‘हे मेरो प्यारो शरीर ! तिम्रो माध्यमद्धारा मैले परमार्थ-यात्रा पूरा गरेॅ। यो शरीर मैले परमात्माबाटै पाएको हो । तिम्रो अनुग्रहले तिम्रो सहायताले म परमात्मासम्म पुग्न सकेॅ । म तिमीलाई धन्यवाद दिन्छु । सम्मान गर्दछु । म तिम्रो ऋणि छु । मैले जान-अन्जानमा तिमीलाई कति दुःख दिएं होला, मलाई क्षमा गर..मलाई क्षमा गर ।’
धर्म रक्षाका लागि शरीर
शरीर माध्यम् खलु धर्म साधनम् अर्थात् यही शरीरको माध्यमबाट मनुष्यले आफ्नो धर्म रक्षा गर्दछ । जीवनमा गर्नुपर्ने चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष यही मानव शरीरकै माध्यमबाट पूरा गर्दछ । चरम भोग र परम योगको अवस्था मानव देहबाट नै प्राप्त गर्न सकिन्छ । पुराणहरुले भन्छन्- देवताहरु मानव देह धारण गर्न लालायित छन् । शरीरको वासना र मनको कामना पुरा नहुन्जेल कोही पनि योगी बन्न सक्दैन । कोही यही शरीरलाई साध्नु पर्छ, धारिलो बनाउनुपर्छ भन्छन् । यथा ब्रह्माण्डे तथा पिण्डे ऋषिमुनिले भनेका छन् । यो पिण्डरुपी शरीरलाई साँधेर सारा ब्रह्माण्डका रहस्य थाहा पाउन सकिन्छ भन्ने धारणा छ । अर्कोतर्फ शरीर र चेतना छुट्टै हो । म शरीर होइन । भोग गर्नु शरीरको धर्म हो । मानव जन्म भोग गर्नकै लागि भएको हो । शरीरलाई दुःख दिएर सताएर केही पाइँदैन, उल्टै बरु शरीर कमजोर, क्षीण र रोगी हुन्छ । आराम गर्नुपर्छ, विश्राम गर्नुपर्छ भन्ने धारण पनि छ । चाहे भोगी बनौं या योगी बनौं शरीर मानव जीवनको मुख्य आधारशिला हो । जान्नेहरु भन्छन्- साढे तीन हातको कायामा सारा ब्रह्माडको ज्ञान लुकेको छ ।
भगवान गौतम बुद्धले छ वर्षको कठोर तपस्यापछि सत्य ज्ञान प्राप्त गर्नुभयो । साथसाथै अर्को ज्ञान पाउनु भयो कि शरीरलाई सताएर दुख दिएर ज्ञान प्राप्त गर्न सकिदैन् । ए भिक्षु हो …! मैले जे गरे पनि तिमीहरु चाँही मैले जस्तो शरीरलाई दुःख कष्ट नदिनु भन्नुभयो । ज्ञानप्राप्त भएपछि सर्वप्रथम बुद्धले आफ्नो शरीरलाई धन्यवाद दिदै आफ्ना दुवै हात चुम्नु भएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कवितामा आफ्नो शरीर नै मन्दिर हो, अर्को कुन मन्दिर खोज्दै बाहिर भौतारिन्छौ ? भनी प्रश्न गर्नु भयो । केही मानिसहरु आफ्नो शरीरलाई धर्मको आडमा धेरै सताउने र दुःख दिने गर्दछन् । यो एकप्रकारको मानसिक रोग हो । आफू भित्रको मानसिक अशान्ति छटपटीलाई सान्त्वना दिन कठोर व्रत बस्ने, कहिले खाको खायै त कहिले भोकै बस्ने गर्छन् । शरीरलाई केही परिश्रमपछि विश्राम चाहिन्छ । शारीरिक परिश्रम नगरेमा अल्छी र आलस्य बढ्छ । बढी परिश्रम गरेमा उचित विश्राम नगरेमा शरीर कमजोर हुन्छ । कोही बढी सक्रिय त कोही निष्क्रिय रहने, सुन्दरताको नाममा शरीरमा छेदन गर्ने, रसायनको प्रयोग गरिएका कस्मेटिक्सको प्रयोग गर्ने, आफ्नै शरीरमा विभिन्न अपाकृतिक कुराहरु प्रयोग गर्ने फेसन चलेको छ । एवं प्रकारले शरीरलाई कष्ट दिईने गरेको पाईन्छ ।
पाँच थरीका शरीर
अन्नमय, मनोमय, प्राणमय, कारणमय र आनन्दमय गरी पाँच तहको शरीरमा धेरै विचार, धारणा, आग्रह, पूर्वाग्रह, ईश्या, जलन बढी भएमा त्यसको संवेदना शरीरका कोषकोषमा अगं अवयवमा गएर बस्तछ । शरीर भारी हुने, झमझमाउने, कष्ट पिडा हुने हुन्छ । चित्त सफा र शरीर विकार रहित भए शरीर हलुका, छाला सफा र मन चंगा हुन्छ । मानिस सरल र सहज बन्छ । जसरी खाना बनाउने भाडो बाहिर भन्दा भित्र धेरै सफा हुनु पर्छ त्यसैगरी अनुहार र शरीरको बाहिरी भाग भन्दा भित्र सफा हुनुपर्छ, शुद्ध हुनुपर्छ । अधिकांश मानिस बाहिरी रुप श्रृगारलाई महत्व दिने गरेका छन् । भित्रको अन्तष्करण सफाईमा ध्यान दिने गरेको पाईदैन् । ध्यान