आशा गरौँ, जनताले आशा गरेझैँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा सांसदहरूले जनमतको आशालाई निराशामा परिणत गर्ने छैनन् । साथै, पुराना राजनैतिक पार्टीहरूले पनि जनताको वितृष्णालाई बुझेर आफूलाई सच्याई उज्यालो नेपालको समृद्धिका लागि प्रयास गर्ने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । यसअघि २०७९ सालको मङ्सिरमा सम्पन्न आम निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट भारी मतान्तरका साथ विजयी भएका थिए । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशका कारण उनले सांसद पद, सभापति पद र उपप्रधानमन्त्री पदबाट एकैसाथ बिदा लिनुपरेको थियो । त्यसपछि निर्वाचन आयोगले वैशाख १० गते चितवन क्षेत्र नं २, तनुहँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचनको घोषणा गरेको थियो ।

चितवन क्षेत्र नं २ बाट वैशाख १० गतेको उपनिर्वाचनमा विजयी हुँदा रवि लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका जितनाराणण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेले क्रमशः ११२१४ र १०९३६ मतका साथ दोस्रो र तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेताका रूपमा आफ्नो राजनैतिक भूमिका निर्वाह गरिरहेका स्वर्णिम वाग्ले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर चुनाव लड्दा भारी मतका साथ विजयी हुन सफल भएका छन् । स्वर्णिम वाग्लेले ३४९१९ प्राप्त गरे भने नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका गोविन्द भट्टराईले २०१२२ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे । एमालेका सर्वेन्द्र खनालले तेस्रो हुँदै जम्मा ८४८८ मत प्राप्त गरे ।
बारा क्षेत्र नं २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षित मत प्राप्त गर्न सकेन । त्यहाँ जनता समाजवादी पार्टीका उपेन्द्र यादव २८४१५ मतका साथ विजयी हुन सफल रहे । जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३३३४ मतले उनलाई पछ्याउने काम गरे भने एमालेका पुरुषोत्तम पौडेलले १०२१६ मत प्राप्त गरे ।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारप्रति देखिएको आकर्षणले जनता पुराना राजनैतिक पार्टीप्रति भन्दा नयाँ र योग्य उमेदवारप्रति आशावादी भएको देखियो । रवि लामिछानेको पत्रकारिताका माध्यमले समाजमा गरेको योगदान र स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय स्तरको आर्थिक विज्ञताको आवश्यकता जनताले महसुस गरेको परिणामले देखायो ।

समग्रमा हेर्दा, उपनिर्वाचनको परिणामले विगतप्रति वितृष्णा प्रकट भएको देखाएको छ भने आगतप्रति आशा गरेको छ । पचासौँ वर्षदेखि राजनीति गर्र्दै आएका पुराना राजनैतिक शक्तिहरुलाई पटकपटक अवसर दिँदा पनि राष्ट्र झन्झन् गरिब हुँदै गएका कारण जनतामा त्यसप्रति चर्को वितृष्णा देखियो भने पुराना अनुहार र पुरानो राजनैतिक संस्कारविनाको नयाँ उत्साह, विचार र लक्ष्यका साथ उदाएका युवाहरूप्रति आशा देखियो । आशा गरौँ, जनताले आशा गरेझैँ राष्ट्रिय स्वतन्त्र पार्टीका युवा सांसदहरूले जनमतको आशालाई निराशामा परिणत गर्ने छैनन् । साथै, पुराना राजनैतिक पार्टीहरूले पनि जनताको वितृष्णालाई बुझेर आफूलाई सच्याई उज्यालो नेपालको समृद्धिका लागि प्रयास गर्ने छन् ।