साउनमा हरियो चुरा, पोते, मेहन्दी, लुगाकपडा लगाउनु नै पर्छ भनेर कुनै धार्मिक ग्रन्थ वा शास्त्रमा लेखेको छैन । यो सबै बढेबढाएको चालचलन हो । हरियो लगाउँदैमा धर्म हुने वा पुण्य हुने भन्ने कुरो कहीँकतै उल्लेख छैन । देखासिखी र उपभोगवादी संस्कृति मौलाएको हो । अति शृङ्गारले वास्तविक सौन्दर्य झल्काउँदैन । सौन्दर्यका पारखी र व्यवसायीले भनेको सुनेको छु, शृङ्गार आत्मविश्वासका लागि हो । आफूलाई फिट एन्ड फाइन देखाउनका लागि हो, तर मलाई लाग्दछ, सादगीमा सबैभन्दा धेरै आकर्षण हुन्छ । आफू जस्तो छु, त्यस्तो देखाउन सक्नु, आफूलाई जस्ताको तस्तै उपस्थित गराउनु चैँ आत्मविश्वास हो । ढाकछोप गरेर, लिपलाप गरेर देखिनुको खासै अर्थ छैन ।

साउनमा हरियोको अर्थ

प्रकृतिको रङ हरियो हुन्छ । आकाशको रङ नीलो हुन्छ । जुन कुरा अनन्त छ, त्यसको रङ नीलो हुन्छ । अनन्तको स्वरूप मानिएका भगवान्को अनुहारको रङ तस्वीरमा नीलो देखाइएको छ । जस्तैः भगवान्् श्रीकृष्ण अनि भगवान् शिव । माथि आकाशबाट हेर्दा पृथ्वीको रङ नीलो देखिन्छ । पृथ्वीमा ७० प्रतिशत पानी छ । समुद्रको रङ पनि नीलो हुन्छ । समुद्र नीलो रङ देखिनुमा अनन्त आकाशको नीलो रङको प्रतिविम्ब देखिएकोले गर्दा हो । पृथ्वीलाई नजिकबाट हेर्दा हरियो रङको देखिन्छ । पृथ्वीमा ७० प्रतिशत जलतत्त्व र ३० प्रतिशत जमिनतत्त्व छ । त्यो ३० प्रतिशत जमिनमा पनि ३२ प्रतिशत मात्र हरियाली छ । पृथ्वीलाई हराभरा बनाउने काम बोट, विरुवा, वनस्पति, झारपातले गरेका छन्् । हरियो रङ जीवनको रङ हो । प्रकृतिको रङ हो । जीवन ऊर्जाको रङ हो । प्रेम, आशा, जीवन्तता झल्काउनु पर्यो भने हरियो रङ देखाईन्छ । यसको विपरीत घृणा, निराशा र मृत्यु झल्काउनु परेमा उराठलाग्दो खैरो रङ देखाउने गरिन्छ ।

भौतिक विकासको आयामबाट हेर्दा हरियो रङ पुनर्ताजगी, समृद्धि, सुरक्षा, वातावरण, उत्पादकत्व वृद्धिलाई सङ्केत गर्ने रङ हो । हरित अर्थशास्त्र आजकल खुब प्रचलनमा आएको शब्द बनेको छ । सनातन हिन्दु धर्ममा सबै रङहरूका स्रोत सूर्य नारायण हुनुहुन्छ । सूर्य देवतालाई रङहरूका देवता भनिन्छ । सूर्यदेवताले सात रङका रविकिरण छोड्दछन्् । हरियो रङ खुसीको रङ, शान्तिको रङ र समन्वयको रङ हो । मानव शरीर ऊर्जै—ऊर्जाको पुञ्ज हो । शरीरमा रहेका ऊर्जाका केन्द्रहरूको आ—आफ्नै रङ छ । सूक्ष्म शरीर रङ्गीबिरङी छ । त्यो मनमोहक मनै हर्ने रङको छ । सूक्ष्म शरीरको केन्द्रमा दुबै छातीको बीचमा रहेको हृदयचक्रको रङ पनि हरियो हुन्छ । यो चक्र प्रेमको केन्द्र हो । हरियो रङ प्रेमको रङ हो । हरियो रङ वनजङ्गलको रंङ्ग हो । हरियो रङ किसानको रङ हो । हरियो रङ आँखालाई सबैभन्दा शान्त र शीतल बनाउने आँखामैत्री रङ हो । प्राकृतिक हरियो रङले आखालाई ताजगी प्रदान गर्दछ । प्राकृतिक रुखबिरुवाको हरियो रङ नियमितरूपमा नाङ्गा आँखाले केही बेर हेर्नाले आँखाको दृष्टि राम्रो हुन्छ । अस्पतालमा प्रयोग हुने कपडा प्रायः किन हरियो रङको हुन्छ ? कहिल्यै सोच्नुभएको छ ? बिरामीको आँखालाई आराम मिलोस् भनेर हरियो रङको प्रयोग गरिन्छ । हरियो रङ आरोग्य सूचक रङ पनि हो ।

