—शिव भुसाल
रामेश्वरम् प्राथमिक विद्यालयमा अब्दुल कलाम पाँच कक्षामा अध्ययनरत थिए । उनको पहिरन आफ्नो धर्मअनुरूप इस्लामिक थियो । बालसखा रामानन्द शास्त्रीका साथमा उनी पहिलो बेन्चमा बसिरहेका थिए । एकजना हिन्दु बालक मुस्लिमको छोरोसँग मिलेर बसिरहेको दृश्य शिक्षकलाई पचेनछ । ती शिक्षकले कलामलाई अन्तिम बेन्चमा गएर बस्न आदेश दिएछन् । कलाम अन्तिम बेन्चमा गएर त बसेछन् तर शिक्षकको हर्कतले भने उनलाई औधी दुःखी बनाएछ ।
विद्यालयको घटनाले खासमा रामानन्द पनि अत्यन्त आक्रोशित थिए । घर पुगेर दुवैले आ—आफ्ना बाबुआमालाई सो घटना सुनाएछन् । रामानन्द शास्त्रीका बाबु लक्ष्मण शास्त्री रामेश्वरम्का एक प्रतिष्ठित मानिसमा गनिन्थे । बालबालिकाहरूको हृदयमा धार्मिक विभेदको जरो सानैदेखि गाडिने यस्ता हर्कतहरू कसैले पनि गर्नुहुदैँन भन्ने धारणा उनी राख्दथे । विद्यालय गएर उनले ती शिक्षकलाई राम्ररी सम्झाएछन् ।
अन्ततः ती शिक्षकले माफी मागेछन् र यस्तो घटना कहिल्यै पनि नदोहो¥याउने प्रतिज्ञा गरेछन् । स्मरण रहोस्, लक्ष्मण शास्त्री हिन्दु पण्डित थिए र कलामका बाबु जैनुलाअबदीनका एक असल मित्र पनि । बाल्यकालको यो तितो तर अविस्मरणीय
घटनालाई आफ्नो आत्मकथा ‘विङ्स अफ फायर’मा कलामले विशेषरूपमा उल्लेख गरेका छन् ।
कलामको जन्म सन् १९३१ मा रामेश्वरम्मा भएको हो । उनी जन्मेको गाउँ सन् १९३० को त्यो दशकमा पनि निकै सहिष्णु र सुसंस्कृत देखिन्छ — आत्मकथा विङ्स अफ फायरमा वर्णन गरिएअनुरूप । जातीय, धार्मिक वा सामाजिक विभेद र असहिष्णुताका एकाध घटनाहरू बाहेक त्यस्तो केही भेटिँदैन, रामेश्वरम्मा । उनको गाउँ शिवमन्दिरका निम्ति सबैभन्दा प्रख्यात थियो । उक्त मन्दिरमा टाढाटाढाबाट पनि हिन्दुहरू पुजाका निम्ति आउने गर्दथे । मुस्लिमको सङ्ख्या बढ्ता भएतापनि एकाध हिन्दुहरूको पनि छिटपुट बसोबास थियो, उनको जन्मस्थलमा ।
कलामका बाबु जैनुलाअबदीन र पण्डित लक्ष्मण शास्त्री अत्यन्त निकट मित्रहरू थिए । उनीहरू घन्टौँसम्म आध्यात्मिक विषयमा वार्तालापहरू गर्ने गर्दथे । कलाम दुई बुजु्रकहरूका कुरा चाख दिएर सुन्ने गर्दथे । जैनुलाअबदीनले धेरै पढेका थिएनन् । तैपनि, उनी ज्ञानी र आध्यात्मिक स्वभावका मानिस थिए । आफूले धेरै पढेलेखेको नभए पनि जुन संस्कारमा जैनुलाअबदीनले अब्दुल कलामलाई हुर्काए, सायद त्यसले नै कलामको स्वर्णिम भविष्य निर्माण गरिसकेको थियो ।
मन्दिर, मस्जिद आदि धार्मिक स्थलहरूको समीपमा पुग्दा अपार आनन्द आउने कुराको वर्णन कलामले आफ्नो आत्मकथामा गरेका छन् । आफूले मस्जिदमा पढ्ने गरेको नमाज र कुनै हिन्दु ब्राह्मणले मन्दिरमा गर्नेगरेको मन्त्रोच्चारण अन्ततः एकैठाउँमा पुग्दो हो भन्ने उनलाई बाल्यकालदेखि नै लाग्दथ्यो । उनले आफ्नो यो अटुट विश्वास आजका दिनसम्म तोडेका छैनन् ।
