जीवनभन्दा ठूलो सम्पत्ति मान्छेका लागि केही हुन सक्दैन । जीवनमा कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलता आइलाग्छ । असफलताबाट आत्तिनु र जीवनलाई मूल्यहीन ठान्नु जीवनको परम आनन्दलाई नबुझ्नु हो । जीवनलाई केन्द्रविन्दु बनाएर लेखिएको यस कृतिले अफ्ठ्याराहरूसँग पौँठेजोरी खेल्दै प्रसन्नताका साथ जिउने प्रेरणा दिएको छ ।
समय परिवर्तनशील छ । मान्छे यस परिवर्तनशील समयको साक्षी हो । विविध किसिमका आविष्कारहरूको बदलिँदो युगले मानव जीवन एकातिर सहज बनेको छ भने अर्कातिर त्यसले जटिलता पनि निम्त्याएको छ । मानव जीवन वास्तवमा अपार आनन्दको जीवन हो । राजनीति, समाजनीति, धर्मनीति र अर्थनीति जस्ता कुराहरूले मानवीय जीवनलाई यथार्थमा गहिरो प्रभाव पारेका हुन्छन् । जीवनको जटिलतादेखि मानिस आत्तिन्छ । आफूले पाएको स्वतन्त्रतालाई कहिलेकाहीँ घिच्याउँदै विवेकहीनताको पराकाष्ठामा पु¥याउन पनि भ्याउँछ । क्षण, दिन, वर्ष र युगसँगै जीवन निर्वाहका पाटाहरू परिवर्तन हुँदैछन् । जीवनयापनका शैलीहरू फेरिँदैछन् । यस्तै मानवीय जीवनमूल्यहरूलाई उद्घाटीत गर्दै मानव समाजको सर्वाङ्गीण उन्नतीका प्रेरक सन्दर्भहरू लिएर आएका छन् युवा व्यक्तित्व लक्ष्मण भण्डारी । उनी समय समयमा विभिन्न विभिन्न उपयोगी र जीवनमूलक कृतिहरू रचना गर्छन् र नेपाली पाठकहरूलाई भिन्न स्वाद पस्कन्छन् । क्रमशः भौतिकवादतर्फ उन्मुख भइरहेको नश्वर मानव जीवनका लागि प्रेरणादायी कृतिका रूपमा आइपुगेको उनको पछिल्लो कृति हो ‘जीवन–मूल्य’ आध्यात्मिक विषय र प्रसङ्गहरू समाविष्ट यस कृतिले मानव जीवनको सर्वपक्षीय आयामलाई सविस्तार प्रस्तुत गरेकोे छ ।
जीवन अत्यन्त प्यारो छ । प्रत्येक मान्छे आफूलाई ज्यादै प्रेम गर्छ ।हरेक मान्छे आफ्नै जीवन र जीवनदाताप्रति नतमस्तक हुन्छ । आफ्नो जीवनप्रति रहेको अनमोल प्यार नै जीवनमूल्य हो भन्दै कृतिकार जीवनको क्षमता, शक्ति, शौर्य, गुण र साहसलाई नै जीवनमूल्य ठान्दछन् । यस धर्तीमा जन्म लिएका सबै प्राणीको जीवन अमूल्य छ । त्यसमाथि सृष्टिको सर्वश्रेष्ठ र विवेकशील प्राणी मानवको जीवनको उच्चतालाई त मापन गर्ने आधार नै छैन । तर यो मूल मर्मलाई नबुझेर मानिस कहिलेकाहीँ मिथ्या बनिदिन्छ । त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै लेखकले आध्यात्मिक कोणबाट जीवनको पाठ पढाएका छन् । जीवनलाई केन्द्रविन्दु बनाएर लेखिएको यस कृतिले अफ्ठ्याराहरूसँग पौँठेजोरी खेल्दै प्रसन्नताका साथ जिउने प्रेरणा दिएको छ ।
जीवनभन्दा ठूलो सम्पत्ति मान्छेका लागि केही हुन सक्दैन । जीवनमा कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलता आइलाग्छ । असफलताबाट आत्तिनु र जीवनलाई मूल्यहीन ठान्नु जीवनको परम आनन्दलाई नबुझ्नु हो । त्यसैले जीवनको मूल्य बुझी कर्मवादतर्फ लाग्नुपर्छ भन्ने सल्लाह लेखकले यस कृति मार्फत दिएका छन् । जीवनका हरेक प्रहर अत्यन्त अविस्मरणीय हुन्छन् भन्ने कुरा पनि यसले हामीलाई सिकाएको छ ।
