भोलाभाला हुँदाको मजा बेग्लै छ । मानिसले जति धेरै चतु¥याईँ गर्दछ, त्यति नै धेरै पररमात्मा तत्त्वबाट टाढा हुन पुग्दछ । शान्त र आनन्दित हुन सक्दैन् । अतः भोलेनाथ शिव स्वरूपको ध्यान गर्नु लाभदायक छ । संहारकर्ता भोलेनाथले हामीले सङ्ग्रह गरेका सम्पूर्ण धारणा, आग्रह, पूर्वाग्रहहरूलाई अन्ततः संहार गर्नुहुन्छ र मुत्युको मुखमा पुगेको मनुष्यलाई ‘आखिर म गलत रहेँछु’ भन्ने बनाएर मृत्युरूपी सत्यको अनुभूति गराउनुहुन्छ ।

देवहरूका पनि देव महादेव

अलौकिक संसारमा भोलेनाथ भोलाभाला हुनुहुन्छ । यो लौकिक संसारमा भने चतुर्याईँ धेरै छ । मानिसले आफ्नो दिमागी क्षमताको दुरूपयोग गर्दै धतुर्याईँ र चतुर्याईँद्वारा आफ्ना अभीष्ट सिद्धि गरिरहेका छन् । पूर्ण विकसित मनुष्यका साक्षात् स्वरूप भगवान् शिव हुनुहुन्छ, जसलाई भोलेनाथ पनि भनिन्छ । उहाँको स्वभाव बच्चाको जस्तै भोलाभाला छ । भोलेको अर्थ सामान्य वा निर्दोष र नाथको अर्थ मालिक वा स्वामी वा देवता भन्ने बुझिन्छ । भोलेनाथ स्वयम्भु हुनुहुन्छ, जो स्वयम् उत्पत्ति हुनुभयो । जे छ त्यही खाने, जस्तो लुगा लगाएको छ, त्यस्तैमा हिँड्ने । भित्र एउटा बाहिर अर्कै गर्ने खण्डित होइन, बाहिर र भित्र एक भएको अखण्ड । शरीर, मन, भाव र चेतना एक भएको योगस्थ । अध्यात्मका आदिगुरु अनि योग र ध्यानका प्रणेता भगवान् शिव हुनुहुन्छ । खुसी भए सबैथोक दिने, इगो लिएर नबस्ने । अरुको रक्षाको लागि विष पनि पिइदिन सक्ने । देवता होस् या दानव, सबैका देवता अर्थात् देवहरूका पनि देव महादेव । आदर्श, मर्यादा पुरुषोत्तम भगवान् रामका आराध्य देव अनि अहङ्कारी अमर्यादित राजा रावणका पनि देवता । मनुष्य, पशु, पक्षी, जनावर, नन्दिभृङ्गी, भूतप्रेत, पिशाच, कीराफट्याङ्ग्रा सबैका देवता । कसैमा खोट नदेख्ने अनि कसैलाई भेदभाव नगर्ने कस्तो समभाव होला भगवान् शिवमा !?

 

प्रेम र दयामा करुणावतार अनि रिस उठेमा रौद्रावतार । जागेका भावहरू तत्काल विसर्जन गरिहाल्ने । कुनै कुण्ठा पालेर नबस्ने, हमेशा वैकुण्ठवासी भगवान् । प्रेममा पागलपन अनि वैराग्यमा खरानी धसेर स्मशानघाटको वास । कहिले कैलाशपति त कहिले पशुपति । चरम भोग र परम योग दुवैका पराकाष्ठा हुन् भोलेनाथ । भगवान् शिव झुठो बोल्दैनन् । आफूलाई जस्ताको तस्तै प्रस्तुत गर्दछन् । सबै देवताले दक्षप्रजापतिका छोरीहरूसँग विवाह गरेपछि आफूले पनि विवाह गर्नुपर्छ भन्ने थाहा पाएका भोलेनाथ दौडेर कन्या माग्न दक्षप्रजापतिकहाँ पुग्छन् । शिवजीको लवाइ—खवाई र रूप देखेर हैसियत अनुमान गरेका दक्षप्रजापतिलाई लाग्छ कि यस्तो न रूप, न त रङ्ग भएको, न मातापिताको टुङ्गो छ, न त ठाँउठेगाना भएको छ, यस्तो बुङ्गोले मेरी छोरी माग्ने आँट कसरी ग¥यो ? भनेर गर्नुसम्म अपमान गरेर फर्काइ दिन्छन् । उता विवाह नगरी बाबुआमा पालेर बस्ने भन्ने सङ्कल्प गरेर बसेकी गौरी अर्थात् सतीदेवीले भगवान् शिवको दिव्य आभाको अनुभूति गरिन्, सादगी मन पराइन्, भोलाभालापनमा आकर्षित भइन् । आजीवन विवाह नगर्ने प्रण गरेकी गौरी शिवजीको प्रेममा परिन् । विवाह गर्न राजी भइन् ।

ससुरालीमा अपमान

दम्भ र अहङ्कारका पराकाष्ठा गौरीका बाबु दक्षप्रजापतिले शिवजीलाई ज्वाइँ बनाउन माने पो त ! गौरीशङ्करको जोडी पूर्वनिर्धारित थियो । यो जोडीमा शिव र शक्तिको बेजोड मेल थियो । अन्ततः मन नपर्दा—नपर्दै पनि पिताजी ब्रम्हाजीको आदेश मानेर गौरीलाई अन्माउन र शिवजीलाई ज्वाइँ बनाउन बाध्य भए, दक्षप्रजापति । पार्वतीसँग दोस्रो विवाह गर्दा पनि हिमालय पर्वतले छोरी दिन नमानेपछि शिवजीले भगवान् विष्णुकहाँ हारगुहार गर्नुपरेको थियो । भगवान्कै पालामा पनि सीधासादा मानिसलाई छोरी दिन गाह्रो मान्दा रहेछन् । सांसारिक दुनियाँमा टाठाबाठा मानिसलाई खुब प्रशंसा गरिन्छ । आफ्नो बनाउन खोजिन्छ, तर सोझासीधा मानिसलाई होच्याउने र हेप्ने गरिन्छ । उहाँ आफू जस्तो हुनुहुन्थ्यो, त्यस्तै रूपमा प्रस्तुत हुँदा, जालझेल प्रपञ्च रच्न नजान्दा शिवजीले धेरै अपमान सहनुप¥यो ।

