नेपाल पत्रकार महासंघ चितवनले चितवनलाई आधार बनाई विगत २५ वर्ष वा सोभन्दा अधिक समयदेखि पत्रकारिता गर्दै आएका ३५ जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय इतिहासमा नै पत्रकारितामा लागेर कम्तिमा रजत वर्ष पूरा गरेका यति धेरै सङ्ख्यामा पत्रकारहरूलाई सम्मान गरिएको सम्भवतः पहिलो घटना हो । सम्मानित पत्रकारहरूलाई यही चैत २४ गते भरतपुरको क्यान्सर अस्पतालको सभा हलमा सो सम्मान प्रदान गरिएको थियो ।
सम्मानित हुने पत्रकारहरूमा अर्जुनप्रसाद शर्मा, ईश्वर जोशी, कृष्ण गिरी, कृष्ण भण्डारी, खोमकान्त रेग्मी, गणशेखर शर्मा, गोपाल परियार, गोपालप्रसाद थपलिया, गोविन्दराज विनोदी, चिन्तामणि पौडेल, जनक अर्याल, तिलकराम रिमाल, दीपक आचार्य, नवराज ढकाल, नारायण सापकोटा, बाबुराम घिमिरे, बालकृष्ण थपलिया, महेन्द्रराज श्रेष्ठ, मुकुन्दराज दाहाल, मोहनप्रसाद पोखरेल, रमेशकान्त पौडेल, राधेश्याम खतिवडा, रामबाबु सुवेदी, रेशम विरही, रोहिणी त्रिपाठी, लक्ष्मण भण्डारी, विष्णु छिमेकी, वेदप्रसाद खरेल, शारदा पौडेल, सुमन गैरे, सुरेशकुमार अधिकारी, सुरेशचन्द्र अधिकारी, सूर्यप्रकाश कँडेल हरिप्रसाद पोखरेल रहेका छन् ।
कार्यक्रममा पत्रकारहरूलाई सम्मान गर्दै प्रमुख अतिथि भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले सम्मानित सबै अग्रज पत्रकारहरूलाई बधाई दिँदै नयाँ पुस्ताका पत्रकारहरूलाई अग्रजहरूबाट प्रेरणा ग्रहण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको अनुभवलाई एकीकृत गर्दै आजको पत्रकारिता क्षेत्र अघि बढ्नुपर्ने धारण व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, विभिन्न दलका प्रतिनिधि, पत्रकारका विभिन्न सङ्गठनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित अतिथिहरू सो अवसरमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा पत्रकार पत्रकारिता क्षेत्रमा सक्रिय विशेष पत्रकारहरूका लागि स्थापित विभिन्न पुरस्कारहरू विभिन्न पत्रकारहरूलाई वितरण पनि गरिएको थियो । नेपाल पत्रकार महासङ्घ भरतपुरले गरेको अग्रज सम्मानको यो कार्यक्रम पुराना र नयाँ सबै पत्रकारहरूका लागि एउटा उदाहरण र प्रेरणा बनेको छ । कार्यक्रम नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसको सञ्चालन सचिव दीपेन्द्र अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज पत्रकारका रूपमा सम्मानित ३५ जना पत्रकारहरूको सङ्क्षिप्त जीवनी समेटिएको पुस्तक ‘योगदान’ र पत्रकार महासङ्घ चितवनको वार्षिक मुखपत्र ‘पत्रकारिता’को पनि लोकार्पण गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवनले सम्मानित ३५ अग्रज पत्रकारहरूको छोटो अडियो/भिडियो जीवनी पनि तयार पारेको छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।