धेरैजसो मानिसहरु आफूलाई जस्तो राम्रो लाग्दछ, त्यस्तै मात्र काम गर्दछन् । तर यसको नतिजा सधै राम्रो नै हुन्छ भन्ने छैन । कुनै लक्ष्य लिएर काम गर्दा संयोगले असफलताको सामना गर्नुपर्यो भने यसको अर्थ यो होइन कि त्यो लक्ष्यसम्म पुग्नै सकिँदैन । धेरैजसो लक्ष्यहरुसम्म एकै रातमा पुग्न सकिँदैन । यो ध्रुव सत्य हो । कुनै पनि काममा सफलता पाउनुअघि थुप्रै पल्ट असफलताको सामना गर्नुपर्ने हुन्छ ।

नबगेको खोलामा लेउ लाग्छ, कर्म नगर्ने हातमा रोग लाग्छ भने चलायमान हुन नजानेको जीवनमा शोकले डेरा जमाउन थाल्दछ । शोक एक प्रकारको मौनमृत्यु (Silent Killer) हो । चिताले केवल मुर्दालाई जलाउँछ तर शोकले जिउँदो मानिसलाई नै समाप्त गरिदिन्छ । जीवनरुपी चौतारीलाई भताभुड्ड, लथालिड्ड तथा क्षतविक्षत बनाएका हजारौँ घटनाहरु हाम्रो समाजमा चौतर्फी विद्यमान छन् । फलामलाई खियाले नजानिदो तरिकाले समाप्त पारिदिए जस्तै शोकरुपी खियाले मानवजीवनलाई तहसनहस गर्ने सत्यलाई लुकाउन सकिँदैन । बाँस फुलेपछि बढ्न छाड्छ तर मानिसले सानो कुरामा शोक गर्न थालेपछि उन्नतिको विमानले खुला आकाशतिर उडान भर्नुपर्नेमा धर्तिमा भासिन पुग्दछ, जीवनको गति रोकिन्छ ।

जीवन बगिरहेको नदी हो । बग्न दिनुपर्दछ, बग्नु पानीको धर्म हो । कुनै न कुनै तरिकाले आफ्नो बाटो बनाएर अगाडि बढेरै छाड्दछ पानी । पानीको रुप, स्वरुप बदलिए पनि बग्ने धर्म भने कदापि परिवर्तन हुँदैन । पानी जहिले पनि माथिबाट तलतिर नै बग्दछ, बग्नु वा भनौँ चलायमान हुनु पानीको नैसर्गिक स्वभाव हो, विशेषता हो । हामी मानवको जीवन पनि पानी सरह पल प्रतिपल बगिरहेको छ र जीवन यसरी चलायमान हुनु आवश्यक पनि छ । अङ्ग्रेजीमा जीवनलाइ(Life) भन्ने गरिन्छ । यसलाई परिभाषित गर्नेहरुले Life is flowing of energy, अर्थात् जीवन बगिरहेको ऊर्जा हो) को संक्षिप्त शब्द हो भनेर पनि मान्दछन् । ऊर्जा (Energy) सदैव बग्दछ । ऊर्जाले बग्न नपाउने बित्तिकै एलर्जी Alergy को रुप लिन थाल्दछ । इनर्जी प्रकाश हो, एलर्जी जीवनको अँध्यारो पक्ष हो । प्रकाश र अन्धकार कदापि एकै स्थानमा रहन सक्तैनन् । प्रकाश (शक्ति) लाई न कसैले बनाउन सक्छ, न त कसैले बिगार्न नै । यो एक स्थानबाट अर्को स्थानमा सतत बगिरहन्छ । बग्ने क्रममा एक निश्चित उँचाइसम्म पुग्दछ र क्रमशः तल्लो अवस्थामा झर्दछ । निरन्तर रुपमा प्रकाश बगिरहन्छ । मानव जीवन ऊर्जाको पुञ्ज भएकाले एक निश्चित लक्ष्यलाई चुम्नका लागि चलायमान हुनु अति आवश्यक हुने गर्दछ ।

जानिफकार मान्दछन् कि जीवनलाई चलायमान अवस्थामा राखिरहनका लागि कुनै न कुनै विघ्न, परिस्थिति, अड्चन, समस्या वा चुनौति आइनै रहनुपर्दछ । चुनौतिविनाको जीवन प्राणविनाको शरीर ,वासनाविनाको फुल, सौन्र्दयविनाको प्रकृति, धारविनाको हतियार, निपूणताविनाको ज्ञान, अनुभवविनाको सान किमार्थ मूल्यवान् मानिँदैनन् । सयमको बर्बादी मात्र हो ।