कलामलाई भाजपा समर्थित एनडीए घटक दलहरूको सङ्गठनले राष्ट्रपति चुनावका बखत उमेदवार बनाएको थियो, जसलाई अधिकांश वाम दलहरूले पनि समर्थन गरेका थिए । यसरी, १८ जुलाई सन् २००२ का दिन ९० प्रतिशत बहुमतका साथ उनी भारतका एघारौँ राष्ट्रपति बन्न पुगे ।
उनी कुनै राजनैतिक राष्ट्रपति थिएनन् । उनलाई विज्ञानप्रविधिको क्षेत्रमा गरेको योगदानका निम्ति राष्ट्रपतिको पदमा निर्वाचित गरिएको थियो । भारतमा यसरी राष्ट्रपतिको रूपमा चुनिने सौभाग्य आजका दिनसम्म उनलाई मात्र प्राप्त भएको छ ।
डा.जाकिर हुसैन र फकरुद्धिन अली अहमदपश्चात् उनी भारतका एकमात्र मुस्लिम राष्ट्रपति हुन् । तैपनि, उनलाई भारतका ‘मिसाइल म्यान’ भनेर बढ्ता चिनिने गरिन्छ । विदेशी शिक्षा आर्जन नगरिकन र कुनै विदेशी संस्थाको सहयोगविना नै एक जना मानिसले देशमै उपलब्धस्रोत साधनहरू प्रयोग गरेर चामत्कारिक परिवर्तनहरू गर्न सक्दछ भन्ने कुराका जीवन्त उदाहरण हुन्, कलाम । आज भारत आणविक र मिसाइल प्रविधिमा जसरी विश्वकै एक शक्तिशाली राष्ट्रका रूपमा अगाडि आएको छ, त्यसको सबैभन्दा ठुलो श्रेय अब्दुल कलामलाई नै जान्छ ।
कलामका निम्ति धर्म केवल एक माध्यम हो । हिन्दु वा ईस्लाम जुन धर्म मानेपनि आखिर परमेश्वर एकै हुन् भन्ने विश्वास गर्दछन्, उनी । जन्मका आधारमा उनी ईस्लाम हुन् । उनको आत्मकथा विङ्स अफ फायरको सुरुआत अथर्ववेदको एक श्लोकबाट भएको छ । आफ्नो आत्मकथामा उनले अङ्ग्रेजी कविताहरू र संस्कृतका श्लोकहरूको बारम्बार प्रयोग गरेका छन् । यसबाट कलाम निकै अध्ययनशील थिए भन्ने पुष्टि हुन्छ । असल कुरा सिक्नका निम्ति धर्म कदापि बाधक बन्नुहुँदैन । उनको अध्ययन, मनन र चिन्तनको मार्गमा पनि धर्म कदापि बाधक भएको देखिँदैन ।
आफ्नो नेतृत्वमा बनाएका मिसाइलहरूको नाम पनि उनले अग्नि, पृथ्वी, आकाश, त्रिशूल र नाग राखेका छन्, जसले वैदिक संस्कृतिसँग प्रत्यक्ष नाता र सम्बन्ध राख्दछन् । कलाम दैनिक १८ घण्टा काम गर्दछन् । तैपनि उनलाई कामको कुनै बोझ छैन । जिन्दगीभरि उनी त्यही काममा डटिरहे, जसमा उनलाई सर्वाधिक रुचि थियो । भौतिकशास्त्रमा बिएससी गरेका कलामलाई पछि भौतिकशास्त्र आफ्नो क्षेत्र होइन भन्ने लागे छ । त्यसपछि, उनले एरोस्पेस इन्जिनियरिङमा डिग्री हासिल गरे, मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीबाट । आफूलाई जुन क्षेत्र सर्वाधिक प्रिय लाग्दछ, त्यही क्षेत्रमा नै आफ्नो करियर बनाउनुपर्दछ भन्ने सन्देश पनि उनको जीवनबाट पाउन सकिन्छ ।
कलाम सन् १९६२ मा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनमा जोडिए । भारतको पहिलो भू—उपग्रह एसएलवी—३ को निमार्णका निम्ति कलामलाई प्रोजेक्ट डिरेक्टरको रूपमा नियुक्त गरियो । उनकै पहलमा एसएलवी—३ को निर्माण भयो र भारत अन्तरिक्षमा भू—उपग्रह छोड्ने संसारमै सातौँ राष्ट्र बन्न पुग्यो । सन् १९८१ मा रोहिणी नामक भूउपग्रहको निर्माण पनि उनकै नेतृत्वमा भएको हो ।