हामीकहाँ विवाह गर्दा भएको भन्दा बढाइँचढाईँ गरेर देखाउने चलन छ, तर भगवान् शिवले दुइपटक विवाह गर्नुभयो । विवाह गर्दा आफू जस्तो हुनुहुन्थ्यो, त्यस्तै रूपमा प्रस्तुत हुनुभयो । तैपनि दुवै पत्नीको अगाध प्रेम पाउनुभयो । कस्तो प्रेम र दाम्पत्य सुख भने नि ! अहिले कलियुगमा समेत शिवजी जस्तै पति पाऊँ भनेर अविवाहित कन्याहरू र हाम्रा पति शिवजी जस्तै होऊन् भनेर विवाहित नारीहरू व्रत बस्छन्, पूजा आराधना गर्दछन् । भगवान् शिवले जत्तिको ससुरालीमा अपमान अहिलेसम्म कसैले खेप्नु परेको छैन होला । हाम्रो संस्कारमा ज्वाइँलाई आफ्नै छोरीलाई भन्दा बढी माया गर्ने चलन छ ।

बुद्धिमान् र चुतुर हुनुको फरक 

भगवान् शिव नाच्नमा पनि उत्तिकै अब्बल छन् । उनलाई नृत्यका देवता नटराज भनिन्छ । यो सारा ब्रह्माण्ड चलायमान छ । गतिमान छ । ब्रह्माण्डको कणकणमा दिव्य ऊर्जा नृत्य गरिरहेको छ । भगवान् शिवको नटराज स्वरूपले पदार्थको स्थिरता, गतिशीलता र सन्तुलनको स्थितिलाई झल्काउँछ । शिवसूत्रले भन्छ– आत्मा नर्तक अर्थात् ब्रह्माण्डीय नर्तक नटराज भगवान् शिव हरेक मनुष्यको हृदयमा आत्माको स्वरूपमा नाचिरहेका छन् । आधुनिक विज्ञान क्वान्टम फिजिक्सले भन्छ– ‘हरेक सूक्ष्मातिसूक्ष्म कणमा ऊर्जातत्त्व नाचिरहेको छ । सृष्टि सञ्चालनमा संहारकर्ताको जिम्मेवारी निभाएर पनि महाशून्य बन्न सक्ने, पूर्ण मौनतामा जान सक्ने अद्भुत शक्ति हुन्, भगवान् शिव । बुद्धिमान् हुनु र चलाखीपूर्ण धूर्त हुनु अलग कुरा हो । बुद्धिमान् हुनु महानता हो भने चतुर हुनु छुद्रता हो । बुद्धिमान हुनु आफ्नो स्वभाव र प्रकृतिअनुसार हुन्छ भने धूर्त हुनु अरुलाई हानि—नोक्सानी पु¥याएर आफूले लाभ लिनुसँग सम्बन्धित हुन्छ ।

भोलापनको  शक्ति

भगवान् शिवको चर्चा र आराधनाले हामीलाई भोलेनाथ जस्तै भोलाभाला अनि बच्चा जस्तै निर्दोष र अबोध बनाउँछ । एउटा पूर्ण समर्पित भोलाभाला भक्त जो नाच्छ, गाउँछ, रुन्छ, कराउँछ अनि रिसाउँछ । भोलापनमा कस्तो शक्ति हुन्छ भने, जस्तैः एउटा सानो बच्चा रुन मात्र जान्दछ, ऊ निर्बल हुन्छ तर रोएको भरमा आफूलाई पालनपोषण गर्ने र हुर्काउने मातापितालाई तालाबाला खेलाउँछ । मातापिता आफ्ना सबै काम छोडेर भए पनि बच्चाको स्याहार—सुसारमा लाग्दछन्, लाग्नै पर्छ । भगवान् भक्तको अगाडि नतमस्तक हुन्छन् रे, जसरी मातापिता आफ्ना लालाबालाको बालसुलभता र बालहठका अगाडि हुने गर्छन् ।

मानिसको मनले धेरै प्रपञ्च रच्न थाल्यो भने ऊ नर्कका तीन द्वारमा पुग्दछ । ती द्धार हुन् : काम, क्रोध र लोभ । भोलाभाला हुँदाको मजा बेग्लै छ । मानिसले जति धेरै चतु¥याईँ गर्दछ, त्यति नै धेरै पररमात्मा तत्त्वबाट टाढा हुन पुग्दछ । शान्त र आनन्दित हुन सक्दैन् । अतः भोलेनाथ शिव स्वरूपको ध्यान गर्नु लाभदायक छ । संहारकर्ता भोलेनाथले हामीले सङ्ग्रह गरेका सम्पूर्ण धारणा, आग्रह, पूर्वाग्रहहरूलाई अन्ततः संहार गर्नुहुन्छ र मुत्युको मुखमा पुगेको मनुष्यलाई ‘आखिर म गलत रहेँछु’ भन्ने बनाएर मृत्युरूपी सत्यको अनुभूति गराउनुहुन्छ । ॐ नमः शिवायः । हरि ॐ तत् सत् ।