स्वामी आनन्द विनोद
तपाईँ जहाँ हुनुहुन्छ, त्यस क्षणको आनन्द मनाउनस् । भविष्यलाई नसोध्नुहोस् । कुनै भविष्य मनमा हुनुहुँदैन । वर्तमानको क्षणमा बाँच्नुहोस् । अतीत मरिसक्यो । भविष्य आएकै छैन । बर्तमानमा डुब्न सके सागरमा विलीन हुन सकिन्छ, ब्रम्हाण्डसँगै एक हुन सकिन्छ ।
योग र भोगको अर्थ
सामान्यतया, योग भन्ने बित्तिकै आसन वा प्राणायाम जस्तो लाग्दछ । तर, वास्तवमा योग विज्ञानको अर्थ ज्यादै व्यापक छ । ‘योग’ शब्द संस्कृतको मुल धातु ‘युज्’ मा ‘ध’ प्रत्यय मिलेर बनेको हो । जसको अर्थ हुन्छ ‘जोड्नु’ । ‘योगश्चित्तवृत्तिनिरोधः’, जब मानव चित्तका वा मनका विभिन्न वृत्तिहरु निरोध हुन्छन्, त्यही अवस्थालाई योग भनिन्छ । त्यस अवस्थालाई प्राप्त गर्ने साधक योगी हो । जसले आफ्नो चित्तका सम्पूर्ण वृत्तिलाई परमतिर जोड्दछ, ऊ योगी हो । ‘संयोगो योगो इतित्व जीवात्मा परमात्मानः’ अर्थात् जब जीवात्मा र परमात्मा दुवै एक बन्दछन्, त्यही नै योग हो । यो त भयो योगको शाब्दिक अर्थ ।
अब योगको व्यापक अर्थतिर लागौँ । वृहत् अर्थमा योग भनेको सुतेको शक्तिलाई जगाउने विज्ञान हो । हाम्रो शरीरमा थुप्रै शक्ति छन् । ती शक्तिहरुको हामीलाई पहिचान नै छैन, जसले गर्दा अथाह सम्पत्तिको मालिक भिखारी बनेको झैँ चाला छ हाम्रो । त्यही शक्तिलाई जगाउने उपायको नाम योग हो ।
योग एक विज्ञान हो, कुनै शास्त्र होइन । कुनै धर्मको व्यक्तिगत पेवा पनि होइन । योगको महत्त्वलाई दर्साउँदै महामती योगको तरिका बताउनुहुन्छ –“निशदिन ग्रहिए प्रेमसो श्री युगल स्वरुप चरण निर्मल होना चाहीसोँ और धाम बरनन ।” धर्मको आधार विश्वास हो भने योगको आधार अनुभुति । योग मनको समाप्ति हो । यही नै योगको सबैभन्दा सही परिभाषा पनि हो । ‘योग : कर्मसु कौशलम्’, योग त्यो हो जसले तपाईँको प्रत्येक आध्यात्मिक वा भौतिक कर्ममा कुशलता प्रदान गर्दछ ।
सच्चा योगीको लक्षण कस्तो हुन्छ ? सच्चा योगी आफूलाई पुजाउन चाहँदैन । उपदेश दिँदै हिँड्दैन, नाम चाहँदैन, न चेला चपेटा बढाउन चाहन्छ, न पुस्तक लेख्न चाहन्छ, न समाचार पत्र वा पत्रिकाहरुमा लेख छाप्न चाहन्छ, न व्यर्थ प्रवचन दिन्छ । वाक् विलास प्रवचन होइन । पात्र साधकलाई मार्गदर्शन गर्ने क्रममा निस्केका वाणी प्रवचन हुन् । प्रवचन समय काट्ने उपाय पनि होइन । ‘Studies in Islamic Mystic’ भन्ने पुस्तकमा प्राध्यापक निकोल्सनले भन्नुभएको छ –“वास्तवमा योगी ज्यादै कम बोल्दछ । ऊ त सदा चैतन्य समाधिमा स्थित रहन्छ ।”
गीता भन्दछ –“सच्चा योगी त्यही हो, जो मौन छ । उसको मौन स्वाभाविक हुन्छ, कृत्रिम हुँदैन । उसलाई मौन साध्नै पर्दैन । ” प्लाटिनस भन्नुहुन्छ –“योग भनेको एक्लैको उडान एक्लैतिर ।” मौलाना रुमीले भन्नुभएको छ –“योगबिना मौन रहू किनकि मौनतापूर्ण योगले ईश्वरलाई माथिबाट तल झार्दछ । ”
आधुनिक मनलाई कसरी सिकाउने ?
आधुनिक मन अधीर छ । सधैँ विषादग्रस्त र हतारमा हुन्छ । योग भन्दछ कि आफ्नो रुपान्तरणको लागि जति हतार गरिन्छ, उति नै समय लाग्दछ । हतारले अल्मल्याउँछ । धैर्यले मिठो फल दिन्छ । असीम धैर्यको आवश्यकता पर्दछ, योगको लागि, प्रभु प्राप्तिको लागि । एउटा प्राचीन कथा छ । एकपल्ट नारद बैकुण्ठतिर जाँदै थिए । बाटोमा यौटा योगी भेट हुन्छ र उसले नारदजीलाई भन्दछ, ‘हे भक्त योगी ! तपाईँ कहाँ जाँदै हुनुहुन्छ र ?’