जती बाहिर देख्नु र देखाउनुमा छ । ध्यान कत्तिको बाहिर छरिएको छ एकपटक जाँच गरेर हेरौं त ! दुबै आखा बन्द गरेर आफ्नो अनुहारको याद गरौं त, आफ्नै अनुहारको ठिकसँग याद हुन्छ ! आफ्नो शरीर, रङ्ग, रुप र आकारको याद हुन्छ ! कि आफ्नै अनुहार सम्झिन तस्वीर सम्झिनु पर्छ वा ऐना हेर्नुपर्छ । धेरैलाई आफ्नो अनुहार सम्झिन भन्दा अरुको अनुहार सम्झिन सजिलो हुने गरको छ । अरुका बारेमा आधाघण्टा फलाक्न सक्नेले आफ्ना बारेमा भन्नुस त भन्यो भने बोल्न सक्दैन । यो आफ्नो स्वरुपमा भन्दा बाहिरको रुपमा अल्झिएको लक्षण हो ।
एक साईको सोम्याटिक अध्ययनले के भन्छ भने आफू स्त्री वा पुरुष भएको स्वीकार नगर्ने, आफ्ना प्रजनन अङ्गलाई धिक्कार गर्नाले ती अङ्गहरु रोगी हुन्छन् । आफ्नै अनुहार, रङ्ग, रुप, आकारमा विमती जनाउने र अरुको जस्तो भए हुन्थ्यो भनेर त्यस्तै बनाउन खोज्ने मानिसहरु रोग ग्रस्त हुन्छन् । आफू जे जस्तो छु त्यसलाई स्विकार गर्नु स्वस्थ हुने उपाय हो । सप्त धातुले बनेको यो अन्नमय शरीर हाड, छाला, मासु, रगत, बोसो, मज्जा र वीर्यद्धारा निर्माण भएको छ । हाम्रो आहार र विचार शुद्ध भए सप्त धातु स्वस्थ्य हुन्छन् । अशुद्ध भए यो धातुहरु विकारयुक्त हुन्छन् । जुन रोगको कारक तत्व बन्दछ । शरीर भित्र यस्तो उर्जा प्रणाली हुन्छ कि त्यसमा शरीरका अङ्ग प्रत्यङ्गलाई मर्मतसंभार गर्न सक्ने क्षमता हुन्छ । शरीर प्रति सम्मान र धन्यवादको भाव बनिरहनु पर्दछ ।
प्रिय शरीर, मलाई क्षमा गर
आफ्नो शरीरसँग बारबार क्षमा माग्नु पर्छ । हे मेरो प्यारो शरीर तिमी मेरो मठमन्दिर हौ । मैले तिमीलाई उचित स्याहार गर्न सकिन, भोक लागेको बेला खान दिईन । मिठो लागे धेरै खाईदिए । कहिले बढी सुते त कहिले कम सुते । तिमीलाई कति सकस भयो होला । सुख र शान्ति खोज्दै बाहिर कति भौतारिए । मनको लहडमा संकल्प पूरा गर्ने बहानामा तिमीलाई भोकभोकै राखेँ । सुन्दर हुने बहानामा कति कष्ट दिए । शरीरको बाहिरी आवरणलाई मात्र ध्यान दिए । शरीर भित्रको सफाईलाई महत्व दिईन । तिमीलाई रोगी बनाए । मानसिक अशान्तिका कारणले लत कुलतमा फसे, भक्ष अभक्ष खानेकुरा खाए । जथाभावी औषधी सेवन गरे । स्वस्थ बन्ने बहानामा रोगका बारेमा चाहिने नचाहिने सूचना र जानकारी संग्रह गरे । आफूलाई बिरामी बनाएर अरुको सहानुभूति लिन खोजेँ । जसले गर्दा शरीरमा रोगको शंका आशंका उत्पन्न भयो । जुन रोगको बारेमा बढी चर्चा गरिन्छ, सोचिन्छ त्यो रोग आफ्नै शरीरमा आकर्षित हुने रहेछ । मैले यो कुरा भर्खरै थाहा पाए । म हमेशा सजग रहन्छु । जसरी जन्मिदा म स्वस्थ थिए, अब मर्दा समेत म तिमीलाई स्वस्थ्य राखेरै विदाई गर्नेछु । मलाई क्षमा गर । मलाई क्षमा गर ।
आफ्नै शरीरमा साक्षात परमात्माको दिब्य दर्शन पाएका एकजना सन्त महापुरुष आफ्नो शरीरप्रति सम्मान प्रकट गर्दै भन्दछन्- हे मरो प्यारो शरीर तिम्रो माध्यमद्धारा मैले परमार्थ-यात्रा पुरा गरे । यो शरीर मैले परमात्माबाटै पाएको हो । तिम्रो अनुग्रहले तिम्रो सहायताले म परमात्मा सम्म पुग्न सके । म तिमीलाई धन्यवाद दिन्छु । सम्मान गर्दछु । म तिम्रो ऋणि छु । मैले जान अन्जानमा तिमीलाई कति दुःख दिए होला, मलाई क्षमा गर….मलाई क्षमा गर । हरिॐ तत् सत्
विन्दा भट्टराई वरिष्ठ योग अभ्यासी एवम् साधक हुनुहुन्छ । यसअतिरिक्त अध्यात्म, जीवनदर्शन र जीवनशैलीका विषयमा निरन्तर कलम चलाइरहनु उहाँको विशेषता हो । पेसाले उहाँ नेपाल सरकारका उपसचिव हुनुहुन्छ । जीवन-विज्ञानका प्रशिक्षक उहाँ अध्यात्म र जीवनदर्शन विषयमा सशक्त कलम चलाउने नेपालका अत्यन्त थोरै नारी हस्ताक्षरमध्ये एक हुनुहुन्छ ।