चुनौति नै सफलताको द्वार हो

आहा ! कस्तो विचित्रको हृदयस्पर्शी प्रसङ्ग । माछा राख्ने एउटा एक्युरियमभित्र सार्क नामक माछाहरु राखियो भने त्यो माछाका कारण हजारौँ माछाहरुबिच गतिशीलता बनिरहन्छ । डर कै कारणले नै किन नहोस्, माछाहरु गतिशील भइरहन्छन्, चलायमान भइरहन्छन् । यसैगरी, मानव जीवनमा पनि समस्या, चुनौति, व्यवधान वा अडचनरुपी सार्कले हरेक मानवलाई स्थिर भएर बस्न दिँदैनन् । चल्नु नै पर्ने अवस्थाको सृजना हुन्छ । गतिमा आउनै पर्दछ । गति नै सम्पूर्ण समस्याको समाधान हो । समस्यारुपी ताल्चा जति सुकै ठुलो किन नहोस् तर सावधानरुपी चाबी जहिले पनि सानो नै हुने गर्दछ ।

गति जीवनका लागि अत्यावश्यक छ तर सँगसँगै सर्तकता पनि अपनाउनुपर्दछ । गतिमा आउने क्रममा संयमलाई थाति राख्न कदापि पाइँदैन। जसरी, एउटा साधारण ढुङ्गा गतिमा आउँदाआउँदै, हजारौँ लाखौँ पटक एक आपसमा ठोकिदा ठोकिदै अन्ततः सालिकराम को रुप लिन थाल्दछ । जसलाई हिन्दुसस्कृतिमा देवताको रुप मानेर पुज्ने कार्य पनि गरिन्छ ।

भागेर होइन, जागेर

एउटा मिठो प्रसङ्गलाई जोडौँ । कल्पना गरौँ, एक जना माझीदाइ माछा मार्न भनेर तलाउमा जाल लिएर गए । तलाउभरी प्रसस्तमाछाहरु सलबलाई रहेका छन् । जालमा माछा फसाउनका लागि माझी दाइ उभिएकै स्थानमा जाल फाल्न मिल्दैन अलि पर फयाक्नुपर्ने हुन्छ । फलतः भाग्दै गरेका माछाहरु नै उक्त जालभित्र स्वतः पर्न थाल्दछन । भाग्नुको साटो जागेर वा विचार गरेर बरु माझीदाइकै खुट्टा वरपर लुटुपुटु गरिरहेका भए ती माछाहरु अवश्य पनि जालभित्र त पर्दैनथे । अतः हामी मानव पनि जीवनका समस्याबाट जतिजति भाग्न खोज्छौँ, त्यतित्यति समस्याको जालभित्र नजानिँदो तरिकाले फस्न पुग्छौँ ।

ईश्वरको आशीर्वाद सधैँ छद्म भेषमा लुकेको हुन्छ र त्यो कसरी प्रकट हुन्छ भन्न सकिन्न । कर्मको परिवर्तनले उन्नतिको पथ प्रशस्त गर्न सक्छ । राम्रोसँग उपयोग गर्न सकियो भने असाधारण कठिनाइबाट पनि राम्रो परिणाम निस्किन सक्छ ।

चुनौतिलाई आह्वान गरौँ

पुरानो मान्यता छ—समस्याभित्र समस्या हँुदैन । समस्यालाई हेर्ने दृष्टिकोणमा यदि समस्या गाँसिएको छ भने म्भावनाका ढोकाहरु सधैँका लागि बन्द हुन्छ । जीवन र जीविकामा आइपर्ने जेजति समस्याहरु छन्, केवल ती समस्याहरु भनेका हाम्रै दृष्टिकोणमा आधारित छन् । समस्या आफैँमा केही हुँदैन । तिलको दानाजस्तो समस्यालाई पहाड पनि बनाउन सकिन्छ र पहाडलाई तिलको दाना पनि । यो त केवल मानसिकताको दायराले निक्र्योल गर्ने दररेट मात्र हो । समस्याभित्रको चुनौतिलाई आह्वान गर्ने हिम्मत राख्ने हो भने समस्या जीवनको खेल जस्तो लाग्दछ । अन्यथा, हामी मानव समस्यासँग डराएका होइनौँ, उक्त समस्यासँग सँगै आउने चुनौतिलाई सहन गर्न नसकेको मात्र हो ।

“द एडभेन्चर अफ लिडरसिप” का लेखक हाप क्लपले आफ्नो एक दूर्भाग्यपूर्ण अभियानको अनुभवमा लेख्छन् – ‘अलास्काको एक हिमनदी तर्दै गर्दा अचानक अभियान दलका एक जना सदस्य हिउँमा लडे र उनको खुट्टा भाँच्चियो । उनलाई तुरुन्तै मेडिकल उपचारको खाँचो प¥यो । त्यतिखेर तिनीहरु माउन्ट म्याकिन्लेको शिखरतिर पुग्नै लागेका थिए । समय खस्किँदै थियो । सूर्य ओरालो लाग्नुका साथसाथै तापक्रम पनि कम हुँदै थियो । तिनीहरुले जेट हेलिकप्टर पठाइदिनका लागि अनुरोध गर्दै रेडियोद्वारा सूचना पठाए तर त्यो त्यतिखेर अप्राप्त थियो । त्यसको सट्टामा उद्धार कार्यका लागि एक सामान्य हेलिकोप्टरको व्यवस्था गरियो । तर, त्यति माथिको उँचाइमा यसले राम्रोसँग काम गर्न सकेन ।

