हामी जहाँ उभिएका छौँ, त्यहीँ वरपर प्रशस्त कर्तव्य निर्वाह गर्ने अवसरहरू छरिएका हुन्छन् । कामको खोजीमा टाढाटाढा जानुपर्ने कुनै आवश्यकता छैन । जहाँ मनुष्य छ, त्यहीँ उसले गर्नुपर्ने कामहरूको चाङ रहेको हुन्छ किनकि कर्तव्य त उसको नैसर्गिकता हो । जो अल्छी छ र मिहिनेत गर्ने कुरामा पटक्कै रुचि राख्दैन उसले मात्र काम नभएको बहाना बनाउँदछ । यदि हामीसँग जाँगर छ, उत्साह छ र छ भने दृढ इच्छाशक्ति, हामीलाई कर्तव्यको अवसर सधैँ उपलब्ध हुन्छ ।
मानिसहरूको परम कर्तव्य
ह्यारोल्ड जे लास्कीले भनेका छन्—‘मानिसहरूको परम कर्तव्य आफ्नो अन्तस्करणप्रति इमानदार हुनु हो ।’ विद्वान्हरू भन्दछन्, अन्तस्करणले कहिल्यै पनि बेइमानी गर्दैन । अन्तस्करण भनेको हामीभित्रको विवेकको नाम हो, ठिक र बेठिक छुट्याउने शक्तिको नाम हो । हामीभित्रको मौलिक आवाज र स्पन्दनको नाम हो । हाम्रो वास्तविक पहिचान र प्राण भन्नु पनि यही अन्तस्करण हो । यसैले, यसले कहिल्यै पनि हामीलाई दुःख दिँदैन । कहिल्यै पनि बेइमानी र बदमासी गर्दैन ।
तर हामी हाम्रो अन्तस्करणको कहिल्यै वास्ता गर्दैनौँ । हरेक मानिसका लागि उसको अन्तस्करण जत्तिको भरपर्दो सल्लाहकार कोही पनि हुँदैन, तापनि कमै मानिसले मात्रै आफ्नो अन्तस्करणको आवाज सुन्ने गरेका छन् । यसैले हुन सक्दछ, कमै मानिसले मात्रै जीवनमा सफलता र सिद्धि प्राप्त गर्न सकेका छन् ।
हाम्रो अन्तस्करण सधैँ सत्यको नजिक हुन्छ । हामीभित्र जुन ईश्वर छ भनेर भनिएको छ, यही अन्तस्करणलाई नै भनिएको हो । यसले जे कुरा ठिक हो, जे कुरा बेठिक हो भनेर भन्दछ, त्यो बेठिकलाई त्यागिदिनु र अन्तस्करणको परामर्शअनुसार ठिकलाई स्वीकार गर्नु हाम्रो परम कर्तव्य हो भनेर ह्यारोल्ड जे लास्कीले भनेका हुन् ।
हाम्रा अनगिन्ती कर्तव्यहरू छन् र हुने गर्दछन् तर आफ्नै आवाजलाई जसले अवमूल्यन् गर्दछ, आफ्नै आत्मनिर्देशनको परिपालन गर्दैन, त्यो व्यक्तिले न त अरुको निर्देशनको परिपालन गर्दछ, न त अरुलाई निर्देशन गर्ने हैसियत नै राख्दछ ।
असीमित र अगणित कर्तव्यहरू
अर्का विद्वान् छन्, जोन स्टोट मिल । उनी भन्दछन्,‘आधुनिक समयका कर्तव्यहरूलाई हामीले परिभाषाद्वारा सिमित गर्न सक्दैनौँ ।’अर्थात् हामीसित असीमित र अगणित कर्तव्यहरू छन् । थुप्रैथुप्रै अहो जिम्मेवारीका भारीहरू हामीले बहन गर्नुपर्ने अवस्था आउँछ । हिजोका तुलनामा कर्तव्यहरू आज अझ थपिएर गएका छन् । मानिसहरू रोग, भोक र शोकको महामारीमा परेका छन् । उनीहरूलाई रोग, भोक र शोक मुक्त गर्ने अर्को दायित्व पनि थपिएको छ हामीमाथि ।
मान्छेहरूमा लोभानि पापानि बढेर गएको छ । तिनलाई सद्मार्ग एवम् सद्भावनातिर रूपान्तरित गर्नुपर्ने अर्को कर्तव्य पनि हामीसितै छ । पर्यावरण दूषित हुँदै गइरहेको छ । यसलाई शुद्ध बनाउनुपर्ने अर्को कर्तव्य हामीसँग रहेको छ । हिंसाको चौघेराभित्र रुमलिँदै गएको छ, वर्तमान विश्व, वर्तमान समाज र वर्तमान परिवेश । यसलाई अहिंसा र शान्तिको दिशातिर केन्द्रित गर्नुपर्ने अर्को अहम् कर्तव्य पनि हामीसँग छ । यस्ता थुपै्रथुप्रै कर्तव्यहरू छन्, जसलाई हामीले निर्वाह गर्नुपर्ने छ ।
