म यही संसारमा म छु, जहाँ म देखिरहेको छु, भोगिरहेको छु । मेरो शरीर मैले छामिरहेको छु, हो यो यहीँ छ, मैले महसुस गरिरहेको छु । मैले श्वास फेरिरहेको छु । यो देखिरहेका, सुनिरहेका र अनुभव गरिरहेको कुरालाई कसरी मिथ्या भनूँ ? यहाँ मैले केही नगरे तापनि धेरै कुरा आफैँ भइरहेको छ ! यहाँ मैले केही गर्न खोज्दा धेरै कुरा भइरहेको छैन । मैले केही गर्नु वा नगर्नुले के अर्थ राख्छ ?! आखिरमा कसको हातमा छ यो संसार ?

कसरी मिथ्या भनूँ ?

“ब्रह्म सत्य, जगत् मिथ्या“ वेदान्त दर्शनले भन्छ । जगत् भ्रम हो भन्ने कुरा कसरी मानौँ ? म यही संसारमा म छु, जहाँ म देखिरहेको छु, भोगिरहेको छु । मेरो शरीर मैले छामिरहेको छु, हो यो यहीँ छ, मैले महसुस गरिरहेको छु । मैले श्वास फेरिरहेको छु । यो देखिरहेका, सुनिरहेका र अनुभव गरिरहेको कुरालाई कसरी मिथ्या भनूँ ? यहाँ मैले केही नगरे तापनि धेरै कुरा आफैँ भइरहेको छ ! यहाँ मैले केही गर्न खोज्दा धेरै कुरा भइरहेको छैन । मैले केही गर्नु वा नगर्नुले के अर्थ राख्छ ?! आखिरमा कसको हातमा छ यो संसार ? हरेक कुरालाई दुई फग्ल्याँटोमा बाँडेर हेर्ने दृष्टिकोण प्रकृतिको संरचनात्मक अभिव्यक्तिबाट बनेको हो । दिन र रात, सुख र दुःख, असल र खराब, राम्रो र नराम्रो, दायाँ र बायाँ, घाम र पानी, प्रकाश र अन्धकार, ज्ञान र अज्ञान, देवता र दानव, नारी र पुरुष, नास्तिक र आस्तिक, संसार र सन्न्यास, राग र वैराग आदि ।

अध्यात्ममा मनुष्यले आत्मबोध गर्ने जम्मा—जम्मी दुइटा मार्ग बताइएको छ । एउटा प्रवृत्ति मार्ग र अर्को निवृत्तिको मार्ग । प्रवृत्ति मार्ग अर्थात् यो संसार सबै मेरो हो र म सबैको हूँ भन्ने भाव । निवृत्ति मार्ग अर्थात् म कसैको होइन र यो संसारमा मेरो केही पनि छैन भन्ने भावयुक्त जीवन पद्धति । परम वैराग्यमा उपलब्ध एक सन्त भजन गाँउछन् – ‘जे तिम्रो हो, त्यो मात्र तिम्रो हो । जे मेरो हो, त्यो मात्र मेरो हो । जे तिम्रो हो, त्यो मेरो पनि हो । जे मेरो हो, त्यो तिम्रो पनि हो । जे तिम्रो हो, त्यो तिम्रो होइन । जे मेरो हो, त्यो मेरो होइन । न तिम्रो हो, न त मेरो नै हो । महामायाले जकेडिएको संसारमा प्रवृत्त मानिसलाई निवृत्त गराउन सन्तको यो काव्यात्मक भनाइ पर्याप्त छ ।

