देवघाट, चितवन ।
हरेक वर्ष माघ एक गतेका दिन देवघाटमा लाग्ने मकर मेला सम्पन्न भएको छ । यस वर्ष पनि देशविदेशका लाखौँ श्रद्धालुहरूले यस दिन देवघाटमा काली गण्डकी र त्रिशुली गण्डकीको सङ्गममा मकर स्नान गरेका छन् र देवघाट आई आफ्नो आस्था र श्रद्धाभाव व्यक्त गरेका छन् । देवघाटमा मकर सङ्क्रान्तिको दिनमा त्रिशुली र गण्डकीको मेल भएको ठाउँमा गई स्नान गर्नाले विभिन्न प्रकारका शारीरिक तथा मानसिक दुःख, पीडा र बन्धनहरूबाट मुक्त भइन्छ भन्ने मान्यता रहेको छ । पुराणहरूमा वर्णन गरिएअनुसार यस दिन मकर स्नानका लागि स्वर्गबाट देवता समेत अवतरित हुने गर्छन् ।
नेपालका प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमध्ये अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हो । नेपालको हरिद्वार भनेर चिनिने यस भूमिमा काली गण्डकी र त्रिशुली गण्डकीको मेलले थप आकर्षण वृद्धि गरेको छ । देवघाटधाम मुख्यतः नवलपरासी पूर्व, चितवन र तनुहँ गरी दिन जिल्लाको सङ्गमस्थल हो भने काली, त्रिशुली र नारायणी गरी तीन नदीको सङ्गमभूमि पनि हो ।
हिमालका फेदीबाट बहँदै आउने अनेक खोला र नालाको मेल भएर बग्ने काली नदीका किनारमा विश्वमै दुर्लभ शालीग्राम शिला समेत प्राप्त गर्न सकिन्छ । त्यस्ता महत्त्वपूर्ण शालिग्राम शिला कुद्ने र तिनलाई आफ्नो गर्भमा राखेर बग्ने भएकाले काली नदीको जल मिसिएको नारायणीमा स्नान गर्नुको विशिष्ट महत्त्व रहेको धर्मज्ञहरूको मत रहेको छ ।
माघ मेलाको दिनमा खासगरी चितवन, तनहुँ, गोर्खा, लमजुङ, मकवानपुर, नवलपरासीसहित देशका अनेक स्थानबाट आउने भक्तजनहरूको भीड देख्न सकिन्थ्यो भने छिमेकी भारतबाट पनि नेपालको सीमा जोडिएका उत्तर प्रदेश र बिहारबाट समेत आएर हिन्दु धर्मावलम्बी भक्तहरूले देवघाट दर्शन तथा मकर स्नान गरेका थिए ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।