ऋग्वेद केवल ‘वेद’ होइन, यो त शाश्वत विज्ञानको बीज हो — जहाँ दर्शन, भौतिकशास्त्र, तत्त्वज्ञान, चेतनाको मनोविज्ञान, अनि सामाजिक समरसताको सूत्र एउटै सूत्रमा गाँसिएका छन्। यसलाई पुनःपढ्ने, पुनःअन्वेषण गर्ने, र आधुनिक भाषामा पुनःप्रकाशित गर्ने जिम्मेवारी हाम्रो हो। किनभने ऋग्वेदको उद्देश्य पूजा नभई बोध हो र बोध मात्रले समाज, संस्कृति र विज्ञानको समसामयिक निर्माण सम्भव छ।
ऋग्वेद मेरो लागि केवल प्राचीन ग्रन्थ मात्र होइन, यो त विश्व चेतनाको आरम्भिक हस्ताक्षर पनि हो , जहाँ मानवताले पहिलोपटक ब्रह्माण्डलाई नियालेर प्रश्नहरू गर्यो, विचार गर्यो, अनि उत्तर खोज्ने चेष्टा गर्यो। जब म ऋग्वेदका ऋचाहरू पढ्छु, म त्यहाँ दर्शनको गहिराइ मात्र होइन, विज्ञानको बीजारोपण देख्छु — जुन आधुनिक युगमा आइन्स्टाइन, नील्स बोह्र वा हकिन्सको सिद्धान्तहरूसँग मेल खान्छन् ।
उदाहरणका लागि, नासदीय सूक्त (दशौं मण्डल) सृष्टिको उत्पत्तिबारे उठाइएको संशयमा आधारित छ। “कसले यो सृष्टि निर्माण गर्यो? कसरी भयो? शून्यबाट कि चेतनाबाट?” भन्ने प्रश्न आजको विज्ञानमा उठाइने बिग ब्याङ सिद्धान्त र क्वान्टम भ्याकुम फ्लक्चुएसन सँग निकै मिल्दोजुल्दो छ। यो सूक्त कुनै निश्चित उत्तर दिन खोज्दैन, बरु प्रश्न सोध्ने साहस दिन्छ — जुन नै वैज्ञानिक चेतनाको आधार हो। त्यसैगरी, ऋग्वेदभरि पुनःपुनः उल्लेख गरिने ‘ऋत’ को अवधारणा — जुन ब्रह्माण्डमा व्याप्त नियम र अनुशासनलाई जनाउँछ — आजको भौतिकशास्त्रका नियमहरू जस्तै छन्; गुरुत्वाकर्षण, गति नियम, उष्णता–ऊर्जा–रूपान्तरण (थर्मोडायनामिक्स) इत्यादि ‘ऋत’ का आधुनिक रूप हुन सक्छन्।
ऋग्वेदको उद्घोष “एकोऽहम् बहुस्याम्” — म एक थिएँ, धेरै हुन खोजें— ले पनि यस्तै गहिरो संकेत दिन्छ, जहाँ सिंगुलारिटीबाट ब्रह्माण्डीय विविधता उत्पन्न भएको विचार देखिन्छ, जुन आज Cosmic Inflation वा Singularity to Multiplicity सिद्धान्तसँग मेल खान्छ। ऋग्वेदमा अग्नि, इन्द्र, वायु, आदित्य जस्ता देवता प्रतिकात्मक रूपमा प्रस्तुत गरिएका छन् — तिनीहरू कुनै व्यक्तिपरक ईश्वर होइनन्, बरु प्राकृतिक शक्ति हुन्। उदाहरणका लागि, अग्नि ऊर्जा र रूपान्तरणको प्रतीक हुन्; इन्द्र वायुमण्डलीय चाप, बिजुली र बादल नियन्त्रण गर्ने शक्ति हुन्; वायु , वायुप्रवाह र जीवन–श्वासको कारक हुन् — जसलाई आज हामी पृथ्वी प्रणाली (Earth Systems Science) र जलवायु विज्ञानका दृष्टिकोणबाट बुझ्न सक्छौं।
त्यसैगरी, ऋग्वेदको नवौं मण्डलमा वर्णन गरिएको सोम रसलाई आजको अनुसन्धानले psychoactive substances जस्तै DMT (Dimethyltryptamine), माइक्रोडोजिङ, वा ब्रेन न्यूरोकेमिकल बूस्टका रूपमा व्याख्या गर्न सकिन्छ। सोम केवल बाह्य पेय पदार्थ होइन, त्यो त चेतनाको विस्तारित अवस्था हो — जहाँ साधकले शरीरभन्दा परको अनुभव गर्छ।
यज्ञका व्याख्याहरूमा पनि केवल आगो बालेर मन्त्रोच्चारण गर्ने कर्मकाण्ड मात्र छैन, त्यहाँ सामाजिक ऊर्जा, सहकार्य, अनि ब्रह्माण्डसँग सामञ्जस्यमा रहने प्रयास देखिन्छ। यज्ञ भन्नु उर्जा रूपान्तरण + मानव–प्रकृति सम्बन्ध + समष्टिगत समर्पण। आज समाजशास्त्रमा ritual theory वा ecological sustainability भनिने अवधारणा यिनै यज्ञका आधारभूत भावनासँग मिल्दोजुल्दो छ। यज्ञ बातावरणको खुरांक हो !