नारीको रङ

नारी प्रकृति हुन् । प्रकृतिको रङ हरियो भएपछि नारीको मनपर्ने रङ हरियो भएन त ? पृथ्वीलाई धरर्तीमाता भनिन्छ । हरित पृथ्वी सौर्यमण्डलमा सबैभन्दा जीवन्त ग्रह हो । धरर्तीमातालाई नारी शक्तिको रूपमा मानिन्छ । धरतीमाताको रङ हरियो भएपछि धरर्तीमाताको उपमा पाएकी नारीलाई मन पर्ने रङ हरियो हुने नै भयो । विवाहित नारीले पतिव्रता झल्काउन वा मर्यादाका लागि सिन्दुर, चुरापोते लगाउने भन्ने परम्परासहितको विश्वास पनि छ । शृङ्गार र गहनाको रूपमा पनि लगाउने चलन छ, तर मौलिक संस्कारमा भएभन्दा बढी बजारमा जेजे आयो त्यैत्यै हरियो रङका चुरापोते, टीका, मेहन्दी, लुगाफाटा लगाउने देखासिखीको प्रचलन बढिरहेकोले यस विषयमा सचेतना जगाउनुपर्ने आवश्यकता छ । बजारको स्वभाव कस्तो हुन्छ भने ग्राहकले बढीभन्दा बढी उपभोग गरोस् भनेर हौस्याउने काम गर्छ । भावनात्मकरूपले कोमल र छिट्टै अरुको प्रभावमा बहकिने महिलाहरू यसको शिकार हुने गर्दछन् ।

नेपालीमा एउटा उखान नै छ ‘साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्तछ’ । श्रावण महिना धरर्तीमा सबैभन्दा हरियो हुने महिना हो । वर्षा ऋतु हुने कारणले डाँडा, पाखा, जमिन जताततै हराभरा रसिलो हुन्छ । खुला नीलो आकाश, सेता बादल र हरियो धरा वास्तवमै मनमोहक प्रकृति बनेको समयमा प्रकृति स्वरूप नारी शक्तिले पनि हरियो रङसँग तादाम्यता राख्नु स्वाभाविक नै हो ।

प्रकृति संरक्षणको सन्देश

साउनमा हरियो रङको महत्त्व खासगरी बोटबिरुवा प्रकृतिको संरक्षणसँग राख्दछ । बोटबिरुवा लगाऊँ, बोटबिरुवा जोगाऊँ, वातावरण संरक्षण गर भन्ने विषयले कर्मसँग सम्बन्ध राख्दछ, न कि शरीरको शिरदेखि पाउसम्म हरियो रङका लुगाफाटा लगाएर, शृङ्गारका सामग्री भिरेर हिँड । खासगरी नेपालमा साउन महिनामा पतिको नाममा होस् या महादेवको नाममा होस्, हरियो रङका चुरापोते र हातमा मेहन्दी लगाउने चलन दिनानुदिन बढ्दै गएको छ । यी चुरा, पोते, मेहन्दी, लुगाफाटा हाम्रा आफ्नै देशमा बन्दैनन् । विदेशबाट महँगो मूल्य तिरेर आयात हुन्छन्् । विदेश चुरापोते बेचेर धनि बनिरहेको छ । स्वदेशी हामी चुरापोते लगाएर गरिब बनिरहेका छौँ । फेरी भन्नु होला कि अरु कुरा पनि त आयात हुन्छ, हामी नारीले चुरा पोते कम लगाउँदैमा देश बन्छ ? एकएक कुरामा मितव्ययीता अपनाउँदै जाँदा अवश्य बन्छ । देशको आर्थिक अवस्था सङ्कटमा परेका बेलामा हरेकले आफ्नो तर्फबाट मद्धत गर्नु नागरिकको कर्तव्य पनि त हो । हरियो अति नै मन पर्छ भने बिरुवा रोप्नुस्, तरकारी फलाउनुस् । आफ्नो वरिपरिको वातावरण हरियाली बनाउनुस् । न कि प्रकृतिलाई विनाश गरेर कारखानामा उत्पादन गरिएका हरिया रङका सामग्रीको पहिरन । अति गरेको कसलाई पो मन पर्छ र ! जसका लागि भनेर तपाईँ पहिरिनु हुन्छ, उसलाई समेत तपाईँले गरेको अनावश्यक खर्च मन नपरेको हुन सक्छ ।

