सिर्जनशील समाज नेपालको आयोजनामा विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । यही असार ५ गते मङ्गलबारका दिन एसइई अर्थात् माध्यमिक शिक्षा परीक्षा दिएर बसेका करिब ३०० विद्यार्थीका लागि आयोजना गरिएको सो सचेतना कार्यक्रम दुर्व्यसन विरुद्धको थियो । ‘दुर्व्यसन र जीवन, भ्रम र आवश्यकता’ विषयमा आयोजना गरिएको सो कार्यक्रम एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरु कम्तिमा लागुऔषध आदिको दुर्व्यसनमा नपरून् र आफ्नो पढाइलेखाइको कार्यलाई निर्वाध सञ्चालन गर्न सकून् भन्ने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

सिर्जनशील नेपालले भरतपुर, चौबीसकोठीस्थित होटेल ग्लोबलमा आयोजना गरेको कार्यक्रममा भरतपुर वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमखु अतिथि हुनुहुन्थ्यो भने संस्थाका अध्यक्ष विनोद ढकालले सभापतित्व गर्नुभएको थियो ।

ह्वाइट हाउस तयारी कक्षा समूह र सिर्जनशील समूहको विशेष समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा आचार्य लक्ष्मण भण्डारी, रिना कोइराला र डा. खगेन्द्र काफ्लेले सचेतनात्मक प्रशिक्षणको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव निर्मला पण्डितज्यूले गर्नुभएको थियो ।