यसरी हेर्दा, कर्तव्यको परिभाषासँगै यसको आयाम र क्षेत्र पनि फराकिलो हुँदै गइरहेको छ । हिन्दी साहित्यका मूर्धन्य साहित्यकार प्रेमचन्दले भनेका छन्,‘कर्तव्यले आगो र पानीको परबाह गर्दैन । जतिसुकै अँध्यारो होस्, रोगव्याधिले कोही छट्पटिएको अवस्था छ भने हामीले राती भयो भनेर भन्दैनौँ, तत्कालै अस्पताल लिएर जान्छौँ । कसैलाई चोटपटक लाग्यो, आफ्नो अर्काको भन्दैनौँ । हामीले तुरुन्तै अस्पताल दौडाउँछौँ ।
कोही दीनदुःखी, गरिब, माग्ने आफ्ना अगाडि उभिएको होस्, हामीले को, कस्तो, के भनेर भन्दैनौँ, पहिला आफूले गर्नुपर्ने कर्तव्य निर्वाह गर्दछौँ । कर्तव्यको हृदय भएका व्यक्तिहरूले कहिल्यै पनि घाम र पानीको वास्ता गर्दैनन् । आँधी र हुरीको वास्ता गर्दैनन् । कुनै पनि आग्रह र पूर्वाग्रहको सीमाभित्र कर्तव्य कहिल्यै सीमित हुन सक्दैन । कर्तव्य आफैँमा असीम हुन्छ, व्यापक र उदात्त हुन्छ । सम्पूर्ण सीमाहीन अवस्थाबाट कर्तव्य परिपूर्ण हुन्छ । त्यसैले, कर्तव्य शाश्वत हुन्छ ।
गौतम बुद्धले भन्नुभएको छ,‘परिस्थितिको विचार नगरी मानिस आफ्नो कर्तव्यप्रति जहिले पनि निष्ठावान् हुनुपर्दछ । कर्तव्यप्रति निष्ठावान् रहेमा नै सबैभन्दा ठूलो फल प्राप्त हुन्छ ।’ समयको क्रमसँगै हामी जुनसुकै बेलामा जेसुकै काम गर्नका लागि तम्तयार भएर बस्नुपर्दछ । पूर्वजहरूले सिकाएअनुसार हामी कर्तव्यका लागि जन्मिएका हौँ । काम नै हाम्रो पहिचान हो । धर्म, मूल्य र मान्यता भनेको पनि हामी मनुष्यका लागि गर्नुपर्ने कर्तव्य नै हो ।
कर्तव्य नै सबैभन्दा महत्त्वूर्ण हतियार
भगवद्गीतामा भनिएको छ,‘ आफ्नो कर्तव्य पुरा गर्न कहिल्यै पछि नपर । कर्तव्य पुरा गरेर मात्र मानिसलाई पूर्णता प्राप्त हुन्छ ।’ केही पनि नगरीकन बस्ने हो भने सफलताको शिखरमाथि जान सक्दैन । कर्तव्य भन्नु नै गतिशीलताको अर्को नाम पनि हो । नदी गतिशील हुन्छ, त्यसैले लगातार बगिरहेको हुन्छ, सागरतिर । जीवन भन्नु नै पूर्णता भएकाले त्यसका लागि कर्तव्य नै सबैभन्दा महत्त्वूर्ण हतियार हो । जसरी नदी सागरलाई प्राप्त गरिसकेपछि धन्य हुन्छ, हामी पनि जीवनमा पूर्णतालाई प्राप्त गरिसकेपछि धन्य हुने गर्दछौँ ।
पैगम्बर मुहम्मदले भनेका छन्,‘ आफ्नो कर्तव्य पूरा गर्ने मानिसलाई ईश्वरबाट उपयुक्त पुरस्कार प्राप्त हुन्छ ।’ कर्तव्यको फल अत्यन्त सुमधुर हुने गर्दछ । हामीले अनुभव गरेका सबै मिठा फलहरूका पछाडि हामीले निर्वाह गरेको कर्तव्यको ठुलो हात छ । जति सुन्दर, कर्तव्य त्यति नै सुन्दर फल । प्रकृति पनि परिश्रमी र कर्तव्यनिष्ठ मानिसलाई फल प्रदान गर्नका लागि तम्तयार भएर बसेको हुन्छ । यसबाट के प्रमाणित हुन्छ भने कर्तव्यशील मानिसलाई अस्तित्वले पनि साथ दिन्छ ।
