—शिव भुसाल

सन् २०१२ मा हारबर्ड मेडिकल स्कुलले गरेको एक अनुसन्धानले रातो मासुको निरन्तर सेवनका कारण मानिसको आयु अस्वाभाविकरूपमा घट्ने तथ्य पुष्टि गरेको छ । क्यान्सर तथा मुटुरोगजस्ता घातक रोगहरूको मुख्य कारण रातो मासुको खपत रहेको तथ्य समेत सो अनुसन्धानले पुष्टि गरेको हो । दसैँको बेलामा बध गरिने खसी, राँगा, बोका आदिजस्ता प्राणाीहरूको मासु नै रातो मासु हो । यसका तुलनामा कुखुरा लगायतका प्राणीबाट प्राप्त हुने सेतो मासु कम घातक रहेता पनि त्यो वर्गको मासुलाई पनि हानिरहित भने मान्न सकिँदैन । अझ त्यस्ता जीवजन्तुहरूको मासुबाट बर्डफ्लु लगायतका रोगहरू सर्ने सम्भावना उच्च रहन्छ । बधको प्रक्रियामा हुने पशुहिंसा र पशुहत्याको पाप त आफ्नो ठाउँमा छँदै छ । विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्दा मासुको सेवन सुस्वास्थ्य, दीर्घजीवन तथा मानसिक स्वास्थ्यका निम्ति लाभकारी देखिँदैन ।

१. स्वास्थ्यसम्बन्धी दृष्टिकोण

मासुको निरन्तर सेवन गर्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना ज्यादा रहन्छ । यसको ठिक विपरीत शाकाहारी मानिसको भने रक्तचाप सामान्य भई शरीर स्वस्थ एवम् सुदीर्घ रहन्छ । मासुजन्य पदार्थमा फाइबरको मात्रा कम र बोसोको मात्रा ज्यादा हुने गर्छ, जसले कब्ज लगायतका समस्याहरू पैदा गर्दछ । फलफूल, सागसब्जी आदिको सेवनले चाहिँ फाइबरको मात्रा प्रदान गरी पेट सफा राख्न मद्दत पुग्दछ ।

ज्यादा मांसाहार सेवन गर्ने मानिसको शरीर मोटोपनले ग्रस्त हुन्छ । उसको शरीर भद्दा देखिन्छ । उसलाई आलस्य र बेचैनीले गाँज्दछ । यसका साथै, पशुको हत्या गर्ने क्रममा तिनीहरूको शरीरबाट एक किसिमको घातक रसायन पैदा भएको हुन्छ । मासुसेवन सँगसँगै सो रसायन मानिसको शरीरभित्र प्रवेश गर्छ । यसले मानिसको स्वभावलाई पनि उत्तिकै त्रस्त र बेचैन पारिदिन्छ ।
मानिसको शरीरको बनावट पनि शाकाहारी प्राणीको जस्तै हुन्छ । मासांहारयुक्त खाद्दपदार्थ पेटमा धेरै दिनसम्म रहन्छ र त्यहीँ सड्दछ । ग्यास्ट्रिक र अल्सरदेखि क्यान्सरसम्मका रोगहरू त्यसका परिणति हुन् ।

केही व्यक्तिहरूमा प्रोटिनका निम्ति मासु सेवन नगरी हुँदैन भन्ने धारणा व्याप्त रहेको पाइन्छ । खासमा, मासुमा भन्दा बढ्ता प्रोटिन भटमास लगायतका शाकाहारी पदार्थहरूमा सजिलै पाउन सकिन्छ । सन्तुलित आहारका लागि मासु नै अत्यावश्यक वस्तु होइन । शाकाहारी वस्तुहरूको सन्तुलित सेवनले नै मानिसलाई सबै प्रकारका भिटामिन लगायतका पोषक तत्त्व प्राप्त हुन्छ । सन् २०१० मा अमेरिकी खाद्य संस्था तथा क्यानडाका खाद्य विशेषज्ञहरूको टोलीले सो तथ्यलाई वैज्ञानिक रूपमा पुष्टि समेत गरेको छ ।
यसअतिरिक्त सहरका होटेलहरूमा पाइने मासुका परिकारहरू रोगी र बुढ्यौलीले मरेका पशुहरूका अवयवहरूबाट बनाउने गरिएका धेरै समाचारहरू पनि पटकपटक आउने गरेका छन् । त्यस्ता प्रकारका सामग्रीहरू स्वास्थ्यका लागि झनै हानिकारक हुने गर्छन् ।

