पुस्तक एक किसिमको पूजा पनि हो । पूर्वीय वाङ्मयमा पुस्तक अध्ययनलाई पनि दैनिक गरिने पूजासमान मानिएको छ । फूल दही अक्षता वा जौ तील चन्दनले पूजा गर्नु मात्रै पूजा हुँदैन । ध्यान, जप, परमात्मासँग गरिने योग, मातापिताको सेवा, अतिथिको सत्कार मान्यजनको मान, सानालाई माया र वास्तविक पुस्तक अध्ययनलाई समेत पूजा र ईश्वरीय प्रार्थनाको रूपमा हेरिएको छ ।

आज पुस्तकालय दिवस विश्वका हरेक पुस्तक प्रेमीहरूलाई पुस्तकालय दिवसको अनन्त शुभकामना । आज सानो चर्चा गर्न मन लाग्यो । हाम्रा पुस्तकालयमा कस्ताकस्ता पुस्तक समावेश हुनु जरुरी छ ? किन ? वास्तविक पुस्तक कुन हो ? यिनै प्रश्नका वरपर रहेर लेखिएको यो सानो लेख यहाँहरूलाई अवश्य मन पर्ने छ भन्नेमा म विश्वस्त छु ।

प्रेरणाको अन्तिम स्रोत

वास्तवमा हरेक मानिसको जीवनमा जन्मदेखि मृत्युपर्यन्त हरपल हरघडी हरेक कुरा एउटा मौका र प्रेरणा भएर ती कुराहरूको उदय र अस्त हुने रहेछ । त्यस्तै, मौका र प्रेरणाको स्रोत वा स्वरूप सुरुमा गुरु, अनि क्रमशः मातापिता, सखा+सखी, सम्बन्धी हुँदै निर्णयात्मरूपमा पुस्तक हुने रहेछ ।

हाम्रो पूर्वीय वाङ्मयमा पुस्तक, पुस्तिकालाई सरस्वतीको स्वरूप मान्ने आदिपरम्परा त यसै छ । प्रमाणको लागि–“वीणां पुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्“ आफ्नो शुभ बाहुमा वीणा र पुस्तक धारण गरेकी सरस्वतीले जडरूपी अन्धकारलाई हटाएर हामीलाई अभय प्रदान गर्दै जिउने कला सिकाउँछिन् । यी शब्द प्रमाणले नै बुझाउँछन् कि पूर्वीय दर्शनमा पुस्तकको महिमा के रहेछ र हामीहरू पुस्तकलाई कसरी आफ्नो जीवनमा स्थापित गर्ने गर्छौं ? भनेर ।

उता पश्चिमी जगतमा पनि पुस्तकलाई निकै मर्यादितरूपमा हेरेको पाइन्छ, केवल भौतिक साधनको र उदरपोषणको उपयोगको हिसाबले ! यद्यपि जे भने पनि मर्यादा सबैले गरेको पाइन्छ ।

पुस्तक कस्तो हुनुपर्छ ?

वास्तवमा पुस्तक यस्तो हुनुपर्छ जसभित्रका अक्षर समूह मिलेर बनेका शब्द र वाक्य पढेपछि हृदयमा त्यसको सकारात्मक गुणानुसार छाप पर्न सकोस् र आफूले पढेपछि त्यसको प्रयोग व्यक्ति, समूह, समाज र राष्ट्र हुँदै विश्वलाई शान्ति, मर्यादित, अनुशासित र नैतिकवान् बनाउन सकियोस् न कि कुनै वाक्यले शंका उपशंकाको जन्म भएर विवादित बनोस् । शंका उपशंका नराम्रो हैन तर शंका परेपछि निस्केका सूक्ष्म परिणामलाई बाह्यमुखी भएर नकार्नु चाहिँ नरामै हो।

पुस्तक अध्ययन गरेर हातमुख जोर्नु, धनार्जन गर्नु एउटा छुट्टै पाटो हो तर अध्ययन गरिकन समस्या समाधान गरेर समाजोपयोगी बनाउनु अर्काे पाटो हो । वास्तवमा आजको समाज पुस्तक होइन, केवल किताब पढिरहेको छ । किताबको एक अर्थ पुस्तक पनि हो तर किताबमा कुनै धनलोलुपले धनार्जन गर्नलाई आफ्नो स्वार्थपूर्तिका लागि धेरै कुरा लेखिदिएका हुन्छन् । जसलाई मानिसले अनजानमै अध्ययन गरेर आफूलाई सोही ढाँचामा ढाल्दै लगेको हुन्छ । तर पुस्तक त्यस्तो हुँदैन । परिवारमा एकजनाले मात्रै पनि पुस्तक अध्ययन गरेको छ भने उसको पुस्तौंपुस्ता वास्तविक मनुष्यको रूपमा समाजमा मुखरित भएको हुन्छ ।