मनोविज्ञान यसो भन्छः

मनोविज्ञान भन्छ– ‘जसले आफूलाई पूर्णको अनुभव गर्छ, सुरक्षित महसुस गर्छ, ऊ एक्लै रमाउन सक्छ । जो अपूर्ण छ, असुरक्षित महसुस गर्छ, उसलाई रमाउन अरु मानिस चाहिन्छ । त्यसकारण, मानिस आफूजस्तै मानिसहरूको घेरा बनाएर बस्न रुचाउँछ । धन—सम्पत्ति कमाउन सकेकोमा, केही मानिसहरू मित्र बनाउन सकेकोमा गर्व गर्छ । मख्ख परेर भन्छ– ‘म मर्दा रुने र मलामी जाने इष्टमित्र धेरै हुन्छन् । कल्पना गर्छ– अगाडि आफ्नो मरेको लास, जो फूल र अबीरले ढाकिएको छ । आफ्नो लासको पछाडि मलामीको ठूलै लस्कर छ । जिउँदैमा मृत्युपछिको भव्य अन्त्येष्टि संस्कार कल्पिएर मख्ख पर्दछ । उसले यो संसार छोड्नु परेकामा रुँदैरुँदै प्राण त्याग गर्दछ । उसलाई इच्छा हुन्छ कि म मर्दा नातागोता आफन्त धर्धरी रोऊन् ।

अर्कोतिर, निवृत्ति मार्गी कमलको फूलजस्तै हुन्छ । जो हिलोरूपी संसारमा नै रहेर कमलरूपी सुन्दर फुल फुल्दछ, जहाँ हिलोको क्लेश मात्र पनि छनक देखिँदैन । संसारको सुख—ऐश्वर्यमा रहेर पनि त्यसप्रतिको मोहाशक्तिबाट बिलकुल अलग हुन्छ । निवृत्त मानिसको पुरुषार्थ आफ्नो र अरुको दुःख निवृत्ति गर्नुमा हुन्छ, न कि धन, सम्पत्ति, पद, प्रतिष्ठा, पुत्र र परिवार प्राप्त गर्नुमा । आफ्ना कारणले अरुलाई दुःख नहोस् ।

आफूले गरेको कर्म अरुको बन्धनको कारण नबनोस् । मर्दा कसैलाई कतै नबिझाओस् । मर्ने हाँस्दै–हाँस्दै मरोस् । अरु आफन्तलाई पनि कुनै शोक र पीडा नहोस् । मसँग टाँसिएका सबै मेरा कुरालाई बिस्तारै हटाउँदै नेति–नेतिको प्रक्रियामा खाली गर्दै जान्छ । स्वयम्लाई हलुका बनाउँछ । संसार छोड्ने बेलामा संसारतर्फ तल तान्ने भारी चीज केही नहोस् । निवृत्त मार्गीले सजिलोसँग सांसारिक झन्जावादबाट मुक्ति प्राप्त गर्दछ । मैले नै यो संसार धानेको छु र म नरहे यो संसारको के होला भन्ने चिन्ताबाट सदा मुक्त ।

संसारमा प्रवृत्त भोगीले नाम, रूप र धनलाई महत्त्व दिन्छ भने निवृत्त योगीले गुण, कर्म र स्वभावलाई महत्त्व दिन्छ । चरम भौतिकतामा विश्वास गर्नेले भन्ने गरेका छन्– यो संसारमा मनुष्यलाई गलाउन सक्ने केवल दुईटा कुरा छन् । ती हुन् – पैसा र यौन । चरम संसारीले यिनै दुई कुरालाई केन्द्रमा राखेर विचार अनि व्यवहार गर्दछ । प्रवृत्ति मार्गीले यो संसार मेरो हो । म संसारको हूँ । यी मेरा मान्छे हुन् भन्ने भावले भरिएको हुन्छ । त्यो सदा निवृत्त, शुन्य, खाली, परम चैतन्य ममा मेरो परिवार, मेरो घर, मेरो सम्पत्ति, मेरो पद, मेरो प्रतिष्ठा, मेरो आर्जन, मेरो सिर्जना, मेरो ख्याति, मेरो धर्म आदि थप्दाथप्दा आफूलाई चरम संसारी बनाउँछ ।

