पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराले संस्कृत विषयको उच्चा शिक्षाको अध्ययनलाई प्रभावकारी र आकर्षक कसरी बनाउन सकिन्छ भन्ने विषयलाई लिएर दुई दिवसीय विद्वत् गोष्ठीको आयोजना गरेको छ । ‘संस्कृत उच्च शिक्षामा सामयिक चुनौती’ विषयक गोष्ठी यही वैशाख २५ र २६ गते पोखराको बगरस्थित विद्यापीठ भवनमा सम्पन्न भएको थियो ।

गोष्ठीको पहिलो दिन कार्यक्रमको उद्घाटन सत्र सकिएपछि सहप्रा.डा.गुरुप्रसाद सुवेदीले ‘संस्कृत उच्च शिक्षामा सामयिक चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुत कार्यपत्रमाथि सहप्रा.डा.शान्तिकृष्ण अधिकारीले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि अन्य सहभागी विद्वान्हरूले पनि आफ्ना टिप्पणीहरु राख्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथिको अन्तक्र्रियाको सहजीकरण सहप्रा.आन्दमणि रिजाले गर्नुभएको थियो भने समापन सहप्रा.डा.चूडामणि कँडेलले गर्नुभएको थियो ।

सुवेदीको कार्यपत्र प्रस्तुत हुनुअघि विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा.जगमान गुरुङले संस्कृत शिक्षा र यसको संरक्षण विषयमा आफ्ना विचार राख्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन ‘संस्कृत उच्च शिक्षामा आकर्षण वृद्धिका आधारहरू’ विषयमा सहप्रा.डा.नारायण चालिसेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो कार्यपत्रमाथि प्रा.डा.शालिग्राम सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रको अन्तक्र्रियाका क्रममा विभिन्न सहभागीले आआफ्ना धारणासहित सुझावहरू राख्नुभएको थियो ।

दोस्रो दिनको दोस्रो सत्रमा सोही विद्यापीठका पूर्व विद्यार्थी एवम् उत्प्रेरक वक्ता आचार्य लक्ष्मण भण्डारीले उत्प्रेरणामूलक प्रवचन प्रस्तुत गर्नुभएको थियो । ‘कसरी सुखी हुने ?’ भन्ने विषयमा संस्कृत जीवनदर्शनले सुझाएका विभिन्न सुखका आठ उपायबारे भण्डारीले चर्चा गर्नुभएको थियो । दोस्रो दिनको समापन सत्रसम्मको कार्यक्रमको सहजीकरण उपप्राध्यापक प्रकाश पौडेलले गर्नुभएको थियो । सहप्राध्यापकद्वय सत्यराज सुवेदी र अम्बिकाप्रसाद भट्टराईले कार्यक्रमका उपलब्धिबारे चर्चा गर्नुभएको थियो ।