असल कर्म गर्न खोज्ने व्यक्तिलाई उमेको हदबन्दीले कदापि छेक्न सक्दैन । उसलाई समय र समाजका सिमानाहरूको पनि कुनै परवाह हुँदैन । यत्ति हो, जस्तोसुकै कठिन परिस्थितिमा पनि उसले कर्म गर्न भने छाड्नुहुँदैन । अन्धकारपछि उज्यालो पक्कै आउने गर्छ । मानिसले धैर्य गर्न सिक्नुपर्दछ ।
डेनियल डेफोको प्रख्यात पात्र रबिन्सन क्रुसो एक निर्जन टापुमा फँस्दछ । उसँगै यात्रामा हिँडेका कैयौँ साथीहरूको बाटोमैँ निधन हुन्छ । एक निर्जन टापुमा रबिन्सन क्रुसो कसरी अट्ठाइस वर्ष दुई महिना उन्नाइस दिनसम्म एक्लै बाँच्दछ र अन्ततः घर फर्किन्छ, त्यसको अत्यन्त रोचक र उत्प्रेरक वर्णन गरिएको छ, डेफोको यस उपन्यासमा । उत्प्रेरणा साहित्यमा रुचि राख्ने हरेक पाठकले एकपटक पढ्नैपर्ने आख्यान हो – रबिन्सन क्रुसो ।
एकजना मानिसले जिन्दगीमा धेरै थोक गर्न सक्दछ । तर, इतिहासका सबै वैज्ञानिक, सामाजिक र दार्शनिक उपलब्धिहरूमाझ सङ्ख्यात्मक हिसाबले लेखाजोखा गर्दा एकजना मानिसले जीवनभर गरेको कर्म नगण्य नै हुने गर्छ । जस्तो कि, एक जना मानिसका लागि दश वर्ष भनेको निकै ठुलो अवधि हो । इतिहासको कठघराबाट नियाल्दा चाहिँ दश वर्षको अवधि केही पनि होइन । भलै, ठुला सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरू एक दशकमै भएका उदाहरणहरू प्रशस्त होलान्, विश्व इतिहासमा ।
एडिसनले आफ्नो जीवनकालमा हजारभन्दा बढी आविष्कारहरू गरे । तैपनि उनलाई चिमको आविष्कारका निम्ति सबैभन्दा बढ्ता चिनियो । कारण, उनको एउटै आविष्कारले गर्दा आज मानवले अन्धकारमाथि विजय प्राप्त गरेको छ । पुरानो चिम बालेपनि, नयाँ सीएफएल बाले पनि त्यसमा एडिसनकै गन्ध भेटिन्छ ।
जे.डी.स्यालिङ्गरका अनेकौँ कृतिहरू प्रकाशित भएतापनि उनलाई चिनाउने कृति चाहिँ ‘क्याचर इन द राई’ हो । स्मरण रहोस्, जोन लेननको हत्यारा मार्क च्यापम्यानको झोलाभित्र सो पुस्तक भेटिएपछि अमेरिकामा केही वर्षसम्म क्याचर इन द राईलाई प्रतिबन्धित गरिएको थियो । तर, यसले पुस्तकको बिक्री चाहिँ घटाएन । पाठकहरूले सो पुस्तक झन् खोजीखोजी पढ्न थाले ।
हार्फर लीले जिन्दगीभर एउटै उपन्यास लेखिन् – टु किल अ मकिङबर्ड । तैपनि, उनको त्यही उपन्यासलाई बिसौँ शताब्दीको उत्कृष्ट उपन्यासमध्ये एक मानिन्छ । धेरै पुस्तक लेखेर पनि गुमनाम हुने लेखकहरूका निम्ति हार्पर ली प्रेरणा बन्न सक्छिन् ।
आज कम्प्युटरको दुनियाँमा पनि लाखौँ आविष्कारहरू भएका छन् । ती सबै आविष्कारहरूको आधार भनेको सर एलेन ट्युरिङको ट्युरिङ मसिनको अवधारणा नै हो । उनको एउटै अवधारणाले संसार परिवर्तन गरेको छ । ट्युरिङको नाम अरु वैज्ञानिकहरूजस्तो ठुलो चर्चामा भने आउन सकेन । उनको जीवनकाल पनि पचास वर्षअघि नै अस्तायो, ठिक देवकोटा, मोतीराम र शङ्कर लामिछानेको जस्तै ।