घरको आर्थिक अवस्था नाजुक भएका कारण कलामले सानैदेखि काम गर्दथे । उनी ९ —१० वर्षका छँदाखेरी नै अखबार वितरणको कार्य गर्दथे । एक बालक, जो बाल्यकालमा पत्रिका बेचेर आफ्नो परिवारलाई मद्धत गर्दथ्यो र पछि भारतजस्तो ठुलो देशको राष्ट्रपति बन्न पुग्यो, त्यो एउटा रोचक किस्सा हो ।
कलाम शाकाहारी हुन् । उनी रातमा धेरै समयसम्म जागा बस्दैनन् । बिहान पनि सबेरै उठ्दछन् । जन्मले इस्लाम भएतापनि उनी सबेरै गीतापाठ गर्दछन् । उनको आचरण हिन्दु ब्राह्मणको जस्तो छ । केही पत्रकारहरूले उनको जीवनशैलीमाथि आलोचनात्मक टिप्पणी पनि गरेका छन् । एकजनाले भनेका छन्, उनी एक महान् व्यक्ति हुन् । उनी जन्मले ईस्लाम हुन् । तर, उनको जीवनशैली चाहिँ हिन्दुहरूको जस्तो छ । त्यसैले, उनी सबैका राष्ट्रपति हुन् । मुस्लिम राष्ट्रपति भनिनु उनीमाथि अन्न्याय हुनेछ ।
हिन्दु र मुस्लिम वा कुनै अन्य धर्महरूका आधारमा मानिसहरूको विभाजन वा द्वन्द्व कलामका निम्ति कुनै पनि हालतमा स्वीकार्य छैन । कलामको वैदिक सनातन संस्कृतिप्रति गहन झुकाव भएको देखिन्छ । गीता र कुरानको बरोबर अध्ययन गर्ने कलामलाई दुवै धर्मका सन्त पनि मान्न सकिन्छ ।
कलाम संसारभरिका युवाहरूमाझ सर्वाधिक चर्चित छन् । धेरैले उनलाई आफ्नो रोलमोडल पनि मान्ने गर्दछन् । कलाम स्वयम्ले पनि धेरै युवाहरूलाई प्राविधिक र नैतिक दुवैरूपमा बाटो देखाउने कार्य गरेका छन् । उनको ध्येय शक्तिशाली र समृद्ध भारतको निर्माण गर्नु हो । तर, उनको क्षेत्र खाली भारत मात्र होइन, सम्पुर्ण विश्वकै युवाहरूलाई कर्मयोगी बन्न उनले पे्ररित गरेका छन् ।
उनी जीवनभर अविवाहित रहे । वा भनौँ, उनी कर्मयोगमा यति तल्लीन भए कि उनलाई विवाह बन्धनमा बाँधिने फुर्सद नै भएन ।
कलामको जिन्दगीलाई सफलता नै सफलताको इमारत भने मान्न सकिँदैन । कलामलाई जिन्दगीमा एकपटक एयरफोर्स विमानको पाइलट बन्ने ठुलो रहर थियो । मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पढाइ सकेर उनले रक्षा मन्त्रालयअन्र्गतको डी.एन्ड.टी नामक एक विभागमा अन्तर्वाताका निम्ति आवेदन दिएका थिए । कुल २५ जनामध्ये उनको नाम ९ औँ स्थानमा निस्कियो । तर, सो विभागलाई आवश्यकता भने मात्र ८ जनाको थियो । यसरी, उनको पाइलट बन्ने सपना कदापि पुरा हुन सकेन ।
आफ्नो जिन्दगीको ठुलो लक्ष्य पुरा नभएपछि उनी भौँतारिदैँ ऋषिकेश पुगेछन् । स्वामी शिवानन्दको सङ्गतले उनलाई जिन्दगीमा थप ऊर्जा मिलेछ । पछि उनले पुनः सोही विभागमा काम गर्न थालेछन्, सिनियर वैज्ञानिक असिस्टेन्टका रूपमा । यसरी, उनले पाइलट बन्ने सपनालाई सदाका निम्ति तिलाञ्जली दिएछन् र उनको जिन्दगीले अर्कै गति लिएछ ।
भारतमा कलामलाई ‘आधुनिक भारतीय रकेटका पिता’ पनि मान्ने गरिन्छ । तर, कलाम स्वयम् भने १८औँ शताब्दीका मुगल सम्राट टिपु सुल्तानलाई आधुनिक रकेटका पिता मान्दछन् ।