पुस्तक एक किसिमको पूजा पनि हो । पूर्वीय वाङ्मयमा पुस्तक अध्ययनलाई पनि दैनिक गरिने पूजासमान मानिएको छ । फूल दही अक्षता वा जौ तील चन्दनले पूजा गर्नु मात्रै पूजा हुँदैन । ध्यान, जप, परमात्मासँग गरिने योग, मातापिताको सेवा, अतिथिको सत्कार मान्यजनको मान, सानालाई माया र वास्तविक पुस्तक अध्ययनलाई समेत पूजा र ईश्वरीय प्रार्थनाको रूपमा हेरिएको छ । यसै सन्दर्भमा गुरुको वाणी याद आयो । तिमी हरेक दिन सके १–२ घण्टा, नसके कमसेकम दिनको २०–२५ मिनेट मात्रै भएपनि पुस्तक पढ त्यो पनि भगवान्को दैनिक पूजामध्येको एक पूजा हो ।

पुस्तक अध्ययन पूजासमान

पुस्तक शब्द पुस्त+क मिलेर बनेको छ । पुस्तिका (कापि) यसको स्त्री वाचकमा रहन्छ र सोही पुस्तिका (कपिहरूको पानामा लेखिएको) हरूको पत्र–पत्र जोडिएर बनेको कागजको एउटा समूहलाई पुस्तक भन्ने गरिन्छ । पुस्तकको अन्य रूप पनि हामी देख्न, पढ्न र बुझ्न पाउँछौं । जस्तैः
मृदा वा दारुणा वापि वस्त्रेणाप्यथ चर्मणा ।
लौहरत्नैः कृतं वापि पुस्तमित्यभिधीयते” ।।

माटो, काठ, वस्त्र, छाला, फलाम वा रत्न आदिबाट बनाइएको आकृति÷प्रतिमा वा चित्रलाई ‘पुस्त’ भनिन्छ। बस् यी माटोदेखि धातुसम्ममा लेखिएका अक्षर र शब्दले ज्ञान प्रदान गराउनुप¥यो र पुस्तक पढेर ज्ञान आर्जन गर्नु नै वास्तविक विज्ञान हो ।

अन्तमा “क“ जोडिन आउँदा यसको स्वरूप परिवर्तन भएर पुस्तक बन्छ । “क“ यो अक्षर आफैंमा एक सिङ्गो शब्द हो । यसका अनेक अर्थहरू हामी पढ्न सक्छौं । सृष्टि कर्ता ब्रह्मालाई नै एक शब्दमा सम्वोधन गर्दा “क“ भनिन्छ भनेर गुरुको मुखबाट सुनेकी थिएँ, तर यहाँ अनेकार्थी मध्ये – मन, आत्मा, शरीर , प्रकाश, राजा र विशेषमा शब्द वा आवाजलाई लिऊँ ।

हो हामीले पुस्तक पढेर प्रथमतः आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नु पर्छ । दोस्रो, आफ्नो आत्मालाई चिन्न सक्नु मूलभूत कुरा हुन्छ । तेस्रो, शरीर किन जन्मन्छ र किन मर्छ ? यसलाई गम्भीर भएर आफैंले बुझ्नुपर्छ । चौंथो, हामी संसारमा कसरी प्रकाशित भइरहेका छौं र हाम्रो प्रकाशले समाजलाई कत्तिको उज्यालो दिँदै छ, त्यता पनि हामी स्वयंले आफूलाई आफ्नै प्रकाशमा खोज्नुपर्छ ।

पाँचौंमा राजा, वास्तवमा यो संसार सृष्टि हुँदा सृष्टिको संचालन राजाबाट नै सुरु भएको छ ÷ थियोे र अबको अन्तमा पनि (पृथ्वी प्रलय )मा पनि संसारनै राजाको हातमा पुगेर व्यवस्थित लयमा पुग्ने छ । (यो अकाट्य सत्य हो) । र, छैठौंमा शब्द र आवाज । यी समग्र व्यवस्थाको अध्ययन वास्तविक पुस्तक नामको पुस्तक अध्ययन गरेपछि मात्रै बुझिन्छ न कि किताब नामको किताब पढेर !

हो हामीले पुस्तक पढेर प्रथमतः आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नु पर्छ । दोस्रो, आफ्नो आत्मालाई चिन्न सक्नु मूलभूत कुरा हुन्छ । तेस्रो, शरीर किन जन्मन्छ र किन मर्छ ? यसलाई गम्भीर भएर आफैंले बुझ्नुपर्छ । चौंथो, हामी संसारमा कसरी प्रकाशित भइरहेका छौं र हाम्रो प्रकाशले समाजलाई कत्तिको उज्यालो दिँदै छ, त्यता पनि हामी स्वयंले आफूलाई आफ्नै प्रकाशमा खोज्नुपर्छ ।

अन्तमा पुस्तक स्वरूप भएर विराजमान अक्षर र शब्दरूप ब्रह्म (परमात्मा) लाई हाम्रालागि समेटिदिने ऋषिमहर्षी र पहिले पहिलेका आचार्यहरूलाई शतशत कोटी प्रणाम र पुस्तकरूपमा बसेर हामीलाई ज्ञानको ज्योति प्रदान गर्ने सरस्वती माताको श्रीचरणमा वन्दना गर्दछु ।

हामीले यी र यस्ता प्रकृतिका पुस्तकहरू आफ्ना घर, अफिस, स्कुल, कलेज र राष्ट्रिय पुस्तकालयमा राख्न सके राष्ट्र र जनताहरूका लागि सर्वाेपरि उपयोगी हुन सक्छ । पुनश्चः विश्वभर रहनु हुने पुस्तकप्रेमीहरूलाई पुस्तकालय दिवसको अनन्त शुभकामना ।