अरूलाई कुनै कुराको उपदेश दिनुपूर्व आफूमा त्यस्तो किसिमको योग्यता छ—छैन विचार गर्नुपर्दछ । यदि आफूले नराम्रा काम गरिन्छ र अरूलाई त्यस्ता काम नगर्न उपदेश दिइन्छ भने त्यो उपदेशले काम गर्न सक्दैन । आफूभित्र सत्वृत्तिको विकास नै उपदेशका लागि सबल योग्यता मान्न सकिन्छ ।
एकजना व्यक्तिले आफ्नो ७ वर्षको छोरोलाई एक महात्माकहाँ लिएर गए र उनीसँग भने, “हे महात्मा ! मेरो छोराले दैनिक ५ रूपैयाँको मिस्री खाने गर्छ । यदि मिस्री नदिने हो भने झगडा गरेर हैरान पार्छ । कृपया, तपाइँसँग कुनै उपाय छ भने यसलाई यो बानीबाट मुक्त गरिदिनुस् ।” महात्माले भने, “ठीक छ, त्यसोभए यसलाई एक महिनापछि लिएर आउनुस्, म ठीक पार्छु ।”
ती व्यक्तिले एक महिनापछि त्यो बालकलाई जब महात्माकहाँ लिएर गए, महात्माले उसलाई अत्यन्त प्रिय र मायालु शब्दमा सम्झाए— “बाबु हेर, तिमी यति राम्रो मान्छेले धेरै मिस्री खाएर दाँत नराम्रो पार्न हुन्छ त ? हाम्रालागि हाम्रो दाँत धेरै महत्त्वपूर्ण छ । तिमीले खाने चक्लेटभन्दा दाँत ठूलो हो । दाँत नै बिग्रने गरी कहिल्यै पनि चकलेट अथवा मिस्री खानुहुँदैन । अबदेखि तिमीले चक्लेट, मिस्री केही पनि नखाऊ र झगडा पनि नगर ल !”
यति भनेर उसलाई धाप मार्दै बिदा गरे । ठीक त्यही दिनदेखि बालकले दैनिकरूपमा चक्लेट र मिस्री खान बन्द गर्यो ।
केही दिनपछि बालकका पिता महात्माकहाँ गए र आफ्नो छोरो अत्यन्त सज्जन र आज्ञाकारी भएको बताउँदै उनलाई धन्यवाद प्रकट गरे । महात्मासँग जिज्ञासा प्रकट गर्दै उनले सोधे,—“महात्मा तपार्इँको उपदेश साँच्चै नै सञ्जीवनीसमान रहेछ । तर, तपाईँले पहिलो दिनमै मेरो छोरोलाई उपदेश नदिएर किन एक महिनापछि बोलाउनुभयो ? यसको रहस्य के म जान्न सक्छु ?”
ती व्यक्तिको जिज्ञासा शान्त पार्दै महात्माले भने—“मित्र, जो मनुष्य स्वयम् नियमको पालन गर्दैन र संयममा रहँदैन, उसले अरूलाई नियम र संयमको उपदेश कसरी दिन सक्छ ? म पनि तपाइँकै छोरोजस्तै खानापछि मिस्री खाने गर्दथेँ । मैले जब एक महिनासम्म मिस्री नखाने अभ्यास गरेर यो नराम्रो बानी हटाएँ अनि बल्ल तपार्इँको छोरालाई बोलाएर उपदेश दिएँ । त्यो उपदेशले काम ग¥यो र तपाइँको छोराले पनि मिस्री खान र झगडा गर्न छोड्यो ।”
अरूलाई कुनै कुराको उपदेश दिनुपूर्व आफूमा त्यस्तो किसिमको योग्यता छ—छैन विचार गर्नुपर्दछ । यदि आफूले नराम्रा काम गरिन्छ र अरूलाई त्यस्ता काम नगर्न उपदेश दिइन्छ भने त्यो उपदेशले काम गर्न सक्दैन । आफूभित्र सत्वृत्तिको विकास नै उपदेशका लागि सबल योग्यता मान्न सकिन्छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।