२. अध्यात्मिक दृष्टिकोण

मासुको आहार पशुबधविना सम्भव छैन । बधको प्रक्रियामा पशुलाई मानिसलाई जस्तै पीडा भएको हुन्छ । प्राणीको चेतनाको स्तर र मस्तिष्कको क्षमताअनुसार पीडालाई अनुभव गर्ने प्रक्रिया भने अलग होला, तर पीडा अवश्य नै हुन्छ । बधको क्रममा पशुको आँखामा व्याप्त त्रास र संशय, उसले पैदा गर्ने कारुणिक क्रन्दन तथा बग्ने रगतको आहालले जो कोहीलाई पनि मर्माहत तुल्याएको हुनुपर्छ ।
कसैलाई पीडा दिएर आफ्नो जिब्रोको स्वादपूर्ति गर्ने संस्कारलाई कदापि ठिक मान्न सकिँदैन । मांसाहारको सेवनले मानिसको मस्तिष्कमा लोभ, क्रोध, चिन्ता, भय आदिजस्ता तामसिक विचारहरू आउने गर्दछन्, जसले यदाकदा भयानक रूप पनि लिने गर्दछ । पशुहिंसा गर्नु पाप हो । मासु सेवन गरियो भने प्राणीको हत्याको हिस्सेदार हामी पनि बन्दछौँ । अझ धर्म वा ईश्वरका नाउँमा पशुबध गर्नु त झनै ठुलो अपराध हो ।

मानिसको आहारअनुसार उसको विचार र चिन्तन बनेको हुन्छ । आहारले नै मानिसलाई सज्जनबाट दुर्जन र दुर्जनबाट सज्जन बनाएको हुन्छ । मासांहार गर्ने मानिसको विचार र स्वभाव पनि तुलनात्मक रूपमा ज्यादा तामसिक हुने गर्छ ।

३. आर्थिक तथा सामाजिक दृष्टिकोण

आर्थिक दृष्टिकोणबाट हेर्दा पनि मांसाहारको सेवन कुनै पनि आधारमा ठिक मान्न सकिँदैन । शाकाहारी वस्तुहरू बजारमा सुपथ मूल्यमा पाइन्छ तर मांसाहारी भोजनका निम्ति भने ठुलो रकम खर्च गर्नुपर्ने बाध्यता रहन्छ । यदाकदा केही मानिसहरूका निम्ति मासु खानु भनेको आर्थिक सम्पन्नताको आडम्बर प्रदर्शन गर्ने आधार पनि बन्ने गरेको छ । ठुलो पशुको बध गरेर समाजमा आफूलाई सम्पन्न सिद्ध गर्न खोज्ने आडम्बरी प्रयत्नलाई कुनै पनि आधारमा उचित मान्न सकिँदैन । मासुका लागि पशुपालन गर्दा लाग्ने खर्च, समय, श्रम र सम्पत्तिको हिसाब गर्ने हो भने मासुबाट प्राप्त आम्दानी र आनन्द निकै न्यून देखिन्छ ।

सायद, संसारको कुनै पनि धर्मले मांसाहारलाई स्वीकार गरेको छैन । जीवनप्रतिको सम्मान, मानवीयता र नैतिकता नै धर्मका आधार हुन् । ईश्वरका नाउँमा पशुको बलि दिनु त झनै जघन्य अपराध हो ।
पशुको बधस्थल, मासुपसल आदिजस्ता स्थानहरू कति फोहोर र दुर्गन्धले युक्त हुन्छन्, त्यो हामी सबैलाई थाहा नै छ । उल्टो पारेर झुन्ड्याइएको मृत पशुको शरीर । त्यही शरीरमाथि झिँगाहरू भन्किरहेका हुन्छन् । नजिकै त्यो मृत शरीरमाथि एउटा कुकुरले एकटकले हेरिरहेको हुन्छ । मानिसहरू त्यही मासुमा आफ्नो श्रमको कमाई खर्च गर्दछन् । संसारमा योभन्दा कुरूप र टिठलाग्दो दृश्य अरु के पो होला र ?

४. महान् व्यक्तिहरूका दृष्टिमा

इतिहासमा विभिन्न महान् व्यक्तिहरूले मांसाहारविरुद्ध र शाकाहारको समर्थनमा आफ्ना विचारहरू प्रस्तुत गरेका छन् । महान् रुसी साहित्यकार लियो टाल्सटाय भन्दछन् –“एकजना मानिस अरुको हत्या नगरिकन पनि बाँच्न सक्दछ । यदि मांसाहार सेवन गर्दछ भने उसले केवल आफ्नो स्वादका निम्ति एक निर्दोष प्राणीको हत्या गरेको हुन्छ । ”
इलेक्ट्रीकल इन्जिनियरिङमा ठुलो योगदान गरेका वैज्ञानिक निकोला टेस्ला पनि मांसाहारका विरुद्धमा उभिएका छन् । उनी भन्दछन् – “शाकाहारी भोजन मांसाहारी भोजनभन्दा सस्तो हुने कुरामा कुनै शङ्का छैन । त्यसबाहेक ओटमिल लगायतका पदार्थहरूको सेवनले मासुभन्दा बढ्ता प्रोटिन र अन्य पदार्थहरू प्राप्त हुनुका साथसाथै पाचनलाई तन्दुरुस्त पनि राख्न पनि सहयोग मिल्दछ ”
त्यसैगरी, महान् आइरिस नाटककार जर्ज बर्नाड सा जीवजन्तुहरूप्रति बडो प्रेम गर्दथे । उनी भन्दछन् –“जीवजन्तुहरू मेरा साथीहरू हुन् । म मेरा साथीहरूको हत्या गर्न चाहन्नँ ।” सापेक्षतावादको सिद्धान्तका प्रतिपादक तथा महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन भन्छन् –“यदि विश्वब्रह्माण्डलाई बाँचेको हेर्न चाहने हो भने मानिस मांसाहारीबाट शाकाहारीमा रूपान्तरित हुनै पर्दछ ।”

