म हरेक दिन अरूको आलोचना गर्छु कि जिम्मेवारी पनि निर्वाह गर्छु ? म भागदौडमा हराएर आत्म–निरीक्षण गर्न बिर्सेको छु कि सम्झिएको छु ? म परिवर्तनको हिस्सा बन्न चाहन्छु कि केवल दर्शक बनेको छु ? आउनुहोस् घोषणा गरौं : “म नकारात्मक सोचबाट टाढा, सकारात्मक कर्ममा समर्पित छु। म परिवर्तनको बीउ हुँ। म सकारात्मक छु।”
प्रस्तावना
वर्तमान नेपाली समाज एक यस्तो मोडमा उभिएको छ जहाँ धेरै कुराहरू परिवर्तन भइरहेका छन्न। राजनीति, सामाजिक संरचना, जीवनशैली, संस्कार र प्रविधि । तर यी परिवर्तनहरूसँगै समाजमा एउटा अदृश्य महामारी पनि फैलिरहेको प्रतित हुदौछ। त्यो हो नकारात्मक मनोविज्ञान । “देश बिग्रिएको छ”, “यहाँ केही हुँदैन”, “सबै नेताहरू चोर हुन्”, “मैले आफु जे गरे पनि केही हुनेवाला छैन”, “यो देशमा भविष्य नै छैन ।” यस्ता अभिव्यक्तिहरू हामीले दैनिक सुन्ने गर्छौं । यस्तो मनोवृत्तिले हाम्रो मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध, आर्थिक क्रियाशीलता र समष्टिगत चेतनामा गम्भीर असर पारिरहेको छ। यो लेखमा हामीले नैतिक, आध्यात्मिक, मानविय, सामाजिक, राजनीतिक, र प्रविधिक पक्षहरू समेटेर स्वमूल्यांकन गर्ने प्रयास गर्ने छौं, जसले तपाईं र म जस्ता साधारण नागरिकहरूलाई सकारात्मक सोचतर्फ उन्मुख गराउने छ भन्ने विश्वास गकिएको छ।
१. आध्यात्मिक दृष्टिकोण: चेतनाको शुद्धता
आध्यात्मिकता भन्नाले केवल धर्म वा पूजा मात्र होइन; यसले आफ्नो चेतना, कर्म र सोचको शुद्धतालाई सङ्केत गर्छ। हाम्रा प्राचिन ग्रन्थहरू : वेद, उपनिषद्, गीता — सबैले भनिरहेका छन्: “यथा चिन्तयति तत् भवति” – हामी जसरी सोँच्दछौँ, उस्तै बन्छौं। यदि हामीले निरन्तर नकारात्मक कुरा सोचिरह्यौं भने त्यो सोच हाम्रो जीवन र कर्ममा प्रकट हुन्छ। आत्मा सधैं शुद्ध हुन्छ, तर मनले उसलाई ढाक्छ। सकारात्मक सोच भनेको आत्म–चेतनाको पुनर्जागरण हो। स्वमूल्यांकन प्रश्न: के म मेरो चेतना शुद्ध राख्न ध्यान, साधना, वा आत्म–निरीक्षण गर्छु? के म आफू भित्र पनि दोष देख्न सक्छु ?
२. नैतिक मूल्य: कर्म, कर्तव्य र दायित्व
नेपालको हरेक धर्म र सांस्कृतिक परम्पराले नैतिकतालाई उच्च स्थान दिएको छ। “सत्य बोल, अहिंसा गर, सेवा गर” । यी नैतिक मूल्यहरू अब पुस्ता हस्तान्तरणमा कमजोर बन्दै गएका छन्। आज सरकारी काममा ढिलाइ हुन्छ तर भ्रष्टाचारको दोष अरूलाई दिन्छौं। आफ्नै काम चाँडो गर्न खोज्दा लाइन मिच्छौ अनि अरूको अनुशासनको उपहास गर्छौं। नैतिक जागरण नभएसम्म न त समाज परिवर्तन हुन्छ, न त राष्ट्र । स्वमूल्यांकन प्रश्न: के म झूट बोल्ने बानीबाट मुक्त छु ? के मैले मेरो भूमिकामा इमानदार छु ?
