जिब्रोभन्दा जीवन बोल्नेहरू महान् हुन्छन् । आज जीवनभन्दा जिब्रो धेरै बोल्नेहरू भेटिन्छन् । सेवा र सहयोगभन्दा उपदेश दिने उपदेशकहरूको भीडले समाज भरिएको छ । कामभन्दा कुरा गर्नेहरू धेरै छन्, कुराभन्दा काम गर्नेहरूको अभाव छ यहाँ ।

भगवान गौतम बुद्धका एकजना शिष्यले एकजना भिखारीलाई भेटेपछि उसलाई धर्मको बारेमा प्रवचन र उपदेश दिएछन् । उनले शास्त्रका विभिन्न प्रसङ्ग उल्लेख गर्दै भिखारीलाई सम्झाए तर उसले यसप्रति कुनै रुचि देखाएन् । शिष्य पनि भिखारीको अरुचिप्रति खिन्न भए । उनी भगवान् बुद्ध भएका ठाँउमा गएर सबै कुरा बताए । त्यसपछि बुद्धले भिखारीलाई नजिक बोलाएर ल्याउन भने ।

शिष्यले उसलाई बुद्धको नजिक लिएर गए । बुद्धले भोकाएको भिखारीको दुर्दशा देखे । ऊ चार दिनदेखिको भोको थियो, पेटभरि खान पाएको थिएन । बुद्धले उसलाई पेटभरि भोजन गराए र घर पठाए । शिष्यले बुद्धसँग सोधे, “भगवान् ! तपाईँले उसलाई भोजन त गराउनुभयो तर किन उपदेश दिनुभएन ?”

बुद्धले भने ऊ भोको थियो । त्यसैले, उसका लागि अन्न नै पहिलो उपदेश थियो । आज उसलाई अन्नको आवश्यकता थियो । व्यक्तिलाई पहिला त्यो कुरा दिनुपर्छ जुन कुरा उसलाई तत्काल आवश्यक छ । यदि जीवित रह्यो भने अवश्य उसले उपदेश सुन्ने छ ।

पहिला सेवा र त्यसपछि उपदेश दिने धर्मगुरु र आध्यात्मिक व्यक्तिहरू आजका आवश्यकता हुन् ।