तीजको बहानामा महिलाहरु नाच्छन्, हाँस्छन, व्यङ्ग र वेदना प्रकट गर्दछन्, जसले गर्दा मानसिकरूपले हलुकापनको अनुभव गर्न सकिन्छ । गीत—सङ्गीतमार्फत मनका कुरा पोख्ने, ठट्टा रमाइलो गर्ने, उन्मुक्त तरिकाले नाच्ने र गाउने गर्नु भनेको भावनात्मक सफाइ गर्नु र कुण्ठा विसर्जन गर्नु पनि हो । तीजलाई दर खाने, लगाउने, नाच्ने र गाउने कुरामा मात्र सीमित नराखी महिला सशक्तिकरणको उत्सव बनाउनुपर्ने समय आएको छ, किनकि खासमा भन्नुपर्दा तीज भन्नु नै नारी सशक्तीकरणको अपूर्व उत्सव हो ।

साझा सांस्कृतिक पर्व
तीज पर्व नेपाली नारीको विशेष उत्सव र चाड हो । संसारमा जुनसुकै चाडपर्वका उत्सव मनाउने तरिका लगभग उस्तैउस्तै हुन्छन् । जस्तैः परिवार भेला हुने, साथीभाइ, इष्टमित्र भेटघाट गर्ने, राम्रो लगाउने, मीठो खाने, नाच्ने, गाउने, सरसफाइ गर्ने, घर सजाउने, उज्यालो पार्ने, प्रेमस्नेह प्रकट गर्ने, शुभकामना र उपहार आदान—प्रदान गर्ने आदि । चाडपर्वका नाममा जेजे गरे पनि आफ्ना इन्द्रियलाई खुसी पार्ने अनि मनलाई रमाउने काम हो । यदि चाडपर्व धार्मिक आस्थामा जोडिएका छन् भने व्रतसङ्कल्प, पूजाआजा र भक्तिभाव प्रकट गर्ने गरिन्छ । तीज पर्वको सुरुआत धार्मिक धरातलबाट भए तापनि विस्तारै सामाजिक अनि सांस्कृतिकरूपमा साझा पर्व बन्दै छ ।

पौराणिक पृष्ठभूमि
नेपाली समाजमा यसको सुरुआत पितृसत्तात्मक समाजमा विवाह भएर पतिको घर गएकी महिलाले माइत जान पाउने, राम्रो लगाउन पाउने, मीठो खान पाउने, रमाउन पाउने, हाँस्न पाउने, नाच्न पाउने, माइती खलक र साथीसँगीसँग भेट गर्न पाउने एउटा अवसरको रूपमा विकास भएको हो । हरितालिका तीज महिला सशक्तिकरणको धार्मिक र सामाजिक संस्कृतिको रूपमा विकास हुँदै गएको छ ।

हिमालय पर्वतकी छोरी पार्वतीले कैलाशपति महादेवलाई स्वयम्वर गर्ने दृढ इच्छाशक्ति व्यक्त गरिन् । हरितालिका तीजको व्रतको सुरुआत माता पार्वतीले असाध्यै मन पराएको जीवनभरि वरण गर्न योग्य वर भगवान् शिवलाई प्राप्त गर्न गरेको सङ्कल्पबाट सुरु भएको हो । भगवान् शिव र माता पार्वतीको वैवाहिक जीवन कथालाई आदर्श मानी आफूले रोजेको र खोजेको जस्तो वर पाउन चाहने अविवाहित किशोरीसमेत हरितालिका तीजको व्रत बस्दछन् । विवाहित नारीहरु आफू माता पार्वती र आफ्ना पति भगवान् शिवजस्तै शक्तिशाली र दिव्य बन्न पाइयोस् भन्ने चाहनाले व्रत बस्ने गर्दछन् ।

उज्यालो पक्ष
हरितालिका तीज पर्व बाहिर कसले कति रातो साडी, गहनागुडिया, चुरापोते, टिका, सिन्दुर लगाउँछ ? कति वटा तीजको कार्यक्रममा भाग लियो ? कति दर खायो ? भन्ने कुराले भन्दा नारीको आन्तरिक शक्ति शारीरिक, मानसिक र भावनात्मक ऊर्जा बढाउने अभिप्रायले व्यवस्था भएको हो, तथापि हिन्दु नारीले आफू सौभाग्यवती बन्ने अभिप्रायले सोह्र—शृङ्गार गरेर तीजको व्रत बस्नु, आफू, पतिसहित परिवारको सुस्वास्थ, आयु र आरोग्यको लागि व्रत बस्नु वा पतिभक्ति दर्शाउनु परिवार सुख र दाम्पत्य सुखको लागि असाध्यै राम्रो कुरा हो ।

सत्ययुगमा सुरु भएको प्रचलन कलियुगसम्म आइपुग्दा यसको स्वरूपमा परिवर्तन हुनु स्वाभाविक नै हो । पार्वतीले जस्तो गर्नुभयो, त्यस्तै गर्नुपर्छ भन्नु व्यावहारिक नहोला तर संस्कार उत्पत्तिको धरातल चाहिँ बिर्सनुहुँदैन । सामाजिक चाड, पर्व र संस्कारमार्फत नारीलाई आत्म—निर्णय र आत्म—सम्मानको अधिकार प्रदान गरिएको छ । कन्या पार्वतीलाई बर रोज्न पाउने अधिकार थियो ।

