भक्तपुर सहरलाई ३३ वटा पुलले घेरेको छ । यी पुलहरु परिक्रमा गर्न करिब ३३ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अधिकांश रुट खोलाको तिरमै छन् । घडी घुम्ने दिशा हुँदै यी पुलहरु परिक्रमा गर्न सकिन्छ । रुटमा सबैभन्दा बढी खेतहरु देख्न सकिन्छ । खोलाको तिरबाट यात्रा गर्दा चराचुरुङगीको चिरबिरचिरबिर आवाजले यात्रालाई रोमाञ्चक बनाउँछ । खेत रहेका स्थानहरुमा, किसानहरुसँग मौसमअनुसारका तरकारी किन्न सकिन्छ ।

साउन ५ गतेको साइकल यात्रा

साउनको पहिलो सनिबार ३३ पुल परिक्रमाको लागि साइकल चढी यात्रा गर्न सकिन्छ । यो रुटको कुनै विन्दुबाट सुरु गरी यात्रा अगाडि बढाउन सकिन्छ । काठमाडौँ मा खोलामा ढल मिसाउने चलन सुरु हुनुअघि साउने खोला उर्लेर आउँदा माछा मार्ने परम्परा थियो । यो परम्परालाई जीवन दिनको लागि ढलको व्यवस्थापन गर्ने कार्य ढिलो गतिमा भइरहेको छ । खोला किनारमा फोहर वस्तु फाल्ने गतिविधि कम गर्नका लागि पनि त्यहाँ साइकलको चहलपहल हुन आवश्यक छ ।

कोरा हुने स्थानको सम्मानमा पुलको नामकरण

कोरा नाम दिइएको उक्त च्यालेन्ज विश्वका ३३ स्थानमा आयोजना हुँदै छ । कोरा च्यालेन्ज हुने स्थानहरुको सम्मानमा पुलहरुको नाम राखिएको छ । च्यालेन्ज हुने सबै स्थानको अनुभूतित ३३ पुल परिक्रमाको एउटै रुटमा गर्न सकियोस् भनेर यसरी सम्मान गरिएको हो ।

साइकल यात्राका रुटहरु

पाँचाख्य

नेवार भाषामा पाँचा को अर्थ बालुवा र ख्यको अर्थ चौर हुन्छ । बालुवा जम्मा भएर बनेको चौरलाई पाँचाख्य भनिन्छ । यस्तै ख्य भक्तपुरको जगाती र च्यांम्हासिहको बीचमा चाँगु नगर र सूर्यविनायक नगरबाट बग्दै आएका खोलाहरुको संगम हनुमानघाटमा पनि छ । यो चौरलाई हाल पाँच वटा पुलले घेरिएको छ । यहाँ नगरपालिकाको फोहर उठाउने गाडी राख्ने ग्यारेज पनि रहेको छ । यो ग्यारेजलाई अपग्रेड गरी सवारी पार्किङ स्थल बनाउनुपर्ने स्थानीयको माग रहेको छ । यहीँबाट सहरका विभिन्न स्थल पुग्न कम समय लाग्छ । भक्तपुरबाट काठमाडौँ र ललितपुर जाने गाडी यतैबाट जाने गरेको छ । यही चौरबाट साइकल यात्रा सुरु गर्दा पनि हुन्छ ।

पाँचाख्यदेखि थिमी पुल सम्म

पाँचाख्यबाट साइकल यात्रा सुरु गरेपछि हनुमन्ते खोलामा भक्तपुर सहर र सूर्यविनायक क्षेत्रबाट खोल्सीहरु मिसिन आउँछन् । यी खोल्सा तर्न बनेका र हनुमन्ते तर्न बनेका पुलहरु हुँदै यात्रा थिमी स्थित पुलमा पुग्न सकिन्छ । यस क्रममा झट्किला बाट बग्ने खोल्सा, जगातीबाट बग्दै आएको खोल्सा, डागाचा खोल्सा, काल्हाचा खोल्सा, साते, घलाते लगायतका स्थानबाट खोल्साहरु हनुमन्तेमा मिसिन्छन् ।

