जे हुन्छ, हुनु छ, आखिर त्यो भएरै छाड्छ । त्यसैले, प्रकृतिका हर घटनाहरूमा आनन्दित र सन्तुष्ट हुन सक्नु नै जीवन सार्थकताको नाम हो ।

सृष्टि प्रकृतिको निरन्तर प्रवाहको नाम हो । निर्माण र विनाश, सम्पत्ति र विपत्ति अनि हर्ष र वियोग सबै प्राकृतिक नियमितताका नाम हुन् । प्रकृति जे छ, त्यो नै सत्य हो । अर्थात् प्रकृति वर्तमान हो र यो नै सत्य छ । जब हामी हिजो र भोलिका बारे सोच्न थाल्छौैँ, हाम्रो जीवन पनि दुःखपूर्ण हुन्छ । समयक्रममा घटित हरेक घटनाक्रमप्रति सन्तुष्टिभाव व्यक्त गर्नु नै मानसिक शान्ति प्राप्तिको उपाय हुन सक्दछ ।
एकजना बेलायती सेनाका अफिसर आफ्नी नवविवाहिता पत्नीका साथमा समुद्रको यात्रा गरिरहेका थिए । यसैक्रममा समुद्रमा भयङ्कर आँधी र तुफान आयो । जहाजका सबै यात्री डराए, चिन्तित भए । उनकी पत्नी पनि चिन्तित भइन् तर अफिसर डराएनन् । कत्ति पनि विचलित नभईँ आँधी र तुफानमा पनि शान्त भएर बसे ।

अफिसरकी व्याकुल पत्नीले भनिन्, “हैन तपाईँ यस्तो ढुक्क कसरी ? कसरी तपाईँ शान्त बस्न सक्नु भएको ?” पत्नीको कुरा सुनेर उनले म्यानबाट तरबार झिकी पत्नीको टाउकोमा राखिदिए र हाँस्दै प्रतिप्रश्न गरे, “तिमीलाई डर लाग्यो कि लागेन ?” पत्नीले भनिन, “मेरो प्रश्नको उत्तर नदिएर यो के नाटक गर्नुभएको ? तपाईँको हातको तरबार देखेर म किन डराउने ? के तपाईँ मेरा पति नभएर शत्रु हुनुहुन्छ र ? तपाईँले मलाई प्राणभन्दा धेरै प्रेम गर्नुहुन्छ भने म किन डराउने ?”

पत्नीको प्रतिक्रिया पछि पतिले भने, “प्रिये ! मेरो हातमा तरबार भएजस्तै भगवान्को हातमा यो आँधी र तुफान छ । जसरी मसँग तिमीलाई डर लागेन, भगवान्को हातको आँधी र तुफानसँग किन डराउँछ्यौ ? भगवान् जे गर्नुहुन्छ, ठीकै गर्नुहुन्छ भन्ने ठान । उहाँको व्यवस्थामा ढुक्क भएर बस र शान्तिको लामो सास फेर !” जे हुन्छ, हुनु छ, आखिर त्यो भएरै छाड्छ । त्यसैले, प्रकृतिका हर घटनाहरूमा आनन्दित र सन्तुष्ट हुन सक्नु नै जीवन सार्थकताको नाम हो ।

मेरो हातमा तरबार भएजस्तै भगवान्को हातमा यो आँधी र तुफान छ । जसरी मसँग तिमीलाई डर लागेन, भगवान्को हातको आँधी र तुफानसँग किन डराउँछ्यौ ? भगवान् जे गर्नुहुन्छ, ठीकै गर्नुहुन्छ भन्ने ठान । उहाँको व्यवस्थामा ढुक्क भएर बस र शान्तिको लामो सास फेर !