Photo : Insidehimalayas

तीज कार्यक्रम मनाउने क्रममा नारीहरु खुलेर हाँस्न, नाच्न, खुल्न र रमाउन थालेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था, कार्यालय र घरपरिवारले महिला दिदीबहिनीलाई दर खुवाउने बहानामा कार्यक्रमहरूको आयोजना गर्न थालेका छन् । दरको बहानामा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुन थालेका छन् । भोट फकाउने र सामान बिकाउने माध्यम बनेको छ, तीज ।

तीजमा खपत हुने खाने कुरा र सरसामानको खरिदबिक्रीले अर्थतन्त्र चलायमान हुन्छ । तीजलाई राजनीतिक र सामाजिक सम्पर्क र सम्बन्ध निर्माण गर्ने उत्सवको रूपमा लिन थालिएको छ । तीजको व्यापारीकरण र विश्वव्यापीकरण भएको छ ।

हरितालिका तीज पर्व बाहिर कसले कति रातो साडी, गहनागुडिया, चुरापोते, टिका, सिन्दुर लगाउँछ ? कति वटा तीजको कार्यक्रममा भाग लियो ? कति दर खायो ? भन्ने कुराले भन्दा नारीको आन्तरिक शक्ति शारीरिक, मानसिक र भावनात्मक ऊर्जा बढाउने अभिप्रायले व्यवस्था भएको हो, तथापि हिन्दु नारीले आफू सौभाग्यवती बन्ने अभिप्रायले सोह्र—शृङ्गार गरेर तीजको व्रत बस्नु, आफू, पतिसहित परिवारको सुस्वास्थ, आयु र आरोग्यको लागि व्रत बस्नु वा पतिभक्ति दर्शाउनु परिवार सुख र दाम्पत्य सुखको लागि असाध्यै राम्रो कुरा हो ।

व्रत बस्दा विचार गर्नुपर्ने विषय
संस्कार मान्नै पर्छ भन्ने दबाबमा बाध्यतावश निर्जल र निराहार व्रत बस्ने चलनले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ तर कहिलेकाहीँ राजीखुसीले शुभ सङ्कल्प लिएर खाली पेट बसेमा शरीर ऊर्जावान् बन्छ । व्रत सङ्कल्पले शुभ फल प्राप्त हुन्छ भनेर व्रत बसेमा लाभ हुन्छ । जस्तो भाव त्यस्तै प्रभाव पर्छ भनिएको छ । आफूसहित परिवारका अन्य सदस्यको शुभ होस् अनि भलो होस् भन्ने कामना गर्नु नारी तल पर्नु होइन । आफ्नो परिवारको उन्नतिप्रगति होस् भन्ने कसले चाहँदैन र ?! अर्कोतर्फ, व्रत नबस्दैमा पाप हुने पनि होइन । यो त हृदयको प्रेमभाव प्रकट गरिएको हो । यसले घरपरिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुन्छ । आफ्नो इच्छाशक्तिअनुसार निराहार वा जलाहार वा फलाहार व्रत बस्न सकिन्छ । व्रत बस्न नसकेमा नबस्दा पनि हुन्छ । स्वस्थ हुनका लागि व्रत बस्ने हो, अस्वस्थ हुनका लागि होइन । महिलाले नै व्रत बस्नुपर्ने पुरुषले चाहिँ बस्नु नपर्ने भन्ने कुरा सुनिन्छ । नारी प्रकृतिकी शक्ति हुन् । महिलामा सङ्कल्प र धैर्यताको शक्ति हुन्छ, तसर्थ नारीले व्रत—सङ्कल्प गर्ने प्रचलन चलिआएको हो । राम्रो होस् भनेर सङ्कल्पवान् बन्नु अवश्य राम्रो कुरा हो, यसले मनोबल र आत्मबल बढाउँछ, आफैँलाई लाभ हुन्छ ।

महिला सशक्तिकरणको उत्सव
तीजको बहानामा महिलाहरु नाच्छन्, हाँस्छन, व्यङ्ग र वेदना प्रकट गर्दछन्, जसले गर्दा मानसिकरूपले हलुकापनको अनुभव गर्न सकिन्छ । गीत—सङ्गीतमार्फत मनका कुरा पोख्ने, ठट्टा रमाइलो गर्ने, उन्मुक्त तरिकाले नाच्ने र गाउने गर्नु भनेको भावनात्मक सफाइ गर्नु र कुण्ठा विसर्जन गर्नु पनि हो । तीजलाई दर खाने, लगाउने, नाच्ने र गाउने कुरामा मात्र सीमित नराखी महिला सशक्तिकरणको उत्सव बनाउनुपर्ने समय आएको छ, किनकि खासमा भन्नुपर्दा तीज भन्नु नै नारी सशक्तीकरणको अपूर्व उत्सव हो । सबैलाई भलो गर्ने खालको शुभसङ्कल्प गरेर नारी शक्तिलाई प्रकाशित गर्नुपर्दछ । तीज पर्वले आधा जमिन ढाकेका नारीलाई अझ ऊर्जाशील बनाओस् । सबै नारीशक्तिमा तीजको धेरैधेरै शुभकामना !!