मानिसले जिन्दगीमा प्राप्त गर्ने सानातिना उपलब्धिहरूको सङ्ख्याभन्दा पनि त्यसबाट अरु मानिसहरूको जिन्दगीमा आउने परिवर्तनको आधारमा उसको व्यक्तित्व र प्रसिद्धि निर्धारित हुन्छ भन्ने तर्कको पुष्टि माथिका दृष्टान्तहरूबाट हुन्छ । जिन्दगीमा गरिने एउटै नयाँ वा महान् कर्मले पनि धेरै मानिसहरूको जीवन बदल्न सक्छ । आफ्नो जिन्दगीलाई सार्थक तुल्याउने सबैभन्दा सहज र सबैभन्दा अप्ठ्यारो उपाय सायद यही नै हो ।
मानिसहरू उमेर ढल्क्यो, अब चाहिँ केही गर्न सकिँदैन भन्ने गर्छन् वा भन्ने गर्छन्— फलानो काम गर्नका निम्ति त हामी अभैm कलिलै छौँ । यस्ता विचारहरूसँग कदापि सहमत हुन सकिँदैन ।
अङ्ग्रेजीमा भन्ने गरिन्छ – एज इज जस्ट अ नम्बर । खासमा उमेर भनेको सङ्ख्या मात्र हो, अरु केही होइन । सङ्ख्याले खाली उसको बायोलोजिकल एज जनाउने हो, खास उमेर त उसको कर्मले निर्धारण गर्ने गर्छ ।
अकर्मण्य व्यक्ति कम बायोलोजिकल एजमा पनि बुढो साबित हुन्छ । कर्मशील व्यक्तिलाई चाहिँ कदापि बुढेसकालले छुन सक्दैन । सय बर्षभन्दा बढीको उमेरमा पनि आदरणीय सत्यमोहन जोशी पाटनका गल्लीहरूमा निर्बन्ध घुमिरहेका भेटिनुहुन्छ । उहाँको आँखामा चस्मा भेटिँदैन । अझै पनि उहाँ कर्मयोगमैँ तल्लीन हुनुहुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि लामो समय काव्यचिन्तनमैँ व्यस्त भएको समाचार छापामा हामीले पढेकै हौँ ।
साठी, सत्तरी र असीको दशकको हिप्पी क्रान्तिले पश्चिमको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा ठूलो परिवर्तन ल्याइदियो । पश्चिमका युवाहरूले पूर्वीय चिन्तनको नक्कल गर्न थाले तर गलत रूपमा ।
घर छाडेर उनीहरू फकिर बन्ने प्रयास त गरे तर उनीहरूलाई पुर्वीय दर्शन र चिन्तनको असली ज्ञान भने भएन । उनीहरूलाई सांसारिक झमेलाबाट मुक्तिको चाह त भयो तर त्यसका निम्ति उनीहरूले लागुऔषधको सहारा लिए । लागुऔषधले क्षणिक उन्मुक्ति दियो तर कालान्तरमा उनीहरूलाई झन् ठुलो दलदलमा फँसाइदियो । फलस्वरूप, धेरै युवाहरूले अकालमैँ ज्यान गुमाए । उनीहरूको जीवन अस्तव्यस्त बन्न पुग्यो ।
जिन्दगीमा गरिने एउटै नयाँ वा महान् कर्मले पनि धेरै मानिसहरूको जीवन बदल्न सक्छ । आफ्नो जिन्दगीलाई सार्थक तुल्याउने सबैभन्दा सहज र सबैभन्दा अप्ठ्यारो उपाय सायद यही नै हो ।
त्यो युगमा सङ्गीत र लागुऔषध एक हिसाबले पर्यायझैँ भएका थिए । आजकल कुनै पनि सर्जकको वैयक्तिक जीवन र उसका सिर्जनात्मक उपलब्धिहरूलाई छुट्टाछुट्टै रूपमा हेरिने चलन छ । त्यो युगका सर्जकहरूको सिर्जनात्मक जीवन उर्बर भएतापनि वैयक्तिक जीवन भने जर्जर थियो । धेरै सर्जकहरूले पनि अन्य युवाहरूजस्तै अकालमै ज्यान गुमाएको इतिहास छ र मृत्युको मुख्य कारण प्रायः लागुऔषध नै हुने गरेको पाइएको छ ।
