तपाईँले चाहेको जस्तो व्यक्ति पहिले तपाईँ आफैँ बन्नुहोस् न ! तपाईँलाई त्यस्तो बन्न कसले रोकेको छ ? तपाईँ माता, पिता, गुरु बनेर खुब आशीर्वाद दिनुहुन्छ । हैन, के तपाईँलाई थाहा छ ? आशीर्वाद दिनुभन्दा पहिले आफू आशीर्वाद दिन योग्य हुनुपर्छ । जुन कुरा अरुमा लागू गर्न खोजिन्छ, त्यो कुरा पहिले स्वयम्मा लागु गर्नुपर्दछ।
यहाँ कोही कसैको दुस्मन छैन । दुषित मन नै मानिसको दुस्मन हो । शुद्ध मन नै मानिसको मित्र हो । कुविचार र विकृत मनले अरुलाई दुस्मन देख्दछ । आफू असल अरु खराब भन्ने लाग्छ भने यस्तो मन विकृत मन हो । म आफू भित्रबाट जस्तो छु, बाहिर अरुलाई त्यस्तै देख्छु, तर संसारका प्रायः सबै मानिसलाई के लाग्छ भने म सही छु, म असल छु र मैले गरेको ठीक छ । यो मनुष्यभित्र रहेको अहङ्कारको तुष्टि हो । शत्रु र मित्रुको कित्ता भेदकारी मनले छुट्याउँदछ ।
दुस्मनलाई मित्र बनाऊँ । यो पुरानो अर्ति—उपदेश काम नलाग्ने भैसक्यो । जीवन छोटो र नश्वर छ । यति छोटो जीवनमा पहिले कसैलाई दुस्मन बनाऊँ अनि त्यसपछि त्यसलाई फेरि मित्र बनाऊँ । यो सबै गरिरहने झन्झट किन गर्नुपर्यो ? सकिन्छ भने सबैलाई मित्र बनाऊँ, सकिँदैन भने कसैलाई पनि शत्रु नबनाऊँ । कसैलाई शत्रु ठान्दा हुने तनाव किन झेल्नुहुन्छ । अब यहाँ प्रश्न उठ्न सक्छ, आफूले मात्र शत्रु नबनाएर हुन्छ ? अरुले आफूलाई शत्रु ठानेका हुन सक्छन् नि त ! अरुको व्यवहारलाई नियन्त्रण गर्न र जिम्मा लिन सकिन्न तर आफ्नो त सकिन्छ नि !
एउटा योगीले संसारतर्फ फर्केर उल्लिखित चार प्रकारका संयमयुक्त व्यवहार गर्नाले योग बल प्राप्त गर्न सक्दछ । योगीले आफ्ना विचार, बोली र व्यवहारबाट मन खिन्न पार्ने र शरीर र मनमा मल थप्ने काम कदापि गर्न हुँदैन ।
सन्त कबीर भन्नुहुन्छ, ऐनामा अनुहार हेर्दा धमिलो देखियो भनेर कबीराले जीवनभर ऐना पुछिरह्यो तर धुलो आफ्नै अनुहारमा रहेछ । पहिले आफूलाई बदल, तब संसार बदलिने छ भन्नु हुन्छ सन्त कबीर । संसार सुन्दर देख्न पहिले आफू सुन्दर हुनुपर्छ । हामी चाहन्छौँ, पति माया गर्ने होस्, पुरुषार्थी होस्, असल होस्, पत्नी सुन्दर होऊन्, सुशील होऊन्, आज्ञाकारी होऊन्, सेवा गरिरहने बनून् । छोराछोरीले भनेको टेरुन्, कुलतमा नफँसून्, असल होऊन्, ज्ञानी होऊन्, यस्तैयस्तै । होइन, अरु चाहिँ मैले चाहेजस्तो असल र राम्रो हुनुपर्ने अनि तपाईँ चाहिँ आफैँले चाहेजस्तो हुन नपर्ने ?