३. मानविय दृष्टिकोण: सहानुभूति र करुणा
हाम्रो समाजमा मानिसहरू ‘मानव’ त छन् तर ‘मानवता’ हराउँदै गएको देखिन्छ। अरूको दुःखमा चासो नहुने, सहयोगको सट्टा आलोचना गर्ने, चिठ्ठा परे झैँ अरूको असफलतामा रमाउने प्रवृत्ति बढ्दो छ। मानवीयता भनेको केवल विचारमात्रै होइन, दिन–प्रतिदिनको व्यवहारमा देखाउनु हो। छिमेकीको पीडामा मलहम लगाउनु, अफिसको सहयोगीलाई सम्मान गर्नु, सडकमा ट्राफिक नियममा चल्नु । यी साना-साना क्रियाकलापहरू नै समाजलाई सकारात्मक बनाउँछन् । स्वमूल्यांकन प्रश्न: के म अरूको सफलता देखेर हर्षित हुन्छु वा ईर्ष्यालु ? के म आफैँसंग भएको सकारात्मकता अरूसँग बाँड्न तयार छु ?
४. सामाजिक दृष्टिकोण: नागरिक दायित्व र कर्तव्य
हामीले लोकतन्त्र त पायौं, तर लोकतान्त्रिक संवेदना र आचरण अझै विकास गर्न सकेनौं । हामी हरेक दिन अरूको गुनासो गर्छौं, तर आफ्नै आचरण सुधार्न तयार छैनौं। उदाहरणहरू: – आफू फोहोर फाल्ने, तर नगरपालिकालाई गाली गर्ने। – ट्राफिक नियम उल्लंघन गर्ने, तर प्रहरीले जरिवानाको रसिद काट्दा रिसाउने। -मतदान गर्दा नातावाद, पार्टिवाद पछि सरकारलाई हरपल दोष। सकारात्मक नागरिकको व्यवहार भनेको राज्यवाट आशा मात्रै गरेने होइन, आफ्नो दायित्वबोध पनि हो। स्वमूल्यांकन प्रश्न: – के म सामाजिक शिष्टाचार पालना गर्छु ? – के म समस्यामा समाधान खोज्ने नागरिक हुँ ?
हाम्रो समाजमा मानिसहरू ‘मानव’ त छन् तर ‘मानवता’ हराउँदै गएको देखिन्छ। अरूको दुःखमा चासो नहुने, सहयोगको सट्टा आलोचना गर्ने, चिठ्ठा परे झैँ अरूको असफलतामा रमाउने प्रवृत्ति बढ्दो छ। मानवीयता भनेको केवल विचारमात्रै होइन, दिन–प्रतिदिनको व्यवहारमा देखाउनु हो। छिमेकीको पीडामा मलहम लगाउनु, अफिसको सहयोगीलाई सम्मान गर्नु, सडकमा ट्राफिक नियममा चल्नु । यी साना-साना क्रियाकलापहरू नै समाजलाई सकारात्मक बनाउँछन् ।
५. राजनीतिक सन्दर्भ: निराशा होइन, सक्रिय सहभागिता
नेपाली राजनीतिको अवस्था साँच्चै गम्भीर छ : गैर जिम्मेवार, आन्तरिक कलह,निष्ठाहीन, अस्थिरता, अविश्वास। तर प्रश्न उठ्छ : के राजनीतिक संस्कार केवल नेताहरूको जिम्मेवारी मात्रै हो ? हामी, जनताहरू नै लोकतन्त्रका मालिक हौं। जव हामी सचेत र जागरूक हुदैनौ असक्षमहरू सत्तामा पुग्छन्। सकारात्मक राजनीतिक चेतना भनेको: स्वच्छ छवि भएका उम्मेदवार छान्ने, सत्यको पक्षमा उभिने, रचनात्मक विरोध गर्ने, आफ्नो क्षेत्रका जनताका अपेक्षा र विकासमा सहभागी हुने, निष्ठा र त्यागको राजनिति गर्ने । स्वमूल्यांकन प्रश्न: – के म आफ्नो प्रतिनिधि पहिचानमा सजग छु ? – के म जिम्मेवार नागरिक हु ?