सिन्तो धर्ममा भनिएको छ,‘ कर्तव्यको मार्ग धेरै नजिक छ तर मानिसहरू त्यसको खोजीमा टाढा जान्छन् ।’ हरेकले आफ्नो कर्तव्य के हो भन्ने सत्यलाई स्वतस्पूmर्तरूपमा महसुस गर्न सक्नुपर्दछ । यो प्राकृतिक र जन्मजात विषय हो । जीवनको प्राण भन्नु पनि यही कर्तव्य नै हो । हामी यदि कर्तव्यहीन भएर बस्ने हो भने हामीभित्रको सम्भावना पनि त्यसैत्यसै मरेर जान्छ । मानिसले आफूभित्रको सम्भावनालाई जति उद्घाटित ग¥यो, त्यति नै ऊ अमर र सार्थक जीवनको लायक बन्दछ ।
कर्तव्य निर्वाह गर्ने अवसरहरू
हामी जहाँ उभिएका छौँ, त्यहीँ वरपर प्रशस्त कर्तव्य निर्वाह गर्ने अवसरहरू छरिएका हुन्छन् । कामको खोजीमा टाढाटाढा जानुपर्ने कुनै आवश्यकता छैन । जहाँ मनुष्य छ, त्यहीँ उसले गर्नुपर्ने कामहरूको चाङ रहेको हुन्छ किनकि कर्तव्य त उसको नैसर्गिकता हो । जो अल्छी छ र मिहिनेत गर्ने कुरामा पटक्कै रुचि राख्दैन उसले मात्र काम नभएको बहाना बनाउँदछ । यदि हामीसँग जाँगर छ, उत्साह छ र छ भने दृढ इच्छाशक्ति, हामीलाई कर्तव्यको अवसर सधैँ उपलब्ध हुन्छ ।
सिसेरोले अत्यन्त महत्त्वपूर्ण भनाइ व्यक्त गरेका छन् । उनी भन्दछन्,‘जीवनको एक क्षण पनि कर्तव्यले खाली छैन ।’ जीवनको एक क्षण पनि कर्तव्यले खाली नभएको प्रमाण हाम्रो शरीरलाई हेरे पुग्दछ । हाम्रो मुटुको ढुकढुकीलाई अनुभूति गरे पुग्दछ । हरेक पल मुटु धड्किइरहेको हुन्छ । एक सेकन्ड मात्रै ढिलो हुनेबित्तिकै हाम्रो जीवन समाप्त हुन्छ । यसरी मुटुले हरेक क्षण ढुकढुक गरेर हामीलाई बचाउने कर्तव्य निर्वाह गरिरहको छ ।
हामीले सास फेरिरहेका छौँ । आकाशमा सूर्य निरन्तर उदाइरहेका छन् । वरपर हावाको सर्सराहट जारी छ । प्रकृतिले पनि निन्तर गतिशील भएर आफ्नो धर्म र कर्तव्य निर्वाह गरिरहको छ । कोही पनि यहाँ कर्तव्य नगरी बाँचेका छैनन् । यसैले, सिसेरोले अत्यन्त महत्त्वपूर्ण विज्ञान बोलेका छन्, जीवनको एक क्षण पनि कर्तव्यले खाली छैन भनेर ।
‘तिम्रो अगाडि जुन पहिलो कर्तव्य छ, त्यही सम्पन्न गर, दोस्रो कर्तव्य आफैँ स्पष्ट भएर आउँछ ।’—थोमस कार्लाइल भन्दछन् । हामीले अनेक योजना बनाउनुपर्दैन । धेरै योजना बनाउने तर काम केही पनि नगर्नुको कुनै अर्थ हुँदैन । हामीकहाँ आज यही भएको छ । विभिन्न योजनाहरू बनेका छन् तर योजनाअनुसार काम भएको कतै पनि देखिँदैन । बरु जति धेरै योजनाहरू बन्दछन्, त्यति नै काम कम हुने सम्भावना रहन्छ किनभने कुनचाहिँ कामलाई महत्त्वदिने भन्ने अन्योल बढेर जाने सम्भावना हुन्छ । हामी कर्मयोगीभन्दा पनि योजनाविद् ज्यादा भयौँ ।
काम गर्ने मान्छेसँग धेरै कामको भकारी कहिल्यै पनि हुँदैन । कामको भकारी त गर्दै नगर्नाले भरिँदै जाने हो । आज पनि नगर्ने भोलि पनि नगर्ने र पर्सि पनि नगर्ने हो भने काम थुप्रिएको थुप्रियै हुन्छ तर सधैँ क्रियाशील र सक्रियतापूर्वक काम गर्ने मानिसले कुनै पनि काम साँचेर राख्दैन । काम साँचेर नराख्दैमा ऊ बेकम्मा पनि हुँदैन ।
