मानवसेवा आश्रम (मानवता प्रवर्धन महाअभियान)ले जेष्ठ नागरिक दिवसको अवसर पारी मकवानपुर हेटौँडामा आमा सेमिनार सम्पन्न गरेको छ । मातृत्व र मातृभूमिको सम्मानमा आयोजित सेमिनारमा करिब ५०० जना सहभागी भए ।

सेमिनार जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्त्व र गरिमा बोध गराउन सफल हुँदै आएको छ ।

भाषण र आसनले कार्यक्रमलाई लम्बेतान बनाउने परम्पराबाट गुज्रिरहेको नेपाली समाजमा आमा सेमिनार एक उदाहरण बनेको छ । अनौपचारीक रुपमा नै शुभारम्भ भएको कार्यक्रममा बाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले शुभारम्भमा दुई मिनेट कार्यक्रम सफलताको लागि शुभभावना राख्नुभयो । त्यसपछि केही समय मानवसेवा आश्रमको परिचयात्मक भिडीयो र मुख्य कार्यालय मकवानपुर हेटौँडाको सेवा दैनिकी प्रस्तुत भयो । त्यसलगत्तै मानवसेवा आश्रमका प्रमख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभयो ।

कार्यक्रम सहभागी भएका सबैजनाको आँखा टल्पलाएका थिए । सहभागीहरु कार्यक्रमभरि नै सुँक्कसुँक्क रोइरहे । जब कार्यक्रम सक्कियो, सहभागीहरु कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञ हुँदै बाहिरिए । कति जना अभियान्ताहरुलाई अँगालो हाल्दै रोइरहेका थिए भने कार्यक्रमका प्रस्तोता रामजी अधिकारीसँग फोटो खिचाउन आतुर देखिन्थे ।

संस्थाका कोषाध्यक्ष एवं तालिम विभाग प्रमुख होमनाथ तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश प्रमुख ऊमा भण्डारीले मानवताका प्रवर्धनका लागि सामूहिक संकल्प गराउनुभएको थियो ।

भरखरै बेलायतमा आमा कार्यक्रम सहजीकरण गरेर नेपाल आएपछि हेटौँडामा आमा कार्यक्रम प्रस्तुत भएको हो । माघ महिनामा अस्ट्रेलियाका सात ओटै स्टेटमा आमा कार्यक्रम प्रस्तुत हुँदै छ ।

कार्यक्रममा बाग्मती प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामा, मानवसेवा आश्रमका मकवानपुर जिल्ला संयोजक पूरणबहादुर जोशीलगायत मानवसेवा आश्रमका अभिभावक, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले यो कार्यक्रम सफल बनाउन आश्रमका अभिभावक कैलाश ढकालको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरेको थियो । जसमा खुशी क्लबको प्रतिनिधित्व गर्दै अभिभावक लक्ष्मी कँडेल सहसंयोजक, अभिभावक रामकृष्ण थापा सचिव र ताराप्रसाद लामिछाने कोषाध्यक्ष रहेको १५ सदस्यीय आयोजक समिति गठन गरी कार्यक्रमको तयारी आरम्भ भएको थियो । कार्यक्रम भव्यतासाथ सम्पन्न भएको छ ।

मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेकाले आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।