अन्तमा, हेलिकोप्टर आइपुग्यो । उनीहरुले घाइते पर्वतारोहीलाई छिटोछिटो गरी चढाए तर थपिएको घाइते व्यक्तिको थप तौलले गर्दा हेलिकप्टर जमिनबाट माथि उठ्न सकेन । यति बढी उचाइमा हावाको चाप एकदम पातलो थियो । अँध्यारो बढ्दै गएपछि उनीहरु कुनै निर्णयमा पुग्न बाध्य भए । तिनीहरुले हेलिकोप्टरका डन्डीहरु निकाले र हेलिकोप्टरलाई उचालेर चट्टानको किनाराबाट धकेलेर तल खसाले । हेलिकप्टर तल झरेको बेलामा उनीहरुले माथिबाट हेर्दा पातलो हावामा कुनै चट्टान खसेको जस्तो देखिन्थ्यो । अन्तमा, आधा दुरी जति तल झरिसकेपछि हेलिकप्टरका ब्लेडहरुले हावामा गति समाते र घुम्न थाले । अनि, त्यो हेलिकप्टर हस्पिटलतिर उड्यो ।
अतः चुनौतिको कुरा गर्ने हो भने त्यो एउटा ठूलो जोखिमपूर्ण यात्रा थियो ।

असफलता नै सफलताको सोपान

एउटा शाश्वत कुरा के छ भने केवल सपना देखेर त्यो पुरा हुने विश्वास राख्दैमा आफुले चाहेको कुरा पुग्न यथेष्ट छ भनेर मूर्ख बन्नुहुँदैन । बाधाहरुको सामना गर्न र आफूलाई कर्मक्षेत्रमा उतार्न इच्छुक पनि हुनुपर्दछ । एकपल्ट आफ्ना आवश्यकतालाई जानिसकेपछि कर्मक्षेत्रमा आफूलाई उतार्नै पर्छ । कर्मक्षेत्रमा उत्रिसकेपछि स्वतः अगाडि बढ्ने चाहनाले बाटो देखाउँदै जाने छ ।

यस संसारमा कदम कदममा बाधा अवरोधहरु हाम्रासामु देखा परि नै रहन्छन् । यस ग्रहमा कुनै पनि त्यस्तो मान्छे छैन होला, जसले कुनै दुर्दिनको अनुभव भोग्न नपरेको होस् । फरक यत्ति मात्र नै हो, कसैले डटेर बाधाको सामना गर्दछ भने कसैले निराश भएर थचक्कै बसिदिन्छ । एक प्रख्यात विद्वान् Maxswell Maltz ले आफ्नो पुस्तक Psycho–Cybernetics मा लेखेका छन्,– “कसैको काम गराइको तरिका हेरेर नै ऊ को हो ? अर्थात् कस्तो प्रकृतिको मानिस हो भनेर छुट्याउन आवश्यक छ” ।

धेरैजसो मानिसहरु आफूलाई जस्तो राम्रो लाग्दछ, त्यस्तै मात्र काम गर्दछन् । तर यसको नतिजा सधै राम्रो नै हुन्छ भन्ने छैन । कुनै लक्ष्य लिएर काम गर्दा संयोगले असफलताको सामना गर्नुपर्यो भने यसको अर्थ यो होइन कि त्यो लक्ष्यसम्म पुग्नै सकिँदैन । धेरैजसो लक्ष्यहरुसम्म एकै रातमा पुग्न सकिँदैन । यो ध्रुव सत्य हो । कुनै पनि काममा सफलता पाउनुअघि थुप्रै पल्ट असफलताको सामना गर्नुपर्ने हुन्छ ।

निःसन्देह हरेक दुर्भाग्य पश्चात् सौभाग्य पनि आउँछ । जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । दुर्भाग्यका क्षणहरुमा पनि यही सोचौँ कि यसमा पनि केही न केही कल्याण अवश्य लुकेको छ । अतः स्वयम् आफैँसँग सोधौँ, यो समस्याबाट मलाई के लाभ हुन सक्ला ? जब यसरी चिन्तन मनन गर्न थाल्छौँ, तब निश्चय नै हाम्रो मस्तिष्कमा यसको जवाफ फुर्ने छ । ईश्वरको आशीर्वाद सधैँ छद्म भेषमा लुकेको हुन्छ र त्यो कसरी प्रकट हुन्छ भन्न सकिन्न । कर्मको परिवर्तनले उन्नतिको पथ प्रशस्त गर्न सक्छ । राम्रोसँग उपयोग गर्न सकियो भने असाधारण कठिनाइबाट पनि राम्रो परिणाम निस्किन सक्छ ।

स्मरण राखौँ, हरेक असफलता नै सफलताको परिचायक हो । “अ उपसर्ग लागेर बनेको शब्द ‘असफलता’ ले यस भावलाई स्पष्ट पार्दछ । अतः जीवनमा गतिशीलतालाई कायम राखौँ । रोकिने काम नगरौँ, अगाडि बढ्दै जाऔँ, सम्पूर्ण सपनाहरू स्वतः बिपनामा परिणत हुन थाल्दछन् । यो नै जीवन जिउने एक सुन्दर कला एवम् विज्ञान हो ।