पूँजीवादी अर्थव्यवस्था

एउटा भएकै कुरा सेयर गर्दछु । कोरोना कहरको समयमा बाहिर बजारका पसल ब्युटीपार्लर र बुटिकहरू बन्द भए । त्यसबेला एकजना पुरुष महोदयले भनेको एउटा कुराले निक्कै मन छोयो । उनले भने—मलाई यी ब्युटीपार्लर र बुटिकहरू बन्द भएकोमा निकै खुसी लागेको छ । मेरो घरमा अनावश्यक खर्च घटेको छ । हामीकहाँ भुईँमा प्लास्टिक फोहोर नफाल्न वा फालिएको फेहोर प्लास्टिक टिप्नभन्दा फोहोर प्लास्टिक जथाभावी नफालौँ भन्ने नारा जुलुसमा हिँड्न रुचाउनेको भिड ज्यादा छ । भिडको पछि लाग्ने देखासिखी प्रचलन बढेको छ ।

अहिलेको चरम पूँजीवादी अर्थव्यवस्थाको चलाख बजारतन्त्रले चाडपर्व संस्कृतिको नाममा, सौन्दर्यताको नाममा बढाइचढाई विज्ञापन गरेर, हौस्याईकन बढीभन्दा बढी उपभोग गर्न प्रोत्साहित गर्दछ । सादा, सात्त्विक र शुद्ध बन्ने खालका संस्कृतिमा भने विभिन्न खालका अपव्याख्या गरिदिएर त्यसप्रति वितृष्णा फैलाईदिने काम गरिरहेका छन् । यस्ता सामग्रीहरू आफ्नै देशमा उत्पादन नहुँदा हामी जति बढी उपभोग गर्दछौँ, त्यती ती वस्तुहरू विदेशबाट आयात गर्नुपर्दछ । नेपालीको पैसा विदेश जान्छ । देशको व्यापार घाटा बढेको बढ्यै छ । देश र जनता गरिब हुँदै गइरहेका छन् । बाहिरबाट हेर्दा राम्रो तर भित्रबाट खोक्रो स्थिति । भन्सार विभागको गत ११ महिनाको तथ्याङ्कअनुसार वर्षेनी करिब ४५ करोडको चुरा र १८ करोडको पोते आयात हुन्छ । ती चुरा—पोते विदेशबाट आयात गर्दा नेपाली धन सम्पत्ति बाहिरिन्छ ।

संस्कार कि कुसंस्कार ?

चुरापोते विवाहिता नेपाली नारीको संस्कृति परम्परासँग जोडिएको छ । गहनाको रूपमा वा सौन्दर्यको रूपमा लगाउने गरिन्छ । साउनमा हरियो चुरा, पोते, मेहन्दी, लुगाकपडा लगाउनु नै पर्छ भनेर कुनै धार्मिक ग्रन्थ वा शास्त्रमा लेखेको छैन । यो सबै बढेबढाएको चालचलन हो । हरियो लगाउँदैमा धर्म हुने वा पुण्य हुने भन्ने कुरो कहीँकतै उल्लेख छैन । देखासिखी र उपभोगवादी संस्कृति मौलाएको हो । अति शृङ्गारले वास्तविक सौन्दर्य झल्काउँदैन । सौन्दर्यका पारखी र व्यवसायीले भनेको सुनेको छु, शृङ्गार आत्मविश्वासका लागि हो । आफूलाई फिट एन्ड फाइन देखाउनका लागि हो, तर मलाई लाग्दछ, सादगीमा सबैभन्दा धेरै आकर्षण हुन्छ । आफू जस्तो छु, त्यस्तो देखाउन सक्नु, आफूलाई जस्ताको तस्तै उपस्थित गराउनु चैँ आत्मविश्वास हो । ढाकछोप गरेर, लिपलाप गरेर देखिनुको खासै अर्थ छैन । आफूसँग उपलब्ध चीजहरूको प्रयोग गरेर मितव्ययी भएर चाडपर्व संस्कृति मनाउनु चाहिँ वास्तवमा धर्म हो । परिवारलाई पीडित बनाएर, समाजका अरु नारीलाई हीनताबोध गराएर, देशलाई गरिब बनाएर तडकभडकयुक्त तवरले चाडपर्व संस्कृति मनाउनु कुरीति र कुसंस्कार हो भन्दा अत्युक्ति नहोला । भवतु सर्व मङ्गलम् ।