पहिलो कामले नै दोस्रो अवसर
त्यसैले, धेरै कामहरूका बारेमा सोच्नुभन्दा पनि आफूले गर्नुपर्ने पहिलो र महत्त्वूर्ण काम के छ, त्यसलाई निष्ठा र लगनका साथ सम्पन्न गर्दै जाने हो भने अरु कामहरू स्वतस्पूmर्तरूपमा अगाडि आइहाल्दछन् । हामीले गरेको पहिलो कामले नै दोस्रो अवसरलाई निम्त्याउँछ । कुनै पनि पछिल्लो काम अघिल्लो कामको पृष्ठभूमिमा देखापर्ने भएका हुनाले हामीले एकपछि अर्कोको क्रममा प्राथमिकताका आधारमा आफ्नो कर्तव्य निर्वाह गर्दै जानुपर्दछ भन्ने विद्वान्हरूको मत रहेको छ ।
काम गर्ने मान्छेसँग धेरै कामको भकारी कहिल्यै पनि हुँदैन । कामको भकारी त गर्दै नगर्नाले भरिँदै जाने हो । आज पनि नगर्ने भोलि पनि नगर्ने र पर्सि पनि नगर्ने हो भने काम थुप्रिएको थुप्रियै हुन्छ तर सधैँ क्रियाशील र सक्रियतापूर्वक काम गर्ने मानिसले कुनै पनि काम साँचेर राख्दैन । काम साँचेर नराख्दैमा ऊ बेकम्मा पनि हुँदैन ।
झिँजाले मुढा पोल्दछ
समयमै काम गर्नेहरू कहिल्यै पनि बेकम्मा हुँदैनन्, बेकम्मा त ती हुन्छन्, जसले काम साँचेर मात्रै राख्दछन् तर कहिल्यै समयमा सम्पन्न गर्दैनन् । हामीले एकै पटक ठुलो सपना पुरा गर्न सक्दैनौँ । सानासाना सपनाहरू पुरा हुँदै जाँदा ठुलाठुला सपनाहरू पनि पुरा हुँदै जान्छन् । झिँजाले मुढा पोल्दछ भनेभैmँ हामीले तत्काल गर्नुपर्ने कामले नै पछि गर्नुपर्ने योजनाहरूमा सहयोग पु¥याउने भएकाले आँखाअगाडि रहको कर्तव्यमा सम्पूर्ण समय, शक्ति र शौर्य खर्च गर्नु हाम्रो प्राथमिक कर्तव्य हो ।
ग्लस्टनले ‘कर्तव्य एउटा युक्ति हो, जुन बिहान हामीसँगै उठ्दछ र रातमा हामीसँगै विश्राम गर्दछ ।’ भनेर भनेका छन् । उनको भनाइको अर्थ हो, कर्तव्य नै हाम्रो जीवनको आदि र अन्त्य दुवै हो । जागरणसँगै हाम्रो कर्तव्य हामीसँग हुन्छ भने विश्रामसँगै यो हराएर जान्छ । अर्थात् जीवनको आदिदेखि अन्तसम्मको सम्पूर्ण घटना कर्तव्यको कहानीबाहेक दोस्रो केही रहेनछ ।
मानिस कर्तव्यले बाँधिएको छ । कर्तव्यबाट भाग्न खोज्नेहरू कहिल्यै पनि अधिकारका अधिकारी हुँदैनन् । अधिकारका अधिकारी ती हुन्, जो सबैभन्दा पहिले निसर्त कर्तव्यलाई स्वीकार गरी तदनुसार अभ्यास गर्दछ । जो कर्तव्यदेखि टाढा हुन खोज्दछ, ऊ जीवनसँग नजिक कहिल्यै पनि हुन सक्दैन । कर्तव्यहीन मान्छेको जीवन, गतिहीन, जडवत् र निरर्थक बितेर जान्छ । त्यसैले, आउनस्, कर्तव्यका लागि तयार बनौँ । जति कर्तव्य र अनिवार्य दायित्वप्रति हामी सचेत हुन्छौँ, त्यति नै हाम्रो जीवन पनि सफल बन्दछ । यही कर्तव्यको भ¥याङ चढेर नै हामी अमर यात्रामा सहभागी हुन सक्दछौँ । पहिला कर्तव्य, पछि अधिकार । यही नै कर्तव्य र अधिकारको दर्शन हो ।
सत्सङ्ग प्रतिष्ठानका अध्यक्ष आचार्य लक्ष्मण भण्डारी सुपरिचित लेखक तथा उत्प्रेरक वक्ता हुनुहुन्छ । उहाँको लेखन धर्मदर्शन, अध्यात्म, संस्कार—संस्कृति, सकारात्मक सोच विकास तथा मानवीय मूल्य निर्माणमा केन्द्रित हुने गर्दछ ।