थिमी देखि सल्लाघारी

थिमीको पुल पुगेपछि भने हुनमन्ते पुल तरी थिमी नगर क्षेत्रमा पर्ने बाटोबाट निकोसेरा हुँदै सल्लाघारी पुगिन्छ । यो स्थानमा फोहर पानी प्रशोधन गर्ने केन्द्र छ । तर हाल यो सञ्चालनमा छैन ।

सल्लाघारी देखि टाउन प्लालिङ

सल्लाघारीबाट भने तीन वटा टाउन प्लानिङ हुँदै यात्रा डेकाचा सम्म पुग्छ । यहाँ टाउन प्लानिङको बेला बनेको फराकिलो बाटोमा साइकल सरर गुडाउन सकिन्छ । यो रुटमा केही नाम चलेका स्कुलहरु देख्न सकिन्छ ।

डेकोचा देखि वन्ती सम्म

यहाँबाट अगाडि जाने ४ वटा विकल्पहरु छन् । पहिलो विकल्प दक्षिण तर्फको पीच रोड हुदै वन्ती पुग्ने होे । दोस्रो र तेस्रो विकल्प खोलाको दायाँ र बाँया तिरमा रहेका गोरेटो बाटोमा साइकल डो¥याउँदै खोलाको मज्जा लिनु हो । चौथो विकल्प उत्तर मोडी इट्टा भट्टाको बाटो हुँदै वन्ती पुग्ने हो ।
वन्तीदेखि छालिङ पुल सम्म

वन्ती पुगेपछि पनि दुइ वटा विकल्प छन् । एउटा विकल्पको खोलाको किनारा हुँदै बाटोमा काँडा हटाएर छालिङ पुग्ने हो । अर्को भने साइकलमा कच्ची बाटो हुँदै छालिङ पुल पुग्न सकिन्छ ।

छालिङदेखि महादेवखोला पुल

छालिङको पुलले चाँगु र भक्तपुर नगरको सिमाको काम गर्छ । यहाँबाट आर्मी ब्यारेक हुदै, यातु महादेव हुदै महादेव खोला पुल पुग्न सकिन्छ । अर्को चाहिँ खोलाको तिरभन्दा अलि पर बनेको कच्ची बाटो हुँदै चाँगु नगरपालिकको कार्यालय परिसर पुग्न सकिन्छ । यहाँबाट खरीपाटी विद्युत् तालिम केन्द्र भएर महादेव खोला पुल पुगिन्छ ।

महादेवखोला पुल देखि ब्राह्मायणी पुल

महादेव खोलाको किनारै किनार गोसले पुल, चोकिचिला पुल भएर ब्रह्मायणी पुगिन्छ । यहाँबाट कमलविनायक टाउन प्लालिङ लगायतका स्थानहरु देखिन्छ । यहाँ १२ महिना तरकारी खेती भइरहेको हुन्छ ।

ब्राह्मायणीदेखि मल कारखाना

ब्रम्हायणी देखि खोलाको किनारामा सहर बिकास गरिएकोले बाटो ब्यबस्थित छ । यसै क्षेत्रमा कर्भड हल, इन्जिरियरीङ कलेज र मल कारखाना देखिन्छ । नयाँ बनेको सहरमा पुरानो सहरका परम्पगरात उद्योगहरु सारिएका छन् । काष्ठकला, धातुकला, मूर्तिकला, माटोको भाँडा बनाउने शिल्पीहरुको बसोबास यहाँ रहेको छ ।

मलकारखाना देखि पाँचाख्य सम्म

मल कारखाना अगाडिबन्दै गरेको पुल हुँदै थुसाचाको दुवै पुल तरेपछि खोला किनारैबाट जेलाँ पुल र माहेश्वरी पुल पुगिन्छ । यहाँ बाट सय मिटर दक्षिण लागे पछि यात्रा सुरु गरेको पाँचाख्यको पुल पुगेपछि यात्राको एक फन्को पूरा हुन्छ ।

थप गन्तव्य

यात्राको एक फन्कोपछि अरु गन्तव्यहरुमा पनि जान सकिन्छ । आवश्यक परेमा अर्को फन्को पनि मार्न सकिन्छ ।