ऋग्वेदको एक उल्लेखनीय मन्त्र “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्” ले हामीलाई सहकार्य, संवाद, र साझा चेतनाको बाटोमा डोर्याउँछ — जुन आजको लोकतन्त्र, साझेदारी शासन प्रणाली, वा participatory governance को मुलभुत मान्यता हो।
मन्त्रहरूको प्रयोगमा ध्वनि र स्पन्दनको शक्ति पनि अति महत्वपूर्ण छ। मन्त्र उच्चारण गर्दा उत्पन्न हुने ध्वनि र कम्पनले मानसिक एकाग्रता, ऊर्जाको प्रवाह, र आन्तरिक शुद्धीकरणमा भूमिका खेल्छ — जुन आज String Theory, Cymatics, र Vibrational Healing को वैज्ञानिक अनुसन्धानसँग मेल खान्छन्। मन्त्रहरू शब्द मात्र होइनन्, तिनीहरू ऊर्जा हुन् — जस्तै पदार्थ केवल पदार्थ होइन, त्यो पनि कम्पन हो भन्ने आजको विज्ञानको ठम्याइ छ।
यज्ञ भन्नु उर्जा रूपान्तरण + मानव–प्रकृति सम्बन्ध + समष्टिगत समर्पण। आज समाजशास्त्रमा ritual theory वा ecological sustainability भनिने अवधारणा यिनै यज्ञका आधारभूत भावनासँग मिल्दोजुल्दो छ। यज्ञ बातावरणको खुरांक हो ! ऋग्वेदको एक उल्लेखनीय मन्त्र “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्” ले हामीलाई सहकार्य, संवाद, र साझा चेतनाको बाटोमा डोर्याउँछ — जुन आजको लोकतन्त्र, साझेदारी शासन प्रणाली, वा participatory governance को मुलभुत मान्यता हो।
अन्ततः, ऋग्वेदको मूल सार— “एको सत् विप्रा बहुधा वदन्ति” — अर्थात् सत्य एक हो, ज्ञानीहरूले त्यसलाई विभिन्न नामले पुकार्छन् भन्ने भनाइले पनि आजको pluralistic epistemology अर्थात् बहुविधाको ज्ञानदृष्टिको समर्थन गर्दछ। विज्ञान र दर्शन दुबै सत्यको खोजी हुन्, तर ती फरक विधामा प्रकट हुन्छन्। जब ऋग्वेदले भन्छ कि चेतना सबै प्राणीहरूमा व्याप्त छ, ब्रह्माण्ड स्वयं चेतन छ — त्यो विचार आज neuroscience र panpsychism मा पनि उस्तै तरिकाले ब्याख्या भइरहेको पाइन्छ।
यसरी हेर्दा, ऋग्वेद केवल ‘वेद’ होइन, यो त शाश्वत विज्ञानको बीज हो — जहाँ दर्शन, भौतिकशास्त्र, तत्त्वज्ञान, चेतनाको मनोविज्ञान, अनि सामाजिक समरसताको सूत्र एउटै सूत्रमा गाँसिएका छन्। यसलाई पुनःपढ्ने, पुनःअन्वेषण गर्ने, र आधुनिक भाषामा पुनःप्रकाशित गर्ने जिम्मेवारी हाम्रो हो। किनभने ऋग्वेदको उद्देश्य पूजा नभई बोध हो र बोध मात्रले समाज, संस्कृति र विज्ञानको समसामयिक निर्माण सम्भव छ। अस्तु

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार रामकृष्ण तिमिल्सिना न्याय, कानुन र प्रशासनका विज्ञ हुनुहुन्छ । त्यसबाहेक पनि उहाँको बहुआयामिक छवि छ । उहाँ उच्च कोटिका चिन्तक, अध्येता, विश्लेषक र लेखक हुनुहुन्छ । खास गरी विश्व सभ्यता, दर्शनका विद्वान् तिमल्सेना पूर्वीय जीवनदर्शन र सनातनमूल्यप्रति विशेषरूपले आस्थावान् हुनुहुन्छ । उहाँको लेखनी समाज, न्याय, दर्शन, अध्यात्म र जीवन—विज्ञानका विविध विषयहरूमा अभ्यस्त देखिन्छ ।