हामीले प्रत्येक भाषाको रक्षा गर्नु छ तर राष्ट्रभाषालाई उच्चस्थानमा राखेर । प्रत्येक जातिको उत्थान गर्नु छ तर सिङ्गो राष्ट्रलाई मुटुमा राखेर । प्रत्येक क्षेत्रको विकास गर्नु छ तर नेपालको गरिमा र महिमालाई कायम राखेर । प्रत्येक संस्कृतिको संरक्षण गर्नु छ तर राष्ट्रिय संस्कृतिलाई मूल ध्येय विन्दु मानेर । प्रत्येक नेपालीलाई उठाउनु छ तर नेपाल आमाको शिर सधैँ उच्च राखेर ।
डा.चिन्तामणि योगी
कुनै पनि कुराको निर्माणको आधार हो एकता, मात्र एकता । घरको निर्माण ढुङ्गा, सिमेन्ट, बालुवा, छड आदिको एकताले हुन्छ । समाजको निर्माण विभिन्न जाति, समुदाय, सम्प्रदाय र समूहको एकताले हुन्छ । परिवारको निर्माण आमाबुवा, दाजुभाइ, दिदीबहिनीको एकताले हुन्छ । जब एकएक र अनेक जोडिइन्छन्, तब मात्र एकता हुन्छ ।
एकता मूलतः के हो ? बाह्य प्रक्रिया ? वा आन्तरिक प्रक्रिया ? हातखुट्टा, आँखा, नाक कान आदि विभिन्न अङगहरू जोडिँदैमा जीवनको निर्माण हुन्छ ? वा यी सबै शरीरका अङ्गहरू बिच एकत्वभाव र एकानुभूतिका आधारमा जीवनको निर्माण हुन्छ ? मूलतः एकता विभिन्न वस्तु, व्यक्ति र अङ्गहरू आदिको सङ्ग्रह होइनु, अपितु समष्टिभाव हो । समन्वय, सद्भाव र समष्टिभाव नै एकताको आधार हो ।
एकताको मूल जग भनेको सद्विचार नै हो, सामूहिक भाव नै हो, पारस्परिक सद्भाव नै हो । बसमा यात्रा गर्ने यात्रीहरूले एकै प्रकारको भाषा, भूषा र भेषको प्रयोग गरे तापनि त्यहाँ एकता छ भन्न मिल्दैन । सिनेमा हलमा बसेका मानिसहरू एउटै जाति, समुदाय, क्षेत्रका भएता पनि त्यहाँ एकता छ भन्न मिल्दैन । हो, त्यहाँ पनि एक प्रकारको समझदारी हुन्छ, लोकमर्यादा अनुसारको शिष्टता पनि हुन्छ तर त्यसका बाबजुद पनि त्यहाँ एकता छ भन्न मिल्दैन । त्यहाँ सबै आआफ्नो स्वार्थले डोरिएका हुन्छन्, आआफ्नो चाहना अनुसार मोडिएका हुन्छन् र आआफ्नो लक्ष्यका लागि कुदिरहेका हुन्छन् ।
एकताका लागि अनेकता परिपूरक नै हुन्छ । अनेकतामा एकता नेपालीको विशेषता भनेको पनि यही नै हो । एकताले अनेकतालाई र अनेकताले एकतालाई बल प्रदान गरिरहेको हुन्छ, परिपूरकको भूमिका निर्वाह गरिरहेको हुन्छ । एउटै भाषा बोलिँदा, एउटै पोसाक लगाइँदा, एउटै खाले रहनसहन हुँदा र एकै प्रकारको शारीरिक बनोट हुँदा मात्रै एकता हुन्छ भन्नु मूर्खता हो किनकि एकता विचारमा अडेको हुन्छ, न कि अनुहारमा । एकता एकत्वानुभूतिमा अडेको हुन्छ न कि युनिफर्मिटीमा ।
हामीले प्रत्येक भाषाको रक्षा गर्नु छ तर राष्ट्रभाषालाई उच्चस्थानमा राखेर । प्रत्येक जातिको उत्थान गर्नु छ तर सिङ्गो राष्ट्रलाई मुटुमा राखेर । प्रत्येक क्षेत्रको विकास गर्नु छ तर नेपालको गरिमा र महिमालाई कायम राखेर । प्रत्येक संस्कृतिको संरक्षण गर्नु छ तर राष्ट्रिय संस्कृतिलाई मूल ध्येय विन्दु मानेर । प्रत्येक नेपालीलाई उठाउनु छ तर नेपाल आमाको शिर सधैँ उच्च राखेर ।
हाम्रो देश आज एकताको अभावमा दिनानुदिन दुर्बल बन्दै छ । एकताको नारा दिने नेताहरू धेरै भए तर तदनुरूप व्यवहार गर्नेहरू थोरै । विभिन्न मुलुकबाट आयात गरिएका एकताका सिद्धान्तहरू, वादहरू फलाक्ने धेरै भए तर आफ्नै माटोमा रोपिएका एकताका मौलिक बिरुवाहरूलाई स्वीकार्नेहरू थोरै । चर्का र चमत्कारी भाषण गर्नेहरू धेरै भए तर आफ्नै सनातनकालीन एकताका सन्देशहरू– ‘सह नाववतु, सह नौ भुनक्तु, सह वीर्यं करवावहै । तेजस्विनावधीतमस्तु मा विद्विषावहै ।’ लाई स्वीकार्नेहरू थोरै ।
कुनै एक व्यक्ति असल छ भने ऊ सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छ र आर्दश बन्न सक्छ तर उसले पनि एकताविना केही निर्माण भने गर्न सक्दैन । आफू असल बन्नका लागि सुचरित्र एवम् सुसंस्कार चाहिन्छ तर समाज निर्माणका लागि भने एकता नै चाहिन्छ । सुनीति र सुदृष्टि भएका व्यक्तिहरूको एकता भएमा मात्र समाजको वा राष्ट्रको निर्माण हुन्छ । वेदमा भनिएकोछ –‘समानी वः आकूतिः समानाः हृदयानि वः समानं अस्तु वो मनो यथा वः सुसहासति ’ यस्तो समान मन, विचार र भाव भएका व्यक्तिहरू अब कहाँ पाउने ?
