आजसम्म मैले जे पाएँ, जे खाएँ र जुन चौतारीमा विश्राम गरेँ, ती सबै मेरा पूर्वजका कर्मका फल थिए । भोलिका हाम्रा छोरानाति, पनातिले पनि हामीले गरेको पुण्यको फल भोग्न पाऊन् ।
एक पटक एक जना राजा आफ्ना मन्त्रीका साथ कतै घुम्न निस्किए । बाटोमा राजाले एक जना अत्यन्त वृद्ध किसानलाई देखे । किसान अस्ताउँदो सूर्यझैँ मृत्युको प्रतीक्षा गरेर बसेजस्तो अत्यन्त कमजोर र वृद्ध देखिन्थ्यो तर पनि त्यो वृद्ध किसानले पीपलको बोट चौतारो बनाउनका लागि रोपिरहेको थियो ।
राजाले किसानलाई प्रश्न गरे —“हे वृद्ध किसान ! तिमी यति वृद्ध छौ । भोलि हो कि पर्सिजस्ता छौ । अब तिमीले रोपेको पीपल कहिले ठूलो होला र त्यसको चौतारोमा बसेर तिमीले विश्राम गर्ने सपना कहिले पूरा होला ?”
राजाको यो प्रश्न सुनेर त्यस वृद्ध किसानले भन्यो, —“महाराज, मैले आफ्नो निमित्त भनेर यो पीपलको बिरूवा रोपेको होइन । यो बिरूवा मैले ती मानिसहरू विश्राम गरून् भनेर रोपेको हुँ, जो अहिले साना छन्, केटाकेटी छन् र अन्जान छन् । भोलि उनीहरूले नै यो पीपलको चौतारीमा विश्राम गर्ने छन् किनभने आजसम्म मैले जे पाएँ, जे खाएँ र जुन चौतारीमा विश्राम गरेँ, ती सबै मेरा पूर्वजका कर्मका फल थिए । भोलिका हाम्रा छोरानाति, पनातिले पनि हामीले गरेको पुण्यको फल भोग्न पाऊन् ।”
राजा ती वृद्ध किसानको मार्मिक अभिव्यक्ति सुनेर गम्भीर भए र भविष्यको पुस्ताका लागि आफूले पनि केही गर्ने प्रेरणा प्राप्त गरे ।
आज हामीसँग जे छ, त्यो हाम्रा पूर्वजको मिहिनेत र कठिन साधनाको प्रतिफल हो । पूर्वजको फलको उपभोग गर्नु तर भविष्यमा सन्ततिका लागि केही नसोच्नु वा नसाँच्नु स्वार्थको पराकाष्ठा हो ।
जीवन रहेसम्म परोपकारको विचार धारण गर्नु र हरेक क्षण कर्तव्यले सम्पन्न गर्ने यस्ता वृद्ध किसानहरू साँच्चै नै धन्य छन् ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।