बाबुनानीलाई हामीले सोचेजस्तै अथवा त्योभन्दा पनि राम्रा बनाउनका लागि विद्यालय, घरपरिवार र विद्यार्थी स्वयम्को भूमिका महत्त्वपूर्ण हुने हुनाले अभिभावकका तर्फबाट थप सक्रियता अभिवृद्धि गर्न र अभिभावकीय मूल्यबारे अभिभावकलाई उत्प्रेरित गर्नका लागि कार्यक्रमको आयोजना गरिएको

बकेना बालबाटिका विद्यालयले आफ्ना सबै अभिभावकहरूका लागि अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ । मन्टेश्वरी शिक्षाका लागि चितवन र यस वरपरका क्षेत्रमा निकै परिचित मानिएको बकेना बालबाटिकाले गुणस्तरीय र व्यवहारमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्ले ग्रुपदेखि कक्षा ६ सम्म अध्ययन गर्ने करिब चार सय बालबालिका यहाँ अध्ययन गरेर थप कक्षामा अध्ययन गर्न जुन विद्यालयमा जान्छन्, ती विद्यार्थी अधिकांशले त्यहाँ पढाइलेखाइसहित सबै विषयमा सबैलाई उछिन्ने गरेका छन् ।

हालै विद्यालयले दियालो फुडल्यान्ड क्षेत्रपुरमा आफ्ना अभिभावकहरुका लागि ‘अभिभावक उत्प्रेरणा, अभिमुखीकरण तथा पुनर्ताजगी’कार्यक्रमको आयोजना गरेको छ । फागुन ११ गते सोमबारका दिनमा बिहानी सत्रमा प्ले ग्रुपदेखि कक्षा एककेजीसम्म अध्ययन गर्ने बाबुनानीका करिब एक सय पचार अभिभावक सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्र दिउँसो एक बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो, जहाँ कक्षा एकदेखि कक्षा ६ सम्म अध्ययन गर्ने बाबुनानीका अभिभावकको सहभागिता रहेको थियो । समाजका विशिष्ट पेसा, व्यवसाय र कर्ममा रहेका अभिभावक सो समयमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालयका प्राचार्य प्राञ्जना श्रेष्ठले कार्यक्रम गर्नुको औचित्यबारे चर्चा गर्दै बाबुनानीलाई हामीले सोचेजस्तै अथवा त्योभन्दा पनि राम्रा बनाउनका लागि विद्यालय, घरपरिवार र विद्यार्थी स्वयम्को भूमिका महत्त्वपूर्ण हुने हुनाले अभिभावकका तर्फबाट थप सक्रियता अभिवृद्धि गर्न र अभिभावकीय मूल्यबारे अभिभावकलाई उत्प्रेरित गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

विद्यालयका संयोजक अञ्जना खरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा लेखक, शिक्षासेवी एवम् उत्प्रेरक वक्ता आचार्य लक्ष्मण भण्डारीले उत्प्रेरणा तथा अभिमुखीकरणमा सहजीकरण गर्ने काम गर्नुभएको थियो । दुवै कार्यक्रममा गरी ३०० भन्दा धेरै अभिभावकको उपस्थिति रहेको थियो ।