राष्ट्रियताको कुरा सबैले गर्छन् तर आफ्नो पार्टीको वा समूहको वा सम्प्रदायको स्वार्थभन्दा माथि उठ्न सक्दैनन् । कस्तो दुर्भाग्य ! राजनीति त गर्छन् तर राष्ट्रनीतिलाई भुलेर र धर्मनीतिलाई भुलेर । राष्ट्रनिर्माणको कुरा त गर्छन् तर विद्वेष र विनाशको कित्तामा टेकेर । सङ्घीयताको कुरा त गर्छन् तर भाषा, जाति, लिङ्ग समुदाय र क्षेत्रको नाममा देशलाई टुक्राटुक्रा पारेर । कसरी हुन्छ निर्माण ? आफ्नै गोरुको बाह्रै टक्का भनेर ? कसरी बन्छ नेपाल ? नेपालीलाई नै वर्ग, वर्ण, भाषा र क्षेत्रमा टुक््रयाएर ?
वृक्ष भन्नासाथ हाँगा, पात, डाँठ, जरा आदिको समष्टि भाव हो र शरीर भनेको पनि आँखा, कान, हात, मुख कलेजो, मुटु आदिको एकत्व भाव हो । यसैगरी, घर भनेको पनि विभिन्न कोठा, बरन्डा, कौसी, आँगन आदिको सम्मिश्रित रूप हो । तर दुर्भाग्य ! आज हाम्रो देशमा राष्ट्र भनेको अचम्मको भकुण्डोजस्तो भएको छ, सबैले गोल गर्न खोज्ने । पार्टी पिच्छे राष्ट्रका परिभाषा फरक फरक भएका छन् । हरेक जाति, समुदाय र क्षेत्रका वासीहरूले आआफ्नो ढङ्गले राष्ट्रलाई चिनाउने दुष्प्रयास गरिरहेका छन् । राष्ट्र के हो ? भनेर कोही बुझ्न चाहँदैनन् तर मेरो पार्टी, समुदाय वा जातिको हितको लागि ‘राष्ट्र यस्तो हुनुपर्छ’ भनी लुट्नका लागि सबै तँछाड् मछाड् गरिरहेका छन् । अन्धाहरूले हात्तीका विभिन्न अङ्गलाई छामेर ‘हात्ती भनेको त खम्बाजस्तो हुँदोरहेछ वा नाङ्लोजस्तो हुुँदोरहेछ’ भनेजस्तै आज हामी पनि आफ्नो अत्यन्तै तुच्छ स्वार्थका लागि राष्ट्रको परिभाषा गरिरहेका छौँ । हाम्रा महापुरुषहरू, तपस्वीहरू, बलिदानी सहिदहरूका सपना र भावनालाई चकनाचुर पारिरहेका छौँ ।
राष्ट्रकवि माधव घिमिरेले पनि भनेका छन् :
खेलेर ऐरा मृग एक मारी
बाँडी कलेजो जति छन् सिकारी
बिलो लिएझैँ शरमा उनेर
यो राज्य बाँड्ने चिज हैन हेर ।
हामीले प्रत्येक भाषाको रक्षा गर्नु छ तर राष्ट्रभाषालाई उच्चस्थानमा राखेर । प्रत्येक जातिको उत्थान गर्नु छ तर सिङ्गो राष्ट्रलाई मुटुमा राखेर । प्रत्येक क्षेत्रको विकास गर्नु छ तर नेपालको गरिमा र महिमालाई कायम राखेर । प्रत्येक संस्कृतिको संरक्षण गर्नु छ तर राष्ट्रिय संस्कृतिलाई मूल ध्येय विन्दु मानेर । प्रत्येक नेपालीलाई उठाउनु छ तर नेपाल आमाको शिर सधैँ उच्च राखेर ।
डा.चिन्तामणि योगी देशविदेशमा निकै चर्चित आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ । सनातन मूल्य र दर्शन, मानवीयता, राष्ट्रचिन्तन र सत्शिक्षाका लागि उहाँले चालेका अभियानहरू अत्यन्त प्रभावकारी छन् । विभिन्न जीवनोपयोगी पुस्तकका लेखक उहाँ अत्यन्त प्रभावशाली र प्रेरक वक्ता हुनुहुन्छ भने संस्कृत वाङ्मयसेवीसमेत हुनुहुन्छ ।