हरेक वर्षजस्तै यस वर्ष पनि देवघाट—गण्डकी परिक्रमा कार्यक्रम सम्पन्न भएको छ । देवघाट तनहुँ र चितवनका स्थानीय श्रद्धालुसहित विभिन्न आश्रम, मठमन्दिर र सङ्घसंस्थाका हजारौँ सदस्य परिक्रमा यात्रामा सहभागी भएका थिए ।

हिजो कार्तिक २९ गते बिहान कृष्णा गण्डकी र सेती गण्डकीको सङ्गम बेनीमा विशेष पूजनसम्पन्न गरी यात्राको शुभारम्भ भएको थियो । त्यसरी सुरु भएको यात्रा देवघाट चितवन, बागीश्वरी, नारायणगढ, गैँडाकोट, देवघाट पारी लेते टाँडी, हर्दी हुँदै पुनः देवघाट तनहुँको चक्रवर्ती मन्दिरमा आई समापन कार्यक्रमका साथमा सम्पन्न भएको थियो । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले देवघाट क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय पहिचान विस्तारमा गण्डकी परिक्रमा कार्यक्रमले ठूलो सहयोग पु¥याउने बताउनु भयो ।

परिक्रमा कार्यक्रममा देवघाटका विशिष्ट सन्त त्रय स्वामी ज्ञानानन्द सरस्वती, स्वामी आत्मानन्द गिरि र स्वामी रमणानन्द गिरिको विशेष संरक्षकत्व एवम् सहभागिता रहेको थियो । यात्राक्रममा करिब ५००० श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम शुभारम्भका समयमा भरतपुर महानगरकी मेयर रेनु दाहाल, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीसहितको उपस्थिति रहेको थियो । पैदल परिक्रमाका क्रममा यात्रु भक्तजनहरूले देवघाटको जयगान गर्दै र भजन, कीर्तन तथा नाचगानमा सहभागी हुँदै रमाइलो गरेका थिए ।

देवघाट क्षेत्र विकास समितिले समन्वय गरेको यो गण्डकी परिक्रमा कार्यक्रम हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी तिथिका दिन गर्ने गरिएको छ । द्वन्द्वकालका केही वर्ष र कोरोना कालमा बाहेक कहिल्यै स्थगित नभई निरन्तर रहेको गण्डकी परिक्रमाको आरम्भको इतिहास ५० वर्षभन्दा बढीको रहेको छ ।