सत्सङ्ग प्रतिष्ठान नेपाल र विभिन्न विद्यालयहरूको समन्वयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
अमर माध्यमिक विद्यालय, पटिहानी, चितवनको आयोजनामा असार १२ गते विद्यार्थी उत्प्रेरणा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने सयौँ विद्यार्थी प्रत्यक्ष उत्प्रेरणा कार्यक्रममा सहभागी भएका छन् ।

विद्यार्थी जीवनको महत्त्व, पढ्नुको अर्थ, शिक्षक र अभिभावकप्रति विद्यार्थीको व्यवहार तथा सुसंस्कृत नागरिक बन्नका लागि कस्तो हुनुपर्दछ ? भन्ने जस्ता प्रश्न र विषयप्रति कार्यक्रममा विद्यार्थीलाई सहजकर्ता आचार्य लक्ष्मण भण्डारीले उत्प्रेरित गर्नुभएको थियो ।

त्यस्तै, गैँडाकोट नगरपालिका वडा नं १८, दमारमा पनि शिक्षक, विद्यार्थी र अभिभावकका लागि शैक्षिक उत्प्रेरणा कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले वडाका विद्यार्थीको सहजताका लागि आवासीय विद्यालयका रुपमा विद्यालयलाई विकास गर्ने योजना गरेको बताउनुभयो । शैक्षिक महाशाखा प्रमुख एवम् नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले अभिभावक र शिक्षकहरूका मूल्य र जिम्मेवारीका बारेमा चर्चा गर्नुभएको थियो ।

भरतपुर ८, गौरीगञ्जमा यस वर्षदेखि स्थानान्तरित भई पठनपाठन सुरुभएको इडेन गार्डेन इङ्लिस बोर्डिङ स्कुलले पनि नव आगन्तुक कक्षा ११ का विद्यार्थीका लागि उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विद्यार्थीसहित अभिभावक तथा शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एपेक्स एकेडेमी, क्षेत्रपुरले आयोजना गरेको एक दिवसीय अभिमुखीकरण कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको छ । करिब दुई सय विद्यार्थीको सहभगितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेको थिए ।

भरतपुर ९ मा रहेको स्टेप बाइ स्टेप विद्यालयले पनि कक्षा ११ का बाबुनानीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । सो अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भयो । उत्प्रेरणा कार्यक्रमको सहजीकरण आचार्य लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।