यसभित्र शान्ति, सङ्घर्ष, युद्घ, कर्तव्य र अनुशासनका कुराहरू समाहित छन् । मानवता, माया, प्रेम, समय, समाज, इन्द्रिय लगायतका कुराहरूलाई जोड्दै लेखकले जीवनसम्बन्धी विविध सिद्धान्त र विचारहरू पनि समावेश गरेका छन् । अध्यात्ममूलक, नीतिपरक एवम् जीवनमूलक विचारहरूको अनमोल सङ्ग्रह हो कृति जीवनमूल्य । अध्यात्म, धर्म, नैतिक दर्शनका परिधिभित्र रहेर सत्विचार सिकाउन सफल यस कृतिले दिनप्रतिदिन यान्त्रिक बनिरहेको मानव समाजलाई परसेवातर्फ पनि इङ्गित गरेको छ ।
समग्रमा भन्नुपर्दा सांसारिक संसारभित्रको सकारात्मक पाटोहरूलाई केलाउनु यो कृतिको मूल विशेषता हो । यस जगत्का लोभलाग्दा उन्नति र प्रगतिलाई हेरेर जीवन बाँच्न लेखकले आम मानवलाई आग्रह गरेका छन् । जीवनको मूल्य नबुझ्नेहरूलाई आफ्नो जीवनलाई माया गर्न पनि आग्रह गरेका छन् । जीवनमा आइपर्ने सङ्कट, निराशा र अप्ठ्याराहरूसँग जुध्दै हिम्मतका साथ अघि बढ्न लेखकले गहिरो आग्रह गरेका छन् । भौतिक सुख भोगभन्दा आत्मिक शान्ति र आनन्दले जीवनलाई अघि बढाउन सकिन्छ ।
पुस्तकमा अध्यात्मजीवन र मूल्यवादी मान्यतालाई धेरै महत्त्व दिँदा लेखकले व्यावहारिकतालाई बिर्सिएका हुन् कि जस्तो पनि देखिन्छ, कतै कतै । व्यवहार र आदर्शलाई समानरूपमा अघि बढाउनुपर्दछ भन्ने दर्शन व्यक्त गर्ने लेखक भण्डारी पुस्तकका अलि बढी आदर्शवादीजस्ता देखिएका छन् तापनि कोरा आदर्शको दर्शन मात्र पुस्तकमा पटक्कै छैन ।
संस्कृत, अङ्ग्रेजी र नेपाली भाषाका ज्ञाता भण्डारीले यसभित्र साहित्यिक शब्दावलीको प्रयोग ज्यादा गरेका छन् । अध्ययन र चिन्तनबाट निकै खारिएका लेखकको यो कृति जीवनमूल्यवादी कोणबाट जीवनको व्याख्या गरिएको उत्कृष्ट दस्तावेज हो । विचारहरूलाई पुष्टि गर्न विश्वका विभिन्न भाषा, सिद्धान्त र वादहरूलाई उनले अत्यन्त सन्तुलित ढङ्गले प्रयोग गरेका छन् । मिठासपूर्ण र कलात्मक भाषाभित्र आकर्षक तस्विर संयोजनले कृति थप माथि उठेको छ । यथार्थमा भन्नुपर्दा आधुनिक समयको पृथक कृति जीवन मूल्यले अनमोल जीवनलाई कतै केहीसँग दाँज्न नसकिने र यसको मूल्य तोक्न नसकिने कुरा स्पष्ट पारेको छ । सबैलाई आँखा खोल्न आग्रह गर्दै जीवनको क्रियाशीलतामा आँच नआउने अनेक सम्भावनाहरूको खोज गर्नु कृतिकारको उपलब्धि हो ।
शोभा अधिकारी नेपाली साहित्य विषयमा स्नातकोत्तर हुनुहुन्छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली विषय शिक्षणमा डेढ दशकको अनुभव हासिल गर्नुभएकी अधिकारीले साहित्य समीक्षामा पनि रुचि राख्नुहुन्छ । उत्प्रेरणामूलक पुस्तक अध्ययन र लेखनमा उहाँको विशेष रुचि छ ।