५. निष्कर्ष

‘एलिफेन्ट जर्नल’ नामक एक अनुसन्धान पत्रिकाले निकालेको एक रिपोर्टले संसारका महान् व्यक्तिहरूमध्ये धेरैजना शाकाहारी रहेको कुरा पुष्टि गरेको छ । भौतिकशास्त्रका पिता सर आइज्याक न्युटन, महान् गणितज्ञ रामार्जुन, निकोलस टेस्ला, हजारभन्दा बढी वस्तुहरूका आविष्कारक थोमस एल्वा एडिसन, चाल्र्स डार्बिन, रुसो, अल्बर्ट आइन्सटाइन, महात्मा गान्धी, कवि लर्ड बायरन, एप्पल कम्पनीका संस्थापक स्टिभ जभ्स, महान् जर्मन लेखक फ्रान्ज काफ्का, चित्रकार लियोनार्दो दा भिन्ची, महान् बङ्गाली लेखक रविन्द्रनाथ ठाकुर, पाइथागोरस, प्लेटो, इमर्सन, हेनरी फोर्ड, भिन्सेन्ट भ्यानगग, हेनरी डेभिड थोरो, मार्टिन लुथर किङ जुनियर, कविहरू पी.बी. सेली , विलियम वर्डस्वर्थ तथा विलियम ब्लेक आदि सबै व्यक्तिहरू शाकाहारी थिए ।
त्यस्तै, जीवित महान् लेखक जे.एम.कट्जी, टेनिस खेलाडी मार्टिना नभ्रातिलोभा, अभिनेत्री नताली पोर्टम्यान, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, ब्रिटिस लेखक भी.एस.नयपाल, अभिनेता अमिताभ बच्चनजस्ता केही चर्चित व्यक्तिहरू पनि शुद्ध शाकाहारी जीवन बाँचिरहेका छन् ।

सङ्ख्याको हिसाबले भन्दा चाहिँ संसारमा शाकाहार गर्नेभन्दा मांसाहार गर्ने व्यक्तिहरूको सङ्ख्या नै बढ्ता होला । तर, शाकाहारीको सङ्ख्या भने प्रतिदिन बढ्दो छ । नेपालका धेरै मन्दिरहरूमा पशुबलीको प्रथा अन्त्य पनि गरिएको छ । पशुबलिको परम्परालाई अन्त्य गर्न चाहनेहरूको सङ्ख्या पनि बढ्दो छ । मनुष्यकोे शारीरिक बनावट, स्वाभाविकता, चेतनाको स्तर तथा मानवोचित विवेक सबैको आधारमा भन्ने हो भने मांसाहार सेवन तुच्छ र त्याज्य छ ।

शाकाहार र मांसाहारका बिचमा युगौँदेखि मतमतान्तर तथा वादविवाद रहँदै आएको छ । मासु सेवन गर्ने वा नगर्ने कुराको स्वतन्त्रता हरेक व्यक्तिलाई छ । यो लेखमा पङ्क्तिकार मांसाहार त्याग्ने वा नत्याग्ने भन्ने कुराको निर्णय पनि पाठकहरूमाथि नै छाड्दछ । पङ्क्तिकार स्वयम् पनि आठ वर्षअघि सम्म मांसाहार सेवन गर्दथ्यो । उसलाई पशुवधको एक कारुणिक दृश्यले शाकाहारी बन्न प्रेरित ग¥यो । मांसाहार त्याग्ने अरु व्यक्तिहरूलाई पनि यस्तै अनुभव भएको हुनुपर्छ भन्ने मेरो अनुमान छ ।

मासु सेवन गर्नभन्दा अगाडि एकपटक सोचौँ—त्यो अबोध प्राणीलाई बधको समयमा कति पीडा भएको हुँदो हो । यो पनि सौचौँ कि अप्रत्यक्षरूपमा एउटा अबोध प्राणीको हत्याको भागीदार हामी पनि भएका छौँ । अरुको हत्या गर्नेले आफ्ना आत्मीयहरूप्रति कसरी प्रेम गर्न सक्दछ र ?