रकेटको आविष्कार पश्चिमाहरूले १९औँ शताब्दीमा गरेको मान्ने गरिन्छ । तैपनि, कलामको तर्कलाई मान्ने हो भने १८ औँ शताब्दीमा मुगल सम्राट टिपु सुल्तानले रकेटहरू बनाइसकेका थिए । ब्रिटिस सरकारले भारतमाथि हमला गर्दाका बखत् सयौँ रकेटहरू चोरेर बेलायत लगिएको थियो र ती रकेटहरूको आधुनिकीकरण गरिएको थियो । लन्डनको रोटुन्डा म्युजियममा अझै पनि रकेट अफ टिपु भनेर चोरिएका रकेटहरूको संरक्षण गरिएको छ । टिपु सुल्तानको निधनपछि करिब करिब दुई सय वर्षसम्म भारतीय मिसाइलशास्त्र मौन नै रह्यो । १९औँ शताब्दीको उत्तरार्धमा चाहिँ कलाम आधुनिक टिपु शुल्तान बनेर उदाए ।
जेजसो होस्, संसारमा जेजति भू—उपग्रहहरू बनेका छन्, ती सबैको आधार भनेको जोहानेस केप्लरको सिद्धान्त हो । उनको सिद्धान्तमा तीन नियमहरू उल्लेख गरिएका छन् ः केप्लरको तेस्रो नियमलाई सबैभन्दा महत्त्वपूर्ण नियम पनि मान्ने गरिन्छ । सो नियमले भू—उपग्रहको गतिको जानकारी दिन्छ । पहिलो र दोस्रो नियमको प्रतिपादन गरेर पनि तेस्रो नियम पत्ता लगाउन केपलरलाई १७ वर्ष लागेको थियो ।
पत्रिका वितरण गरेर आफ्नो दैनिक खर्च जुटाउने अबुल पाकिर जैनलाअबुदीन अब्दुल कलामलाई डाक्टर ए.पी.जे अब्दुल कलाम बन्न कति वर्ष लाग्यो होला कुन्नि ? पङ्क्तिकार यसको हिसाब जान्दैन । पङ्क्तिकार यो चाहिँ भन्न सक्छ, कलामको जिन्दगी एउटा महान् सपनाको कथा हो । एउटा यस्तो सपना जसले आधुनिक भारतको रूपरङ नै फेरिदियो ।
‘माइ जर्नी’ नामक संस्मरणात्मक पुस्तकमा कलामले आफूलाई प्रिय लाग्ने पुस्तकहरूको सुची तयार पारेका छन् । लियो टाल्सटाय, थोमस हार्डी र सर वाल्टर स्कट उनका प्रिय लेखकहरू हुन् । वेद, कुरान र भगवद्गीता उनका प्रिय ग्रन्थहरू हुन् । यसअतिरिक्त नोबेल लरेट अलेक्सी क्यारेलको पुस्तक ‘म्यान एन्ड द अननोन’ पनि उनका प्रिय पुस्तकहरूको सुचीमा पर्दछ ।
भगवद्गीताको दैनिक अध्ययनले आपूmलाई निर्धक्क भएर आफ्ना कार्यहरू गर्न र जीवनमा आइपर्ने चुनौतिहरूको डटेर सामना गर्ने साहस प्राप्त भएको कुरा उनले आफ्ना संस्मरणहरूमा उल्लेख गरेका छन् । भारतको पहिलो स्वनिर्मित मिसाइलको निर्माणको क्रममा कुरानका पङ्क्तिहरूले प्रेरित गरेको कुरा पनि उनले उल्लेख गरेका छन् । टी.एस.एलियट, लुईस क्यारोल र विलियम बट्लर यिट्सका कविताका पनि ठुला फ्यान हुन्, कलाम ।
कलाम स्वयम् पनि यदाकदा कविता लेख्दछन् । आफ्नो जिन्दगीमा पुस्तकले पारेको प्रभावमाथि उनले लेखेका छन् |
कलाम स्वयम् चाहिँ यसो भन्दछन्:
“For great men, religion is a way of making friends; small people make religion a fighting tool.” ‘Good books were for me angels. Touched my heart gently at the time. Hence I ask young friends to have Books as friend”
शिव भुसाल साहित्य, दर्शन, कला र जीवनप्रेरक विषयमा कलम चलाउने लेखक हुनुहुन्छ । अङ्ग्रेजी र नेपाली भाषामा उत्तिकै क्षमताका साथ कलम चलाउने भुसाल पूर्वीय अध्यात्म दर्शन र पश्चिमी जीवनदर्शनका सूक्ष्म अध्येता उहाँ हाल अमेरिकामा अध्ययनरत हुनुहुन्छ ।