कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानवसेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको र उच्च प्रेरणा मिलेको उहाँले बताउनुभयो । मानवसेवा आश्रमले मानवता प्रवर्धनको पुण्य अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
उज्यालो किरणले धरतीमा स्पर्श गर्नुपूर्व नै शनिबार मानवसेवा आश्रमको मुख्य सेवा केन्द्र हेटौँडामा चहलपहल सुरू भएको थियो ।
प्रवेशद्वारदेखि आश्रम परिसरसम्म फूलगुच्छा र कलशले सजाइएको थियो भने आश्रमका अभिभावक र अतिथिहरूको आगमन तीव्र थियो । अभियन्ताहरू ‘जय मानवसेवा’ को अभिवादनसहित अतिथिको स्वागतमा खटिरहेका थिए ।
बेहुलीझैँ सिँगारिएको आश्रमको भवनको दाहिनेतर्फ रङ्गीचङ्गी ध्वजा र मण्डला सजाइएको थियो र त्यही सजाइएको मण्डलाभित्र मानवतापे्रमी मनहरूको जमात सजिएको थियो । उक्त रमझम थियो, मानवसेवा आश्रम मुख्य सेवाकेन्द्र हेटाँैडाको समुद्घाटन समारोहको ।
मकवानपुर हेटौँडाको लामसुरेधापमा बनेको मानवसेवा आश्रमको नवनिर्मित भवन प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य एव्म नेपाली काँग्रेसका बागमती प्रदेश सभा अध्यक्ष इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियालगायत आश्रमका अभिभावकको गौरवमय उपस्थितिबीच शनिवार समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
करिब १० वर्ष भाडाको घरमा सहयोगापेक्षी सडकआश्रित मानवलाई सेवा प्रवाह गर्दै आएको आश्रमको आफ्नै भवन निर्माण सम्पन्न हुदाँको खुसी हरेक अभियन्ता,अभिभावक र अतिथिहरूको मुहारमा प्रष्ट देखिएको थियो । उनीहरू आफैँ छक्क पर्दै थिए, सजिएको मानवताको मन्दिर देखेर ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानवसेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको र उच्च प्रेरणा मिलेको उहाँले बताउनुभयो । मानवसेवा आश्रमले मानवता प्रवर्धनको पुण्य अभियान सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
यस्तै, उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनको लागि बजेट छुट्याएको बताउनुभयो । यता बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडकमानवमुक्त प्रदेश बनाउने अभियान सुरु भएको बताउनुभयो ।

मानवसेवा आश्रमको नवनिर्मित मुख्य भवन उदघाटनका क्रममा प्रधानमन्त्री
सोही कार्यक्रममा उपस्थित हुनुभएका बागमती प्रदेशसभा सदस्य एव्म नेपाली काँग्रेसका बागमती प्रदेश सभा अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताउनुभयो । सबै मिलेर सडक मानवमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हेटौँडा उप—महानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले हेटौँडाको पहिचानका रूपमा आश्रमले मानवता प्रवर्धन गरिरहेको बताउनुभयो । पालिकाले निरन्तर साथ र समर्थन गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लामो समयदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, व्यवस्थापन र पारिवारिक पुनर्मिलनमा समर्पित रहँदै आएको मानवसेवा आश्रमको उक्त भवन निर्माणले सेवा प्रवाहमा सहज बनाएको छ ।

मानवसेवा आश्रमको नवनिर्मित मुख्य भवन
मानवसेवा आश्रमले देशैभर १९ जिल्लाका आफ्नै भवननिर्माण कार्यको शुभारम्भ गरिसकेको छ । जसमध्ये चितवन, पोखरा, गोरखा र बाग्लुङको भवननिर्माण कार्य यसै वष सम्पन्न हुने छ । हाल मानवसेवा आश्रमले सातै वटा प्रदेशमा २४ वटा शाखा विस्तार गरिसकेको छ । यसरी, सडकआश्रित मानवहरूको उद्धारलाई तीव्र बनाएको आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ ।

पत्रकारिता, सामाजिक कार्य र ग्रामीण विकासकी विद्यार्थी अमृता बजगाईं पुस्तक पठन र लेखनमा विशेष रुचि राख्नुहुन्छ । स्थान विशेष र परिवेशका प्राकृतिक दृश्यलाई लेख तथा सामाचारका माध्यमले प्रस्तुत गर्नुहुने बजगाईं मानवीय जीवनका भोगाइ र वास्तविक कथालाई खोजमूलक शैलीमा शब्दमा उतार्न मन पराउनुहुन्छ । मानवीय मूल्यको संरक्षण र विकासका लागि पत्रकारिता उहाँको आदर्श हो ।