे उहाँको ज्ञानले होस्, चाहे रूपले होस्, बाँसुरीले होस्, चाहे लीलाहरूका कारणले होस्, सारा जगत् उहाँप्रति आकर्षित छ ।

१. अँध्यारोबाट उज्यालोतिर

भाद्र कृष्णाष्टमीको अँध्यारो रात । भगवान् श्रीकृष्ण यही सघन रातका समयमा जन्मनु भएको छ । यस्तो ठाउँमा जन्मनुभएको छ, जहाँ खतराबाहेक केही छैन । त्यसो त अँध्यारो आफैँमा अशिक्षा, अन्योल, अलमल र अस्तव्यवस्तताको परिचायक हो । कंशले कृष्णका वसुदेव—देवकीलाई जेलमा थुनेको थियो । उसको राज्यका हरेक नागरिकमा त्रास थियो, दबिएको सास थियो । अन्याय र अत्याचारले सीमा नाघेको थियो तर, यहीबेला समयले एउटा उज्यालोको प्रतीक्षा गरेको थियो । अँध्यारो त निकै गाढा थियो, तर त्यसले सुमधुर उज्यालोको सङ्केत गरेको थियो ।

हरेक कृष्णपक्षपछि शुक्लपक्षको आगमन हुन्छ । कृष्णपक्षका दिनहरू सकिएर शुक्लपक्षको आगमन हुँदा कम्ति आनन्द हुँदैन । मन त्यसैत्यसै प्रसन्न हुन्छ, तर त्यो प्रसन्नताका लागि हामीले अँध्यारा पन्ध्रदिन बिताउनै पर्छ, भाग्न पाइँदैन । भगवान् श्रीकृष्ण अँध्यारोमा जन्मनु भयो, उहाँको वर्ण पनि कालै छ, अँध्यारै छ । कृष्णको अर्को अर्थ कालो भन्ने पनि हुन्छ । तर, उहाँ जन्मनासाथ मानिसहरूमा खुसीयाली छाएको थियो, जगत्ले गहिरो शान्तिको सास फेर्न पाएको थियो ।

जीवनको सुरुआत नै अँध्यारोबाट हुन्छ । हरेक व्यक्ति जन्मँदा केही जान्दैन, अबोध हुन्छ । उसले खाने, हिँड्ने, बोल्ने, खेल्ने, रमाउने, पढ्ने, पढाउने केके गर्नुपर्छ, ती सबै कुरा बिस्तारै सिक्दै जाने हो । अँध्यारोमा जन्म त भएको छ, तर उसको गन्तव्य भने उज्यालो नै हो । भगवान् श्रीकृष्णको जन्मले हामीलाई ‘जीवन अँध्यारोबाट उज्यालोतिरको यात्रा’ हो भन्ने पहिलो सन्देश दिन्छ ।

२. सङ्घर्षबाट शान्तितिर

भगवान् श्रीकृष्ण कारागृहमा जन्मनुभएको थियो । उहाँका बाबुआमाले उहाँलाई सुरक्षित राख्न कम्ति सङ्घर्ष गर्नुपरेन । कंसको कठोर शासन । हुन त ऊ आफ्नै मामा नै थियो नि ! तर, उसको अपराधको कुनै लक्ष्मणरेखा थिएन । बाल्यकालका पलपलमा उहाँलाई खतरा थियो । हरेक व्यक्ति अँध्यारोलाई हटाउन जन्मेको छ, जसरी भगवान् श्रीकृष्ण जन्मनु भएको थियो । कंसरूपी अहङ्कारको अँध्यारोलाई हटाउन कृष्णरूपी प्रेमको प्रकाश बनेर भगवान् कृष्ण जन्मनुहुन्छ ।

जब प्रेमको उदय हुन्छ अनि अहङ्कारको अस्त प्रारम्भ हुन्छ । जुनदिन भगवान् कृष्णको जन्म भयो, त्यसपछि भोक रहेन, निद्रा हरायो र केवल षड्यन्त्र, अहङ्कार र आक्रोशको बलमा ऊ बाँच्न थाल्यो । तर, अहङ्कारको सहारा नै मृत्युको सबैभन्दा ठूलो कारण हो । जति धेरै अहङ्कार, त्यति नै धेरै मृत्युको सम्भावना । जतिजति उज्यालोको प्रभाव बढ्दै जान्छ, त्यति नै अन्धकारको नाश हुँदै जान्छ । जगतमा व्याप्त अन्धकारको नाश  हुनुथियो, त्यसैले प्रकाशपुञ्ज भगवान् श्रीकृष्ण जन्मनु भयो । संसारमा व्याप्त अहङ्कारको राज्य ढल्नु थियो, त्यसैले प्रेमका अवतार भगवान् श्रीकृष्णको उपस्थितिलाई धरतीले अनुभव गर्ने अवसर पायो ।