आखिर जे होस्, उमेरको हदबन्दीको कुरा गर्दा, प्रख्यात गायक कर्ट कोबेन, जिमी हेन्रीक्स दुवैको निधन २७ वर्षको उमेरमा भएको हो । एल्भीस प्रेस्लेको निधन पनि ३६ बर्षको उमेरमा भएको हो । प्रेस्लेलाई किङ अफ रक एन्ड रोल पनि मान्ने गरिन्छ । यी पश्चिमा गायकहरूको जीवनशैलीप्रति पङ्क्तिकार सहमत छैन । तैपनि, यिनीहरूकोे जीवनबाट हामीले कर्मयोगको पाठ भने सिक्न सकिन्छ ।
वैयक्तिक जीवन जति अस्तव्यस्त भएतापनि आफ्नो नियोजित कर्मप्रति यी सर्जकहरू कटिबद्ध थिए । यिनीहरूको जिन्दगी अम्मलमा बित्नुको कारण वैयक्तिक छनौट र रुचि कम र पश्चिमा सामाजिक प्रभाव ज्यादा थियो ।
बिट जेनेरेसनका प्रख्यात कवि एलेन गिन्सबर्गले भारत आएर योगविद्या सिकेका थिए । सङ्गीत समुह बिटल्सका गिटारिस्ट जर्ज ह्यारिसनले पण्डित रविशङ्करसँग सितारवादन सिकेका थिए । उनी पुर्वीय दर्शनबाट यति प्रभावित भएछन् कि जीवनका अन्तिम वर्षहरूमा उनले आफ्नो धर्म त्यागे र हिन्दु बने ।
पश्चिमाहरूका ठीक विपरीत पूर्वीय दर्शनले चाहिँ दीर्घ जीवन बाँचेर देश र समाजका निम्ति थप काम गर्न प्रेरित गरेको छ । त्यसैकारणले ह्यारीसन पुर्वीय दर्शन र चिन्तनतर्फ आकर्षित भएको हुनुपर्छ ।
फेरि हामी उमेरकै हदबन्दीतिर फर्कौँ । प्रख्यात गणितज्ञ रामानुजानको निधन ३२ वर्षमा भएको हो । रामानुजानका गणितीय सिद्धान्तहरू आजसम्म पनि अक्सफोर्ड र क्याम्ब्रिजका प्रकाण्ड विद्धान्हरूले छिचोल्न सकेका छैनन् । स्वामी विवेकानन्द पनि ३९ वर्षकै उमेरमा ब्रह्मलीन हुनुभएको हो । अङ्ग्रेजी भाषाका सम्भवतः नम्बर एक कवि जोन किट्सको निधन छब्बिस वर्षको उमेरमा भएको थियो । जीवनको अन्तिम डेढ वर्ष त यी धुरन्धर कवि क्षयरोगका कारण ओछ्यानमा थलिएका थिए । उनले बाइस वर्षको उमेरमा नै आफूलाई अङ्ग्रेजी साहित्यका एक मानक कविका रूपमा स्थापित गराए ।
बाइस वर्षको उमेरमा त धेरैलाई प्रेमी वा प्रेमिकाले प्रेममा धोका दिएको कुण्ठा वा जागिर नपाएको चिन्ता वा युनिभर्सिटिको परीक्षामा कम अङ्क आएको आक्रोश हुँदो हो । पंङ्क्तिकार स्वयम्् पनि यसको अपवाद होइन । किट्सको जीवन हामीजस्ता युवाहरूका निम्ति प्रेरक बन्न सक्छ, बायोलोजिकल वृद्धहरूका निम्ति आदरणीय सत्यमोहन जोशी प्रेरक बनेजस्तै ।
असल कर्म गर्न खोज्ने व्यक्तिलाई उमेको हदबन्दीले कदापि छेक्न सक्दैन । उसलाई समय र समाजका सिमानाहरूको पनि कुनै परवाह हुँदैन । यत्ति हो, जस्तोसुकै कठिन परिस्थितिमा पनि उसले कर्म गर्न भने छाड्नुहुँदैन । अन्धकारपछि उज्यालो पक्कै आउने गर्छ । मानिसले धैर्य गर्न सिक्नुपर्दछ ।
रबिन्सन क्रुसोको अट्ठाइस वर्ष दुई महिना उन्नाइस दिनको धैर्यताबाट हामीले सिक्ने सबैभन्दा ठुलो पाठ सायद यही नै हो ।
शिव भुसाल साहित्य, दर्शन, कला र जीवनप्रेरक विषयमा कलम चलाउने लेखक हुनुहुन्छ । अङ्ग्रेजी र नेपाली भाषामा उत्तिकै क्षमताका साथ कलम चलाउने भुसाल पूर्वीय अध्यात्म दर्शन र पश्चिमी जीवनदर्शनका सूक्ष्म अध्येता उहाँ हाल अमेरिकामा अध्ययनरत हुनुहुन्छ ।