तपाईँले चाहेको जस्तो व्यक्ति पहिले तपाईँ आफैँ बन्नुहोस् न ! तपाईँलाई त्यस्तो बन्न कसले रोकेको छ ? तपाईँ माता, पिता, गुरु बनेर खुब आशीर्वाद दिनुहुन्छ । हैन, के तपाईँलाई थाहा छ, आशीर्वाद दिनुभन्दा अगाडि पहिले आफू आशीर्वाद दिन योग्य हुनुपर्छ । जुन कुरा अरुमा लागू गर्न खोजिन्छ, त्यो कुरा पहिले स्वयम्मा लागु गर्नुपर्दछ।
संसार र परमार्थबीच सन्तुलन बनाएर जीवन जीउन इमानदार बुद्धिमत्ता चाहिन्छ । एउटा योगी, ध्यानी, सन्न्यासी वा अध्यात्मको साधकले कसरी जीवन बिताउने ? अरुलाई कस्तो व्यवहार गर्ने ? भन्ने विषय सनातनदेखि नै चर्चा परिचर्चाको विषय बन्दै आएको छ । यसक्रममा ऋषिमुनि, सन्त—महात्माहरुले मनुष्य जगत्लाई उचित मार्गनिर्देशन गर्नुभएको छ ।
एकजना बौद्ध भिक्षुले भगवान् गौतम बुद्धलाई सोध्नुहुन्छ, ‘हे तथागत ! सन्न्यास लिएको एउटा भिक्षुले अब—आइन्दा संसारप्रति कस्तो व्यवहार गर्नुपर्दछ । भगवान् बुद्ध आफ्ना भिक्षुलाई मार्ग—निर्देशन दिँदै भन्नुहुन्छ, ‘हे शिष्य ! यो संसारमा चार प्रकारका मानिसहरु हुन्छन् । ती हुन् : सुखी, दुःखी, पापात्मा र पुण्यात्मा । एउटा ध्यानीले सुखी मानिसहरूप्रति मैत्री अर्थात् मित्रताको भावले, मानिसहरुप्रति करुणा अर्थात् हृदयमा प्रेम र सेवाको भावले, पुण्यात्माप्रति मुदिता अर्थात् प्रसन्नताको भावले र पापात्माप्रति उपेक्षा अर्थात् बेवास्ताको भाव राखेर व्यवहार गर्नुपर्छ ।’
भगवान् बुद्धले भनेको कुरा किन मान्नुपर्दछ भने उहाँले जे बोल्नुभयो, त्यो गर्नुभयो । भगवान् बुद्धको जीवन नै दृष्टान्त बन्यो । व्यवहार नै उपदेशना बन्यो । भगवान् बुद्धका दुईटा सुन्दर कोमल आँखाले सबैप्रति मैत्री र करुणा भाव राख्नुपर्ने सन्देश दिएका छन् ।
महर्षि पतञ्जलिको पातञ्जल योगसुत्र समाधिपादको सूत्र ३३ ले भन्छ, ‘सुखी—दुःखी, पुण्यात्मा—पापात्माको विषयमा यथाक्रम मित्रता, दया, प्रसन्नता र उपेक्षाको भावनासहितको अनुष्ठानले चित्त प्रसन्न र निर्मल हुन्छ । मैत्रीभावबाट मित्रताको बल, करुणाबाट प्रेमको बल, मुदिताबाट खुसीको बल र उपेक्षाबाट वैराग्यको बल प्राप्त हुन्छ । एउटा योगीले संसारतर्फ फर्केर उल्लिखित चार प्रकारका संयमयुक्त व्यवहार गर्नाले योग बल प्राप्त गर्न सक्दछ । योगीले आफ्ना विचार, बोली र व्यवहारबाट मन खिन्न पार्ने र शरीर र मनमा मल थप्ने काम कदापि गर्न हुँदैन । मनोविज्ञानले भन्छ : पहिले विचार उत्पन्न हुन्छ, विचारले भाव र भावले कार्य गर्न प्रेरित गर्छ । विचार—भाव—कार्यको शृङ्खलामा भगवान् गौतम बुद्ध र महर्षि पतञ्जलिले दिनुभएको परम—कल्याणकारी ज्ञानलाई आत्मसात् गर्न सकेमा एउटा योगी वा ध्यानी यो संसारमा सुखपूर्वक र आनन्दपूर्वक बाँच्न सक्दछ ।
विन्दा भट्टराई वरिष्ठ योग अभ्यासी एवम् साधक हुनुहुन्छ । यसअतिरिक्त अध्यात्म, जीवनदर्शन र जीवनशैलीका विषयमा निरन्तर कलम चलाइरहनु उहाँको विशेषता हो । पेसाले उहाँ नेपाल सरकारका उपसचिव हुनुहुन्छ । जीवन-विज्ञानका प्रशिक्षक उहाँ अध्यात्म र जीवनदर्शन विषयमा सशक्त कलम चलाउने नेपालका अत्यन्त थोरै नारी हस्ताक्षरमध्ये एक हुनुहुन्छ ।