३. प्रेम नै शक्ति

प्रेम नै संसारलाई जित्ने औषधि हो । प्रेमका अगाडि कसैको केही जोड चल्दैन । भगवान् श्रीकृष्णमा प्रेमबाहेक अरु थियो नै के र ! ‘प्रेम नै सबैभन्दा ठूलो बल हो । त्यसैले, तिमी सबैलाई प्रेम गर र बलशाली बन ।’—श्रीकृष्णले यही सन्देश दिनुभएको छ, आफ्ना लीलाहरूमार्फत् ।

जो सबैका लागि बाँच्ने उद्देश्यसाथ जन्मन्छ, उसलाई कसैले पनि केही गर्न सक्दैन । सारा व्यवधानहरू स्वयम् हट्दछन् । साहस र आँटका सामु सगरमाथा पनि हार्दछ, भयङ्कर बन्धन र डोरीहरू सबै खुल्दछन् । यो भगवान्को अर्को सन्देश हो किनभने जसै भगवान् जन्मनुभएको थियो, तसै कंसको विराट् जेलका तमामद्वारहरू खुलेका थिए, वसुदेव र देवकीका बन्धनहरू टुटेका थिए, भगवान्का अगाडि कुनै बन्धन बाँकी थिएनन् ।

निश्चय पनि भगवान्का अगाडि सबै बन्धनहरू कपास समान कोमल हुन्छन् । तर, भगवान् बन्ने आधार केके हुन् त त्यसोभए ? भगवत्ताको विकास र भगवान् बन्नुपछाडिको कारण सर्वहित, सर्वसुरक्षा र सर्वशान्तिका लगि अहोरात्र समर्पण ।

भगवान् श्रीकृष्णको जन्मको उद्देश्यका बारेमा तपाईँ अपरिचित हुनुहुन्न । कंसको विनाशनिम्ति प्रभु धरतीमा अवतरित हुनुभएको थियो । कंस अर्थात् अहङ्कार जसको निरङ्कुशताले समूल मानवीय सभ्यता र कर्तव्यको विशाल गङ्गा प्रदूषित भएको थियो, जताततै अत्याचार र अन्यायको राज्य कायम थियो । कंसका दुव्र्यवहारबाट सबै आक्रान्त र पीडित थिए । समग्र धरतीको एउटै पुकार थियो, प्रेमको अवतरण । त्यसैले प्रेम र उत्सवका दिव्य मूर्ति पुरुषोत्तम भगवान् श्रीकृष्णको आगमन भएको थियो । अर्थात् भगवान् श्रीकृष्णले अवतार र आगमन स्वयम् उहाँका लागि नभई धरती मात्रका लागि थियो । अर्काका निमित्त जन्मनु भएको थियो भगवान् श्रीकृष्ण, त्यसैले ती बन्धनहरू टुटेका थिए ।

कल्याण, प्रेम र सद्विचारलाई जसले जीवनको आदर्श बनाएको छ, त्यसलाई कसैको डर हुँदैन । जो निडर छ, उसमा अनन्त शौर्य, आँट र साहस भरिएको हुन्छ । र, जो आँटी छ, साहसी र बहादुर छ, उसका सामु सबै बन्धनहरू खुल्दछन्, अवरोधहरू किनारा लाग्दछन् र सत्कर्मका लागि मार्ग प्रशस्त गरिदिन्छन् । यो दिव्य सन्देश श्रीकृष्णले दिनु खोज्नुभएको अर्को सन्देश हो ।

देवकोटा एउटा व्यक्ति हुन्, गान्धी पनि एउटा व्यक्ति नै हुन् । देवकोटा र गान्धीजस्तै लिङ्कन पनि एउटा मानिस नै हुन्, तर पनि करोडौँका मनमा उनीहरू बसेका छन् भने गान्धी, देवकोटा र लिङ्कनलाई जन्माउने श्रीकृष्ण हजारौँ स्त्री र पुरुषका मनमा बस्दा केको आश्चर्य ? हामीजस्ता कमजोर र अहङ्कारी होइनन् कृष्ण । कृष्णले त अहङ्काररूपी विषलाई त्यागेका थिए, त्यसैले उनी स्वस्थ, पवित्र, शक्तिशाली र अथाह ऐश्वर्यले पूर्ण थिए ।

