धनगढी । सुन्दर सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा शैक्षिक उत्प्रेरणाका साताव्यापी कार्यक्रम सम्पन्न भएका छन् ।
चैतन्य एकेडेमी काठमाडौँ र सत्सङ्ग प्रतिष्ठान नेपालको सहकार्यमा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समितका सदस्य तथा विद्यालयका प्राचार्यहरूका लागि उपयोगी शैक्षिक उत्प्रेरणामूलक कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
धनगढीको शिवनगरस्थित चैतन्य पाठशाला तथा जेम्स स्कुलका अभिभावक, शिक्षक र विद्यार्थीहबीच रहेर परिचित लेखक, शैक्षिक उत्प्रेरक तथा अध्यात्म चिन्तक आचार्य लक्ष्मण भण्डारीले कार्तिक २४ गतेदेखि २७ गतेसम्म आयोजित विभिन्न कार्यक्रमहरूको सहजीकरण गर्नुभएको थियो भने शिक्षा मन्त्रालयका अनुसन्धाता शैक्षिक गुणस्तर विभागका विज्ञ देवीराम आचार्यज्यूले समेत अभिभावक शिक्षा र शिक्षकीय मूल्यका बारेमा चर्चा गर्नुभएको थियो ।
यसैगरी, धनगढी प्याब्सनले निजी विद्यालयका प्राचार्यहरूका लागि आयोजना गरेको विद्यालय नेतृत्वका विभिन्न आयाम तथा तनाव व्यवस्थापनसहितको शैक्षिक उत्प्रेरणा कार्यक्रममा धनगढीका करिब ३० जना प्राचार्यको सहभागिता थियो, जहाँ चैतन्य एकेडेमीका प्रमुख गणेशप्रसाद जोशी र आचार्य लक्ष्मण भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।