महासम्मेलनले श्रीनिम्बार्क दर्शनका बारेमा अनुयायीमा रहेका भ्रमहरूलाई चिर्न, महत्त्वबोध गर्न, अनुयायीलाई एकअर्काबीच परिचित हुन र एकीकृत भई अघि बढ्न उच्च प्रेरणा र बल प्रदान गरेको अनुभूति गरिएको छ ।
काठमाडौँ । निम्बार्क सम्प्रदायका भक्तअनुयायीहरूलाई एकताको सूत्रमा गोलबन्द गर्ने उद्देश्यसहित आयोजित ‘श्रीनिम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन’ यही असोज २९ गतेदेखि ३१ गतेसम्म धार्मिक एवम् सांस्कृतिक महत्त्वले युक्त नगरी विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको महासम्मेलनको सुरुआतमा हजारौँ भक्त, कार्यक्रममा निम्तालु, स्थानीय जनता र धर्मप्रेमी महानुभावहरूको उपस्थितिमा सांस्कृतिक झाँकी र बाजागाजासहित नगर परिक्रममा गरिएको थियो ।
नगर परिक्रमापछि सहभागीहरू औपचारिक कार्यक्रममा उपस्थित भएका थिए, जहाँ पहिलो दिनको पहिलो सत्रअन्तर्गत दीपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटनपछि त्यहाँ उपस्थित सबैलाई स्वागत गरिएको थियो भने चर्चित कविवर कृष्णशरण उपाध्यायले स्वागतष्टकम् शीर्षकको कवितामार्फत स्वागत गर्नुहँदा सहभागी सबैले ताली बजाएर अभिनन्दन गर्नुभएको थियो भने त्यसपछि कार्यक्रममा सहभागी विशिष्ट आध्यात्मिक तथा धार्मिक व्यक्तित्व एवम् सन्तमहन्तले सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।
पहिलो दिनको दोस्रो सत्रमा निम्बार्क दर्शनको वैशिष्ट्य, जगद्गुरु निम्बार्काचार्यको योगदान र शालिग्रामपूजनको महत्त्वलगायतका सन्दर्भहरुमाथि विशिष्ट विज्ञ र आध्यात्मिक विद्वान्हरूबाट प्रवचन प्रदान गरिएको थियो भने सन्ध्याकालीन सत्रमा विभिन्न वैष्णव विद्वान्हरूबाट भगवद्उपासना र साधनाका विभिन्न विधि र आयामबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रको दोस्रो दिनको सुरुआतमा बिहान प्रातःकालीन उपासनाको चर्चासँगै साधना शिविर सम्पन्न भएको थियो भने प्रथम सत्रमा राधाकृष्ण भगवान्का विषयमा विद्वान् पुरुषोत्तम सापकोटासहित हरिशरण उपाध्यायसम्मले विशेष प्रवचन प्रस्तुत गर्नुभएको थियो भने तेस्रो सत्रमा विशिष्ट सन्तमनीषीहरूबाट निम्बार्क सम्प्रदायसम्बन्धी शास्त्रीय प्रवचन गरिएको थियो । सोही सत्रमा निम्बार्क दर्शनको वैशिष्ट्यमाथि चर्चा गरिनुका साथै त्यससन्दर्भमा उठेका जिज्ञासाको समाधान गर्ने काम पनि गरिएको थियो ।
तेस्रो दिनको आरम्भ साधना शिविरबाटै भएसँगै कार्यक्रममा सहभागी विभिन्न सन्तमहन्तसहित जगद्गुरुबाट सबैलाई आशीर्वचन प्रदान गर्ने काम गरियो भने उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनोसहित विशेष उपहारले बिदाइ गर्ने काम गरियो ।
चतराधाम पीठाधीश मोहनशरण देवाचार्यज्यूको सत्सङ्कल्प र सक्रियतामा आयोजना गरिएको सो महासम्मेलन अभूतपूर्वरूपमा सम्पन्न भएको महासम्मेलन आयोजक समितिले जनाएको छ भने सहभागीहरूले पनि भव्य भएको प्रतिक्रिया दिएका छन् । महासम्मेलनले श्रीनिम्बार्क दर्शनका बारेमा अनुयायीमा रहेका भ्रमहरूलाई चिर्न, महत्त्वबोध गर्न, अनुयायीलाई एकअर्काबीच परिचित हुन र एकीकृत भई अघि बढ्न उच्च प्रेरणा र बल प्रदान गरेको अनुभूति गरिएको छ ।
राष्ट्रिय महासम्मेलन भनिए पनि अमेरिका, भारत र भुटानबाट समेत प्रतिनिधहरूको सहभागिताले गर्दा कार्यक्रमले अन्र्राष्ट्रियरूप ग्रहण गरेको प्रतीत हुन्थ्यो । कार्यक्रममा दसौँ हजारको सङ्ख्यामा भक्त—अभ्यागतहरू उपस्थित हुनुभएको भनिएको कार्यक्रमका सहभागीलाई निःशुल्करूपमा भोजनआवासको प्रबन्ध गरिएको थियो । विराटनगरको अतिथि सदनमा सहभागीलाई आवासको व्यवस्था गरिएको महासम्मेलन अब अर्को पटक चितवनको देवघाटमा आयोजना गरिने बताइएको छ, जसका लागि श्रीराधाकृष्ण मन्दिर देवघाटका महन्त आचार्य हरिशरण उपाध्यायज्यूलाई संयोजक तोकिएको छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।