४. भगवान् र मान्छेबीचको फरक

प्रेमका पूजारीलाई हजारले चाहेका हुन्छन् । जसले सबैलाई माया गर्दछ, के उसलाई कसैले पिट्ने, गाली गर्ने वा घृणा गर्ने गर्दछन् र ? सबैको भलो चाहने, सबैलाई प्रेम गर्ने र सबैको हित गर्ने भगवान् श्रीकृष्णलाई पनि सबैले अँगालो हाल्थे, प्रेम र स्मरण गर्थे । हामीमा त्यो योग्यता छैन, अलग कुरा हो, तर जो सबैका लागि बाँचेको हुन्छ वा मरेका हुन्छ, उसका लागि पनि सबै बाँच्न र मर्न तयार हुन्छन् । भगवान् श्रीकृष्णका सन्दर्भमा पनि त्यही कुरा लागु भयो ।

भगवान् श्रीकृष्ण परमशक्तिशाली हुनुहुन्थ्यो । अर्थात् सम्पूर्ण शक्तिका उद्गम स्रोत हुनुहुन्थ्यो । शक्ति सबैतिर एकसाथ समानरूपले पैmलिएको हुन्छ । त्यसरी नै भगवान् श्रीकृष्ण एकसाथ सबैमा फिँजिनु भएको थियो । सागरमा सबैमा पौडन्छन्, कुवामा होइन । भगवान् श्रीकृष्ण सागर हुनुहुन्थ्यो, जहाँ हजारौँ व्यक्तिहरू पौडन सक्थे । कतिपयले प्रश्न गर्ने गरेको पाइन्छ,—‘हजारौँ आईमाईसँग नाच्ने पनि कोही भगवान् हुनसक्छ ? कृष्ण त आईमाईसँग नाच्ने र यौनलीला गर्ने मान्छे हो, भगवान् होइन ।’

हामी ठूलो भूलमा छौँ । भगवान् श्रीकृष्ण न त पुरुषसँग नाच्नु भएको थियो, न त स्त्रीसँग नै । उहाँ त आफ्ना प्रेमी, शुभेच्छुक र भक्तसँग नाच्नुभएको थियो । जसले बारम्बार मानवता, मृत्यु र प्रेमलाई स्त्री र पुरुषको अङ्गप्रत्यङ्गसँग दाँज्दछ, बाहिरी रूपलाई मात्र हेर्छ, उसले मात्र कृष्णलाई स्त्रीसँग नाचेको देख्दछ, तर जसको अन्तर्दृष्टि खुलेको छ, जसका आँखा स्त्री र पुरुषका अङ्गावयव र भेषभूषामा अल्झँदैन, उसले श्रीकृष्णलाई उहाँका भक्तहरूसँग नाचेको देख्छ, उदार र पवित्र उद्देश्यले हाँसेको देख्छ ।

५. सूर्य र चन्द्रजस्तै श्रीकृष्णको उपस्थिति

कृष्णलाई एउटा व्यक्ति ठान्नेहरूले मात्र कृष्णको स्त्रीहरूसँगको नृत्यलाई गलत ढङ्गले व्याख्या गर्दछन् किनभने उनीहरू वासनाका दास हुन् । कृष्ण त आकाशका चन्द्र र सूर्य हुन्, जो एकै पटक सबैका घर र आँगनमा उदाउने क्षमता राख्दछन् । सूर्य र चन्द्रले कहाँ विभेद गरेका छन् र ? के सूर्यको न्यानो स्त्रीको शरीरमाथि नपरेर पुरुषको शरीरमाथि मात्रै पर्दछ ? चन्द्रमाको उज्यालो कहिल्यै पनि स्त्रीहरूको शरीरमा नपरेर पुरुषको शरीरमा मात्रै पर्नुपर्छ भनेर हामीले भन्न सुहाउँछ कि सुहाउँदैन ?

के मान्छे र पृथ्वीमा फरक छैन ? पृथ्वीले सम्पूर्ण फोहोर, थुक र खकार सबैलाई चुपचाप सहन्छिन् र बदलामा ती सबैलाई मलका रूपमा प्रयोग गरी सुन्दर फलपूmल र खाद्यान्न हामीलाई दिन्छिन् । के हामीमा त्यो सामर्थ्य छ ? अनि हामीले आफूलाई भगवान् श्रीकृष्णसँग र भगवान् श्रीकृष्णलाई आफूसँग दाँजेर हेर्न कत्तिको सुहाउँछ ?

