‘यो त मेरो साधना र प्रार्थनाप्रतिको हनुमान्को कृपा हो, मेरा पूर्वजहरूको आशीर्वाद हो । तमाम दीनदुःखीहरूको सेवाका लागि मलाई प्रदान गरिएको जिम्मेवारी मात्र हो । मैले त्यो जिम्मेवारी निर्वाह मात्र गरेको हुँ । म कुनै अवतार, चमत्कारी, योगी, सन्त र जादुगर होइन ।’
चौधरी उद्योग गाउँ अमरापुरी, नवलपुरस्थित शाश्वतधाममा चर्चित भारतीय युवा सन्त आचार्य धीरेन्द्र कृष्ण शास्त्रीको त्रिदिवसीय प्रवचन सोमबार सम्पन्न हुँदै छ । आज दोस्रो दिन उनको प्रवचनमा सहभागी हुन देशैभरिका विभिन्न ठाउँबाट श्रद्धालुहरू नवलपुरको सिजी शाश्वतधाम आइ पुगेका छन् । शुक्रबार काठमाडौँ आइपुगेका शास्त्रीले सोही दिन पशुपतिनाथको दर्शन गर्नुका साथै त्यहाँ उनको स्वागतमा त्यहाँ आयोजित सवा करोड दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए ।
काठमाडौँमा नै विभिन्न विशिष्ट व्यक्तिको सहभागितामा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उनले नेपाल सनातन सभ्यताको विशिष्ट भूमि भएको चर्चा गरेका थिए । ‘नेपालीहरू भाग्यमानी छन् । उनीहरू अयोध्या जान पर्दैन, किनकि राम स्वयम् अयोध्याबाट नेपाल आउँछन् । एक दिन नेपालले सारा विश्वमा सनातनको डङ्का बजाउने छ ।’—प्रवचनका क्रमा उनले भनेका थिए । प्रवचन कार्यक्रममा विभिन्न कलाकर्मीहरू पनि सहभागी भएका थिए ।
शनिबार काठमाडौँबाट जहाजमार्फत भरतपुर ओर्लिएका शास्त्रीको चितवनमा पनि भव्य स्वागत गरिएको थियो । चितवनबाट शाश्वतधाम पुगेका उनको औपचारिक कार्यक्रम त्यसपछि सुरु भएको थियो । उनको प्रवचन कार्यक्रमका लागि अनलाइनबाटै निःशुल्क टिकट लिएर सहभागी हुन सकिने व्यवस्था मिलाइएको छ । कार्यक्रममा सहभागी हुन नवलपुरसित नजिक रहेका भारतीय क्षेत्रबाट समेत उनका अनुयायीहरू सहभागी भएका बताइएको छ ।
धीरेन्द्र कृष्ण शास्त्री भारतको बागेश्वरधामका पीठाधीश पनि हुन् । उनका हजुरबुबालगायत सन्तहरूको विरासतलाई पछ्याउँदै उनी त्यस धामका महन्त नियुक्त भएका थिए । २६ वर्षका युवा धीरेन्द्रमा अद्भुत वाक्कला र बेजोड आत्मविश्वास देखिन्छ । भारतबाहेक अमेरिका, बेलायतलगायत देशमा समेत उनका शिविरहरू सञ्चालनमा आएका छन् । यतिबेला भारतमा सामाजिक सञ्जाल खासगरी, युट्युब, फेसबुक र टिकटकमा सर्वाधिक खोजिने र हेरिने व्यक्तिभित्र पर्दछन् ।
उनको प्रवचनका विषयलाई लिएर भारतमा विभिन्न प्रकारका सन्देह र विवाद व्यक्त भएका छन्, तापनि सनातन सभ्यताको संरक्षण, सम्वर्धन र विकासका लागि आफू सधैँ लागिरहने उनको सङ्कल्प छ । यति सानो उमेरमा यस्तो प्रकारको प्रसिद्धि प्राप्त गर्ने शास्त्री सायद भारतका पहिलो धार्मिक व्यक्तित्व हुन् ।
विशेष गरी आफ्ना समस्या लिएर उनको शिविरमा आएका हजारौँ व्यक्तिमध्येबाट केही व्यक्तिहरूलाई आफ्नै तरिकाले छनोट गरी उनीहरूका मनका कुरा र समस्या बताइदिने उनको विशेष योग्यता देखिन्छ । सर्सर्ति हेर्दा अचम्म लाग्ने यही कार्यले उनलाई यति चर्चित बनाएको हो ।
उनी आफूलाई कुनै चमत्कारी, योगी, सन्त र जादुगर मान्दैनन् । उनी भन्छन्—‘यो त मेरो साधना र प्रार्थनाप्रतिको हनुमान्को कृपा हो, मेरा पूर्वजहरूको आशीर्वाद हो । तमाम दीनदुःखीहरूको सेवाका लागि मलाई प्रदान गरिएको जिम्मेवारी मात्र हो । मैले त्यो जिम्मेवारी निर्वाह मात्र गरेको हुँ । म कुनै अवतार, चमत्कारी, योगी, सन्त र जादुगर होइन ।’
आचार्य धीरेन्द्र कृष्ण शास्त्री उर्फ बागेश्वर बाबाको त्रिदीवशीय हनुमन्त कथा प्रवचन सोमबार समाप्त हुने बताइएको छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।