“म बैकुण्ठतिर जाँदै छु । भगवान् विष्णुको दर्शनका लागि ।” –नारदजीको जवाफ । “कृपया मुनिराज, भगवान्लाई सोधिदिनुहोला है कि प्रभु प्राप्तिको लागि मैले कति वर्ष योग, तप गर्नुपर्छ ?” –योगीको विनम्र आग्रह । हुन्छ भनेर नारद अगाडि बढे । अगाडि बाटोमा अर्को योगीसँग पनि भेट हुन्छ । उसबाट पनि पुनः त्यही प्रश्न दोहोरिन्छ । नारद वैकुण्ठ पुगेर योगीहरुको प्रश्न भगवान् समक्ष राखेर अनुनय गर्दछन् –“हे प्रभु, प्रत्युत्तर पाऊँ, यसको ।” भगवान्ले घन्कने स्वरमा भन्नुभयो –“हे नारद ! ‘नाहम् तिष्ठामी बैकुण्ठे, योगीनाम् हृदयेन च, मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद : ।” (“वास्तवमा म न त वैकुण्ठमा बस्दछु,, न योगीहरुको हृदयमा नै बस्दछु । म त हे नारद ! त्यहाँ बस्दछु, जहाँ मेरा भक्त मस्त कीर्तन गर्दछन्”) तर, तिमीले ती योगीहरुलाई गएर यसोयसो भन” –भगवान् आज्ञा गर्नुहुन्छ । आज्ञाअनुसार फर्केर नारद पहिलो योगीलाई भन्छन् –“हे योगी ! तिमी जुन रुखमुनि बसेर योग गरिरहेका छौ, त्यस रुखमा जति पात छन्, त्यति नै हजार वर्ष योग गरेमात्र प्रभु मिलन हुन सक्ने आज्ञा भो, भगवान्बाट । “ए, हो र ?” त्यति भनेर पहिलो योगीले छोड्यो साधना । देस्रो योगीलाई पनि त्यही कुरा सुनाउँदा ऊ गद्गद् भएर हर्षाश्रु बहाउँदै भन्दछ –“भगवान्ले त्यसो भन्नुभयो ? मिलन हुन्छ भन्नुभयो ? अहा ! धन्य प्रभु !” ऊ मस्तसँग नाच्यो ।
योगको दुनियाँका आइन्स्टाइन
तसर्थ, धैर्य छ भने अहिले नै मिलन हुन्छ । धैर्यता छैन भने कहिल्यै पनि मिलन हुँदैन । यो हो धैर्यता । सम्पूर्ण धैर्य, जहाँ तपाईँ हुनुहुन्छ, त्यस क्षणको आनन्द मनाउनस् । भविष्यलाई नसोध्नुहोस् । कुनै भविष्य मनमा हुनुहुँदैन । वर्तमानको क्षणमा बाँच्नुहोस् । अतीत मरिसक्यो । भविष्य आएकै छैन । बर्तमानमा डुब्न सके सागरमा विलीन हुन सकिन्छ, ब्रम्हाण्डसँगै एक हुन सकिन्छ । तर, आधुनिक मन भविष्यमा बाँच्न रुचाउँदैन । अहिले र यहाँ रम्न चाहँदैन । यस्तो मनलाई योग कसरी सिकाउने ? भविष्य उन्मुख हाम्रो आधुनिक मनले सतत् दुःख र नर्कको निर्माण गरिरहेको छ । अब त यस मन सँग दुईवटा विकल्प बाँकी छ, कि त समाप्त हुनुपर्यो, कि त रुपान्तरण हुनु पर्यो, मनतातो –मनतातो रहेर काम छैन । आधुनिक मनलाई बचाउने एकमात्र आधार भनेको योग हो । छट्पटी र विषाद्ग्रस्त मनको औषधि हो –योग । वर्तमानमा बाँच्ने कला सिकाउने गुरु हो, योग । अतीतलाई बिर्साउने, भविष्यको पिर हटाउने माध्यम हो, योग ।
पतञ्जलि योगको दुनियाँका आइन्स्टाइन हुन्। अष्टाङ्ग योगका जन्मदाता हुन् । आज २१ औँ शताब्दीमा आत्मरुपान्तरणका विधिहरु ज्यादा आवश्यक र महत्त्वपूर्ण बनेका छन् । जेन, सुफी, सेवापुजा, प्रार्थना आदि सबै योगका पद्धतिहरु हुन । आज कुनै न कुनै रुपमा धर्ममा योगले प्रवेश गरेको छ । धर्मको, शास्त्रको कुरा गरेर मात्र हुँदैन । धर्म त विज्ञान हो । योग कला हो । कला भनेको व्यावहारिक ज्ञान । पुस्तकीय शास्त्रले जे लेखे पनि मनको शास्त्रले बुझेको छैन भने योग कोरा कल्पनामा मात्र सीमित रहन्छ । योग कसका लागि हो ? योग मनबाट थाकेकाहरुका लागि हो । मनमा अझै केके न गरौँला भन्ने आशा बाँकी छ भने त्यो व्यक्ति योगको बाटोमा नहिँडे पनि हुन्छ । वास्तवमा हिँड्न मन पनि लाग्दैन । जबसम्म हिँडिदैन, यात्रा तय गरिँदैन, तबसम्म गन्तव्यमा पुगिँदैन । प्रभुरुपी गन्तव्यसम्म पुर्याउने यात्राको नाम योग हो । योग मृत्यु र नवजीवन दुवै हो, पुरानोको मृत्यु, नयाँको जन्म । रमण महर्षिलाई एकजना शिष्यले सोधे –“हे गुरुदेव ! प्रभु मिलनको सहज तरिका के हो “योग, सहज राजयोग”, महर्षिको उद्गार । “अनि गुरुवर योग उपलब्धिको उपाय र आधार ?” “बाबु ! मात्र धैर्य, सम्पूर्ण धैर्यता ।”
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।