६. सांस्कृतिक मूल्यमान्यता: जरा र उचाइ
हामी नेपालीहरू धार्मिक र सांस्कृतिक हिसाबले धनी छौं। हाम्रो संस्कृति : सत्कार, सेवा, सहिष्णुता, सहृदयता, श्रमशिलता, शुभेच्छा र समर्पण : यिनै मान्यतामा अडिएको छ। तर न वर्तमान पीढी त्यो चेतनाबाट टाढिँदै गएको देखिन्छ। आफ्नो संस्कृति, भाषा, पहिचान र मूल्यलाई ‘परम्परावादि’ भन्दै उपेक्षा गर्ने, पश्चिमी भेषभूषा संस्कार पछ्याउने, तर त्यसको गहिराइ नबुझ्ने प्रवृत्ति बढ्दो छ। सकारात्मक सोच भनेको केवल आधुनिक बन्नु होइन, आफ्नो जरो नबिर्सनु पनि हो। स्वमूल्यांकन प्रश्न: – के म आफ्नो संस्कृति प्रति गर्व गर्छु ? – के मैले नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउने प्रयास गरेको छु ?
७. प्रविधि र कृत्रिम बुद्धिमता (AI) को सन्दर्भ
आजको युग AI, डिजिटल प्रविधि, मेटाभर्स, बायोटेक्नोलोजी जस्ता छरितो परिवर्तनहरूको युग हो। तर यो प्रविधि मानव चेतना र आचरण सुधार्न होइन, सशक्तिकरण गर्न बनाइएको हो। हामी प्रविधिको प्रयोग सकारात्मक सामाजिक रूपान्तरणमा गर्न सक्छौं भने मात्र यसले मानवताको सेवा गर्छ। तर आज के भइरहेको छ ? Social media मा नकारात्मकता फैलाउने, Deepfake बनाएर भ्रम फैलाउने, AI प्रयोग गरेर नक्कली प्रमाणपत्र बनाउने। स्वमूल्यांकन प्रश्न: के म प्रविधिको सदुपयोग गर्छु ? के म डिजिटल नागरिकका रूपमा जिम्मेवार छु ?
निष्कर्ष:
म सकारात्मक कि नकारात्मक ? यो प्रश्न गहिरो छ, गम्भीर छ, र नितान्त स्वमूल्यांकन केन्द्रित छ। हामी सामाजिक, सासंस्कृतिक, राजनीतिक, नैतिक, आध्यात्मिक, प्राविधिक सबै क्षेत्रमा असन्तुष्ट हुन सक्छौं। तर परिवर्तनको शुरूवात “मबाट” हुनुपर्छ। “तपाईं परिवर्तन देख्न चाहनुहुन्छ भने त्यो परिवर्तनको संवाहक तपाईं आफैं बन्नुहोस्।” – महात्मा गान्धी । म हरेक दिन अरूको आलोचना गर्छु कि जिम्मेवारी पनि निर्वाह गर्छु ? म भागदौडमा हराएर आत्म–निरीक्षण गर्न बिर्सेको छु कि सम्झिएको छु ? म परिवर्तनको हिस्सा बन्न चाहन्छु कि केवल दर्शक बनेको छु ? आउनुहोस् घोषणा गरौं : “म नकारात्मक सोचबाट टाढा, सकारात्मक कर्ममा समर्पित छु। म परिवर्तनको बीउ हुँ। म सकारात्मक छु।” शुभकामना

गणेश जोशी उद्यमशीलता, सकारात्मक सोच र राष्ट्रिय चिन्तनले ओतप्रोत युवा उद्यमी हुनुहुन्छ । शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै वैदिक मूल्यका आधारमा प्रकृति र संस्कृति संरक्षणको अभियानमा उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ । चैतन्य एकेडेमीका माध्यमले सबैमा चेतनाको दीप प्रज्ज्वलन गर्ने उहाँको सत्प्रयास बिसौँ वर्षदेखि जारी छ । त्यसबाहेक उहाँ काव्य चेतना र सकारात्मक सोचको लेखनीका कुशल अभ्यासी पनि हुनुहुन्छ । जोशीका लेखनी राष्ट्रनिर्माण, उद्यमशीलता र आत्मजागरण र उत्प्रेरणा जागृत गर्ने विषयमा विशेषरूले सक्रिय देखिन्छ ।







