चारैतिर खुल्ला छोडिएको बारीको भित्तामा कयौँ रात कटाउँदा उनको मनमा पैदा भएका डरको मापन कसले कसरी गर्ने होला ? उनको मनका भावनाहरू, उनलाई बाँधिएको फलामे साङ्लो, कहालीलाग्दो अँधेरी रात, वर्षायाममा झरेको झरी र पुषमाघको ठन्डी के त्यही बारीको भित्ताले सुनिदियो होला त ?
पुष माघको ठन्डी । त्यसमा पनि हिमाली परिवेश, जहाँ जाडोको मौसममा हिउँ, तुसारो र शीतलहरको वर्षा हुन्छ । सोही हिमाली परिवेश अनि अर्धनग्न शरीर । परालको त्यान्द्रोलाई नै ओड्ने र ओछ्याउने बनाएका थिए । ३० वर्षीय मेघराज गुरुङले ।
चिसो छल्नको लागि न त उनीसँग कुनै कपडा थियो, न त छत नै । एक पातो जस्ताले उनी बस्ने ठाँउलाई ओत लगाइएको थियो । बारीको पाटोमा लगाइएको त्यही एक पातो जस्ताको ओतमा नै मेघराजले ६ बर्षदेखि वर्षायामको झरी र पुष—माघको ठन्डी काट्दै आएका थिए ।
जीवनको सर्वाधिक ऊर्जाशील युवा उमेर उनीे बारीको पाटोमा फलामे साङ्लोमा कैद थिए । जीवनलाई एउटा गन्तव्यमा पु¥याउने उमेरमा बाँधिनु पर्दाको छटपटीलाई नङ्ग्राले कोरिएको बारीको भित्ताले प्रष्ट देखाइरहेको थियो । उनी त्यस फलामे साङ्लोबाट छुट्कारा पाउन तन्किरहन्थे । बाँधिएर बस्दाबस्दा उनको मनमा सिर्जना भएका अराजक भावहरू उनको व्यवहारमा देखिने गर्थे । कहिले चिच्याएर त, कहिले माटोमा नै लडीबुडी गरेर व्यक्त गर्थे, उनका मनका भावहरू ।
मानवीय जीवन पाएर पनि उनी पिँजडामा परेको पन्छीजस्तै भएका थिए । उनी भोक र प्यास मेट्न वृद्ध आमाको बाटो कुरिरहन्थे ।
बुढीआमाको सपनामा तुषारापात
६० वर्षे वृद्ध आमाको एकल सहारा मात्र मेघराज थिए । मेघराजको जन्म गोरखा आजिरकोट–२ केपरुङमा भएको थियो । मेघराज साना हुँदा पारिवारिक बेमेलका कारण उनकी आमा छोरालाई काखी च्यापेर माइत (लमजुङको दूधपोखरी गाउँपालिका–२ भुम्लीचोक) आएर बस्न थालेकी थिइन् । श्रीमान्सँग चिसिएको सम्बन्धको बोझ लिएर माइत आएर बसेकी उनकी आमालाई मेघराजप्रति ठुलो आशा थियो । वैवाहिक सम्बन्धलाई त्यागेर आएकी उनीसँग दाजुभाइले बनाइदिएको एउटा ओत लाग्ने सानो घर, मेघराज र अधुरा सपनाहरू मात्र बाँकी थिए । विभिन्न दुःख, कष्ट र मेलापात गरेर उनले मेघराजलाई हुर्काइन् ।
उनलाई आशा थियो, मेघराजले नै उनका अधुरा सपना पूरा गर्ने छन्, तर सरल र खुसीयाली जीवन जिउने उनको सपनामा तुसारोपात भयो । जब मेघराज हुर्किदै गए साथीसङ्गत र विविध कारणले लागुऔषध दुव्र्यसनमा फँस्न पुगे । लागुऔषध दुव्र्यसनकै कारण मेघराजले आफ्नो मानसिक सन्तुलन गुमाए ।
फलामे साङ्लाले बाँधिए मेघराजका सपना
मानसिक सन्तुलन गुमाएसँगै उनकी आमाको सपनामा मात्र तुषारापात भएन । मेघराजका आफ्नै सपना, स्वतन्त्रता र खुसीहरू पनि फलामे साङ्लोमा बाँधिए । मानसिक सन्तुलन गुमाएपछि आफ्नै आमासँगै छिमेकीलाई पनि हानि–नोक्सानी पु¥याउन थाले, त्यसैले मेघराजलाई बाध्य भएर बारीको पाटोमा साङ्लाले बाँधेर राखियो ।
उपचारको प्रयास
मानसिक अवस्था असामान्य, उपचार भने सामान्य गराउँदा सोँचेजस्तो सुधार हुन सकेन, मेघराजको स्वास्थ्य अवस्थामा । आर्थिक अवस्था कमजोर भएकै कारण मेघराजले आवश्यक र उचित उपचार नपाउँदा बारीको पाटोमा बाँधिएर बस्न बाध्य भए ।
मानवसेवा आश्रमद्धारा उद्धार
सामान्य मानिसले कल्पना गर्नसम्म नसक्ने अति कष्टपूर्ण जीवन बिताउदै थिए मेघराज । मेघराज गुरुङको अवस्थाबाट भावुक बनेका स्थानीय तुलसी गुरुङले वडा कार्यालयमा जानकारी दिए । उनको जानकारीपश्चात् दूधपोखरी गाउँपालिका वडा कार्यालय र इलाका प्रहरी कार्यालयको समन्वयमा मानवसेवा आश्रमले उनको उद्धार ग¥यो । उद्धारपश्चात् उनलाई मानवसेवा आश्रमको लमजुङ शाखा कार्यालयमा राखिएको छ । हाल न्यानो कपडा, पेट भरि खाना, औषधोपचार अनि ओत लाग्नलाई छाना पाउँदा उनको मुहारमा असीमित खुसी देखिन्छ । आशा छ, मानवसेवा आश्रमको छहारी र उपचारले उनकोे अवस्थामा छिटै सुधार आउने छ ।
६ वर्षभन्दा बढी एउटै स्थानमा बाँधिएर युवा उमेर बिताउनु पर्दा उनलाई कस्तो महसुस भयो होला ? हामी केवल कल्पनामात्र गर्न सक्छौँ ।
कहालीलाग्दो र यस्तो कष्टपूर्ण ६ वर्षे जीवन उनले कसरी बिताए होलान् ?
चारैतिर खुल्ला छोडिएको बारीको भित्तामा कयौँ रात कटाउँदा उनको मनमा पैदा भएका डरको मापन कसले र कसरी गर्ने होला ?
उनको मनका भावनाहरू, उनलाई बाँधिएको फलामे साङ्लो, कहालीलाग्दो अँधेरी रात, वर्षायाममा झरेको झरी र पुषमाघको ठन्डी के त्यही बारीको भित्ताले सुनिदियो होला त ?
पत्रकारिता, सामाजिक कार्य र ग्रामीण विकासकी विद्यार्थी अमृता बजगाईं पुस्तक पठन र लेखनमा विशेष रुचि राख्नुहुन्छ । स्थान विशेष र परिवेशका प्राकृतिक दृश्यलाई लेख तथा सामाचारका माध्यमले प्रस्तुत गर्नुहुने बजगाईं मानवीय जीवनका भोगाइ र वास्तविक कथालाई खोजमूलक शैलीमा शब्दमा उतार्न मन पराउनुहुन्छ । मानवीय मूल्यको संरक्षण र विकासका लागि पत्रकारिता उहाँको आदर्श हो ।