‘यहाँ चरम भोग र परम योगको बीचमा मध्य मार्ग पनि छ, जुन संसार र सन्न्यास दुवैको मजा लिने सन्तुलनको मार्ग हो । संसार सत्य हो र ब्रह्म पनि सत्य हो । सत्य धेरैवटा हुन सक्छन् तर एउटा सत्य चाहिँ एक मात्र हुन्छ । कस्तो होला त त्यो सन्तुलित मध्यमार्ग ? त्यो थाहा पाउन व्यावहारिक अध्यात्ममा रुचि राख्नै पर्छ अनि सन्तहरूलाई सुन्नै पर्छ । न अति प्रवृत्ति, न त अति निवृत्तिको मार्ग । बरु जगत्गुरु भगवान् श्रीकृष्णको सन्तुलित मार्ग आजको मनुष्यको लागि उपर्युक्त होला । यही नै सायद, योग र भोगबीचको सन्तुलन हो ।

असली वैराग्य

चार्वाक्को मतअनुसार ‘यावज्जीवेत्सुखम् जीवेत्, ऋणम् कृत्वा घृतम् पिवेत् । भस्मीभूतस्य देहस्य पुनरागमनम् कुतः ?’ अर्थात् जतिन्जेल बाँच्छौ, सुखमा बाँच । ऋण गरेर घिउ पिऊ । भस्मीभूत भएको शरीरको पुनरागमन हुँदैन, त्यसैले मोजमस्ती गर्नुपर्छ, खुब सुखभोग गर्नुपर्छ भन्ने मान्यता राख्दछ । सांसारिक सुख र सफलतालाई मुख्य लक्ष्य बनाउँछ । पैसा कमाउनु, लगाउनु, खानु, मनोरञ्जन गर्नु, घुम्नु र अधिकाधिक सुविधाको उपभोग गर्नुलाई सुख ठानेको छ । त्यस्तो गर्न पाउनेहरू आफूलाई भाग्यमानी र नपाउनेहरू आफूलाई अभागी ठानिरहेका छन् । आफूले प्राप्त गर्न खोजेको कुरा पाउन नसकेर वा असफल भएर मन अमिलो बनाउँदै कुनै कुरा त्यागेमा त्यसलाई नैराश्य भनिन्छ ।

कैयन् मानिसहरू निराशामा कहालीलाग्दो जीवन बिताइरहेका छन् । आफूले प्राप्त गर्न खोजेको कुरा उपलब्ध भए तापनि ती कुराहरूमा आसक्तिरहित बनेर सहज त्याग गर्नु नै असली वैराग्य हो । असली वैराग्यमा उपलब्ध नभई निवृत्तिको मार्ग अपनाउन सकिन्न । एउटा भोगीले भ्रष्टाचारको विरोध आफूले त्यस्तो गर्ने अवसर नपाएको वा नसकेको कारणले ईष्र्या प्रेरित भएर गर्दछ भने निवृत्त योगीले निष्ठा र सदाचारप्रतिको प्रेमको कारणले गर्दछ ।

सन्तुलनको मार्ग

सन्तहरू भन्नुहुन्छ– ‘यहाँ चरम भोग र परम योगको बीचमा मध्य मार्ग पनि छ, जुन संसार र सन्न्यास दुवैको मजा लिने सन्तुलनको मार्ग हो । संसार सत्य हो र ब्रह्म पनि सत्य हो । सत्य धेरैवटा हुन सक्छन् तर एउटा सत्य चाहिँ एक मात्र हुन्छ । कस्तो होला त त्यो सन्तुलित मध्यमार्ग ? त्यो थाहा पाउन व्यावहारिक अध्यात्ममा रुचि राख्नै पर्छ अनि सन्तहरूलाई सुन्नै पर्छ । न अति प्रवृत्ति, न त अति निवृत्तिको मार्ग । बरु जगत्गुरु भगवान् श्रीकृष्णको सन्तुलित मार्ग आजको मनुष्यको लागि उपर्युक्त होला । यही नै सायद, योग र भोगबीचको सन्तुलन हो ।
हरिॐ तत् सत् ।