सम्मेलनमा विद्यालय मनोविमर्शको आवश्यकता, यसको औचित्य र वैधानिकताको पक्षमा पैरवी गर्ने उद्देश्यका साथमा काठमाडौँ विश्वविद्यालय विद्यालय मनोविमर्श इकाइका तर्फबाट राष्ट्रियरुपमा एकीकृत संस्थाका रुपमा विद्यालय मनोविमर्शसम्बन्धी राष्ट्रिय सङ्गठन(स्कुल काउन्सिलिङ एसोसियसन अफ नेपाल—स्क्यान)को प्रस्ताव समेत गरिएको छ । विद्यालय मनोविमर्शकर्ता तथा शैक्षिक व्यक्तित्व हिक्मत दाहालले विश्वविद्यालय, विद्यालय मनोविमर्श इकाइका तर्फबाट सोको प्रस्ताव गर्नुभएको थियो ।

काठमाडौँ । जीवनदर्शन ।

काठमाडौँ विश्वविद्यालय, विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता केन्द्रले विद्यालय मनोविमर्श तथा आरोग्यता एकाइसँगको समन्वयमा नेपालमै पहिलो पटक आयोजना गरेको ‘विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता’ सम्बन्धी एक दिवसीय राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

असार ६ गते ललितपुर, झम्सीखेलस्थित होटल भिभान्तमा सो सम्मेलनको काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युतप्रसाद वाग्ले र काठमाडौँ महानगर पालिकाका उपमेयर सुनीता डङ्गोलले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

‘दीगो विकासका लागि स्वयम् र समाजको रूपान्तरण’ मूल नारा बनाई आयोजना गरिएको सो सम्मेलनमा देश, विदेशका सय—अधिक प्राज्ञिक, शैक्षिक र सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रूपमा आफ्नो मन्तव्य व्यक्त गर्दै उपमेयर डङ्गोलले आफ्नो विद्यालयकालीन समयको स्मरण गर्दै आजका दिनमा विद्यालयमा बालबालिकालाई मनोविमर्श किन चाहिन्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो । हरेक विद्यार्थीको सिकाइमा अभाव, दवाव र प्रभावले काम गर्ने सन्दर्भ उल्लेख गर्दै विद्यालयमा गरिने मनोविमर्शमा यी विषयलाई ध्यानमा राखी मनोविमर्श उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युतप्रसाद वाग्लेले बालबालिका मात्रै विद्युतीय सामग्रीको दुरुपयोगमा नलागेको बरु अभिभावक र वरपरको वातावरणले पनि त्यसप्रकारको प्रयोगलाई प्रोत्साहित गरिरहेको सन्दर्भ उल्लेख गर्नुहुँदै राष्ट्रिय सम्मेलनले विद्यालय मनोविमर्शलाई शिक्षक, विद्यार्थी र अभिभावकको परस्पर सहकार्यमा अघि बढाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डिन डा.बालचन्द्र लुईँटेलले कार्यक्रममा राष्ट्रिय सम्मेलनको महिमा चर्चा गर्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । उद्घाटन सत्र कार्यक्रममा संयोजक तथा विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विभागका प्रमुख डा. श्रीकुष्ण वाग्लेले सभापतिका आसनबाट कार्यक्रमको औचित्य, विद्यालय मनोविमर्शको भविष्य र सम्मेलनको प्रभावका बारेमा चर्चा गर्नुभएको थियो ।

उद्घाटन पछिको संयुक्त सत्रमा डा. सरोज धितालले मनोवैज्ञानिक आरोग्यता र आध्यात्मिकता विषयमा आफ्नो मुख्य मन्तव्य व्यक्त गर्नुभएको थियो भने डा. उषाकिरण सुब्बाले विद्यालय संरचनामा विद्यालय मनोविमर्श विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

उद्घाटन सत्रपछि आयोजित विभिन्न सत्रहरुमा डा. निर्मलमणि अधिकारी, तृष्णा आचार्य, श्रेया शाह, शर्मिला श्रेष्ठ, अन्जुकुमारी पौडेल क्षेत्री, सिर्जना सत्याल, डा.चेतनाथ पन्त, श्रुति शर्मा, लक्ष्मी शर्मा र प्रज्ञा श्रेष्ठले आ—आफ्ना अनुसन्धान पत्रहरु प्रस्तुत गर्ने र ती पत्रहरुमाथि टिप्पणी गर्ने कामहरू सम्पन्न भएका थिए।

विद्यालय मनोविमर्शसम्बन्धी सरोकारवालाहरुका साथमा आयोजना गरिएको प्यानल छलफल निकै महत्त्वपूर्ण रह्यो । कार्यक्रमको सञ्चानल विद्यालय मनोविमर्श विषयका विज्ञ प्राध्यापक माधव खतिवडाले गर्नुभएको थियो भने सन्देश ढकाल, मेदिन लामिछाने, प्रवीना थापा र शिक्षा मन्त्रालयका प्रतिनिधि चन्द्रकान्त भुसालका बीचमा विद्यालय मनोविमर्श सम्बन्धी बहस गरिएको थियो ।

सम्मेलनमा विद्यालय मनोविमर्शको आवश्यकता, यसको औचित्य र वैधानिकताको पक्षमा पैरवी गर्ने उद्देश्यका साथमा काठमाडौँ विश्वविद्यालय विद्यालय मनोविमर्श इकाइका तर्फबाट राष्ट्रियरुपमा एकीकृत संस्थाका रुपमा विद्यालय मनोविमर्शसम्बन्धी राष्ट्रिय सङ्गठन(स्कुल काउन्सिलिङ एसोसियसन अफ नेपाल—स्क्यान)को प्रस्ताव समेत गरिएको छ । विद्यालय मनोविमर्शकर्ता तथा शैक्षिक व्यक्तित्व हिक्मत दाहालले विश्वविद्यालय, विद्यालय मनोविमर्श इकाइका तर्फबाट सोको प्रस्ताव गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबैले सम्मेलन अत्यन्त, उपलब्धिमूलक, भव्य र ऐतिहासिक रहेको प्रतिक्रिया दिनुभएको थियो । सम्मेलनमा विद्यालय मनोविमर्शसम्बन्धी विभिन्न समयमा भएका प्रयास, पैरवी र पहलकदमीलाई प्रतिविम्बित गर्ने विभिन्न खालका पोस्टरहरूको प्रदर्शनी पनि गरिएको थियो । मनीष श्रेष्ठको संयोजनमा मनोविमर्शकर्ता प्रतिमा कँडेल र पार्वती पाण्डेले ती पोस्टरहरूलाई प्रदर्शन गर्ने काम गर्नुभएको थियो । भव्यताका साथ सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन र समापनलगायत अधिकांश सत्रका कार्यक्रमको सञ्चालन रोशनी सिलवालले गर्नुभएको थियो ।