बहादुर, क्षमताशील र प्रतिभाशालीलाई सबैले चिनेजानेका हुन्छन् । सबैको भलाइ र सर्वाङ्गीण हित चिताउनेलाई सबैले सम्झन्छन्, त्यसरी नै श्रीकृष्णलाई सबैले सम्झिए । हामीमा अर्काको ईश्र्या गरेर बस्नेबाहेक अरु क्षमता नै छैन भने भगवान्लाई आफूसँग दाँजेर हेरेर हुन्छ र ? हामी कमजोर र प्रतिभाहीन छौँ, त्यसैले हामीलाई कसैले सम्झँदैनन् । हामीमा कसैको पनि मनमा बस्ने क्षमता छैन । त्यसरी भगवान् श्रीकृष्णका लीलाहरू बुझ्न सकिँदैन ।

देवकोटा एउटा व्यक्ति हुन्, गान्धी पनि एउटा व्यक्ति नै हुन् । देवकोटा र गान्धीजस्तै लिङ्कन पनि एउटा मानिस नै हुन्, तर पनि करोडौँका मनमा उनीहरू बसेका छन् भने गान्धी, देवकोटा र लिङ्कनलाई जन्माउने श्रीकृष्ण हजारौँ स्त्री र पुरुषका मनमा बस्दा केको आश्चर्य ? हामीजस्ता कमजोर र अहङ्कारी होइनन् कृष्ण । कृष्णले त अहङ्काररूपी विषलाई त्यागेका थिए, त्यसैले उनी स्वस्थ, पवित्र, शक्तिशाली र अथाह ऐश्वर्यले पूर्ण थिए ।

६. जीवन एक नृत्य

भगवान् श्रीकृष्ण लीलापुरुषोत्तम हुनुहुन्छ र साथमा प्रेम, योग, कर्म र ज्ञानका अवतार पनि । उहाँका प्रत्येक लीलामा शाश्वत् र मानवीय सन्देश भरिएका हुन्छन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी तिथिमा हामीले भगवान्को जीवन उत्सव मनाउँछौँ, भगवान्का सन्देशका बारेमा चर्चा गर्दछौँ, र चिन्तन गर्दछौँ । थुप्रै कार्यक्र वर्षेनी हुने गर्दछन्, पूजा, प्रार्थना र अनुष्ठानहरू सम्पन्न हुने गर्दछन् । जन्माष्टमीका अवसरमा भगवान् श्रीकृष्णका सन्देशहरूको अनुसरण हामी जति गर्दछौँ, त्यति नै त्यो उहाँप्रतिको सच्चा श्रद्धा र पूजा हुनेछ ।

भगवान् श्रीकृष्णका लीलाहरू अत्यन्त चिन्तनीय र अर्थपूर्ण छन् । भगवान् श्रीकृष्णले सारमा एउटै कुरा सिकाउनु भएको छ—उत्सव । ‘जीवन एक उत्सव हो । यति सुन्दर जीवन पाएर पनि तिमी किन दुःखी हुन्छौ ? तिम्रो जीवन त तिमी हाँस्नका लािग हो, रमाउन र नाच्नका लागि हो । तर, तिमी रोइरहेका छौ, किन ? हाँस, दिल खोलेर हाँस । नाच, उमङ्गका पङ्ख खोलेर नाच । गुनासा र असन्तुष्टिलाई मनबाट हटाइदेऊ र पूर्णानन्दको अनुभव गर ।’—भगवान् श्रीकृष्णले यही सिकाउनु भएको छ ।

सारमा श्रीकृष्ण र उनको जीवनले अहङकारलाई जितेमा सबैलाई जित्न सकिन्छ भन्ने सन्देश दिन्छ । प्रेम नै अहङ्कारलाई जित्ने भरपर्दो सूत्र हो । जसले प्रेमका बलले अहङ्काररूपी कंसलाई पराजित गर्न सक्दछ, ऊ जनजनका मनमा बास बस्न सफल हुन्छ । ऊ सबैको प्रिय हुन्छ । उसलाई सबैले मन पराउँछन् त्यसपछि ऊ समान्य मान्छेजस्तो एक, दुई जनको होइन, लाखौँ र करोडौँको मनमा एकैपटक बस्न सक्दछ । त्यही लीलानायक भगवान् श्रीकृष्णको जीवनको मूल सन्देश हो ।